काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै युट्युबर टंक दाहालले नेपालमा डाक्टर र संसदका सवारी चालकको तलब 'उस्ताउस्तै' रहेको भनी गलत र भ्रामक दाबी गरेका छन्।
दाहालले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सेवा तर्फको छैठौं तहको तलबलाई डाक्टरको सुरुवाती तलब भन्दै चालकहरूको मासिक आम्दानीसँग तुलना गरेका छन्।
उनले छैठौं तहका डाक्टरले मासिक ५६ हजार रुपैयाँ तलब पाउने र हलुका तथा हेभी सवारी चालकको तलब पनि ३४ हजारदेखि ५४ हजार रुपैयाँसम्म हुने भएकाले दुवैको तलब समान जस्तै रहेको तर्क अघि सारेका छन्।
तर, दाहालको यो तुलना प्राविधिक र कानुनी रूपमा गलत छ।
नेपाल स्वास्थ्य सेवा ऐन र सरकारी नियम अनुसार नेपालमा सरकारी सेवामा प्रवेश गर्ने चिकित्सकहरूको नियुक्ति छैठौं तहबाट नभई आठौँ तह (मेडिकल अधिकृत) बाट मात्र हुन्छ। दाहाललाई नेपालमा चिकित्सकहरु कुन तहदेखि नियुक्त हुन्छन् भन्ने आधारभूत ज्ञान समेत नरहेको उक्त भिडियो जानकारीबाट प्रस्ट बुझ्न सकिन्छ।
दाहालले उल्लेख गरेको स्वास्थ्य सेवाको छैठौं तहमा चिकित्सक नभई मुख्यतया प्यारामेडिक्स तथा जनस्वास्थ्य निरीक्षकहरू पर्दछन्।
सरकारी नियम अनुसार चालु आर्थिक वर्षका लागि आठौँ तहका चिकित्सकको सुरुवाती आधारभूत तलब स्केल ५३ हजार ६ सय ११ कायम भएको छ भने उनीहरुको ग्रेडसंख्या सहित जम्मा तलब ६० हजार ७ सय ५९ हुने छ।
यति मात्र होइन दाहालले उक्त भिडियोमा सहायक प्रथम तहको कर्मचारीलाई समेत डाक्टर भन्दै डाक्टरको न्यूनतम तलब ३६ हजार २ सय ३२ देखि सुरु हुने भन्दै गलत दाबी गरेका छन्।
दाहालले आफ्नो भिडियो भर स्वास्थ्य सेवामा चिकित्सकहरुको दरबन्द नै नहुने छैठौं तह र त्यसभन्दा कम तहको सहायक प्रथमसम्म तलबलाई लिएर चालकसँग तुलना गरेका छन्। जुन सरासर गलत तुलना हो।
सरकारको हालको तलब स्केल अनुसार चिकित्सकहरुको तलब आठौं तहको ग्रेडसहित ६० हजार ७ सय ५९ देखि १२ औं तहको चिकित्सकको ग्रेड सहित ८४ हजार ५७६ रुपैयाँसम्म रहेको छ।
नेपालमा चिकित्सकहरुको तलब निकै कम रहेको कुरा लामो समयदेखि उठ्दै आएको विषय हो। तर तलब कम रहेको विषयलाई गलत तहसँग तुलना गरेर दाहालले भ्रामक जानकारी दिएका छन्।
चिकित्सकहरूको अध्ययन, जिम्मेवारी र लगानीको तुलनामा राज्यले दिने पारिश्रमिक कम रहेको विषयमा नेपाल चिकित्सक संघदेखि संसद र हालका प्रधानमन्त्री बालेन शाहले समेत विगतमा कुरा उठाउँदै आइरहेको विषय हो।
चिकित्सकको तलब कम भएको विषयमा नेपाल चिकित्सक संघले अहिले पनि आवाज उठाउँदै आइरहेको समयमा युट्युबर दाहालले चिकित्सकहरूको पदस्थापन हुने न्यूनतम तह नै गलत रूपमा प्रस्तुत गरी सवारी चालकको तलबसँग गरेको तुलना तथ्यहीन र भ्रामक देखिएको छ।
यस्तो छ दाहालले भिडियोमा दाबी गरेको विषय
यहाँ म दुईवटा तालिका (टेबल) देखाउँदै छु। एउटामा नेपाल सरकारले नेपालका डाक्टरहरूलाई कति तलब दिन्छ भन्ने उल्लेख गरिएको छ भने अर्कोमा नेपालका सांसदहरू तथा उनका चालक र स्वकीय सचिवलाई कति तलब दिइन्छ भनेर देखाइएको छ। अहिले मैले नेपालका डाक्टरहरू र सांसदका चालकहरूले कति पैसा पाउँछन् भनेर तुलनात्मक रूपमा देखाउँदै छु।
यो तालिकामा हेर्नुहोस्, यहाँ 'स्वास्थ्य सेवा' भनेर लेखिएको छ। यहाँ १२ औँ देखि १ लों (प्रथम) तहसम्मका डाक्टरहरूले पाउने तलब देखाइएको छ। नेपालमा छैठौँ तहका डाक्टरले ५६ हजार तलब पाउने रहेछन्। अब त्योसँगै सांसदका हलुका तथा हेभी सवारी चालकको तलब पनि हेरौँ। हलुका सवारी चालकको सबैभन्दा कम तलब ३४ हजार र सबैभन्दा बढी तलब ५२ हजार रुपैयाँ देखाइएको छ। हेभी सवारी चालकले भने ३७ हजार देखि ५४ हजार ८ सय रुपैयाँसम्म तलब पाउने रहेछन्।
संसदका चालकको तलब ३४ हजार देखि ५२-५४ हजारसम्म र डाक्टरको तलब भने ३६ हजार देखि छैठौँ तहका डाक्टरको ५६ हजारसम्म देखिन्छ। यसरी हेर्दा नेपालमा चालक र डाक्टरको तलब उस्ताउस्तै रहेको छ।
यो हेरिसकेपछि तपाईंलाई डाक्टरको तलब कम लाग्यो कि चालकको तलब कम लाग्यो?