डा सरोजमणि पोख्रेल
आयुर्वेद नाम सुन्दै नाक खुम्च्याउनुपर्ने स्थितिबाट अघि बढिरहेको छ। आयुर्वेदको व्यापकतालाई यहाँ लेखेर भन्दा पनि अबका दिनमा देखिने व्यवहारहरुबाट अझ बढी चिन्न मद्दत पुग्ने छ।
यस लेखमा आज आयुर्वेदका यस्ता प्रसिद्ध महर्षिका बारेमा केही जानकारी दिन खोजिएको छ, जसलाई आज पश्चिमी विश्वले पनि शल्यक्रिया (सर्जरी) का पिता भनेर मान्छ। हो, महर्षि सुश्रुत जसलाई आज पश्चिमा स्वास्थ्य विज्ञानले 'फादर अफ प्लाष्टिक सर्जरी' भन्न रुचाइरहेको छ।
आखिर को हुन् सुश्रुत? झट्ट सुन्दा कुनै पौराणिक दन्त्यकथाका पात्रजस्तो लाग्न सक्छ। अझ नेपालको वर्तमान शिक्षा पद्दतिमा हुर्केका नवयुवाहरुलाई यो फगत लाग्न सक्छ।
महर्षि सुश्रुत आयुर्वेदको इतिहासका एक गर्विलो नायक हुन्। भगवान् धन्वन्तरीका सात शिष्यमध्ये एक धुरन्धर शिष्य हुन्, जसले मृतप्रायः शल्यक्रिया विषयलाई आजका दिनसम्म पनि जीवित राख्ने अलौकिक भूमिका निर्वाह गरे।
गुरुकूल परम्परामा आफ्ना लागि गुरु एवं शिष्य आफैँ नै छनोट गर्न पाउने प्रावधान रहन्छ। तदनुरूप गुरु एवं शिष्य दुवैमा निश्चित गुण हुनुपर्ने शास्त्रमा व्याख्या गरिएको छ।
महर्षि यस्ता शिष्य थिए, जब आयुर्वेदको शिक्षा प्राप्त गर्नका लागि उनीसहित अरु मित्रहरु भगवान् धन्वन्तरीकहाँ गए। तब भगवान धन्वन्तरीले– तिमीहरु नि:सन्देह छौ, तिमीहरुको परीक्षा लिनु आवश्यक छैन भनी सिधा शिष्यका रुपमा ग्रहण गरे।
भगवान् धन्वन्तरीले कुन विषयमा शिक्षा लिन चाहन्छौ भनी प्रश्न गर्दा सुश्रुतले शल्य विषय रोजे र अरु मित्रहरुले पनि त्यसमै समर्थन गरेको इतिहासमा पढ्न पाइन्छ। महर्षि सुश्रुतले लेखेको 'सुश्रुत संहिता' आजसम्म पनि शल्यचिकित्साको प्रमुख ग्रन्थ मानिन्छ।
महर्षि सुश्रुतको समयका सन्दर्भमा विभिन्न मतहरु पाउन सकिन्छ। तर खासगरी इपु १००० को समयलाई धेरैले मानेको पाइन्छ।
ब्रह्माद्वारा चिन्तन गरिएको आयुर्वेद, ब्रह्मा हुँदै दक्षप्रजापति, दक्ष हुँदै अश्विनीकुमारहरु, अश्विनीद्वय हुँदै इन्द्र, तत्पश्चात इन्द्र द्वारा धन्वन्तरी र त्यसपछि सुश्रुत लगायतका शिष्य हुँदै पृथ्वीमा अवतरण भएको पाइन्छ।
महर्षि सुश्रुतले शल्य विषयलाई महत्व दिई लेखिएको सुश्रुत संहिता आजसम्म पनि समय सान्दर्भिक रहेको छ। त्यस समयका अरु शिष्यहरुद्वारा लेखिएका ग्रन्थहरु लुप्त रहेको पाइन्छ।