क्यान्सरको उपचार भन्नेबित्तिकै हामी प्रायः किमोथेरापी, रेडिएसन वा शल्यक्रियाजस्ता शारीरिक उपचार विधिलाई मात्र बुझ्छौँ। तर ओपीडीमा दैनिक सयौँ बिरामीसँग भेट्दा मैले महसुस गरेको एउटा नमिठो सत्य के हो भने—हामी शरीरको ट्युमर हटाउन त रातदिन मिहिनेत गर्छौँ, तर त्यो ट्युमरसँगै मानसिक रूपमा भत्किएको मानिसलाई पुनः उभ्याउन भने प्रायः बिर्सन्छौँ।
क्यान्सरको निदानले बिरामीको शरीरमा मात्र होइन, उसको सोच, भावना, परिवार, सामाजिक सम्बन्ध, आर्थिक अवस्था र भविष्यप्रतिको धारणामा समेत ठूलो परिवर्तन ल्याउँछ। रोगको अवस्था, उपचारको जटिलता, उपचारबाट हुने असर, रोग फेरि फर्किने डर, आर्थिक भार र मृत्युको चिन्ताले बिरामीको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।
विश्व स्वास्थ्य संगठनले पनि क्यान्सर उपचारमा बिरामीको शारीरिक उपचारसँगै मनोसामाजिक सहयोगलाई उपचार सेवाकै अभिन्न भागका रूपमा समेट्नुपर्ने बताउँदै आएको छ। क्यान्सर उपचारको लक्ष्य रोग नियन्त्रण वा उपचारमा मात्र सीमित नभई बिरामीको जीवनको गुणस्तर र शारीरिक, मनोसामाजिक तथा आध्यात्मिक कल्याणमा पनि केन्द्रित हुनुपर्ने उसको धारणा छ।
हालै विश्व क्यान्सर कंग्रेसमा युनिभर्सिटी हस्पिटल्स अफ लेस्टर एनएचएस ट्रस्टकी स्तन क्यान्सर प्रमुख डा. ओलुबुकोला अयोडेलेले व्यक्त गर्नुभएको विचार, ‘पूर्ण व्यक्तिको उपचार नगरी क्यान्सरको सही उपचार हुन सक्दैन।' नेपालको क्यान्सर उपचारको वर्तमान अवस्थामा अझ बढी सान्दर्भिक र मननयोग्य छ।
१. क्यान्सर र मानसिक आघात
क्यान्सरको निदान आफैँमा एउटा गहिरो मानसिक आघात हो। बिरामीको जीवन ‘क्यान्सर हुनुअघि’ र ‘क्यान्सर भएपछि’ गरी दुई फरक भागमा विभाजित हुन्छ।
नेपाली समाजमा क्यान्सर भन्ने शब्द सुन्नेबित्तिकै बिरामी र परिवारमा मृत्युको गहिरो भय उत्पन्न हुन सक्छ। कतिपय बिरामीलाई रोगको नाम सुन्नेबित्तिकै ‘अब म बाँच्दिनँ’ भन्ने सोच आउँछ। त्यसपछि उपचारको लामो प्रक्रिया, अस्पताल धाउनुपर्ने बाध्यता, कामबाट टाढा हुनुपर्ने अवस्था, परिवारको आर्थिक बोझ र भविष्यको अनिश्चितताले मानसिक दबाब झनै बढाउन सक्छ।
नेपालमै भएका अध्ययनहरूले पनि यो समस्या सामान्य नभएको देखाएका छन्। भक्तपुर क्यान्सर अस्पतालमा २२० जना क्यान्सर बिरामीमा गरिएको एक अध्ययनमा ५६.४ प्रतिशतमा हल्का, ३१.८ प्रतिशतमा मध्यम र १.३ प्रतिशतमा गम्भीर डिप्रेसनका लक्षण देखिएका थिए। त्यस्तै ३५.९ प्रतिशतमा हल्का, २९.१ प्रतिशतमा मध्यम र १.८ प्रतिशतमा गम्भीर चिन्ताका लक्षण देखिएका थिए।
