अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, गगुडाकीकी ४० वर्षीया शारदा साउद दाउरा काट्ने क्रममा रुखबाट लड्दा कम्मरको हड्डी भाँचिइन्। रुखबाट लडेर पेल्भिस फ्र्याक्चरको गम्भीर चोट लिएर आएकी शारदाको डा. मन्दिप पाठकको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भयो।
धेरै बिरामीमा चोट लाग्नेबित्तिकै आन्तरिक रक्तस्राव हुने र ज्यान जाने जोखिम हुन्छ। शारदाको हकमा त्यस्तो अवस्था नआएकाले शल्यक्रिया गर्न सहज भएको डा. पाठकले बताए। उनका अनुसार, पेल्भिस फ्र्याक्चरको शल्यक्रिया नगरेमा लामो समयसम्म कम्मर दुख्ने समस्या रहिरहन्छ।
डा. पाठकका अनुसार पेल्भिस फ्र्याक्चर शल्यक्रिया जटिलमध्ये एक हो। यस्तो प्रकारको शल्यक्रियामा धेरै रक्तस्राव हुने भएकाले ठूला ट्रमा सेन्टरमै हुने गर्छ। तर अहिले बयालपाटा प्रादेशिक अस्पतालमा डा. पाठकसँगै ट्रमा फेलोसिप गरेका हाडजोर्नी विशेषज्ञ र जनरल सर्जन समेत रहेकाले यो शल्यक्रिया पहिलो पटक सम्भव भएको उनले बताए।
आफ्नै जिल्लामा शल्यक्रियासहित उपचार पाउँदा शारदा र उनका परिवार अत्यन्तै खुसी छन्। छिट्टै सन्चो हुने आशामा उनको अनुहारमा उत्साह देखिन्छ। ‘जिल्लाबाहिर लैजानु परे धेरै खर्च र समय लाग्थ्यो, यहाँकै उपचारले राहत मिल्यो,’ उनकी छोरी जोग्यानी साउदले बताइन्। हाल उनी उपचारपछि घर फर्किसकेकी छन्।
शारदा घर फर्केको दिनकै बेलुका भैसीका लागि घाँस काट्ने क्रममा मेसिनले चिप्लिँदा हात छिनिन लागेको अवस्थामा मंगलसेन नगरपालिका–६ का ४२ वर्षीय धनिराम खत्री अस्पताल आइपुगे। हात दुई टुक्रा हुनबाट जोगिए पनि उनका प्रायः सबै नसा काटिएका थिए।
गम्भीर चोट लिएर जिल्ला अस्पताल अछाम पुगेका खत्रीलाई बयालपाटा अस्पताल रेफर गरियो। हात काटिएको दुई घण्टापछि बयालपाटा आइपुग्दा उनको हातबाट अत्यधिक रक्तस्राव भइरहेको थियो।
ठूलो चुनौतीका बाबजुद, डा. निरौलाले सीमित साधनको अधिकतम उपयोग गर्दै उनको महत्वपूर्ण शल्यक्रिया गरे। यस्तो शल्यक्रिया ६ घण्टा भित्रै सम्पन्न हुनुपर्ने हुन्छ, नत्र हात जोडिन असम्भवजस्तै हुन्छ। माइक्रोसर्जरी प्रविधि प्रयोग गर्दै उल्नार आर्टरी र कलाईको बीचमा रहेको अर्को ठूलो धमनी सफलतापूर्वक जडान गर्न डा. निरौला सफल भए। सुदूरपहाडका सीमित साधनयुक्त अस्पतालमा यस्तो शल्यक्रिया सम्भव हुनु सम्भवत: पहिलोपटक हो।
हाल खत्री डा. निरौलाकै निगरानीमा उपचाररत छन्। शल्यक्रियामा संलग्न एनेस्थेसिया सहायक महेन्द्र कुँवरका अनुसार अहिले उनको हातमा राम्रो रक्तसञ्चार भएको छ र सबै औँलाहरू चलिरहेका छन्।
