काठमाडौं– ‘तिमीलाई के मनपर्छ ?’ भक्तपुरको लोकन्थलीमा बस्ने २९ महिनाका एक बालकलाई यो प्रश्न सोध्दा तोतेबोलीमा तुरुन्तै जवाफ आउँछ– 'चकेट, विसुट, अलिपप मनपर्छ अनि पिजा, मम, चाउचाउ पनि मनपर्छ!'
भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, ललिपप र पिजा– मःमःको स्वाद पाइसकेको छ।
उनका आमाबुबा दिउसो कार्यालय जान्छन्। दिनभर हजुरआमासँगै बस्ने ती बालक हजुरआमाको फोनबाट बुबालाई भिडियो कलमा बोल्दै भन्छन्– ‘ड्याडी अफिसबाट आउँदा चकेट ल्याइदिनुस् है।’
साँझ बुबाआमा घर फर्कनासाथ ती बालकले पहिलो खोजतलास झोला र खल्तीमा गर्छन्- चकलेटका लागि। चकलेट नपाए रोइलो सुरु हुन्छ, अनि फकाउन फेरि त्यही ‘गुलियो’ थमाइन्छ।
भर्खरै २ वर्ष पुरा भएको छोराले हरेक दिन चकलेट माग्दा आमाको मन चसक्क हुन्छ। यति सानै उमेरमा गुलियो खानेकुरामा लोभिदै गर्दा भोलिका दिनमा स्वास्थ्यमा समस्याको जोखिम हुन्छ आउछ कि भन्ने उनलाई चिन्ता छ।
२ वर्षसम्म उनले चकलेट विस्कुटसँग छोरालाई परिचित गराएकी थिइनन्। घरबाहिर जाँदा चिनेजानेका र आफन्त तथा घरमा नै कहिलेकाँही आउने पाहुना तथा आफन्तले छोरालाई कोशेली नै चकलेट र विस्कुट दिन्थे।यसरी विस्तारै ती बालक बजारका प्रशोधित र गुलिया खानेकुरासँग परिचित हुँदै दैनिक माग गर्ने अवस्था पुगे।
ती बालककै जस्तै दुखेसो छ काठमाडौं मैतिदेवी निवासी २ वर्षीया बालिकाको आमाको पनि। भन्छिन् 'घरमा आउने पाहुनालाई बरु एउटा स्याउ, केरा वा अनार जस्ता फलफूल ल्याइदिनुस् चकलेज खुवाउन हुँदैन, बिस्कुट दिनु हुँदैन त भन्छौं तर पनि आफन्तले चलकलेट र बिस्कुट नै ल्याएर दिनुहुन्छ। सानो बच्चालाई माया गरेर ल्याइदिएको खानेकुरा कहिलेकाँही खाँदा के हुन्छ त भन्दै दिँदा दिँदा छोरीलाई त लत नै लागेको जस्तो भइसकेको छ।'
कहिलेकाँही आउने आफन्तले ल्याइदिएको चकलेट विस्कुटबाट बानी परेपछि आजकल त छोरीले यस्ता खानेकुरा पसल देख्नेवित्तिकै माग्ने र नदिए रुने गर्न थालेको उनले सुनाइन्।
‘चकलेट, विस्कुट खान दिनु हुँदैन भनेर घरमा आउने आफन्तलाई नल्याइदिनुस् भन्थें, तर उहाँहरुले मान्नुहुन्न, नानीले शब्द सिक्ने उमेरमा चकलेट, विस्कुट पनि चिन्दै गयो,’ उनले भनिन्, ‘अब त घरमा आउने आफन्तलाई फेरि आउनुस् है, आउँदा चकलेट ल्याइदिनुस् भन्न थालेकी छिन्। जति रोक्न खोजेपनि रोक्नै सकिँन।’
मधुर स्वरले ल्याइदिनुस् है भनेपछि आफन्तहरु पनि नानीलाई मनपर्छ भन्दै गुलिया खानेकुरा नै ल्याइदिन्छन्।
कोटेश्वरका ३५ महिनाका अर्का बालक मन्टेश्वरी कक्षामा जानुअघि चकलेट नपाए अँध्यारो अनुहार लगाउँछन्। 'स्कुल जानु अघि सँधै चकलेट मागेर हैरान पार्न थालेको छ, चकलेट दिँदा खुसी हुन्छ, नदिए अधेरो अनुहार बनाउँछ,' ती बालककी आमाले भनिन्। ती बालकमा पनि आफन्तहरुबाटै चकलेट खाने बानी परेको उनकी आमा बताउँछिन्।
‘साढे २ वर्षसम्म चकलेट दिएकै थिइन आजभोली त आफैँ माग्ने भयो’ ती बालककी आमाले भनिन्, ‘हजुरबुबा हजुरआमाले माया गरेर बानी लगाउनुभयो, सुरु–सुरुमा त नदिनु भन्थें तर, सधैं उहाँहरुलाई कराएर पनि साध्य नलाग्ने, आफूले मात्र कन्ट्रोल गरेर हुँदैन रहेछ।’
शान्तिनगरमा बस्दै आएका ३८ महिनाका बालक पनि आमासँग दिनकै चकलेट माग्छन्।
