नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयन भएको छ। यसपटकको निर्वाचनले बाहिरी रूपमा एउटा फरक दृश्य अवश्य प्रस्तुत गर्यो। अघिल्ला चुनावहरूमा जस्तो 'प्रजातान्त्रिक' र 'प्रगतिशील' ध्रुवीकरण खुलेआम देखिएन। उम्मेदवारहरू 'टिम'को नाममा मैदानमा उत्रिए। प्रचार सामग्रीमा प्रत्यक्ष राजनीतिक दलका झण्डा, नारा र संगठनात्मक पहिचान कम देखिए। यसले एनएमए अब पेशागत चरित्रमा फर्किन खोजिरहेको महशुस आम चिकित्सक र सरोकारवालालाई भएको छ।
औपचारिक रूपमा राजनीतिक 'रङ' हटेपनि त्यसले छाडेको 'दाग' केही बाँकी छ। डा. बद्री रिजाल नेतृत्वको नयाँ कार्यसमितिमाथि त्यसलाई मेटाएर साझा मञ्च बनाउनुपर्ने कार्यभार छ। यसले धरै चिकित्सकले प्यानलभन्दा व्यक्तिको योग्यता हेरेर मतदान गरे। ठूलो संख्यामा ‘क्रस भोटिङ’ भयो। यसले चिकित्सक समाजको ठूलो हिस्सा अब एनएमएलाई राजनीतिक शक्ति परीक्षणको अखडा होइन, पेशागत बौद्धिक मञ्चका रूपमा हेर्न चाहन्छ भन्ने दर्शाउँछ।
चिकित्सकहरूको साझा पेशागत मञ्चलाई राजनीतिक प्रभावको विस्तारित संरचना बनाउने कदमलाई आगामी दिनमा सिधै 'नो' भन्ने संकेत यसपल्टको निर्वाचनले गरेको छ।
नारा होइन चरित्र : एकता, भ्रातृत्व र सेवा
नेपाल चिकित्सक संघको स्थापना २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकले गरेका थिए। उद्देश्य स्पष्ट थियो- चिकित्सकको पेशागत हकहित रक्षा गर्ने, चिकित्सा सेवाको गुणस्तर सुधार गर्ने र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने। संस्थाको मूल मन्त्र थियो— 'एकता, भ्रातृत्व र सेवा।'
यो नारामात्र थिएन, संस्थाको चरित्र थियो। एनएमए कुनै राजनीतिक शक्ति निर्माणका लागि बनेको थिएन। बरु यो स्वास्थ्य क्षेत्रको बौद्धिक केन्द्रका रूपमा विकसित भएको थियो। राजतन्त्रको समयमा समेत संघको प्रतिष्ठा यस्तो थियो कि राजा र राजपरिवारका सदस्य संघको कार्यालयमै पुग्थे। स्वास्थ्य मन्त्रालयले २०१४ सालदेखि संघका महासचिवलाई सल्लाहकार भूमिकामा सहभागी गराउन थालेको थियो।

पूर्व अध्यक्ष डा. लोचन कार्की सम्झिन्छन्, 'मैले किताब लेख्दा महसुस गरेको कुरा के थियो भने, यो संस्था सुरुदेखि नै एउटा ‘थिंक ट्यांक’ थियो। राजाहरू नै यसको प्याट्रोन हुने, प्रधानमन्त्री सूर्यबहादुर थापालाई नेपाल मेडिकल एसोसिएसनको भवनमा राखेर चिकित्सकहरूले आफ्ना कुरा राख्ने गौरवशाली इतिहास छ।'
त्यो समय एनएमएले स्वास्थ्य शिविर सञ्चालन गर्थ्यो, घुम्ती स्वास्थ्य सेवा दिन्थ्यो, जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम चलाउँथ्यो। चिकित्सकको एकतासँगै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्थ्यो।
त्यसैले राज्यले पनि एनएमएलाई सम्मान गर्थ्यो। त्यो सम्मान राजनीतिक निकटताले होइन, संस्थाको बौद्धिक विश्वसनीयताले प्राप्त भएको थियो।
एकतामा विभक्तता
तर समयसँगै नेपालको राजनीतिक ध्रुवीकरण यस संस्थाभित्र पनि प्रवेश गर्न थाल्यो। चिकित्सकहरू विभिन्न राजनीतिक धारसँग जोडिए। राजनीतिक दलनिकट समूहहरू एनएमएभित्र संगठित भए।
