काठमाडौं - चौथो विश्व अकुपंचर दिवस नेपालमा पनि मनाइएको छ। चाइनीज मेडिसिन डाक्टर्स सोसाइटी, नेपाल अकुपंचर मोक्सिब्युसन र अकुप्रेसर संघले संयुक्त रुपमा यो दिवस मनाएका हुन्। चीनमा नोभेम्बर १६ देखि २२ सम्म एक साता मनाइने यो दिवसमा नेपालमा भने नोभेम्बर २२ मा मनाइएको हो।
शरीरका विशेष विन्दु, जसलाई अकुप्वाइन्टस भनिन्छ। ती विन्दुहरुमा विशेष प्रकारका सियोले घोचेर उपचार गरिने पद्दति नै अकुपंचर हो। यो औषधि विहीन उपचार पद्दति हो। विशेषगरी क्यान्सर, संक्रमण, भाँचिएको अवस्था बाहेक अधिकांश रोगमा अकुपंचर प्रयोग भएको पाईन्छ।
कतिपय क्लिनिकहरुमा पेटको समस्या, माइग्रेन, पिनास लगायतको उपचारमा यसको सफलता दर ८० प्रतिशतभन्दा माथि रहेको संघले जनाएको छ।
नेपालमा १८५ अकुपंचरिष्ट छन्। तीमध्ये स्वास्थ्य व्यवसायी परिषदमा १६५ र २० जना नेपाल आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता भएका छन्।