‘आजभोली त चकलेट नदिइ मान्दै मान्दैन, दिनकै ३ वटासम्म खान्छ,’ ती बालककी आमाले भनिन्, ‘गुलियो खानेकुरा बच्चालाई दिन हुँदैन भन्ने त थाहा छ तर के गर्नु कन्ट्रोल नै गर्न नसकिने रैछ।’
यी बालबालिका त उदाहरण मात्र हुन्। आजभोलि सहरीया नेपाली समाजमा बालबालिकाहरू प्रष्ट शब्द बोल्न सिक्नुअघि नै बजारका जंकफूड, पेय पदार्थ र चकलेट चिन्न थालिसकेका छन्। अभिभावकहरूले सुरुमा आफ्ना सन्तानलाई यस्ता खानेकुराबाट टाढै राख्न खोज्छन्। तर, घरमा आउने आफन्त, मामा, काका वा हजुरबुबा–हजुरआमाले ‘मायाको कोसेली’ भन्दै बोकेर आउने चकलेट र बिस्कुट नै अन्ततः ती कलिला बालबालिकाका लागि कुलत बन्न पुग्छ। अभिभावकको बाध्यता र समाजको असावधानीले हाम्रा सन्तति बिस्तारै ‘स्लो पोइजन’ (धीमा विष) को सिकार भइरहेका छन्।
हामीले १० भन्दा बढी बालबालिकाका आमाबुबालाई सोधेको प्रश्नमा धेरैले सुरुमा आफन्तहरुले ल्याइदिएको कोसेलीबाटै आफ्ना बच्चाहरुले चकलेट, विस्कुट, ललिपप जस्ता गुलियो खानेकुराको तलमा बसेको बताएका छन्।
कतिपय अभिभावकहरुले त खाजाको रुपमा नै बालबालिकालाई चाउचाउ विस्कुट दिने गरेको समेत पाइएको छ।
बालबालिकाहरुमा विदेशमा बस्नेले ल्याइदिने चकलेट, कहिलेकाँही घुमफिर गर्दा बाहिर खाने जंकफुड लगायतबाट बानी परेपछि सधैं माग्ने थाल्ने गरेको पाइएको छ।
विशेषगरी ५ वर्ष मुनिका बालबालिक चकलेट, विस्कुट, जंग फुल लगायत सुगर एण्ड स्वीटेन खाद्यवस्तु बानी परेपछि कन्ट्रोल गर्न गाह्रो हुने अभिभावकहरुले बताएका छन्। तर यस्ता खाद्यवस्तुको सेवाले बालबालिकाहरुको भविष्य रोगको जोखिममा फसेको चिकित्सकहरु बताउँछन्।
परिवर्तन हुँदै रोगको रूप
विगत दुई दशकमा नेपालमा रोग र स्वास्थ्य समस्याको स्वरूप (प्याटर्न) अनपेक्षित रूपमा बदलिएको छ। कुनै समय नेपालमा कुपोषण र खाद्यान्न अभावका कारण बालबालिका ख्याउटे हुने र अकालमा ज्यान गुमाउने समस्या मुख्य चुनौती थियो। तर, आज दृश्य फेरिएको छ।
वरिष्ठ मुटु शल्यचिकित्सक डा. भगवान् कोइरालाका अनुसार अहिले देशमा सरुवा रोगभन्दा नसर्ने रोग को प्रकोप भयानक छ। 'पहिला खाना नपुगेर वा कुपोषणले मानिस मर्थे, अहिले अत्याधिक खाएर वा अस्वस्थ खाना खाएर मर्नेको संख्या बढेको छ। यो ठूलो जनस्वास्थ्यको संकट हो,' डा. कोइराला भन्छन्।
एक तथ्यांक अनुसार हाल करिब एक-तिहाइ नेपाली युवाहरू मोटोपनको समस्याबाट ग्रसित छन् र यही मोटोपनका कारण मात्रै प्रतिवर्ष ३ हजार ८ सय जनाको मृत्यु हुने गरेको छ। यो समस्या अहिले वयस्कमा मात्र सीमित छैन, बाल्यकालमै मोटोपन र दाँतको खराबीका रूपमा यसले जरा गाड्न थालिसकेको छ।
पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्।
अस्पतालमा उपचारका लागि आएका बिरामीको तथ्यांकले पनि नेपालमा मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, मस्तिष्कघात, क्यान्सर जस्ता रोगको भार बढ्दै गइरहेको देखाएको छ। रोगका कारण एकातर्फ मृत्युदर बढिरहेको छ भने अर्कोतर्फ दीर्घ रोग र अशक्त भएर बाँच्नेको संख्या पनि थपिइरहेको छ।
