काठमाडौं - नेपाल शल्य चिकित्सक समाजले आयोजना गरेको सञ्चालन गरेको १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। शल्य चिकित्सा विज्ञानको विकास, नयाँ प्रविधिको प्रयोग र राष्ट्रिय सर्जरी सेवाको सुदृढीकरणबारे व्यापक सम्मेलनमा छलफल भएको थिथो।
भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका लगायत गरी ६ सय बढी शल्य चिकित्सा विज्ञहरूको उपस्थिति रहेको नेपाल शल्य चिकित्सक समाजका महासचिव डा अनिप जोशीले जानकारी दिए।
सम्मेलनमा रोबोटिक सर्जरी, न्यूनाक्रमण (मिनिमली इनभेसिभ) विधि, नवीन प्रविधि, अनुसन्धान तथा क्लिनिकल अभ्यासमा भएका अद्यावधिक परिवर्तनबारे बहस भएको थियो। तीन दिनसम्म चलेको सम्मेलनमा १७७ अनुसन्धानात्मक शोधपत्र, २७ पोस्टर प्रस्तुति, ६८ गेस्ट लेक्चर, तथा १५ नवीन विधिका भिडियो प्रस्तुतीकरण भएका थिए।
पहिलो दिन उपचार विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र वीर अस्पताल सर्जरी विभागको सहआयोजनामा लेप्रोस्कोपिक सर्जरीसम्बन्धी विशेष सत्र वीर अस्पतालको सर्जरी भवनमा सम्पन्न भयो।
सम्मेलनमा नेपालका वरिष्ठ सर्जनहरूले नेपालमा रोबोटिक सर्जरीको सम्भावना र विकास, तथा राष्ट्रिय सर्जरी योजनामार्फत कर्णाली लगायत दुर्गम ग्रामीण भेगमा आधुनिक र गुणस्तरीय शल्यचिकित्सा सेवा कसरी पु¥याउने भन्ने विषयमा रणनीतिक छलफल गरेका थिए।
सम्मेलनका विशेष सत्र मार्फत बेलायतको रोयल कलेज अफ सर्जन अफ इङ्गल्याण्डका अध्यक्ष, रोयल कलेज अफ सर्जन ग्लासगोका उपाध्यक्षसहित विभिन्न देशका १४ जना वरिष्ठ सर्जनलाई मानार्थ फेलोसिप प्रदान गरिएको थियो।
सोही अवसरमा नेपाल शल्य चिकित्सक समाजका वर्तमान अध्यक्ष डा. रोमियो कंसाकारले आगामी कार्यकारिणीका अध्यक्ष डा रोबिन जोशीलाई २०२६ जनवरी १ देखि लागू हुने गरी पद हस्तान्तरण गरेका छन्। उक्त सम्मेलन मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा भएको थियो।