धीरज मैनाली
विविध भाषाभाषी, जातजाति तथा संस्कृतिक धरोहरले भरिपूर्ण देश नेपाल। नेपालीले हरेक महिनाजसो केही न केही चाड पर्व मनाएका हुन्छन्। तर २०७७ सालले भने चाडपर्वको कुनै रौनक ल्याएको छैन। मात्र छ मनमा डर, कति बेला, कसलाई, के हुने हो भन्ने।
विगत पाँच महिनाको लकडाउनले गर्दा काममा जान नपाएकोले घरखर्चको जोहो गर्न नपाएको पीडा आफ्नो ठाउँमा छ। जनमानसमा राहत पाउने सपना दिवास्वप्नाझैं भएको छ। आफ्नो तथा आफ्ना परिवारको पेट कसरी पाल्ने भनेर मानसिक रोग निम्त्याउनेको संख्या कोरोनाको संख्याकै अनुपातमा बढोत्तरी भएको अवस्था छ। जिम्मेवार पदका व्यक्ति काम गर्नुभन्दा कुरा फलक्नमा व्यस्त छन्। परिणाममुखी कार्य गर्न छोडेर बखम्फुसे कुरामा अल्झिएका छन्।
काम गरेको नदेख्ने जनताका आँखामा मोतिविन्दु भयो भन्नुको सट्टा परिणाममुखी कार्य गरेर जनता बचाउन कसले रोकेको छ? काम गर्न कसैले रोक्छ? पहिला काम गर्न नसक्दा दरबार बाधक भनिन्थ्यो। अहिले त दरबार पनि छैन, सरकारमा बहुमत आफ्नै छ तर इच्छाशक्तिको मात्र कमी रहेको बुझाइ समाजको छ। कोरोनाको लागि उपयोगी भेन्टिलेटर खरिद गर्न, रेम्डेसिभिर औषधि खरिद गर्न, आइसियुको बेड तथा मोनिटर खरिद गर्न केले रोक्यो?
बजेट छैन भनौं भने संसाद विकास कोषको करोडौं पैसालाई रकमान्तर गर्न सकिन्छ भन्ने कुरा कसैले बुझाउनु नपर्ला। अहिले पनि समृद्ध नेपाल सुखी नेपालीको खोक्रो नारा अलापेर हिँड्ने कि जनता बचाउने? समाज प्रश्न गरिरेहेको छ। जनता बाँचे आर्थिक समृद्धि पछि पनि गर्न सकिन्छ। अहिले आर्थिक विकासभन्दा अस्पताल विकास गर्ने समय हो। स्वास्थ्य क्षेत्रलाई सबल बनाउने समय हो। पुल पछि बनाऔं, बाटो पछि बनाऔं, भवन पछि बनाऔं, मन्त्री तथा माननीयका लागि गाडी पछि किनौं। अहिले अस्पताल बनाऔं, स्वास्थ्य क्षेत्रको विकास गरौं। स्वास्थ्यकर्मीलाई दक्ष बनाउने कार्य गरौं।
अस्पतालमा सघन उपचार कक्षको कमी छ, पर्याप्त मात्रामा भेन्टिलेटर छैन। यसतर्फ सबै गम्भीर एवं जिम्मेवार बन्न आवश्यक छ। कमिसन केका लागि खाने हो, जब शरीर नै रहन्छ–रहँदैन। अस्पताल बनायो, अस्पतालको क्षमता विकास गरियो भने भोलि आवश्यक पर्दा आफू तथा आफ्ना परिवारका लागि काम लाग्छ। कोरोना जस्तै महामारी फेरि नआउला भन्न सकिन्न। अहिले नै सोच्नूस् नीति निर्माताज्यूहरु, तपाईं तथा तपाईंका परिवार बिरामी पर्दा विदेश गएर उपचार गर्न सम्भव नहोला, यहींका अस्पतालहरुमा उपचार गराउनुपर्ने हुन्छ। नजिकको तीर्थलाई हेला नगरौं, टाढाका भूतलाई देउता नसम्झौं। देशमा अस्पताल जेजति छन्, अपुग छन्। सामान्य अवस्थामा जनतालाई चाहिँदा सघन उपचार कक्ष पाउन हम्मेहम्मे पर्छ। भेन्टिलेटेर त भनसुनपछि बल्लतल्ल पाइने विडम्बना छ।
