विचार/ब्लग

सहनशीलताले थिचेको स्वतन्त्रता

रञ्जिता शर्मा बच्काई

सहनशीलता मानिसको एक महत्वपूर्ण विशेषता हो। सामाजिक प्राणी भएकोले मानिसको जीवनमा आइलाग्ने अनेक समस्यालाई बुद्धिमतापूर्ण हिसाबले हल गरी शान्त, संयमी भई आफ्नो काम अघि बढाउनु, आवेगलाई विवेकले जित्नु सहनशीलता हो। तर, हाम्रो समाजले यो शब्द नारीकै लागि बनेको जस्तो गरिरहेछ र यसको अपब्याख्या गरिरहेको छ। 

सहनशीलको शाब्दिक अर्थ हो- सहन सक्ने स्वभावको, सहिष्णु, क्षमाशील, धैर्यशाली। अर्थलाई नअर्थ लगाएर थिचिोमिचो र हेलाहोचो सहन बाध्य बनाएर कसैलाई सहनशीलको उपाधि भिराएर चुप लगाउनु चाहिँ अन्याय हो। यो कसैलाई थिचोमिचो र हेलाहोचो गर्ने लाइसेन्स होइन। 

शारीरिक बनोटको हिसाबले महिला र पुरुष फरक छन्। यो फरकपना स्वभावमा पनि स्वतः झल्कन्छ। यो प्राकृतिक कुरा हो। जन्मले न कोही सानो छ  न त कोही ठूलो नै। प्रकृतिले फरक-फरक बनाएको छ। यसका साथै केही फरक जिम्मेवारी पनि दिएको छ। तर महिला जन्मँदै सहनशील भएर जन्मन्छन्? सहनशीलताको मर्म तथा समाजले आदर्श मानेको ‘सहनशील नारी’को कथामा आकाश र पातालजत्तिकै फरक छ जस्तो लाग्दैन? कतै हामीले आधा आकाशलाई सहनशीलको उपमा भिराएर लाचार र निमुखो जिन्दगी बाँच्न बाध्य त बनाएका छैनौं? 

शारीरिक प्रक्रियाले गर्दा महिलाको जिन्दगीमा केही अत्यन्त कठोर घडीहरु आउँछन्। महिनावारी, गर्भावस्था र प्रशव पीडा नारी जीवनका विशिष्ट घटना हुन्। महिलालाई सहनशील भनिरहँदा यी जटिल अवस्थालाई प्राकृतिक चक्र भन्दै स्वभाविक ठान्ने चलन छ। एक आम महिला जीवनभर सामाजिक, सांस्कृतिक, आर्थिक, लैगिक विभेद र हिंसाको चपेटामा पर्छिन्। मलाई दु:ख भयो भन्दिनन्। गाह्रो भयो भन्दिनन्। अब थप दु:ख ब्यहोर्न सक्दिनँ भन्दिनन्। अनि हिंसा गर्ने समाजले उनलाई सहनशीलाको उपाधि दिन्छ र थप दु:ख पिउन तम्तयार बनाउँछ। दु:ख उत्पादन गर्ने कारखानाले उनलाई थप लाचार बनाउने हतियारको रुपमा सहनशीलाको उपाधि दिएको छ। 

नारी सहनशीलताको एउटा सानो चक्र हेरौं। विकसित देशको भन्दा विकासोन्मुख देशका नारी, सहरका भन्दा गाउँका नारी, शिक्षादिक्षाको राम्रो अवसर पाएकी नारीभन्दा सो अवसर नपाएकी नारी, आर्थिक रुपमा सम्पन्नभन्दा विपन्न नारी, आत्मनिर्भर भन्दा पुरुषको कमाइमा निर्भर नारी किन बढी सहनशील हुन्छिन्? विकसित देशकी नारी किन प्रखर वक्ता बन्छिन्? पढेलेखेकी नारी किन निर्धक्क मनको कुरा भन्छिन्? यो सबै समस्याको जड गरिबी, अशिक्षा, अन्धविश्वास, अविकास नै हो। आफ्नो गरिखाने बाटो नभएका महिलालाई थप थिचोमिचो गर्न चलाखीपूर्ण हिसाबले दिइने उपाधि हो, सहनशीला। 

