काठमाडौं- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नेतृत्वमा नुवाकोटका विभिन्न स्थानमा सञ्चालन गरिएको मुटु स्वास्थ्य शिविरमा २०० जनाको मुटु परीक्षण गरिएको छ। केन्द्रका निर्देशक प्रा. डा. आशिष गोविन्द अमात्यका अनुसार शिविरमा मुटुसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा परामर्श दिइएको हो।
शिविरमा सहभागी २०० जनामध्ये १९० जनाको मुटुको भिडियो परीक्षण र १०० जनाको मुटुको ईसीजी गरिएको थियो। परीक्षणका क्रममा मुटुसम्बन्धी गम्भीर समस्या देखिएका बिरामीलाई थप परीक्षण तथा उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउन सुझाव दिइएको छ।
शिविरमा परीक्षण गरिएकामध्ये चार जनामा थप उपचार आवश्यक देखिएको डा. अमात्यले जानकारी दिए। तीमध्ये दुई जनामा मुटुका रक्तनलीमा समस्या, एक जनामा बाथ मुटुरोग र एक जनामा जन्मजात मुटुरोग देखिएको छ।
शिविरबाट बिदुर–५, देवीघाट, पिपलटार, बेलकोटगढी–८, लिखु गाउँपालिका–२ र ३, बट्टार बजार, सूर्यगढी गाउँपालिका, बिदुर–३ सिर्खाली र बुहुनिबेसी लगायतका क्षेत्रका स्थानीय लाभान्वित भएका थिए।
ग्रामीण तथा दुर्गम क्षेत्रमा मुटु रोगको समयमै पहिचान र उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरमा मुटुरोगको प्रारम्भिक पहिचानसँगै गम्भीर समस्या भएका बिरामीलाई थप उपचारका लागि केन्द्रमा पठाउने व्यवस्था गरिएको थियो।