यसअघि नेपालमै गरिएको अर्को अध्ययनमा १६९ जना क्यान्सर बिरामीमध्ये ८१.७ प्रतिशतको मानसिक तथा सामाजिक तनाव मापन गर्ने सूचक चार वा त्यसभन्दा माथि पाइएको थियो। उनीहरूमा दुखाइ, थकान, चिन्ता, उदासी, आध्यात्मिक वा धार्मिक चिन्ता तथा उपचारको आर्थिक भार प्रमुख समस्याका रूपमा देखिएका थिए।
अर्थात् मानसिक तनाव क्यान्सर उपचारसँगै देखिने ‘सानोतिनो समस्या’ होइन। धेरै बिरामीका लागि यो उपचार यात्राकै महत्वपूर्ण हिस्सा हो।
बर्दियाकी एक २८ वर्षीया स्तन क्यान्सरपीडित युवती उपचारका लागि अस्पताल पुगिन्। उनको मुख्य चिन्ता शारीरिक दुखाइभन्दा बढी घरको आर्थिक अवस्थालाई लिएर थियो। उनले डाक्टरसँग भनिन्—‘मलाई क्यान्सर भएको थाहा पाएपछि बुबाले घरको अन्तिम सहारा बाख्रा बेच्नुभयो।’
यस्ता बिरामीका लागि क्यान्सर उपचार केवल किमोथेरापीको मात्रा मिलाउनु मात्र होइन; उनीहरूभित्र रहेको आर्थिक दबाब, ग्लानि, पारिवारिक चिन्ता र भविष्यको अन्योलबाट सिर्जित मानसिक तनावलाई सम्बोधन गर्नु पनि हो।
नेपाली परिवेशको यथार्थ उदाहरण
क्यान्सरका कारण मानसिक असर बिरामीमा मात्र सीमित हुँदैन। बिरामीको लामो समयसम्म हेरचाह गर्ने परिवारका सदस्य पनि मानसिक रूपमा प्रभावित हुन सक्छन्। नेपालमा १०१ जना क्यान्सर बिरामीका हेरचाहकर्तामाथि गरिएको एक अध्ययनमा ५८.४ प्रतिशतमा कुनै न कुनै स्तरको चिन्ता र २८.७ प्रतिशतमा डिप्रेसनका लक्षण देखिएका थिए। यसले क्यान्सर उपचारमा बिरामीसँगै परिवार र हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने देखाउँछ।
२. हर्मोनमा हुने परिवर्तन र लुकेका समस्याहरू
विशेष गरी स्तन क्यान्सरका बिरामीमा किमोथेरापी र हर्मोन उपचारका कारण सानै उमेरमा रजोनिवृत्ति हुन सक्छ। यसले शारीरिक मात्र होइन, मानसिक र सामाजिक असर पनि निम्त्याउन सक्छ।
- अनिद्रा र रातभरि हुने आन्तरिक छटपटी
- यौन असन्तुष्टि वा शारीरिक असहजता
- सन्तान उत्पादन क्षमतामा असर र भविष्यप्रतिको चिन्ता
- मनोदशामा आउने तीव्र उतारचढाव र डिप्रेसन
- स्मरणशक्ति तथा सोच्ने क्षमतामा आउने परिवर्तन
- शरीरको स्वरूपमा आएको परिवर्तनका कारण आत्मविश्वासमा कमी
विशेष गरी युवा महिलाका लागि सन्तान उत्पादन क्षमता, वैवाहिक सम्बन्ध, यौन स्वास्थ्य र शरीरको स्वरूपसँग जोडिएका प्रश्न अत्यन्त संवेदनशील हुन्छन्। तर नेपाली समाजमा यस्ता विषयमा खुलेर कुरा गर्न अझै पनि लाज वा सङ्कोच मानिन्छ।
कतिपय बिरामीले आफ्नो समस्या चिकित्सकलाई समेत भन्न सक्दैनन्। उनीहरू शारीरिक असर सहन्छन्, तर मानसिक पीडा कसैलाई भन्न नसकी भित्रभित्रै घुटिएर बाँच्न बाध्य हुन्छन्।