बाल्यकालमै चिनीजन्य पेयपदार्थ र अति खराब चिल्लो पदार्थको सेवन धेरै हुँदै जाँदा ती बालबालिका भविष्यमा युवा उमेरमै कुनै न कुनै सरुवा रोगको सिकार हुने जोखिम बढेको डा कोइराला बताउँछन्।
'बालबालिकाले चकलेट धेरै खाँदा दाँत बिग्रन्छ भन्ने त धेरैले भन्छन्। तर दाँतसँगै शरीरका अन्य अंगमा पनि विस्तारै असर गर्दै भोलिका दिनमा ठूलो समस्या पनि ल्याउने जोखिमका विषयमा अहिलेदेखिनै बुझाउन आवश्यक छ,' उनले भने।
प्रजनन् स्वास्थ्यमै गम्भीर धक्का
बजारमा पाइने अत्यधिक चिनीयुक्त पेय पदार्थ (कोल्डड्रिंक्स, इनर्जी ड्रिंक्स) र जंकफूडको असर कति दूरगामी छ भन्ने कुरा प्रजनन् स्वास्थ्यको तथ्यांकले पनि पुष्टि गर्छ।
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका अनुसार चिनीजन्य पेय पदार्थ आजभोलि फेसन बनेको छ, तर यसले प्रजनन् स्वास्थ्यलाई ध्वस्त पारिरहेको छ। आधुनिक जीवनशैली र अस्वस्थ खानाका कारण गर्भवती महिलाहरूमा भिटामिन बी–१२, भिटामिन डी र म्याग्नेसियमको गम्भीर कमी देखिने गरेको छ, जसले गर्दा गर्भावस्था नै जोखिममा पर्ने गरेको छ।
'आजभन्दा २५–३० वर्ष अगाडिको प्रजनन् शक्ति र अहिलेको अवस्था हेर्दा प्रजनन् स्वास्थ्यमा ठूलो क्षय भएको छ,' डा. रिजाल थप्छन्, 'विशेषगरी विदेशमा बस्ने नेपालीहरू र नेपालकै युवाहरूमा पनि निसन्तानपनको समस्या बढ्दो छ। पुरुषहरूमा शुक्रकीटको संख्या घट्दै जानुमा गुलिया पेय पदार्थ र सुर्तीजन्य पदार्थको ठूलो हात छ।'
अभिभावकहरूले आफ्नो सहजताका लागि बालबालिकालाई हातमा मोबाइल थमाइदिने र कोठामा चाउचाउ, बिस्कुट तथा चकलेटको थुप्रो लगाइदिँदा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन खेलबाड भइरहेको चिकित्सकहरूको ठहर छ।
मुटुरोग र क्यान्सरको जोखिम
केही वर्षअघिसम्म गुलियो खानेकुराले केवल मोटोपन मात्र बढाउँछ भन्ने आम बुझाइ थियो। तर, पछिल्ला अनुसन्धानहरूले यसलाई ‘मेटाबोलिक डिजिज’ अर्थात् मुटुरोग, मधुमेह र क्यान्सरको मुख्य कारक प्रमाणित गरिसकेका छन्।
मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका अनुसार गुलिया पेय पदार्थहरू आजभोलि सामाजिक प्रतिष्ठा र भोजभतेरको अनिवार्य हिस्सा जस्तै बनेका छन्। उनी भन्छन्, 'गुलियो खानेकुरासँगै ट्रान्सफ्याटयुक्त खानेकुराको प्रयोग भयानक रूपमा बढेको छ। बालबालिकाको जन्मदिन वा पार्टीहरूमा खाइने केक र फास्टफूडमा अत्याधिक ट्रान्सफ्याट हुन्छ, जसको नेपालमा कुनै नियमन छैन।'
ट्रान्सफ्याटले रगतमा खराब कोलेस्टेरोल बढाएर सानै उमेरमा मुटुका धमनीहरू बन्द गराउने र क्यान्सरको जोखिमलाई कैयौँ गुणा बढाउने काम गर्छ।
त्यस्तै, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ कामाक्श्या शाह आफ्नो क्लिनिकल अनुभव सुनाउँदै भन्छिन्- 'म कहाँ १७-१८ वर्षका युवाहरू समेत ‘टाइप २ मधुमेह’ लिएर आउने गरेका छन्। कारण बुझ्दा, पढ्नका लागि निद्रा भगाउन उनीहरूले लगातार इनर्जी ड्रिंक्स लिने गरेको पाइयो।'
युवायुवतीहरूमा हर्मोनको असन्तुलन र कोलेस्टेरोलको समस्या महामारीका रूपमा फैलनुमा यी प्याकेटका खानेकुरा र कृत्रिम पेय नै जिम्मेवार छन्।
उपचारभन्दा रोकथाममा जोड