खत्रीको सफल शल्यक्रियाले उनको अनुहारमा खुसी फर्किएको छ। ‘‘बयालपाटा अस्पतालको सेवा राम्रो छ भन्ने सुनेको थिएँ। आज आफैले अनुभव गर्दा झन् गर्व लागेको छ,’’ खत्री भन्छन्, ‘‘बाहिर जाँदा खर्च धेरै हुने थियो, उपचार समयमै पाउने/नपाउने थाहा थिएन। यहाँ आइपुग्नेबित्तिकै उपचार पाएकोमा म धेरै खुसी छु।’’
यो सफल शल्यक्रियाले ग्रामीण स्वास्थ्य सेवामा आशाको किरण फिजाएको छ। सीमित स्रोत–साधन, तर उच्च दक्षता, समर्पण र चिकित्सकीय सिर्जनशीलताले दुर्गम क्षेत्रमा पनि जटिल आपतकालीन शल्यक्रिया सम्भव छ भन्ने प्रमाण दिएको छ।
बिरामीका लागि यो शल्यक्रियाले केवल रगत बग्ने धमनी पुनर्स्थापना र हातको चलायमानता मात्र फर्काएको होइन, आर्थिक रूपमा असम्भवजस्तै देखिएको उपचारलाई सम्भव बनाएको छ।
शहरका ठूला अस्पतालमा यस्तो जटिल भास्कुलर, टेन्डन मर्मत, माइक्रोसर्जरी र उपचारको लागत ४–५ लाख रूपैयाँसम्म पुग्न सक्छ। तर बयालपाटा प्रादेशिक अस्पतालमा खत्रीले सहजै उपचार पाए। धेरै बिरामीले खर्चको डरले अस्पताल आउन हिच्किचाउने अवस्थामा यो सफल शल्यक्रिया चिकित्सकीय उपलब्धि मात्र होइन, गुणस्तरीय उपचार पाउन सकिने महत्वपूर्ण प्रेरणा बनेको छ।
हाडजोर्नी विशेषज्ञ डा. निरौलाका अनुसार बिरामीको हातको पातलो भागमा गहिरो चिरा, कलाईको प्रोक्जिमल र डिस्टल क्रिजमा १० से.मी. सम्मका काटिएका घाउ, बोटामा धेरै साना घाउ, अंगूठा तथा औँठी औलाका टेन्डन काटिएको, साथै कलाईमा रहेका दुई महत्वपूर्ण धमनी (उल्नार आर्टरी र अर्को प्रमुख धमनी) पूर्ण रूपमा विच्छेद भएका थिए।
गोल्डेन ६ घण्टा नाघ्न लाग्दा पनि जोखिम मोलेर गरिएको शल्यक्रियामा सफल हुन पाएका डा. निरौला स्वयं पनि खुशी छन्।
को हुन् डाक्टर निरौला?
देशका दुर्गम भू–भागमा चिकित्सक त परै जाऊन्, सामान्य स्वास्थ्यकर्मी पनि टिक्न रुचाउँदैनन्। सबैको पहिलो रोजाइ शहर, सहज पहुँच र सुविधायुक्त जीवनशैली नै हुन्छ। तर केही मानिसको सोच यति ठूलो हुन्छ कि उनीहरूको धड्कन दुर्गमका जनताको पीडासँग नै जोडिन्छ। त्यस्ता दुर्लभ सोच भएका चिकित्सकमध्ये एक नाम हो—डा. विश्वबन्धु निरौला।
भारतको प्रतिष्ठित शैक्षिक संस्थान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)बाट हाडजोर्नीमा विशेषज्ञता हासिल गरेका डा. निरौलाले काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा ट्रमा फेलोसिप पूरा गरे। शहरका चम्किला अस्पतालमा अवसरको कमी थिएन, न त उच्च तलब–सुविधा अभाव थियो। तर पनि उनले रोजे- अछाम, त्यो पनि करार सेवाको सरकारी जागिर।
‘जहाँ धेरै आवश्यकता हुन्छ, त्यहीँ हाम्रो उपस्थितिले जीवनमा अर्थ दिन्छ,’ उनी भन्छन्। उक्त उत्तरमै दुर्गमप्रतिको सेवा–भाव र दायित्वबोध झल्किन्छ। 'मलाई तलब–सुविधाको कमी भन्दा यहाँका जनताले उपचार नपाउँदा मन चसक्क दुख्छ,’ उनले थपे।
-1763892795.jpg)
