कुनै पनि राष्ट्रको स्वास्थ्य प्रणाली कति बलियो छ भन्ने कुरा अस्पतालका भवन, आधुनिक उपकरण वा अत्याधुनिक प्रविधिले मात्र निर्धारण गर्दैन। त्यसको वास्तविक मापन त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल, व्यावसायिक सम्मान र सेवाप्रतिको प्रतिबद्धताले गर्छ। त्यसमा पनि बिरामीसँग सबैभन्दा धेरै समय बिताउने, उपचारलाई निरन्तरता दिने, जीवनको अन्तिम क्षणसम्म साथ नछाड्ने र बिरामी तथा परिवारको सबैभन्दा नजिक रहने नर्स स्वास्थ्य सेवाको मेरुदण्ड हुन्।
तर विडम्बना, स्वास्थ्य सेवाको मेरुदण्ड मानिने तिनै नर्स आज आफ्नै सम्मान, पेसागत सुरक्षा र आधारभूत अधिकारका लागि आवाज उठाउन बाध्य छन्।
केही दिनअघि नर्स ज्योति रानाभाटको नेतृत्वमा भएको सत्याग्रहले समाज र राज्यसामु एउटा गम्भीर प्रश्न उभ्यायो- आखिर एउटी नर्सले आफ्ना जायज अधिकारका लागि आमरण अनशनसम्म बस्नुपर्ने अवस्था किन आयो? यो केवल एउटी नर्सको संघर्ष थिएन। यो वर्षौँदेखि मनभित्र दबिएको हजारौँ नर्सहरूको पीडा, निराशा र सम्मानको खोजीको अभिव्यक्ति थियो।
सत्याग्रहपछि सरकार र नर्स संघर्ष समितिबीच १९ बुँदे सहमति भएको छ। सहमति हुनु सकारात्मक कुरा हो, तर नेपाली समाजले यस्ता धेरै सहमतिहरू देखेको छ जुन कागजमै सीमित भए। त्यसैले आज नर्सहरूले नयाँ आश्वासनभन्दा बढी इमानदार कार्यान्वयनको अपेक्षा गरेका छन्। किनकि स्वास्थ्य प्रणाली भाषणले होइन, व्यवहारले बदलिन्छ। प्रतिबद्धताले होइन, त्यसको कार्यान्वयनले विश्वास जित्छ।
हामी सबै जीवनको कुनै न कुनै मोडमा अस्पताल पुग्छौँ। त्यहाँ पुगेपछि सबैभन्दा धेरै देखिने अनुहार प्रायः नर्सकै हुन्छ। बिरामीको पहिलो मूल्याङ्कनदेखि औषधि, उपचार, निगरानी, मानसिक सहारा र परिवारसँगको संवादसम्म नर्सको भूमिका निरन्तर रहन्छ। कहिलेकाहीँ बिरामीका आफन्तभन्दा पनि बढी समय नर्सले बिरामीसँग बिताउँछिन्। एउटा बिरामीको सानो परिवर्तन पहिचान गरेर समयमै चिकित्सकलाई जानकारी दिने निर्णयले जीवन बच्न सक्छ। तर यस्तो जिम्मेवारी निर्वाह गर्ने व्यक्तिको योगदान अझै पनि अपेक्षित रूपमा मूल्याङ्कन हुन सकेको छैन।
कोभिड–१९ महामारीले संसारलाई एउटा सत्य देखायो- स्वास्थ्य प्रणालीको सबैभन्दा बलियो आधार न त भवन थियो, न उपकरण; त्यो त स्वास्थ्यकर्मीहरूको समर्पण थियो। नेपालका नर्सहरूले पनि आफ्नै स्वास्थ्य, परिवार र भविष्यको चिन्ता नगरी अग्रपङ्क्तिमा उभिएर सेवा दिए। कतिपयले महिनौँसम्म आफ्ना बालबालिकालाई अँगालो हाल्न पाएनन्। कतिपयले सङ्क्रमणको जोखिम मोले भने कतिपयले आफ्नै सहकर्मी गुमाए। तर महामारी सकिएपछि तिनै नर्सहरूको योगदानलाई नीतिगत रूपमा कति सम्मान गरियो? यो प्रश्न आज पनि उत्तरको प्रतीक्षामा छ।
नर्सिङलाई अझै पनि धेरैले एउटा साधारण पेसाका रूपमा बुझ्ने गल्ती गर्छन्। तर नर्सिङ केवल औषधि दिने वा चिकित्सकको निर्देशन पालना गर्ने काम मात्र होइन। यो वैज्ञानिक ज्ञान, सूक्ष्म निर्णय क्षमता, निरन्तर निगरानी, संवेदनशीलता र मानवीय सेवाको संयोजन हो। एउटी नर्सले हरेक दिन दर्जनौँ निर्णय लिइरहेकी हुन्छिन्, जसको प्रत्यक्ष सम्बन्ध बिरामीको जीवनसँग हुन्छ।
यति ठूलो जिम्मेवारी बोकेको पेसाले सम्मानको अपेक्षा गर्नु कुनै अतिरिक्त सुविधा माग्नु होइन। त्यो त न्यूनतम व्यावसायिक अधिकार हो।