चिकित्सकहरुका अनुसार नेपालजस्तो सीमित स्रोत-साधन भएको मुलुकमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायमा जोड दिनुपर्छ। यसै सन्दर्भमा चिकित्सकहरूले सरकार, समाज र अभिभावकलाई तुरुन्तै कदम चाल्न केही महत्त्वपूर्ण सुझावहरू दिएका छन्।
पहिलो, गुलिया पेय पदार्थ र जंकफूडमा कर वृद्धि गर्ने। जसरी सुर्तीजन्य र मदिराजन्य पदार्थमा कर बढाएर त्यसको खपत कम गर्ने प्रयास गरिन्छ, त्यसैगरी अत्यधिक चिनी र ट्रान्सफ्याट भएका खाद्यवस्तुमा पनि कर बढाइनुपर्छ। डा. भगवान् कोइराला र डा. लोचन कार्कीका अनुसार यसरी उठ्ने करको रकमलाई राज्यले स्वास्थ्य क्षेत्रमै (नसर्ने रोगको रोकथाम र उपचारमा) खर्च गर्ने नीति बनाउनुपर्छ।
दोस्रो, प्याकेटमा 'खतराको संकेत' (रेड मार्क/चित्र) अनिवार्य गर्ने। डा. लोचन कार्कीले सुर्तीजन्य पदार्थको बट्टामा जस्तै गुलिया पेय पदार्थ र ट्रान्सफ्याटयुक्त तयारी खानाका प्याकेटमा पनि स्वास्थ्य जोखिम दर्शाउने 'खतराको संकेत', 'रेड मार्क' वा सांकेतिक चित्र राख्नुपर्ने प्रस्ताव गरेका छन्।
तेस्रो, 'प्रशोधित' लाई 'प्राकृतिक' खानेकुराले विस्थापित गर्ने। घर, विद्यालय र समाज कतै पनि बालबालिकालाई बजारिया खाना उपहार दिने चलन बन्द गरिनुपर्छ। डा. कामाक्श्या शाहका अनुसार घरमा अभिभावक आफैँले कोल्डड्रिंक्स र जंकफूड खान छोड्नुपर्छ। प्याकेटका खानेकुराको सट्टा फलफूल, मकै, भटमास, अण्डा जस्ता प्राकृतिक र परम्परागत पौष्टिक खानालाई बालबालिकाको खाजामा समावेश गर्नु उनी सुझाव दिन्छिन्।
चौथो, विद्यालय र अस्पताल वरपर बिक्रीमा प्रतिबन्ध र नियमन। अस्पताल तथा विद्यालय वरपर समेत चिजबल, कुरकुरे, चकलेट र कोल्डड्रिंक्स खुलमखुल्ला बिक्री भइरहेका छन्। यसलाई नियन्त्रण गर्न सरकारले कडा नियमन र अनुगमन टोली परिचालन गर्नुपर्ने चिकित्सकहरुले जोड दिएका छन्।
नागरिक र सरकार दुवै जागौँ
चिकित्सकहरुका अनुसार बालबालिकालाई मायाको नाममा दिइरहेको एक टुक्रा चकलेट वा एक बोतल चिसो पेय पदार्थले उनीहरूको आयु घटाइरहेको छ र भविष्यमा अस्पतालको शय्यातिर धकेलिरहेको छ।
'बजारमा पाइने पानीपुरी, अस्वस्थ तेलमा पटक-पटक तारिएका खानेकुरा र रंगीन मिठाईहरू ‘भोलिका कर्णधार’ भनिने हाम्रा सन्ततिका लागि घातक बनिरहेका छन्,' चिकित्सकहरु भन्छन्, 'यो संकटबाट देशलाई जोगाउन अब केवल सरकारको मुख ताकेर पुग्दैन। सरकारले नीतिगत रूपमा कर वृद्धि र नियमन कडा गर्नुपर्छ भने नागरिक स्तरमा अभिभावकहरू आफैँ सचेत भई आफ्नो भान्सा र बालबालिकाको हातबाट ‘गुलियो विष’ खोस्न ढिला गर्नुहुँदैन।'
अस्वस्थ खानेकुरामा कर वृद्धि गरौँ

डा भगवान् कोइराला, वरिष्ठ मुटु शल्यचिकित्सक
नेपालमा गएको दुईदशकमा विभिन्न खाले रोगको प्याटर्नमा ठूलो परिवर्तन आएको छ। पहिला–पहिला सर्ने रोगका बिरामी धेरै हुन्थे। तर अहिले नसर्ने रोगका बिरामी धेरै छन्। नसर्ने रोगबाट मृत्युहुने दर पनि बढेको छ।
यस्तै पोषण सम्बन्धि रोग तथा समस्यामा पनि परिवर्तन आएको छ। पहिला पहिला कुपोषणको समस्या बढी थियो। पोषिलो खानेकुरा खान नपाएर बालबालिकाहरु दुब्ला, पातला, ख्याउटे हुने र विभिन्न खाले रोग यही कारणले हुने गर्दथ्यो भने अहिले अत्याधिक खाएर, अस्वस्थ खानेकुरा खाएर बिरामी हुनेको संख्या बढेको छ। अस्वस्थ खाना अर्थात जंकफूड, गुलियो पेय पदार्थ तथा वेकरी आइटम खाएर बच्चाहरुमा मोटोपनको समस्या पनि बढेको छ।
