हेमराज पाण्डे
हालसम्म ६५ हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोना महाव्याधिले जनस्वास्थ्यमा प्रत्यक्ष्य प्रभाव त पारेको छ नै, विश्वको अर्थतन्त्र लगायत आममानिसका हरेकजसो दैनिक क्रियाकलापमा नकारात्मक असर पारेको सर्वविदितै छ। आम मानिसहरुमा भय र त्रासको स्थिति कायमै छ।
त्रास कहिलेसम्म?
महामारी नियन्त्रणका लागि अबलम्वन गरिने विभिन्न उपायमध्ये सम्भवतः पहिलो पटक चीनले एउटा नमुना पेस गर्यो लकडाउन। अहिले लकडाउन शब्द नसुन्ने व्यक्ति सायदै होलान्। हरेकजसो व्यक्तिले हाल कोरोनाकै विषयमा छलफल गरेको पाइन्छ र यसको कारण यस रोगबाट हुन सक्ने मृत्यु र छिटोभन्दा छिटो सर्ने कारण हो भन्ने विषयमा दुईमत नहोला।
हाल विश्वका धेरैजसो देशहरु आंशिक वा पूर्ण रुपमा लकडाउनको स्थितिमा छन् तर लकडाउन गरे पनि संक्रमितको संख्या कम हुन सकेको छैन। कारण धेरै देश इटाली, बेलायत, स्पेन आदिले लकडाउन गर्न धेरै ढिलो गरे जसबाट धेरै व्यक्तिहरुमा संक्रमण फैलियो।
महामारी नियन्त्रण गर्ने अन्य मुख्य २ उपाय क्वारेन्टिन र आइसोलेसन विधिलाई पनि पूर्ण रुपमा कार्यान्वयन गर्न सकेकन्। वृद्धवृद्धाहरुको उच्च अनुपात रहेको कारण पनि ती देशहरुमा मृत्युदर चीनको भन्दा बढी देखिएको अनुमान गरिएको छ। थप कारणहरुमा स्वास्थ्य प्रणालीको अपर्याप्त तयारी र चीनको जस्तो कडा किसिमको लकडाउन नहुनु पनि हो भन्न सकिन्छ।
तर, के सधैंभरि आममानिस यसरी नै डराएर बस्लान् त? र के त्यो सम्भव होला? नेपालमा यो त्रास घट्ला वा बढ्ला भन्ने कुरा नयाँ संक्रमितको संख्या सँगसँगै मृत्युदरमा पनि भर पर्छ। हालसम्म कोही पनि कोरोनाको कारण मृत्यु नभएको स्थितिमा यसप्रतिको त्रास कम हँुदै जान सक्छ।
संक्रमितको संख्या बढे पनि मृत्युदर एकदमै न्यून राख्न सकिएको खण्डमा विस्तारै यो अवस्था सामान्यीकरण हुनसक्छ। तर त्यसको लागि सरकार दरिलो रुपमा प्रस्तुत हुनुको विकल्प छैन। यसको लागि सरकारले छिटोभन्दा छिटो आफ्नो तयारी बढाउनुपर्छ र निजी क्षेत्रका अस्पतालहरु र मेडिकल कलेजलाई पनि परिचालन गरी बिरामीको उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ।
लकडाउन सधैंभरि लम्ब्याइरहन सम्भव पनि हुँदैन र निम्न वर्ग जो दिनभरि परिश्रम गरेर बिहान बेलुकाको छाक टार्छन्, जो सानो पसल सञ्चालन गरेर आफ्नो खर्च चलाउँछन् उनीहरुलाई कोरोना संक्रमण सामान्य लाग्न थाल्ने छ। सरकारले पनि लकडाउन खुकुलो बनाउदै लग्ने छ र आममानिसमा रोगप्रतिको धारणामा परिवर्तन आई अहिलेको जस्तो त्रासको अवस्था नरहन सक्छ।
के लकडाउनले संक्रमितको संख्या शून्यमा झर्ला?