अछामको कठोर भौगोलिक बनावट, कठिन सडक, सीमित साधन–स्रोत र बढ्दो अपेक्षाबीच केही महिनामै उनले यहाँको वास्तविकता नजिकबाट बुझे। ‘बिरामीले ‘डाक्टर आएको छ’ सुन्नासाथ आधा पीडा हराउँछ,’ उनी भन्छन्।
शहरले उनलाई ज्ञान दिएको भए, अछामले उनी किन डाक्टर बने भन्ने गहिरो अर्थ सम्झाइदिएको छ। ‘अछाममा काम गर्नु भनेको मानवता, धैर्य र सिर्जनशीलतालाई साथ लिएर प्रत्येक दिन चुनौतीसँग लड्नु हो,’ उनी भन्छन्। बिरामीले ‘धन्यवाद डाक्टर साब’ भन्दाको क्षणमा आफ्ना सबै उपाधिहरू पनि साना लाग्छन् उनलाई। ‘देशले बिर्सेका मानिसलाई नबिर्सनु नै मेरो सबैभन्दा ठूलो सेवा हो। त्यसैले म यहाँ छु,’ उनी भन्छन्।
बयालपाटालाई ट्रमा सेन्टर बनाउने डा. पाठकको धोको
बयालपाटा प्रादेशिक अस्पताललाई सर्जिकल सेन्टरका रूपमा विकास गर्न जनरल शल्यक्रिया तथा हाडजोर्नी सेवा विस्तार गरिएको डा. मन्दिप पाठकले बताए। उनका अनुसार अहिले पहिलाको भन्दा बढी जटिल शल्यक्रियाहरू हुन थालेका छन्। मेडिकल उपकरणहरूको थप व्यवस्था भए पित्तथैली लगायत अन्य शल्यक्रिया पनि गर्न सकिने उल्लेख गरे।
दुर्गम सुदूर तथा कर्णाली प्रदेशका नागरिकलाई सहज पहुँच हुने स्थान भएकाले बयालपाटालाई ट्रमा तथा शल्यक्रिया केन्द्रका रूपमा स्थापित गर्ने दृष्टी डा. पाठकको छ। ‘दुर्गमका बिरामीलाई धनगढी वा नेपालगन्ज धाउनुपर्ने तथा खर्च धेरै पर्ने समस्याको अन्त्य गर्न बयालपाटा नै उपयुक्त विकल्प हो,’ उनले बताए।
धेरै रोगमा शल्यक्रिया आवश्यक पर्ने भए पनि अन्य जिल्लामा शल्यक्रिया केन्द्र स्थापना नहुँदा सुदूरपहाडमा यसको अभाव रहेको उनको भनाइ छ। ‘बयालपाटाले नपाइने सेवा विस्तार गर्न सके जनताका लागि ठूलो राहत मिल्छ,’ उनले भने।
लय समाउँदै बयालपाटा प्रादेशिक अस्पताल : २ हप्तामा २ ठूला सफल अपरेशन
अछाम : बयालपाटा प्रादेशिक अस्पताल अछाम आफ्नो पुरानो छवि पुनः कायम राख्ने दिशामा अघि बढ्दैछ। मानव संसाधन तथा चिकित्सकीय पदपूर्तिसँगै अस्पतालको सेवा विस्तार भइरहेको हो।
देशका ठूला शहरमा मात्र हुने जटिल अपरेशन अहिले बयालपाटामा हुन थालेका छन्। दुई हप्ताको फरकमा यहाँ हाडजोर्नीका दुई महत्वपूर्ण शल्यक्रिया सम्पन्न भएका छन्।
डा. मन्दिप पाठकको नेतृत्वमा पेल्भिस फ्र्याक्चरको शल्यक्रिया र डा. विश्वबन्धु निरौलाको नेतृत्वमा हात छिनिएको बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो।
चौरपाटी–३ की ४० वर्षीया शारदा साउद र मंगलसेन–६ का ४२ वर्षीय धनिराम खत्री सफल शल्यक्रियाबाट लाभान्वित भएका हुन्।
दुर्गममा कठिन मानिने र प्रायः शहरमै केन्द्रित हुने यस्ता जटिल शल्यक्रिया पहाडी जिल्लामा बयालपाटामा मात्र सम्भव भइरहेका छन्। यसअघि यही अस्पतालमा पहिलो पटक पूर्ण हिप जोर्नी प्रत्यारोपण समेत सफल भएको थियो।