तस्बिर सौजन्य : मनोज आचार्य
काठमाडौं- विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले सिंहदरबार भित्र बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण गरेको छ।
सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा विश्व स्वास्थ्य संगठनले निर्माण गरेको भवनहरु बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।
नवनिर्मित प्रिफ्याब भवन क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र मन्त्रालयका कर्मचारीहरुलाई औपचारिक रुपमा भवन हस्तान्तरण गरेको हो।
भवन हस्तान्तरण भएसँगै सिंहदरबार बाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय आज बुधबारबाट नै सार्न सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवाहरु सिंहदरबार भित्रबाट सुरु हुन्छ।
स्वास्थ्य मन्त्रालयको नवनिर्मित भवन सिंहदरबा भित्र हाल सर्वोच्च अदालतको भवन बनिरहेको स्थानबाट ठिक पूर्वपट्टी रहेको छ। माइतीघरतर्फबाट सिंहदरबार दक्षिण गेट तर्फ जाने क्रममा अन्नपुर्ण न्यूरो अस्पताल भन्दा केही मिटर मात्र अगाडि बबरमहल रिभिजिटेडको ठिक अगाडि नरसिंह दल भित्र जाने गेट पनि रहेको छ। तर स्वास्थ्य मन्त्रालय त्यहाँ भित्र सरेपछि भने उक्त गेट पूर्ण रुपमा बन्द हुने र कर्मचारी तथा सेवाग्राहीले दक्षिण गेट वा अन्य गेटबाट भित्र जानुपर्ने हुन्छ।
सेनाको सो गण प्रधानमन्त्री कायालय नजिक सरे पछि खाली रहेको उक्त क्षेत्रको जग्गा र भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि प्रयोगमा ल्याउने गरी छुट्याइएको मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार खाली जग्गा रहेको स्थानमा मन्त्रालयका लागि उपयुक्त हुने गरी विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा प्रिफ्याबका भवनहरु बनेका हुन्।
'सेनाका केही भवनहरु पनि रहेका छन्। ती भवनहरुमध्ये केहीमा मर्मत भइसकेको छ भने केही मर्मत हुँदै छ,' उनले भने।
जेनजी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनका क्रममा रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवनसहित सिंहदरबार र संसद भवनहरु जलेर खरानी भएका थिए। आगजनीका कारण जलेको स्वास्थ्य मन्त्रालय प्रयोग गर्न नमिल्ने भएपछि हाल स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ भवनमा सरेको थियो।
तर, अब भने मन्त्रालय सिंहदरबार भित्र सर्ने गरी काम अगाडि बढेको प्रवक्त डा बुढाथोकीले जानकारी दिए।