राम, कृष्ण, शिव, हनुमान, अल्लाह, इशु जसजसको मन्दिर बनाउने हो, त्यसका लागि समय भविष्यमा रहला तर अहिलेका प्रत्यक्ष मानव सेवामा सर्मपित भगवानको लागि काम गर्ने, सेवा गर्ने भवन बनाउन सोचौं। तिनिहरुका लागि अत्याधुनिक उपकरण तथा स्रोत–साधनको व्यवस्थामा लाग्ने बेला हो।
हिजो को नेपालमा जन्मियो, को भारतमा भन्ने कुराभन्दा पनि अहिले जो नेपालमा जन्मिएका नागरिक छन्, तिनीहरुलाई बचाउन लाग्नुपर्ने बेला हो। यो बेला विवाद सिर्जना गर्ने होइन, क्षेत्रीय एकता कायम गरेर सहयोग लिने बेला हो। देशमा नभएका कुरा कसरी सहयोग लिन सकिन्छ, त्यो सोच्ने बेला हो।
देशका अभिभावकले आफ्ना जनताको आवश्यकतालाई कसरी पूर्ति गर्ने, समस्या पर्दा छिमेकीको सहयोग कसरी लिने सोच्नुपर्ने समयमा लाखौं वर्ष अगाडि नेपाल–भारत कुनै मुलुकको अस्तित्व नभएको बेलाको कुरा निकालेर यो जटिल परिस्थितिलाई अझ जटिलतातर्फ धकेल्नु राम्रो नहोला। नागरिक बचाउने कार्यमा कसकसको सहयोग लिनुपर्ने हो, त्यसतर्फ ध्यानाकृष्ट हुनु आजको समयको माग हो अनि यो देशका राजनेताहरुको राजधर्म पनि हो।
स्रोत–साधनको अभावले गर्दा अस्पतालहरुले भर्ना लिन छाडिसके। अस्पतालमा पर्याप्त जनशक्ति छैन। बिरामी उपचार नपाएर अकालमा ज्यान गुमाइरहेका छन्। अस्पतालको ढोका धाउँदैमा एम्बुलेन्समै बिरामीको ज्यान गइरहेको छ। देशमा यस्तो महामारी छ, सरकारी–निजी समन्वय, सहकार्य छैन। देशको विषम परिस्थिितिमा सबै कुरा सरकारको हुन्छ। सरकारले देशका जुनसुकै क्षेत्रलाई आफ्नो अनुसार सदुपयोग गर्न सक्छ। विडम्बना सहकार्य छैन अनि कोराना पोजेटिभ आएका बिरामी अस्पतालको शय्या नपाएर घरमा बस्न बाध्य छन्। ती कोरोना पोजेटिभलाई मनोवैज्ञानिक रुपमा कति दबाब होला। छिमेकीको तिरस्कारको कुरा उत्तिकै उठेको छ। श्वासप्रश्वासमा समस्या कसलाई, कतिखेर भइदिन्छ, कसैको अनुमानभन्दा बाहिर छ। अस्पताल पु¥याउन पाइने हो कि होइन केही भन्न सकिन्नँ। जनतालाई यसरी नै मर्न दिने?
मेडिकल कलेजसँग पर्याप्त शय्या हुन्छ। कोरोना पोजेटिभ आएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ। विदेशको सिको गर्न खोज्ने तर आफनो धरातल बिर्सने कार्य नगरौं। विदेशमा घरघरमा बिरामीको अवस्था बुझ्न स्वास्थ्यकर्मी जाने गर्छन्। के नेपालमा हरेक टोलको हरेक घरमा स्वास्थ्यकर्मी पुग्न सक्छन्?