सरल भाषामा भन्नुपर्दा पहिला खाना नपुगेर मृत्यु हुनेको संख्या धेरै थियो भने अहिले खाना धेरै भएर वा अस्वस्थ खाना खाएर हुने मृत्युको संख्या बढेको छ। यो ठूलो जनस्वास्थ्यको विषय हो। यसलाई नियन्त्रण गर्न सरकारले, स्वास्थ्य मन्त्रालयले विभिन्न तवरबाट नीति नियम अनुसार रेगुलेट गर्नुपर्ने दायित्व सरकारको हो।
२०२५ को एउटा स्वास्थ्यसम्बन्धि तथ्यांकले करिब एकतिहाई युवाहरु मोटोपनबाट ग्रसित छन्। यही मोटोपनका कारणले प्रतिवर्ष ३ हजार ८ सय व्यक्तिको मृत्यु हुनेगर्छ। त्यसैले यो ठूलो समस्या हो। यो समस्या वयस्कमा मात्र सिमित छैन। बालबालिकाहरुमा पनि मोटोपनको समस्या बढेको छ।
यसको कारणमध्ये एउटा हो अस्वस्थ खाना। अस्वस्थ खानामा पहिलो नम्बरमा गुलियोपन बढी भएका पेय पदार्थहरु हुन्। हेर्दा ठिकै लाग्ने, कुनै ठूलो समस्या आउलाजस्तो नलाग्ने तर, त्यसको सेवनले भविष्यमा बालबालिकाहरुमा दाँतको रोग, मोटोपन बढ्ने लगायतका समस्या जन्माउछ। हेर्दा सानो लागेपनि यो ठूलो समस्या हो। संसारभर नै यसको नियन्त्रण र विक्रीमा नियमन नियन्त्रण अत्यावश्यक छ।
यस्तो पर्दाथहरु कति स्वास्थ्यवद्र्धक कति हानिकारण भनेर छुट्याएर लेभलिङ गर्ने, जनस्वास्थ्यको नियमले हानिकारक भनेका वस्तुहरुमा कर बढाउने गर्नुपर्छ।
यस्ता वस्तुमा कर बढाउँदा सरकारलाई पनि फाइदा पुग्छ, जनताको स्वास्थ्य सुरक्षा पनि राम्रो हुन्छ।
अस्वस्थ खानेकुरामा कर बढाउँदा यी अस्वस्थ खानाहरुको प्रयोगदर घटेर आउँछ र धेरैवर्ष पछि यसले मोटोपन लगायतका समस्या कम गराउँछ र मृत्युदर घट्छ। यो प्रमाणित कुरा हो। त्यसैले सरकारले बजेट बनाउँदा अस्वास्थ पेय पदार्थहरुमा कर वृद्धि गराउनुपर्छ।
गुलिया पदार्थले प्रजनन् क्षमतामा असर पार्दैछ

डा भोला रिजाल, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेष
नुन, चिनी लगायतका पदार्थहरुले स्वस्थ मानिसमा पनि नराम्रो असर पार्छ भन्नेकुरा प्रमाणित भइसकेको कुरा हो। यसको असर अहिले मानिसहरुमा देखिन थालेको छ।
आजाभोलि मानिसहरुमा कोर्वोहाइड्रेड, मिनरल, भिटामिनको डेफिसेन्सी देखिएको छ। यसले प्रजनन् स्वास्थ्यमा असर पारिरहेको छ। गर्भवति महिलाहरुमा अहिले असर परिसकेको अवस्था छ।
घाममा नबस्ने, पौष्टिक सन्तुलित खानेकुरा नखाने लगायतका कारणले महिलाहरुमा भिटामिन बी–१२, भिटामिन डी, म्याग्नेसियम लगायतका तत्वहरुको शरीरमा कमी देखिने गरेको छ।
जसले महिलाहरुमा गर्भाअवस्था नै जोखिममा पर्ने गरेको छ। हामीले गर्भवती महिलाहरुमा पहिलोपटक गर्भजाँचका लागि आउँदा नै भिटामिन, सुगर, प्रेसर लगायतका जाँच र परीक्षणहरु गर्ने गर्छौ।
चिनीजन्य पेय पदार्थ आजाभोलि फेसन बनेको छ। तर यसले महिलाहरुको प्रजनन् स्वास्थ्यमै असर पारिरहेको छ। त्यसैले गुलिया पेय पदार्थ तथा मदिरा लगायत स्वास्थ्यलाई असर पार्ने खानेकुराहरु बन्द नै हुनुपर्छ। निसन्तानपनको समस्या भएका दम्पत्तिले अस्वस्थ खानेकुरा खानु नै हुँदैन। विदेशमा बस्ने नेपालीहरुमा निसन्तानपनको समस्या बढेको छ। पुरुषहरुमा शुक्रटिकको संख्या नै घट्दै गएको देखिन्छ। यसको एउटा कारण गुलिया पेय पदार्थ र सुर्तिजन्य पदार्थ पनि हो। गुलिया पेय पदार्थ तथा सुर्तिजन्य पदार्थले हाम्रा भावि सन्ततिमा पनि प्रभाव परेको देखिन्छ।