चिकित्सहरुलाई पहिलो शब्द 'एकता'को ठाउँमा राजनीतिक 'विभक्तता' प्रिय लाग्न थाल्यो । आपसमा अनि नेतृत्व चयन क्रमशः पेशागत प्रतिस्पर्धाभन्दा राजनीतिक शक्ति परीक्षण जस्तो देखिन थाल्यो। कुन उम्मेदवार कति सक्षम छ भन्नेभन्दा पनि ऊ कुन राजनीतिक धारसँग नजिक छ ? भन्ने प्रश्न निर्णायक बन्न थाल्यो। चुनाव जित्ने वा हार्ने व्यक्ति मात्र होइन, एउटा राजनीतिक समूह नै विजयी वा पराजित हुने भाष्य बन्न थाल्यो। यही अवस्थाले एनएमएको मूल चरित्र कमजोर बनाउँदै गयो।
आज नेपाल मेडिकल काउन्सिलमा करिब ४० हजार चिकित्सक दर्ता छन्। तर एनएमएका सदस्य करिब १६ हजार मात्रै छन्। यो केवल सङ्ख्यात्मक तथ्य होइन। यो संस्थाप्रतिको घट्दो भावनात्मक सम्बन्धको संकेत हो।
धेरै चिकित्सकलाई एनएमए आफ्नै साझा संस्था जस्तो लाग्दैन। जो चिकित्सक कुनै राजनीतिक समूहसँग निकट छैनन्, उनीहरू नेतृत्वमा पुग्ने सम्भावना कमजोर देख्छन्। संगठनभित्र आफ्नो स्थान सुरक्षित छैन भन्ने अनुभूति गर्छन्। फलस्वरूप उनीहरू संघसँग दूरी बनाउँछन्।
चुनावले दिएको मिश्रित सन्देश
यसपटकको निर्वाचनले दुई विपरीत संकेत एकैपटक दियो। एकातिर खुला राजनीतिक ध्रुवीकरण केही नरम देखियो। अर्कोतिर राजनीतिक प्रभाव अझै निर्णायक रहेको स्पष्ट भयो।
डा. मंगल रावल, जो अध्यक्षका निकटतम प्रतिस्पर्धी थिए, यसलाई एनएमएको संरचनागत समस्यासँग जोड्छन्।
उनको भनाइ छ, 'अहिलेसम्म एउटै समूहले वर्षौंदेखि नेतृत्व गरिरहेको छ। काम भएको छ, तर अपेक्षाअनुसार परिणाम देखिएको छैन। सदस्य आफैं बनाउने र त्यही सदस्यबाट चुनाव जित्ने परम्परा रहँदै आएको छ।
उनलाई 'सबै चिकित्सकले मतदान गर्न पाएको भए परिणाम फरक आउँथ्यो' भन्ने अझै लागिरहेको छ। उनको असन्तुष्टि केवल चुनावी परिणामसँग सीमित छैन। उनी एनएमएको संरचनात्मक पुनर्गठन चाहन्छन्।

उनले 'पार्टिसिपेटिभ एनएमए'को अवधारणा अघि सार्दै सदस्यता शुल्क ३ हजारबाट ३०० रुपैयाँमा झार्ने, अनलाइन मतदान लागू गर्ने, नियमित अडिट रिपोर्ट सार्वजनिक गर्ने, कानुनी परामर्श प्रणाली विकास गर्ने बताएका छन्।
उनले भने- 'यदि एनएमए ठीक ठाउँमा भएको भए म अध्यक्षमा उठ्दिनथेँ। सुधार गर्नुपर्ने धेरै कुरा छन्। सबैभन्दा पहिले एउटा राजनीतिक समूहको झुन्डजस्तो देखिने अवस्था अन्त्य हुनुपर्छ।'
डा. रावलको यो भनाइलाई व्यक्तिगत असन्तुष्टिका रुपमा मात्रै बुझ्नु हुँदैन । चिकित्सक समाजको एउटा हिस्साको मनोविज्ञानको प्रतिनिधित्व उनले गरेका हुन्।
युवापुस्ताको अपेक्षा
आजको युवा चिकित्सक पुस्ता एनएमएएसँग निराश देखिन्छ। उनीहरूको असन्तुष्टि त्यहाँ नेतृत्वका लागि हुने राजनीतिसँग होइन, प्रतिनिधित्वको अभावसँग पनि जोडिएको छ। इन्टर्नसिपदेखि रेजिडेन्सीसम्मको कठिन यात्रा, कम पारिश्रमिक, असुरक्षित कार्यस्थल, अत्यधिक कामको चाप, मानसिक तनाव, विदेश पलायन आदि समस्या छन् । त्यो बेला उनीहरू आफूलाई एक्लो महसुस गर्छन्।
त्यसैले उनीहरू एनएमएलाई औपचारिक संस्था होइन, पेशागत जीवनको सुरुवातदेखि साथ दिने अभिभावक संस्था बनाउन चाहन्छन्।
डा. सुमन आचार्य भन्छन्, 'नेपालको चिकित्सा शिक्षामा खासै सुधार आउन सकेको छैन। यसको आवाज उठाउनुपर्ने संस्था नेपाल चिकित्सक संघ हो। तर त्यसलाई बुलन्द बनाउन नसकेको अवस्था छ।'