अस्पतालका लागि जनशक्ति अभाव छ। स्वास्थ्यकर्मीको दरबन्दी नै कति छ, सरकारले बुझ्न जरुरी छ। शिक्षण अस्पताल, निजी अस्पताल सरकारी अस्पताल सबैलाई सँगै लिएर अघि बढ्नु आजको आवश्यकता हो। स्थानीय, प्रदेश तथा केन्द्रको उच्च समन्वय यो महामारी तथा संकटको समयमा हुनुपर्छ। यो बेला जस कसले लिने अनि भोलि भोट कसको पोल्टोमा पार्नेभन्दा पनि जनतालाई कसरी स्वास्थ्य सेवा चाँडोभन्दा चाँडो दिने भन्ने कुरामा उच्च समन्वय आवश्यक देखिन्छ।
विराटनगर तथा वीरगञ्जका मेयरको कुरा सुन्दा सबै सरकार आफ्नै तालमा हिँडेको अनि मारमा जनता परेको देखिन्छ। जनतासँग धोकाधडी गर्ने छुट कसैलाई छैन। जनताका करमा पालिने जनप्रतिनिधि हुन् वा राष्ट्रसेवक कर्मचारी, ती कर तिर्ने जनतालाई बचाउने कार्यमा मुख फर्काउने छुट कसैलाई छैन। नुनको सोझो सबैले गर्नु आवश्यक छ। त्यसकारण गैरजिम्मेवार बन्ने कार्य छोडेर कमिसनको खेलमा नलागेर आफूलाई पनि अप्ठ्यारो पर्दा स्वास्थ्य संस्था चाहिने कुरालाई मनन गरेर आवश्यक औजार तथा उपकरण खरिद यथाशीघ्र गर्नुप¥यो।
मापदण्ड बिनै सार्वजनिक यातायात सञ्चालनमा छन्। काममा जानुपर्ने मानिस काम नगरी नहुने बाध्यता छ। बैंकले ब्याजमा राहत दियो तर अब ऋर्ण लिनेलाई पुराना ऋणीलाई कुनै राहत छैन। ब्याजदर उही रहेको अवस्था छ। अरुको पीडा कसैको सरोकारको विषय नहुँदो रहेछ जब अभिभावक ठानिएको निकायबाट कुनै चासो हुँदैन। प्रतिपक्षलाई मौनतामै आनन्द छ। धेरै वर्ष सरकार चलाएर थकान भएर थकान मेटाउनमा मस्त भएको बुझिन्छ। जनताको दैनिकी तथा संविधानले प्रदत्त गरेको कुरालाई सत्तापक्षले नदेख्दा सम्झाउने धर्म प्रतिपक्षको हो तर प्रतिपक्ष आराममा छ। कुर्सीको लडाईंमा शक्तिको उन्मादले आन्तरिक कलहमा जगेडिएको सत्तापक्षलाई हाइसन्चो हुने कार्य गरेकोमा प्रतिपक्षप्रति सत्तापक्ष आभार नै होला।
महामारीमा देश छ, संकटमा जनता छन् तर राजनीति आफ्नै बेगमा उडेको छ। महँगा गाडी खरिदमा, प्रधानमन्त्रीको कुर्सीमा नयाँ अनुहारलाई आसिन गराउन, एमसिसी पास गराउन माहोल बनेको छ तर अस्पताल थप्नेमा कसैको आँखा तथा विवेक पुगेको छैन। यो संकटका बेला सबै आफूलाई प्रधानमन्त्री सम्झेर आफनो स्थानबाट कसरी देश र जनताको हितमा कार्य गर्न सकिन्छ त्यसतर्फ कार्य हुनुको सट्टा संकटको मौका छोपी बाझी मार्ने दाउमा परेर जनतालाई टुहुरो बनाउने छुट कसैलाई छैन।
दैनिक पिसिआर गरेर अस्पताल जान उर्दी जारी गरियो तर ती फ्रन्टलाइनमा कार्य गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पिसिआर जाँच कसले गरिदिन्छ, त्यो उल्लेख छैन। यो सरकारको जिम्मेवारी होइन? दैनिक कैयन बिरामीसँग सम्पर्कमा आउने स्वास्थ्यकर्मी हरेक क्षण जोखिममा छन्। पिसिआर गरेर मात्र कोरोनाको जोखिम कम हुने हैन। सुविधा थप गरेर कोरोना भइहाले उपचारको उच्च व्यवस्था देशमा छ भन्ने वातावरण बनाउन सक्नुप¥यो। जोखिममा काम गर्नेलाई मनोबल बढाउने कार्य हुनुप¥यो।