आजभन्दा २५–३० वर्ष अगााडीको प्रजनन् शक्ति र अहिलेको अवस्था हेर्दा प्रजनन् स्वास्थ्य अवस्थामा क्षय भएको छ।
चिनीजन्य पेय पदार्थ वा चकलेजहरुको गुणस्तर के छ भन्ने मापन गरिदैन तर कुनै देशबाट ल्याइएको हो वा विदेशको हो भन्ने वित्तिकै राम्रो होला भनेर खाने गर्छौ। तर त्यसको क्यालोरिभ्यालु, गुणस्तर परिक्षण भएको छ जस्तो लाग्दैन। त्यसको नकारात्मक असर दाँत, घाँटी र पुरा स्वास्थ्यमा पनि पर्छ।
बालबालिकाहरुलाई सानै देखि ललिपप, चकलेट वा विभिन्न नाममा गुलिया वस्तु खुवाउने, मिठाई खुवाउने गर्दा उनीहरुको ठूलो भएपछि स्वास्थ्यमा नकारात्मक असर पार्छ।
कतिपय अभिभावकले बालबालिकाहरुलाई जन्माउँछन् तर सही तरिकाले हुर्काउन जानेका हुदैनन्। आफ्नो सहजताका लागि बालबालिकालाई मोवाइल दिएर छाड्ने गरेको पनि पाइन्छ। यसले उनीहरुको आँखा, ब्रेन र मानसिक स्वास्थ्यमा कति असर गर्छ अनुमान नै गरेका हुँदैनन्।
बट्टाको बट्टा चकलेज, चाउचाउ, विस्कुट ल्याएर राख्ने गर्छन् त्यसले उनीहरुको स्वास्थ्यमा दीर्घकालिन रुपमा कस्तो असर पर्छ ख्याल नै गरेका हुँदैनन्। कतिपय अभिभावकहरुले आफ्नो सहजताका लागि आफ्नै बालबालिकाको स्वास्थ्यमाथि खेलवाड गरिहेका छन्।
गुलियो पेय पदार्थले भविष्यमा पार्ने असरबारे अब सबैजना सचेत हुन आवश्यक भइसकेको छ।
सरकारले पनि नीति नियम बनाएर यस्ता पदार्थको नियमन नियन्त्रण गर्नुपर्छ। यसमा सरकारलाई मात्र दोष दिएर हुँदैन। नागरिक पनि सचेत हुनुपर्छ। बजारमा पाइने पानीपुरी खान्छन् यो कति गुणस्तरहिन छ, कति नराम्रो किटाणुहरु छन् भन्ने अनुमान नै गरिदैन। अस्वस्थ तेलमा पटक पटक तारेका खानेकुराहरु खाइरहेका छौं। यसले हामी र हाम्रो बालबालिका तथा गर्भवती महिला, प्रजनन् स्वास्थ्यको विकास भइरहेका किशोरकिशोरीमा यसले असर गरिरहेको छ।
त्यसैले हामी नागरिक पनि समेत हुनुपर्छ र सरकारले पनि सही तरिकाले नियमन गर्नुपर्छ।
गुलियो पेय पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्छ

डा ओम मूर्ती अनिल, मुटुरोग विशेषज्ञ
गुलियो खानेकुराले मोटोपना बढाउनसक्छ भन्ने सोच केही वर्षसम्म थियो। विगतका दशकमा जति अध्ययन र अनुसन्धान भए ती अध्ययन अनुसन्धानले गुलियो खानेकुरालाई मेटाबोलिक डिजिज विशेष गरी मुटुरोग, क्यान्सरसँग समेत जोखिएको छ। यो अन्तर्राष्ट्रिय स्तरसम्म चासोको विषय बनेको छ। बालदेखि वृद्धसम्म गुलियो खानेकुराले विभिन्न किसिमका स्वास्थ्य समस्या निम्त्याउने कुरामा जनचासो बढेको छ।
हाम्रो दैनिक खानामा चिनीको मात्रा कसरी कम गर्ने भनेर ख्यालगर्नुपर्ने समय छ। गुलियो खानेकुराले मोटोपना बढाउछ भन्ने आमा बुझाइ थियो। विगतका केही वर्षहरुमा यसमा ठूलो परिवर्तन देखिएको छ। केही अनुसन्धानले गुलियो खानेकुरा धेरै खादा मटाबोलिक रोगहरुसँगै मुटुरोग र क्यान्सर समेतको जोखिम बढाउने गर्छ। त्यसैले अन्तर्राष्ट्रिय स्तरमा खानामा चिनीको मात्रा कम हुनुपर्छ भन्ने मान्यता आएको छ। मानिसहरुले यसमा गम्भीर भएको पनि देखिन्छ। बाल देखि वृद्धसम्म असर गर्ने गुलियो खानेकुरा हामीले त्याग्न सकेका छौं त अब बिचार गर्ने समय आएको छ।
गुलियो खानेकुरा मध्ये पेय पदार्थ ठूलो सोसर प्रेसरको रुपमा पनि यसको प्रयोग बढेको छ। विभिन्न पार्टी वा सम्मेलन, सभामा जाँदा गुलियो पेय पदार्थ हुनैपर्ने जस्तो बाध्यता पनि छ। यो बाध्यताले पनि खाएको पनि देखिन्छ। विशेषगरी बच्चाहरुलाई यस्ता खानेकुराबाट टाढा राख्नुपर्छ।
अभिभावकले स्कुलमा पनि यस्ता गुलिया खानेकुरालाई कन्ट्रोल गरिएको छ छैन ख्याल गर्नुपर्छ। गुलियो खानेकुरासँगै ट्रान्सफ्याटयुक्त खानेकुराको प्रयोग पनि आजभोली बढेको छ। बालबालिकाको जन्मदिन वा अन्य समयमा खाइने केक, फास्टफुडमा अत्याधिक ट्रान्सफ्याट हुन्छ। यसको राम्रोसँग नियमन भएको देखिदैन। ट्रान्सफ्याटले दीर्घकालमा विभिन्न किसिमका स्वास्थ्य जटिलता उत्पन्न गर्ने र मुटुरोगमा विभिन्न किसिमका समस्या तथा क्यान्सरहरुको समेत जोखिम बढाउँछ। त्यसैले यस्ता खानेकुरालाई परिवार, विद्यालय र समाजबाटै नियमन गर्न र राज्यले पनि यसमा नियन्त्रण गर्न जरुरी छ।
चुरोटको मुल्य बढाउदा यसको खपतमा कमि आएको छ। गुलिया पेय पदार्थको विक्रीवितरणमा कडाई गर्ने र नयाँ नीति नियम ल्याएर भएपनि बालबालिकाको पहुँचबाट टाढा राख्ने प्रयास हुनुपर्छ।
गुलियो पेय पदार्थ र ट्रान्सफ्याटयुक्त खानेकुरामा खतराको संकेत वा चित्र राख्नुपर्छ

डा लोचन कार्की, वरिष्ठ फिजिसियन
अत्याधिक गुलियो पेय पदार्थ तथा अत्याधिक बोसोजन्य अर्थात ट्रान्सफ्याट भएको खानेकुराहरु बजारमा छताछुल्ल देखिन्छ। अस्पताल तथा विद्यालयको वरपर समेत यस्ता वस्तुहरुको सहज विक्रीवितरण भइरहेको छ। यो दुखद कुरा हो। वास्तवमा यो स्लो पोइजन हो। यस्ता खानेकुराले नथापाउने गरिकाले हाम्रो शरीरमा असर गरिरहेको छ। पछिल्लो समयको तथ्यांक हेर्दापनि हार्टअट्याक लगायत मुटुरोग, उच्चरक्तचाप, मधुमेह, क्यान्सर लगायत नसर्ने रोगहरु युवाअवस्थामै देखिन थालेको छ।
हामीजस्तो देशले यस्ता रोगहरुमा उपचारात्मक भन्दापनि प्रिभेन्सनमा ध्यान दिनुपर्ने छ। किनकी हाम्रो जस्तो मुलुकमा रोग लागेपछि उपचार गर्ने खर्च कम भएकाले यस्ता रोगहरुलाई समयमै नियन्त्रण गर्न सकेमा राज्यको आर्थिक भार कम गर्न सकिन्छ। त्यसैले यसमा ध्यान दिनुपर्छ। प्रिभेन्सन इज वेटर देन क्युर भनिन्छ। हाम्रो जस्तो मुलुकले यसमा ध्यान दिन जरुरी छ।
चिजबल, चकलेज, कोल्डड्रिंस भनेर पारिवारिक पाटी, वा घुमफिरको वाहानामा नजानिदो तरिकाले अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई अस्वस्थ बनाइरहेका छन् र यो कुरा बुझिरहेका छैनन्। यसलाई रोक्न चिकित्सक, पत्रकार, नागरिक सबै सचेत हुन जरुरी छ।
यसका लागि मेरो तीनवटा सुझाव छ। पहिलो जसरी हामीले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्छ भनिरहेका छौं जुन अझैपनि जरुरी छ। त्यसैगरी गुलियो पेय पदार्थ तथा ट्रान्सफ्याट भएका खानेकुरामा पनि अहिलेभएको करबाट अझ बढाएर करवृद्धि गर्नुपर्छ। र यसबाट आएको रकमलाई अन्यकुरामा भन्दापनि स्वास्थ्यमा नै खर्च गर्नुपर्छ र यस्ता रोग लाग्न नदिन तथा रोग लागेका बिरामीको उपचारमा प्रयोग हुनुपर्छ। नसर्ने रोग नियन्त्रणका लागि प्रिभेन्सन र ट्रिटमेन्टमा स्वास्थ्य मन्त्रालयले करबाट उठेको रकम स्रोतको रुपमा प्रयोग गर्ने व्यवस्था हुनुपर्छ।