उनका अनुसार मेडिकल विद्यार्थीहरूले अध्ययनकालदेखि अनेक समस्या भोगिरहेका छन्, तर एनएमएले त्यसलाई प्रभावकारी रूपमा उठान गर्न सकेको छैन। एमबिबिएसको सिटअनुसार एमडीमा अवसर नहुँदा युवा चिकित्सक विदेश पलायन भइरहेका छन्। रेजिडेन्ट चिकित्सकलाई ३६ घण्टासम्म ड्युटी गराइन्छ। मानसिक तनाव चरम छ।

डा. अनुराधा प्रधान भन्छिन्- 'नेपाल चिकित्सक संघ भएर चिकित्सकहरूको हकहितमा त्यस्तो उपलब्धिमूलक काम भएको आभास हामीजस्ता युवा चिकित्सकले गर्न पाएका छैनौं।'
उनी विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकको समस्याप्रति संघ उदासीन रहेको बताउँछिन्। 'चिकित्सकहरू सहरमा मात्रै होइन, दुर्गम क्षेत्रमा पनि जनताको सेवामा छन्। तर दुर्गममा कार्यरत चिकित्सकको अवस्था बुझ्नसमेत संघले चासो नदिएको जस्तो लाग्छ,' उनले थपिन्।
नेपालमा चिकित्सकमाथि हुने आक्रमणका घटना पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेका छन्। अस्पतालमा तोडफोड, हातपात, धम्की, सामाजिक सञ्जालमा अपमान, यी सबै अहिले सामान्यजस्तै हुन थालेका छन्।
युवा चिकित्सकहरूलाई लाग्छ, यस्तो अवस्थामा एनएमएले पर्याप्त दृढता देखाउन सकेको छैन। डा. रामजी रामका अनुसार एनएमएले चिकित्सकको सुरक्षाको अनुभूति दिलाउन सके मात्रै यसको औचित्य बलियो हुन्छ। 'चिकित्सकमाथि दुर्व्यवहार हुँदा नेपाल चिकित्सक संघ भएको आभास दिलाउन सके मात्रै यसको औचित्य रहन्छ,' उनले भने ।
तर समस्या सुरक्षामा सीमित छैन। आज धेरै चिकित्सक मानसिक रूपमा थाकेका छन्। बर्नआउट, आर्थिक असुरक्षा, पेशागत अनिश्चितता र सामाजिक अविश्वासले उनीहरूलाई कमजोर बनाइरहेको छ।
डा. जितेन्द्र भण्डारी भन्छन्, 'विगतमा चिकित्सकलाई भगवान्को रूपमा हेर्ने परम्परा अहिले परिवर्तन भएको छ। त्यसैले अब एनएमएले समाजसँगको सम्बन्ध पुनर्निर्माणमा पनि काम गर्नुपर्ने आवश्यकता देखिएको छ।'
नयाँ मोडमा एनएम
वर्तमान परिस्थिति हेर्दा एनएमए मझधारमा छ । यसले अब एउटा स्पष्ट किनार रोज्नुपर्ने देखिन्छ । पूर्वअध्यक्ष डा. लोचन कार्की एनएमएको वर्तमान अवस्थालाई 'मझधार' भन्न रुचाउँदैनन् । उनी 'नयाँ मोडमा' गएको तर्क गर्छन्।
उनको स्वीकारोक्ति छ, 'समयको तालसँगै संस्थाले चाल बढाउन सकेको छैन। नयाँ पुस्ताले खोजेजस्तो डेलिभरी हामीले अझै दिन सकेका छैनौँ।'
तर उनी सामाजिक सञ्जालको प्रभाव, तत्काल प्रतिक्रिया खोज्ने संस्कार र संस्थागत धैर्यबीचको टकरावलाई पनि वर्तमान असहजताको कारण मान्छन्। उनका अनुसार एनएमएले बोल्दा १० पटक सोच्नुपर्छ तर त्यो सावधानी कहिलेकाहीँ निष्क्रियताजस्तो देखिन्छ।

डा. कार्कीले आफ्नो कार्यकालमा जुनियर डाक्टर कमिटी, वुमन इन मेडिसिन, नेसनल हेल्थ समिट, मेडिकल लाइब्रेरी, मेडिकल म्युजियमजस्ता कार्यक्रम सुरु गरेका थिए। उनले ३३ वटा स्वास्थ्यसम्बद्ध संस्थाको अलायन्ससमेत बनाएका थिए। उनको दृष्टिमा अब एनएमएलाई केन्द्रीयकृत संरचनाबाट बाहिर निकाल्नुपर्छ। 'सातै प्रदेशमा एनएमए सशक्त हुनुपर्छ,' उनी भन्छन्।
त्यस्तै, डिजिटलाइजेसन र पारदर्शितालाई पनि उनले भविष्यको अपरिहार्य बाटो मानेका छन्।
कसरी बन्न सक्छ साझा संस्था ?
एनएमएलाई फेरि साझा संस्था बनाउन सबैभन्दा पहिले त्यसले राजनीतिक प्रभावभन्दा माथि उठ्नुपर्छ। तर राजनीतिक तटस्थता भनेको सामाजिक प्रश्नमा मौन बस्नु होइन। एनएमएले स्वास्थ्य नीति, चिकित्सा शिक्षा, चिकित्सक सुरक्षा, जनस्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य पहुँच, स्वास्थ्य बजेटजस्ता विषयमा स्पष्ट र बौद्धिक धारणा राख्नुपर्छ।
त्यसका लागि केही आधारभूत सुधार अनिवार्य देखिन्छन्। धेरै चिकित्सकले दिएका सुझाव छन्। जस्तो, सदस्यता प्रणाली सरल र सुलभ बनाउने, अनलाइन मतदान लागू गर्ने, वित्तीय पारदर्शिता सुनिश्चित गर्ने, युवा चिकित्सकलाई नेतृत्वमा ल्याउने, दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकसँग नियमित संवाद गर्ने, कानुनी सहायता र मानसिक स्वास्थ्य सहयोग प्रणाली विकास गर्ने, मेडिकल अफिसरदेखि विशेषज्ञसम्म सबैलाई प्रतिनिधित्व दिने हुन सक्छन् । डा. रावल इच्छा शक्ति भयो भने यीमध्ये धेरै निर्णय 'एक दिनमै' गर्न सकिने ठान्छन्।
एनएमले आफूलाई चिकित्सकको पेशागत संगठनमा सीमित राख्न सक्दैन। नेपालको स्वास्थ्य संरचना हेर्दा नीति निर्माण, चिकित्सा शिक्षा, अस्पताल सञ्चालन र स्वास्थ्य सेवाका अधिकांश नेतृत्व तहमा चिकित्सक समुदायको प्रभाव निर्णायक छ।
त्यसैले स्वास्थ्य क्षेत्र सही दिशामा जानु वा नजानुमा चिकित्सक समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ। यही कारण एनएमएले स्वास्थ्य क्षेत्रको समग्र अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता देखिएको छ।

स्वास्थ्य क्षेत्रको हितभित्र नै चिकित्सा जगतको हित सुरक्षित हुन्छ। स्वास्थ्य प्रणाली कमजोर हुँदा चिकित्सक पनि सुरक्षित रहँदैनन्। त्यसैले एनएमएले आफ्नो भूमिका संकुचित पेशागत हितभन्दा माथि उठाएर समग्र स्वास्थ्य क्षेत्रको साझा मञ्चका रूपमा पुनर्परिभाषित गर्न सक्नुपर्छ। नर्स, प्यारामेडिक्स, जनस्वास्थ्यकर्मी, फार्मेसी, फिजियोथेरापी लगायत सबैसँग सहकार्य गर्ने साझा मञ्च बन्नुपर्छ। डा. कार्की बिगतमा त्यसखालको अभ्यास गरेपनि पर्याप्त नभएको स्वीकार्छन्।
यदि एनएमएले आफ्नो गौरवशाली इतिहासलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्न चाहन्छ भने उसले चिकित्सकबीच मात्रै होइन, समग्र स्वास्थ्य क्षेत्रलाई जोड्ने शक्ति बन्नुपर्छ। राजनीतिक प्रभावभन्दा माथि उठेर पेशागत विश्वसनीयता कायम गर्नुपर्छ।
त्यसो गर्न सके मात्रै नेपाल चिकित्सक संघ फेरि एकपटक सम्पूर्ण चिकित्सकको साझा संस्था, स्वास्थ्य क्षेत्रको नैतिक नेतृत्वकर्ता र राज्यका लागि विश्वसनीय बौद्धिक मार्गदर्शक बन्न सक्छ