त्यसैले क्यान्सर उपचारमा ‘बिरामीलाई के दुखेको छ?’ भन्ने प्रश्नसँगै ‘बिरामीलाई के कुराले डराइरहेको छ?’ र ‘उहाँको जीवनमा अहिले सबैभन्दा ठूलो समस्या के हो?’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
३. बहुविषयगत टोलीको एकीकृत भूमिका
साइको-अन्कोलोजी कुनै एउटा विधाको मात्र जिम्मेवारी होइन। क्यान्सर अस्पताल तथा समग्र स्वास्थ्य प्रणालीभित्र बहुविषयगत विशेषज्ञहरूको एकीकृत टोलीको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ।
विश्व स्वास्थ्य संगठनले पनि क्यान्सर बिरामीलाई आवश्यक मनोसामाजिक सहयोग चिकित्सकमा मात्र सीमित नराखी सामाजिक कार्यकर्ता, मनोवैज्ञानिक, प्रशिक्षित नर्स तथा अन्य सहयोगी जनशक्तिसँग जोड्नुपर्ने बताएको छ।
मेडिकल अन्कोलोजिस्ट
उपचारका क्रममा बिरामीको शारीरिक दुखाइसँगै उसको मनोदशा बुझ्ने, सहानुभूतिपूर्ण संवाद गर्ने र मानसिक तनावको प्रारम्भिक पहिचान गर्ने।
मनोवैज्ञानिक
क्यान्सरको त्राससँग लड्न मनोपरामर्श, संज्ञानात्मक व्यवहार उपचार तथा भावनात्मक सहयोग प्रदान गर्ने।
मनोचिकित्सक
क्यान्सरका कारण उत्पन्न हुने गम्भीर डिप्रेसन, चिन्ता, मनोविकृति वा अन्य गम्भीर मानसिक स्वास्थ्य समस्याको आवश्यकताअनुसार औषधि तथा अन्य उपचारबाट व्यवस्थापन गर्ने।
नर्स तथा सामाजिक कार्यकर्ता
बिरामीको दैनिक हेरचाह, प्रारम्भिक जाँच, पारिवारिक सहयोग, सामाजिक तथा आर्थिक समस्याको पहिचान तथा आवश्यक सेवासँग जोड्ने काम गर्ने।
पोषणविद्, पुनःस्थापना विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मी
बिरामीको शारीरिक क्षमता, पोषण, दैनिक जीवनमा फर्किने क्षमता तथा दीर्घकालीन स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्ने।
यसरी हेर्दा साइको-अन्कोलोजी केवल ‘मनोवैज्ञानिकसँग कुरा गराउने’ विषय होइन। यो बिरामीको सम्पूर्ण उपचार यात्रालाई मानिसकेन्द्रित बनाउने अवधारणा हो।
४. हाम्रो रणनीति : जाँच–मूल्याङ्कन–सिफारिस–हस्तक्षेप–निगरानी
क्यान्सर उपचारमा मानसिक स्वास्थ्यलाई जोड्न नेपालका हरेक अस्पताल तथा क्यान्सर केन्द्रहरूले पाँच चरणको रणनीति अपनाउनु आवश्यक छ।
१. जाँच
हरेक क्यान्सर बिरामी अस्पताल प्रवेश गरेकै क्रममा मानसिक अवस्थाको प्रारम्भिक जाँच गर्ने।
यसका लागि बिरामीले आफूलाई कति तनाव भएको महसुस गर्छ भन्ने बुझ्ने सरल प्रश्नावली वा मानसिक तनाव मापन गर्ने प्रमाणित उपकरण प्रयोग गर्न सकिन्छ। नेपालमै गरिएको एक अध्ययनले ‘डिस्ट्रेस थर्मोमिटर’ जस्तो सरल उपकरणलाई नेपाली परिवेशमा प्रयोग गरेर क्यान्सर बिरामीमा मानसिक तथा सामाजिक तनाव पहिचान गर्न सकिने सम्भावना देखाएको छ।