घरघरमा हुर्कंदो उमेरका छोरीलाई बाबुआमाले किन सहनशील बन्ने तालिम दिन्छन्? जति थिचोमिचो सहन सक्यो उति संस्कारी भन्ने सामाजिक सोचले यस्तो तालिम दिइन्छ। सहन सक्ने छोरी, बुहारी, श्रीमती हाम्रो समाजको साझा सपना हो। प्रश्न गर्न नसकोस्, शासन गर्न सकियोस्, हप्कीदप्की गर्न सकियोस्, आज्ञा खुरुखुरु शिरोपर गरोस्। आफूले तोकिदिएका मान्यतामाथि प्रश्न गर्न नसकोस्। जुन वर्गले आफ्नो विचार अरुमाथि लाद्न चाहन्छ, उनलाई सहनशील समूह चाहिन्छ। यो शैलीले समाजलाई भुत्ते बनाउँछ, बनाइरहेको पनि छ। सहनशीलताको यो अन्तहीन र अत्यासलाग्दो तालिमले धेरैको वर्तमान र भविष्य धमिलो बनाइरहेको छ।  

सहनशीलताको अध्याय जन्मजात आउने होइन। हुर्कंदै गएपछि आउने यो गलपासोले जीवनभर छोड्दैन। पुरुषले आफूलाई केन्द्रमा राखेर समाजको डिजाइन तयार पारेको छ। त्यो डिजाइनमा ऊ ठूलो छ। चोखो छ। विशिष्ठ छ। उसले महिलाको अग्नीपरीक्षा लिने कथा बनाएको छ। अग्निपपरीक्षा दिन लाचार र विवश महिलालाई आदर्शको मानक बनाएको छ। धैर्यताको अनेक पाठ पढाएको छ। वीरताको थोरै पाठलाई धैर्यताको पाठले छपक्कै छोपिदिएको छ। वीरताको पाठ पनि समाजमा छ तर त्यो पूजाआजामा मात्र केन्द्रित छ। वीरंगनालाई देवी बनाएको त छ तर घरघरमा वीरंगना जन्माउने र वीरंगना हुर्काउने रहर चाहिँ गरेको छैन।

छोरीलाई बच्चैदेखि लाचार र विचरा बनाएर हुर्काउने चलन छ। छोरालाई खानपिनदेखि हरेक सामाजिक क्रियाकलापमार्फत शूर र वीर बनाउने रहर गरिन्छ। ऊ थिचोमिचो सहन नपरी हुर्कन्छ। त्यतिमात्र भए त हुन्थ्यो, अरुलाई थिचोमिचो गर्न सिकेर हुर्कन्छ। अलि ठूलो भएपछि दिदी, बहिनी, महिला सहपाठी र आमालाई समेत हप्काउन सिक्छ। हप्काई खान अभ्यस्त हुँदाहुँदा आफूले  जन्मजात ल्याएको भाग्य यस्तै हो कि भन्ने भ्रम बोकेर लाचारी र विवशतालाई गहना सम्झेर त्यसैमा रमाउन विवश हुन्छन्। त्यसमा प्रश्न गर्ने नारीहरुलाई नै नराम्रो, संस्कारहीन र गतिछाडा भन्न पो सिकेका हुन्छन्। नारीको सत्रु नारी नै बन्ने यो टिठलाग्दो अवस्था किन बन्छ? पुरुषले कोरिदिएको लक्ष्मणलेखा नाघेर खुला हावामा रमाउन खोज्ने नारी उनीहरुका आँखामा संस्कारहीन बन्दछन्। त्यही सोचले संस्कारी र संस्कारहीन नारी जन्माउँछ समाज। 