दोस्रो कुरा जनचेतनाका कार्यक्रममा पनि वृद्धि गर्नुपर्छ। अभिभावकहरुलाई गुलियो पेय पदार्थ तथा बोसोयुक्त खानेकुरा बालबालिकालाई दिनु हुँदैन भनेर सचेतना जगाउन अवाश्यक छ। बालबालिकालाई पनि भिडियो सेन्देश, चलचित्रमार्फत समेत गराउनुपर्छ। यस्ता पदार्थहरु विद्यालय अस्पताल वरपर खुलारुपमा विक्री भइरहेको छ भने यसमा सरकारको नियमनको आवश्यकता छ। यसका लागि सरकारले अनुगमन गर्नुपर्छ र नियमिन नियन्त्रण गर्नुपर्छ। यसको लागि जनशक्ति जोडिन्छ। पब्लिक हेल्थको इमजेन्र्सी आउनसक्ने भएकाले गुलिया पेय पदार्थको असर बारे सचेतनाका लागि सरकारले जनशक्ति थपेर भएपनि काम गर्नुपर्ने अवाश्यकता छ।
तेस्रो कुरा सुर्तिजन्य पदार्थमा खतराको संकेत तथा चित्र प्रयोग पनि हुनेगरेको छ। मािनसहरुमा खानेकुरामा हेलचेक्याइ गर्ने भएकाले गुलियो पेय पदार्थ तथा अस्वस्थ बोसोयुक्त खानेकुराको प्याकेटमै पनि खतराको संकेत देखिने स्टिकर, रेडमार्क दिएर वा उक्त खानेकुराको प्रयोगले लाग्नसक्ने रोगको चित्र छापेर सांकेतिक रुपमा सचेत गराउनुपर्छ। जसले गर्दा अभिभावक र बालबालिकामा साइकोलोजिकल्लि पनि प्रभाव पर्छ र यस्ता खानेकुराको प्रयोगदर कम हुनसक्छ। भविष्यमा नसर्ने रोग बढ्ननु भनेको आर्थिक भार बढ्नु हो। त्यसैले सरकारले, स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयले अस्वस्थ गुलियो पेय पदार्थ तथा बोसोयुक्त प्याकेटका खानेकुरामा करवृद्धि गर्नुपर्छ।
प्याकेटका खानेकुरालाई प्राकृतिक खानेकुराले विस्थापित गर्नुपर्छ

कामाक्श्या शाह, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ
म कहाँ उपचारका लागि एकजना १७,१८ वर्षका युवा टाइप २ मधुमेह लिएर आउनुभएको थियो।
उहाँको जीवनशैलीबारे बुझ्दा उहाँले पढ्नका लागि निद्रा नलागोस् भनेर इनर्जी ड्रिंस लिने गरेको बताउनुभयो। इनर्जी ड्रिंस्, चिसो गुलिया पेय पदार्थहरुको अत्याधिक सेवनमा युवाहरुमा समेत मधुमेको समस्या देखिएको छ। महिलाहरुमा हर्मोनसँग सम्बन्धित रोग, कोलेस्टोरोल लगायतका समस्याहरु युवायुवतीहरुमा देखिन थालेको छ। कोल्डड्रिंस वा इनर्जीड्रिंक्सबाट बालबालिका तथा युवाहरुलाई टाढा राख्न अभिभावक आफैले पनि त्यस्ता खानेकुरा त्याग्न जरुरी छ। आफूले खाने तर बच्चाहरुलाई मात्र नियन्त्रण गर्दा उनीहरुले पनि लुकेर वा जिद्दी गरेरै भएपनि खाने गर्छन् र बानी पर्नसक्छ।
जंगफुड, कोलड्रिंक्स, इनर्जीड्रिंक्सहरु आफूले नखाने, घरमा नलाने गरेमा बालबालिकाले प्रयोग गर्न पाउँदैन। जीवनशैली सुधारको प्रयास घरबाट नै भएमा बालबालिकाहरुले पनि त्यही अनुसरण गर्छन्। अभिभावकहरुले कुन खानेकुरा पोषणयुक्त छ कुनखानेकुरा विषबराबर छ भन्नेकुरा सिकाउन आवश्यक छ।
सरकारले पनि यस्ता गुलिया पेय पदार्थमा कर बढाइदिदा यसमा नियन्त्रण गर्न सकिन्छ। सजिलो तरिकाले बनाउन मिल्ने खानेकुरा, प्याकेटका खानेकुरामा धेरै ट्रान्सफ्याट हुन्छ। यस्ता खानेकुराको सेवनले मोटोपन, सुगर, हर्मोनसबन्धि समस्या बढेको छ। अब प्याकेटका खानेकुरालाई प्राकृतिक खानेकुराले विस्थापित गर्नुपर्ने आवश्यक भएको छ।