२. मूल्याङ्कन
बिरामीमा रहेको मानसिक तनाव, डर, चिन्ता वा डिप्रेसन कत्तिको गम्भीर छ भन्ने पत्ता लगाउने।
सबै मानसिक समस्या एउटै हुँदैनन्। कसैलाई रोगको निदानपछि केही दिन वा केही समय डर लाग्नु सामान्य प्रतिक्रिया हुन सक्छ। तर त्यही डर निरन्तर बढ्दै गएर दैनिक जीवन, उपचारमा सहभागिता, निद्रा, खानपान वा सामाजिक सम्बन्धमा गम्भीर असर पार्न थालेमा थप मूल्याङ्कन आवश्यक हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर बिरामीमा देखिने मानसिक तथा मनोसामाजिक समस्या पहिचान नगर्दा उपचार सहन सक्ने क्षमता र उपचार पूरा गर्ने प्रक्रियामा समेत असर पर्न सक्छ।
३. सिफारिस
जटिल वा मध्यम खालको मानसिक समस्या देखिएमा तुरुन्त मनोचिकित्सक वा मनोवैज्ञानिककहाँ पठाउने।
यसका लागि अस्पतालमा छुट्टै साइको-अन्कोलोजी सेवा उपलब्ध हुनु आदर्श अवस्था हो। तर सबै अस्पतालमा तत्काल यस्तो विशेषज्ञ उपलब्ध नहुन सक्छ। त्यस अवस्थामा सम्बन्धित मानसिक स्वास्थ्य विशेषज्ञसँग समन्वय गर्ने, दूरपरामर्शको व्यवस्था गर्ने वा नजिकको उपयुक्त सेवामा बिरामीलाई पठाउने प्रणाली विकास गर्न सकिन्छ।
४. हस्तक्षेप
बिरामीको आवश्यकताअनुसार उचित मनोपरामर्श, मनोचिकित्सकीय उपचार वा औषधिको प्रयोग गर्ने।
कसैलाई केही पटकको मनोपरामर्श र भावनात्मक सहयोग पर्याप्त हुन सक्छ भने कसैलाई नियमित मनोवैज्ञानिक उपचार आवश्यक पर्न सक्छ। गम्भीर डिप्रेसन, अत्यधिक चिन्ता वा अन्य मानसिक स्वास्थ्य समस्यामा मनोचिकित्सकीय उपचार आवश्यक हुन सक्छ।
यसमा बिरामीको परिवारलाई समेत समावेश गर्नु महत्वपूर्ण हुन्छ। बिरामीलाई ‘सकारात्मक सोच्नुस्’ भनेर मात्र मानसिक समस्या समाधान हुँदैन। उसले भोगिरहेको डर, आर्थिक दबाब, शारीरिक परिवर्तन र भविष्यको अनिश्चिततालाई बुझेर सहयोग गर्नुपर्छ।
५. निरन्तर निगरानी
उपचार अवधिभर, उपचारपछि सामान्य जीवनमा फर्किने चरणमा तथा जीवनको अन्तिम चरणसम्म पनि मानसिक अवस्थाको नियमित समीक्षा गरिरहने।
क्यान्सरको उपचार सकिएपछि पनि मानसिक समस्या सकिन्छ भन्ने छैन। उपचार पूरा भएपछि रोग फेरि फर्किने डर, शरीरमा बाँकी रहेको कमजोरी, काममा फर्किने चुनौती, परिवार तथा वैवाहिक जीवनमा आएको परिवर्तन र समाजमा पुनःस्थापित हुने क्रममा नयाँ तनाव उत्पन्न हुन सक्छ।
त्यसैले साइको-अन्कोलोजीको सेवा किमोथेरापी चलिरहेको समयसम्म मात्र सीमित हुनु हुँदैन। उपचारपछिको जीवन र जीवनको अन्तिम चरणमा रहेका बिरामीका लागि पनि यो उत्तिकै महत्वपूर्ण हुन्छ।
नेपालमा अब के गर्नुपर्छ?