महिलाको शारीरिक बनावट नापेर सुन्दरता जाँच्ने अनेक फित्ता बनेका छन्। ती सबै फित्ता पुरुषले नै बनाएका हुन्। महिलाका यौन तथा प्रजनन अंगहरु इज्जतको प्रतीक बनेका छन्। दबाइएको चित्कार संस्कार बनेको छ। यी घेराहरु नाघ्न खोज्नेलाई संस्कारहीनताको बिल्ला भिराइएको छ। सम्झँदै उकुसमुकुस हुन्न? नारीका क्षमता, प्रतिभा, कला, रहर र इच्छाहरु संरचनागत हिसाबले नै यस्तरी दबाउन सिकाइएको छ कि आफ्ना भावना, रहर र प्रतिभा कसरी चपाइए भनेर आफैंले सम्झन नसक्ने अवस्था छ।

त्यसरी दबेर आमा बनेकी महिला आफ्नी छोरीलाई वीरंगना बनाउन सक्दिनन्। सामाजिक संरचना छिचोल्नै नसकेर सहनशीलताको यो भारीले पुस्तौनी अवतार धारण गरिरहेको छ। यो संरचनाले महिला-महिलालाई मिल्न दिँदैन। सासु र बुहारी, नन्द र भाउजु, देउरानी र जेठानीलाई समाजले कुशल प्रतिस्प्रर्धीजस्तो बनाएर मैदानमा उतारेको छ। एक अर्कालाई पछार्न खोज्दा दुवै पछारिएको दृश्य हेरिरहेछ। यति भएपछि महिला नै महिलाको सत्रु हुन् भन्न साह्रै सजिलो भएको छ। 

माथि नै भनियो, केही विशिष्ट शारीरिक गुण र अवस्थावाहेक महिला र पुरुष दुवैको जीवन उस्तै हो। महिलाका पनि आफ्ना मनभित्र अटेसमटेस कला, क्षमता, प्रतिभा, दक्षता, भावनाहरु हुन्छन्। करिअर बनाउन, देश बनाउन, समाज बनाउन मन हुन्छ। रोटीमात्र बनाउने रहर कसैको हुँदैन। दालभात, रोटी, तरकारी, अचार मिठो बनाउने नाममा यतिमै जिन्दगी खुम्चाउने र अरुको कमाइमा बाँच्ने रहर कसैलाई हुँदैन। प्रतिभा फस्टाउने मौका नपाएपछिको लाचारी अवस्था हो यो। हातको यो सिप सहनशीलाको उपाधिजस्तै असाध्यै गरुँगो छ। खुला हाँसो दबाएर आँसुको दहमुनि सहनशीला बन्ने रहर कसैलाई हुँदैन। मनमा विभेद विरुद्ध विमतीका भावहरु अटेसमटेस हुन्छन्। ती भावहरु निर्धक्क पोखिने रहर गर्छन्। अनेक रंगीन सपनाहरु हुन्छन्। तिनले आकार लिन खोज्छन्। अनेक क्षमता र दक्षताहरु हुन्छन्। तीनले जीवन पाउने रहर गर्छन्। तर यो सत्य मनन गर्न समाज गाह्रो मान्छ। 

घर, परिवार र समाजमा खुलेर अघि आउने, मनमा लागेका कुरा निर्धक्क बोल्ने, करिअर बनाउने, आत्मनिर्भर जिन्दगी आत्मसम्मानका साथ बाँच्ने अवसर नपाउँदा महिला रुन्चे हाँसो हाँसेर अधकल्चो जीवन जिइरहेका छन्। समाज संस्कारको भारीले मजाले थिचियोस् र मुसुक्क हाँसोस् भन्ने चाहन्छ। यो लाचारीपनले आधा आकाश अँध्यारो भएको छ। त्यसको घाटा समाजलाई नै हो। आधामात्र खुलेको संसार कसरी समृद्ध र सुखी हुन्छ? आधा मान्छेमात्र हाँसेको देश कसरी सुखी हुन्छ? सिंगो आकाश निर्धक्क खुल्न सकोस्। सहनशीलाको बर्को फ्याँकेर भयमुक्त समाजमा सबैले सन्तोषको श्वास फेरेर बाँच्न पाउनुपर्छ। त्यसका लागि सबै मिलेर हातेमालो गरौं। 

(बच्काई महाराजगंज नर्सिङ क्याम्पसमा स्नातकोत्तर तह, प्रथम बर्ष (महिला स्वास्थ्य र विकास) मा अध्ययनरत छिन्।)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने