काठमाडौं - नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने निर्णय गरिएको ट्रमा सेन्टरको योजना किन रोकिएको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले २०७७ सालदेखि विभिन्न सरकारले ढल्केबरमा राष्ट्रियस्तरको समर्पित ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाएको स्मरण गराउँदै अहिले उक्त योजनाबाट सरकार पछि हटेको देखिएको बताए। उनले यस्तो निर्णय नीतिगत निरन्तरताविपरीत भएको भन्दै यसले राज्यप्रतिको जनविश्वास कमजोर पार्ने चेतावनी दिए।
उनका अनुसार ट्रमा सेन्टर निर्माणका लागि एक चरणमा २० करोड रुपैयाँ र अर्को चरणमा २ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। साथै, परियोजनाका लागि चार बिघा जग्गा अधिग्रहणसमेत सम्पन्न भइसकेको उनले जानकारी दिए।
सांसद यादवले बजेट भाषणमा मधेश प्रदेशमा ट्रमा सेन्टर निर्माण गर्ने प्रतिबद्धता दोहोऱ्याइए पनि केही दिनअघि स्वास्थ्यमन्त्रीले ढल्केबरको नाम नै उल्लेख नगरी अर्को स्थानको चर्चा गरेकोप्रति आपत्ति जनाए।
‘मधेश प्रदेशमा ट्रमा सेन्टर बन्नु राम्रो कुरा हो, त्यसमा कुनै विरोध छैन,’ उनले भने, ‘तर सरकारले पहिले निर्णय गरेको ढल्केबरको डेडिकेटेड ट्रमा सेन्टर कहाँ हरायो?’
ढल्केबर सबैभन्दा उपयुक्त स्थान भएको दाबी
सांसद यादवले ट्रमा सेन्टर स्थापना गर्दा दुर्घटना बढी हुने र रणनीतिक महत्त्व बोकेको स्थानलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार ढल्केबर पूर्व–पश्चिम राजमार्ग, काठमाडौं–जनकपुर सडक तथा बीपी राजमार्ग जोडिने प्रमुख जक्सन भएकाले वैज्ञानिक रूपमा पनि ट्रमा सेन्टरका लागि सबैभन्दा उपयुक्त स्थान हो।
‘ट्रमा सेन्टर त्यही ठाउँमा हुनुपर्छ जहाँ सबैभन्दा धेरै दुर्घटनाका बिरामी आउँछन्,’ उनले भने, ‘यही मूल्याङ्कनपछि सरकारले राष्ट्रियस्तरको ट्रमा सेन्टर ढल्केबरमा बनाउने निर्णय गरेको थियो।’
मधेश प्रदेशको करिब ६१ लाख जनसङ्ख्यामध्ये धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा मात्रै झण्डै ३० लाख नागरिक बसोबास गर्ने उल्लेख गर्दै उनले आकस्मिक स्वास्थ्य सेवाका दृष्टिले ढल्केबर उपयुक्त केन्द्र हुने बताए।
उनले विकासका योजनामा राजनीतिक हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै सरकारले नीतिगत निरन्तरता कायम राख्नुपर्नेमा जोड दिए।