हालसम्मको अनुभवले यो कुरा असम्भव जस्तै हो। नेपालमा यसका केसहरु देखिइनै रहन्छन् र हाम्रो उद्देश्य भनेको एकै पटकमा कसरी हुन्छ कमभन्दा कम केसहरु देखियोस् ताकि हाम्रो स्वास्थ्य प्रणालीले ५ प्रतिशत संक्रमित (जसलाई भेन्टिलेटरको सहित आइसियु सेवाको आवश्यकता पर्दछ) लाई गुणस्तरीय सेवा दिन सकोस् भन्ने हो।
भौतिक दूरी कम राख्ने, हात मिलाउनुको सट्टा नमस्कार मात्र गर्ने, हातमुखको सरसफाइमा ध्यान दिने आदि विधिहरु आम मानिसले अवलम्बन गरेमा लकडाउन खुकुलो हुँदा पनि संक्रमितको संख्या नियन्त्रणमा राख्न सकिन्छ।
अन्य जनस्वास्थ्य कार्यक्रमहरु के हुने?
हाल राज्यका सम्पूर्ण संयन्त्रहरु कोरोना नियन्त्रणमा लागिपरेका छन्। अझ स्वास्थ्य मन्त्रालयका सम्पूर्ण संरचना कोरोना नियन्त्रणमा लागि परेका छन्, जसले गर्दा जनस्वास्थ्यका महत्पूर्ण कार्यक्रमहरु जस्तैः खोप, क्षयरोग नियन्त्रण, सुरक्षित मातृत्व आदि ओझेलमा परेका छन्। जसको कारण जनस्वास्थ्यमा नयाँ समस्याहरु जस्तैः दादुराको महामारी देखिन सक्छ। मातृ तथा बालमृत्युदर बढ्न सक्छ। त्यसैले हरेक स्थानीय तह र स्वास्थ्य कार्यालयहरु यस प्रकृतिका कार्यक्रममा नकारात्मक प्रभाव पर्न दिनबाट जोगाउन लागिपर्नु पर्ने देखिन्छ।
हरेक जिल्ला र स्थानीय तहमा कोरोनाको लागि छुट्टै टिम तयार गरी सम्पूर्ण जिम्मेवारी दिने र स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले जनस्वास्थ्यका कार्यक्रमहरुलाई पनि निरन्तर रुपमा अघि बढाउनु आवश्यक देखिन्छ। नत्र झनै भयावह स्थिति नआउला भन्न पनि सकिन्न। अस्पतालहरुले प्रवाह गर्ने सेवा पनि प्रभावित हुने अवस्था रहेकोले अस्पतालले पनि नयाँ किसिमको पहल गर्नुपर्ने देखिन्छ।
स्थानीय तहहरुले के गर्ने?
हाल केही स्थानीय तहहरुले खुला स्थानमा सोडियम हाइपोक्लोराइट लगायतका केमिकलहरु छर्ने कामको औचित्य देखिँदैन। भाइरस खुला चौर र बाटोमा धेरै लामो समय बाँच्दैन र सँगसँगै सबै खुला स्थानमा केमिकल छर्नु सम्भव पनि छैन। बरु क्वारेन्टिन गरिएको स्थान, अस्पताल, भीडभाड हुने स्थान जस्तैः तरकारी बजार आदिमा यस्ता क्रियाकलाप सञ्चालन गर्नुपर्छ।
स्थानीय तहको मुख्य भूमिका सम्भावित संक्रमितको नमुना संकलन गर्ने व्यवस्था मिलाउने, उक्त नमुना सम्बन्धित प्रयोगशालासम्म पुर्याउने, जटिल संक्रमितलाई एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने, स्थानीय तहमा तथ्यांक राख्ने र रिपोर्टिङ गर्ने तथा आममानिसमा सही सूचना संप्रेषण गरी त्रासको अवस्था कम गर्ने लगायत हुनुपर्छ।
त्यसकारण अबको बाटो सबै कुरा छाडेर कोरोनालाई हराएर मात्र अघि बढौं भनेर सोच्नुभन्दा पनि कोरोनासँग लड्दै अन्य नियमित कार्यक्रमहरु पनि सञ्चालन गर्दै अगाडि बढौं भन्ने हुनुपर्छ। अन्यथा कोरोना विरुद्ध लड्दै गर्दा झन् ठूला समस्या नआउलान् भन्न सकिन्न।
(वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डे हाल मेलबर्न विश्वविद्यालय, मेलबर्न अष्ट्रेलियामा एमएससी इपिडिमियोलोजी अध्ययनरत छन्।)