अहिले कोरोना भइहाले कहाँ आइसोलेसनमा बस्ने भन्ने पीडामा स्वास्थ्यकर्मी छन्। देशमा अधिकांश कोरोनाका बिरामी उपचारका लागि तोकिएका अस्पतालका शय्या लगभग भरिएको अवस्था छ। सबै अस्पतालले आफनो शय्या क्षमताको बीस प्रतिशत कोरोना पोजेटिभ बिरामीको उपचारको लागि छुट्याउने निणर्य प्रशंसायोग्य छ तर सबै अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटर नहुने यथार्थ बुझ्न आवश्यक छ।
लक्षण नभएका बिरामीलाई सबै अस्पतालले उपचार गर्न सम्भव भए तापनि कुन बिरामीलाई कुन समयमा लक्षण देखिन्छ अनि जटिल अवस्थामा पुग्छ त्यसको अनुमान गर्नसक्ने अवस्था छैन। कथंकदाचित बिरामीको आइसोलेसनमा मृत्यु भयो भने अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भयो भनेर तोडफोड भएमा त्यसको जिम्मा कसले लिने? सोच्न आवश्यक छ। सघन उपचार कक्ष तथा भेन्टिलेटर भएका अस्पतालका निश्चित शय्या यस संकटको समयमा सरकारले सदुपयोग गर्न अग्रसर नभएर सघन उपचार कक्ष तथा भेन्टिलेटर नभएका अस्पतालहरुलाई कोरोना संक्रमित राख्ने परिपत्र गर्नुले जनतामा भ्रम सिर्जना गर्ने तथा ब्याकअप नभएका अस्पतालका स्वास्थ्यकर्मीले मनोबल उच्च बनाएर काम गर्ने वातावरण नबनेर त्यो एउटा रिफरल सेन्टर मात्र हुने कुरालाई नकार्न सकिन्नँ।
रुसको भ्याक्सिनको समाचारले केही ऊर्जा दिए तापनि लक्षण सहितका बिरामी थपिएकाले देश भयावह अवस्था उन्मुख त भएको होइन भन्ने डर आमजनमानसमा पैदा भएको छ। सरकार अल्मलिएको तथा हात उठाएको अनि जनता आफैं जे गर्नु छ गर भनेर पन्छिएको भन्ने हल्ला सुरु भएको छ। राज्यले अभिभावकको भूमिका निभाउनैपर्छ। हाललाई अस्थायी सघन उपचार कक्ष तथा भेन्टिलेटर भएका अस्पताल बनाउने तथा त्यस अस्पतालमा दक्ष जनशक्तिको दरबन्दी सिर्जना गरी कोरोनाको महामारीसँग लड्न अग्रसर हुनुपर्छ। पिसिआर जाँचको दायरालाई बढाएर सबैले सुरक्षित तवरले आफनो व्यवहार गर्ने वातावरण बनाउनुपर्छ। अन्धाधुन्द निर्णय लिँदा नीति निर्माता आत्तिएको बुझाइ आममानिसमा सञ्चार हुन जान्छ। यस संकटको घडीमा आफना छिमेकीहरुलाई सहयोगको लागि आग्रह सहित क्षेत्रीय रुपमा एकत्रित भएर यो संकटसँग जुध्नु समयको माग हो।
यो वर्ष चाडपर्व नमनाउँदा केही फरक नपर्ने कुरालाई आमजनमानसले बुझ्न जरुरी छ। सामूहिक भेला, भोज–भत्तेर तथा जमघटका सम्पूर्ण कार्यक्रम कोरोना नियन्त्रणमा नआएसम्म स्थगन गरौं। अहिलेलाई आफू बाँच्ने कार्य गर्नेतर्फ उन्मुख होऔं। बहिर जाँदा अनिवार्य मास्क प्रयोग गर्ने, हातलाई सेनिटाइजरले वा पटकपटक साबुनपानीले धोएर अनि व्यक्तिगत दूरी कायम गरेर आफू पनि सुरक्षित बनौं र अरुलाई पनि सुरक्षित राखौं।
(मैनाली नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत हुन्।)