नेपालमा क्यान्सर उपचारको विस्तारसँगै मानसिक स्वास्थ्यलाई उपचार प्रणालीको मूलधारमा ल्याउने समय आएको छ।
पहिलो, क्यान्सर अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी प्रारम्भिक जाँचलाई नियमित उपचार प्रक्रियामै समावेश गर्नुपर्छ।
दोस्रो, क्यान्सर केन्द्रहरूमा मनोवैज्ञानिक, मनोचिकित्सक र सामाजिक कार्यकर्तासहितको बहुविषयगत टोली विकास गर्नुपर्छ।
तेस्रो, चिकित्सक तथा नर्सलाई बिरामीमा देखिने मानसिक तनावका प्रारम्भिक संकेत पहिचान गर्न आवश्यक तालिम दिनुपर्छ।
चौथो, उपचारको आर्थिक भार, रोजगारी गुम्ने अवस्था, पारिवारिक तनाव तथा सामाजिक समस्या पनि क्यान्सर उपचारकै हिस्सा हुन् भन्ने बुझाइ स्वास्थ्य प्रणालीमा विकास गर्नुपर्छ।
पाँचौँ, क्यान्सरबाट निको भएका व्यक्तिलाई पनि उपचारपछिको मानसिक स्वास्थ्य सेवामा जोड्नुपर्छ। सहकर्मी सहयोग समूह तथा क्यान्सरबाट निको भएका व्यक्तिको अनुभव आदानप्रदानले नयाँ बिरामीलाई ठूलो भावनात्मक सहयोग दिन सक्छ।
नेपालमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रयास पनि भइरहेका छन्। विश्व स्वास्थ्य संगठन र लायन्स क्लब इन्टरनेसनलको हालैको सहकार्यअन्तर्गत नेपालका १० जिल्ला अस्पतालमा मनोसामाजिक सहयोग तथा मानसिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ। यस्तो विस्तारलाई क्यान्सर उपचार सेवासँग समेत प्रभावकारी रूपमा जोड्न सकिए मानसिक स्वास्थ्य सेवाको पहुँच थप फराकिलो हुन सक्छ।
निष्कर्ष
क्यान्सर जित्नु भनेको केवल शरीरबाट ट्युमर हटाउनु वा रिपोर्ट ‘सामान्य’ आउनु मात्र होइन; बिरामीलाई पुनः आत्मसम्मान, आत्मविश्वास र मानसिक शान्तिसहित समाजमा पुनःस्थापित गर्नु हो।
क्यान्सरको उपचारमा हामीले रोगलाई मात्र होइन, रोग बोकेको मानिसलाई उपचार गर्नुपर्छ। उसको शरीरसँगै उसको डर, पीडा, परिवार, आर्थिक अवस्था, सम्बन्ध, भविष्य र आशालाई पनि उपचारको दायरामा ल्याउनुपर्छ।
सबैभन्दा उत्तम क्यान्सर उपचार त्यो मात्र होइन, जुन हामी चिकित्सकीय पुर्जीमा लेख्छौँ; बरु त्यो हो, जसलाई बिरामीले मानसिक र शारीरिक रूपमा सहन सक्छ र पूरा गर्न सक्छ।
नेपालमा गरिएको अध्ययनले नै क्यान्सर बिरामीमा डिप्रेसन, चिन्ता र मनोसामाजिक तनावको भार उल्लेख्य रहेको देखाइसकेको छ। अब यसलाई ‘सामान्य प्रतिक्रिया’ भनेर बेवास्ता गर्ने होइन, उपचारको नियमित हिस्साका रूपमा सम्बोधन गर्ने समय हो।