आज नेपालबाट दक्ष नर्सहरूको निरन्तर पलायन भइरहेको छ। यसलाई केवल वैदेशिक रोजगारीको तथ्याङ्कका रूपमा मात्र हेर्न मिल्दैन। जब योग्य, अनुभवी र दक्ष नर्सहरू आफ्नो भविष्य सुरक्षित गर्न देश छोड्न बाध्य हुन्छन्, त्यसले हाम्रो स्वास्थ्य प्रणालीको गम्भीर कमजोरी उजागर गर्छ। प्रश्न नर्सहरू किन विदेश गए भन्ने मात्र होइन, उनीहरूलाई आफ्नै देशमा सम्मानजनक वातावरण किन दिन सकिएन भन्ने पनि हो।
कुनै पनि नर्स आफ्नो परिवार, समाज र जन्मभूमि सहजै छाड्न चाहँदैनन्। तर जब वर्षौँको अध्ययन, कठिन परिश्रम र जिम्मेवारीअनुसार सम्मान, उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण र व्यावसायिक विकासको अवसर प्राप्त हुँदैन, तब विदेश विकल्प होइन, बाध्यता बन्छ। आज हजारौँ नेपाली नर्सहरूले आफ्नो सीप र अनुभव विदेशी स्वास्थ्य प्रणालीलाई दिइरहेका छन्, जबकि आफ्नै देशमा दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ।
यसको असर केवल अस्पतालमा मात्र सीमित रहँदैन। दक्ष नर्सको अभावले बिरामीले पाउने सेवाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पर्छ। एउटी नर्सले आवश्यकताभन्दा धेरै बिरामीको जिम्मेवारी लिनुपर्दा थकान बढ्छ, कार्यसम्पादन प्रभावित हुन्छ र बिरामीको सुरक्षामा समेत जोखिम उत्पन्न हुन सक्छ। त्यसैले नर्सको समस्या केवल नर्सको मात्र समस्या होइन, यो प्रत्येक नागरिकको स्वास्थ्यसँग जोडिएको विषय हो।
दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि नर्सिङ पेसालाई पूर्ण रूपमा बुझिएको छैन। धेरैले नर्सलाई चिकित्सकको सहायकका रूपमा मात्र हेर्ने दृष्टिकोण राख्छन्। तर वास्तविकता फरक छ। नर्स आफ्नै ज्ञान, सीप, निर्णय क्षमता र व्यावसायिक जिम्मेवारीका आधारमा काम गर्ने स्वास्थ्यकर्मी हुन्। बिरामीको निरन्तर मूल्याङ्कन, औषधि व्यवस्थापन, आकस्मिक अवस्थाको पहिचान, मानसिक परामर्श, परिवारसँग समन्वय र समग्र हेरचाहमा नर्सको भूमिका अपरिहार्य छ।
नर्सिङ केवल एउटा जागिर होइन; यो मानवताको सेवा गर्ने जीवनपद्धति हो। रात, दिन, चाडपर्व, परिवारको खुसी वा आफ्नै व्यक्तिगत पीडाभन्दा माथि बिरामीको आवश्यकतालाई राख्ने पेसा हो। एउटी नर्स आफ्नो ड्युटीमा मुस्कुराइरहेकी हुन्छिन्, तर त्यो मुस्कानभित्र कति थकान, कति त्याग र कति जिम्मेवारी लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन्।
यही कारणले नर्सहरूले उठाएका मागलाई सुविधा मागेको रूपमा बुझ्नु उचित हुँदैन। उनीहरूले सम्मान, सुरक्षित कार्य वातावरण, उचित पारिश्रमिक, व्यावसायिक सुरक्षा, स्पष्ट करिअर विकास र आफ्नो श्रमको उचित मूल्याङ्कन मागेका छन्। यी मागहरू कुनै विलासिता होइनन्; गुणस्तरीय स्वास्थ्य सेवाका आधारभूत पूर्वसर्त हुन्।
हालै भएको सत्याग्रहले सरकारलाई नर्सहरूको आवाज सुन्न बाध्य बनायो। सहमति भएको छ, तर अबको सबैभन्दा ठूलो परीक्षा त्यसको कार्यान्वयन हो। यदि सहमतिका बुँदाहरू समयमै कार्यान्वयन भए भने यसले नर्सहरूको मनोबल बढाउनेछ। तर यदि फेरि प्रतिबद्धता कागजमै सीमित भयो भने निराशा अझ गहिरिनेछ र दक्ष जनशक्ति पलायनको गति पनि रोकिने छैन।
राज्यले अब नर्सलाई खर्चको विषय होइन, लगानीको विषयका रूपमा हेर्नुपर्छ। नर्समा गरिएको लगानी भनेको प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यमा गरिएको लगानी हो। सम्मानित, सुरक्षित र उत्प्रेरित नर्सले मात्र गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्छिन्। त्यसैले स्वास्थ्य नीतिको केन्द्रमा नर्सिङलाई राख्नु आजको आवश्यकता हो, विकल्प होइन।
-(बीएनएस तृतीय वर्षकी विद्यार्थी तथा अध्यक्ष, स्वतन्त्र विद्यार्थी युनियन, महाराजगञ्ज नर्सिङ क्याम्पस)