गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना चारवटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा उपयोग गर्न दिने निर्णय गरेसँगै यसको पक्ष र विपक्षमा व्यापक बहसहरु सतहमा आएका छन् । कतिपयले यसलाई यस निर्णयको प्रसंशा गर्दै स्वागतयोग्य निर्णय भनेका छन् भने केहीले यसको चर्को आलोचना पनि गरेका छन् ।
विभिन्न राजनैतिक पूर्वाग्रह र मानवीय स्वभावका कारण सरकारले गरेका निर्णयको पक्ष र विपक्षमा बहसहरु चल्नु स्वभाविक नै हो । तथापि सरकारबाट भए गरेका निर्णयलाई व्यक्तिगत पूर्वाग्रहबाट आलोचना गर्नु भन्दा त्यसको गुण र दोषकाका आधारमा अन्तर्वस्तु र यथार्थतता बुझेर प्रतिक्रिया जनाउनु एक सचेत नागरिकको कर्तव्य हो।
अत्तरियाबाट धनगढी यात्रा गर्ने क्रममा अत्तरिया बजारबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको गेटामा सुन्दर विशाल र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड देख्दा जोकोहीलाई पनि गर्व महशुस हुन्छ, त्यसमा पनि सुदूरपश्चिम बासीको त झन गर्वले छाती फुलेर आउँछ।
यसरी बाहिरी रुपमा हेर्दा विशाल भवन र भौतिक पूर्वाधारहरु देख्दा कतिपयलाई लाग्ला कि विश्वविद्यालय सञ्चालनमा आइसक्यो अर्थात एमबीबीएस लगायतका कक्षा सञ्चालन भइसके ! तर यथार्थ त्यस्तो छैन । हामीसँग विश्वविद्यालय सञ्चालनका लागि चाहिने भवनहरु लगभग तयारी अवस्थामा रहेपनि विशेषज्ञ सेवाहरु र शिक्षण क्रियाकलपाहरु सञ्चालनका चाहिने अत्याधुनिक सुविधासम्पन्न स्वास्थ्य उपकरणहरु, भौतिक पूर्वाधारहरु सयौँको संख्यामा चाहिने दक्ष विशेषज्ञ चिकित्सक, प्रोफेसरहरु र स्वास्थ्यकर्मीहरु अझै व्यवस्थापन हुन सकेका छैनन् ।
त्यस्तैगरी सीटी स्क्यान, एमआरआई, एचडीयुआई, आईसीयु तथा भेन्टिलेटर उपकरण, हिस्टोप्याथोलोजी सेटअप, डायलासिस सेवा, अत्याधुनिक प्रयोगशालाका उपकरणहरु (ल्याब) लगायतका अत्याधुनिक मेसिन खरिदमै अर्बौं पैसा खर्च हुन्छ। स्वास्थ्य उपकरण खरिदमा लाग्ने अर्बौं बजेट र सयौंको संख्यामा चाहिने विशेषज्ञ चिकित्सक र दक्ष प्रोफेसर सजिलै पाउन सकिने कुरा पनि होइन। नेपाल जस्तो न्यून आर्थिक स्रोत र बजेट भएको देशमा एकैपटक खर्बौ बजेट व्यवस्थापन गर्न सजिलो छैन । यसका राज्यले आफ्नो क्षमता अनुसारको बजेट बर्षैपिच्छे बिनियोजन गर्दै जाँदा पनि शिक्षण क्रियाकलाप र विशेषज्ञ सेवा सञ्चालनका लागि चाहिने सम्पूर्ण उपकरण र पूर्वाधारहरुको व्यवस्थापन गर्न कम्तीमा पनि ४/५ बर्ष लाग्न सक्छ।
एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि न्यूनतम ३०० बेडको पूर्वाधार हुनुपर्ने भन्ने कानूनी बाध्यताले गर्दापनि त्यति ठूलो संख्यामा शैया व्यवस्थापन गर्नु सहज कुरा होइन। हामीले बाहिर सतही कुरा गरेर सरकारको विरोध र आलोचना गर्नु र स्टण्ट मात्रै देखाउनु ठूलो कुरा होइन। हामीले हाम्रो देशको आर्थिक हैसियत, आम्दानी खर्चको स्थिति र बैदेशिक ऋणको दयनीय अवस्था पनि ख्याल गर्नुपर्ने हुन्छ।
त्यो भन्दा अझ जटिल कूरा त जनशक्ति व्यवस्थापन हो। तीनसय शैया सञ्चालनका लागि सयौँको संख्यामा चाहिने विशेषज्ञ चिकित्सहरु स्वास्थ्यकर्मी लगायतका अनुभवी विषय विज्ञ तथा प्रोफेसरहरुको व्यवस्थापन गर्नु सामान्य विषय होइन। हाम्रा प्रदेशमा हाल सञ्चालनमा रहेका प्रादेशिक अस्पताल र जिल्ला अस्पतालमै दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकहरु व्यवस्थापन गर्नै हम्मे-हम्मे परिरहेको रहेको बेला तीनसय शैयाको अस्पताल र शिक्षण कार्यक्रम सञ्चालनका लागि चाहिने अनुभवी विज्ञ प्रोफेसरहरु तथा विशेषज्ञ चिकित्सकहरु व्यवस्थापन तत्काल गर्नु सहज छैन। यी सबैकुराको गहिरो अध्ययन बिश्लेषण र यथार्थ गहिराइमा पुग्दा हालकै अवस्थामा यथास्थितिमा गेटा विश्वविद्यालयमा तीनसय शैयाको अस्पताल र एमबीबीएस लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु सहज थिएन । यसका लागि अझै वर्षौं कुर्नुपर्ने थियो ।
प्रदेश सरकारको निर्णयले खोलेको बाटो
एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि चाहिने न्यूनतम ३०० शैयाको व्यवस्थापनका क्रममा आवश्यक पर्ने अर्बौंका अत्याधुनिक स्वास्थ्य उपकरणहरुमा लाग्ने अर्बौं बजेट र विशेषज्ञ जनशक्ति व्यवस्थापन समेतका कारणले हालकै अवस्थामा गेटामा एमबीबीएस लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न अझै ४/५ वर्ष कुर्नुपर्थ्यो।
तर, प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गतका चारवटा प्रादेशिक अस्पतालालाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा उपयोग गर्ने स्वीकृति प्रदान गरी यसै शैक्षिक वर्षदेखि गेटा विश्वविद्यालयमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बाटो खोलिदिएको छ । अब हाम्रा युवाहरुले यसैबर्षदेखि आफ्नै प्रदेशमा डाक्टर पढ्न पाउने छन्। सुदूरपश्चिममै विशेषज्ञ जनशक्ति उत्पादन हुनेछन्। यसलाई हामीले महत्वपूर्ण उपलब्धिको रुपमा बुझ्नुपर्ने हुन्छ । हरेक कुरामा नकारात्मकता मात्रै खोज्नु हुँदैन । बिरोधका लागि मात्रै विरोध गर्नु हुँदैन। सरकारका असल कार्य र जनपक्षीय निर्णयको स्वागत र प्रसंशा गर्नु पर्दछ।
गेटामा सुविधा सम्पन्न अस्पताल बन्न रोकिदैन
धेरैले प्रदेश अस्पतालहरु शिक्षण अस्पतालको रुपमा प्रयोग हुँदा गेटामा अत्याधुनिक सेवा सहिताको सुविधा सम्पन्न अस्पताल बन्न रोकिने भयो भनी भ्रम छरिरहेको पनि पाउन सकिन्छ। एउटा सचेत नागरिकले यस प्रकारका कपोकल्पित र काल्पनिक कुरा खडा गरी जनतालाई दिग्भ्रमित पार्नु कदापी शोभनीय होइन।
बरु प्रदेश अस्पतालहरु शिक्षण अस्पतालको रुपमा प्रयोग हुँदा ४/५ बर्ष पछाडि सञ्चालन हुने एमबीबीएस लगायतका शैक्षिक क्रियाकलापहरु यसैबर्षदेखि शुरु हुने भयो भनी खुशी व्यक्त गर्नुपर्छ र सोही कुरा जनतालाई बुझाउनु पर्छ । अब गेटा विश्वविद्यालयमा शैक्षिक क्रियाकलापहरु यसै बर्षदेखि शुरु हने र सँगसँगै गेटामा सुविधा सम्पन्न विशेषज्ञ सेवाहरु सञ्चालनका लागि बजेट र दरबन्दी व्यवस्थापनको कार्य अगाडी बढिसकेका कारण केही बर्षमा आफ्नै सुविधा सम्पन्न शिक्षण अस्पताल गेटा विश्वविद्यालयले पाउनेछ ।
प्रदेश अस्पताल शिक्षण अस्पतालको रुपमा उपयोग गर्ने कानूनी आधारहरुः
कतिपयले प्रदेश सरकारका अस्पतालहरुलाई विश्वविद्यालयको शिक्षण अस्पतालको शिक्षण अस्पतालको रुपमा उपयोग गर्ने कानूनी आधार के हो ? भन्ने प्रश्नहरु पनि उठाइरहेको पाउन सकिन्छ।
संघीय कानूनको रुपमा रहेको शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा २० को उपदफा (२) मा 'विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको समन्वयमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा त्यस्तो अस्पताललाई शिक्षण अस्पतालको रुपमा उपयोग गर्न सक्नेछ' भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ।
यसै कानूनी व्यवस्थाको जगमा टेकेर शहिद दशरथ चन्द विश्व विद्यालयले सुदूपश्चिम प्रदेश सरकार मातहतका चारवटा प्रादेशिक अस्पतालहरुलाई विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न अनुरोध गरेकोमा यस प्रदेशमा एमबीबीएस लगायतका स्वास्थ्य विज्ञानका कार्यक्रमहरु तत्काल सञ्चालन गर्न बाटो खुल्ने र अनुसन्धान प्रवर्द्धनका साथै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण उपलब्धी हुने देखी प्रदेश सरकारले आफ्ना चारवटा प्रादेशिक अस्पताललाहरुलाई गेटा विश्विद्यालयको शिक्षण अस्पतालको रुपमा उपयोग गर्ने महत्वपूर्ण निर्णय गर्यो। जुन प्रसंशनीय र स्वागतयोग्य छ।
तसर्थ, प्रदेश सरकारले आफ्ना प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा उपयोग गर्न दिँदा गेटामा सुविधासम्पन्न विशेषज्ञ सेवा सहितको अस्पताल बन्न रोकिदैन, यसै वर्षदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने र गेटामा अत्याधुनिक सुविधा सहितका स्वास्थ्य उपकरणहरु, दक्ष विशेषज्ञ चिकित्सकहरु र सुविधा सम्पन्न विशेषज्ञ सेवाहरु समेत क्रमशः सञ्चालनमा आउने भएकाले गेटामा विश्वविद्यालयमा तत्काल एमबीबीएस लगायतको पढाई शुरु गर्न प्रदेश सरकारले खलेको भूमिकाको सबैले स्वागत गरौँ र रचनात्मक सहयोग गरी असल नागरिकको भूमिका निर्वाह गरौं। धन्यवाद !