काठमाडौं- गत २४ घण्टामा देशभर ४५७ जना कोरोना संक्रमित भेटिए। सोही अवधिमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण भएको थियो। संक्रमणदर पनि ९ दशमलव ८२ पुगेको छ। संक्रमित र कोरोना परीक्षणको यो संख्या चार महिना यताकै सबैभन्दा उच्च हो।
गत माघ ८ गते नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो। जुन ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो। फागुन महिनाबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ। संक्रमण बढ्न थालेको पुष्टि गर्ने दुई आधारहरु छन्ः
एक, कोरोना संक्रमणदर बढ्दै जानु।
दोस्रो, सक्रिय संक्रमितको संख्यामा पनि वृद्धि।
स्वास्थ्य मन्त्रालय र विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ। तर असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ।
असार २० गतेसम्म एक प्रतिशतसम्म रहेको कोरोना संक्रमणदर हाल पाँच प्रतिशतभन्दा माथि पुग्ने गरेको छ। असार ३० गते कोरोना संक्रमणदर ६ दशमलव ७६ प्रतिशत पुगेको थियो। त्यसदिन ३ हजार ८४४ जनाको परीक्षण हुँदा २६० जनामा संक्रमण पुष्टि भएको थियो। जुन गएको तीन महिनापछिकै सबैभन्दा धेरै उच्च संक्रमण संख्या हो।
असार २२ देखि कोरोना संक्रमणको संख्या एक सय माथि पुग्ने गरेको छ। २३ र २४ गते ७८ र ९८ जनामा संक्रमण पुष्टि भएपनि त्यसपछि संक्रमितको संख्या दुई सय माथि छ। असार २५ गते १०२, २६ गत १२१, २७ गते १६८, २८ गते १७७, २९ गते २०६, ३० गते २६०, ३१ गते २२९, ३२ गते २०५ र साउन १ गते १३५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्यासँगै दैनिक रुपमा सक्रिय संक्रमितको संख्या पनि उत्तिकै बढ्दो क्रममा छ। असार २९ गतेबाट संक्रिय संक्रमितको संख्या एक हजार माथि पुग्ने गरेको छ।
चौथो लहरको संकेत, सबैले लगाऔँ बुस्टर डोज
बढ्दो संक्रमितको ग्राफलाई विज्ञहरुले नजिकबाट नियालिरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन कोरोना संक्रमण बढ्न थालेको बताउँछन्। बढ्दो तथ्यांक र ग्राफले नेपालमा कोरोनाको चौथो लहरको संकेत गरेको उनको बुझाई छ।
उनी भन्छन्, ‘चौथो लहर सुरु भइसकेको भन्ने अहिले धेरै आधार छैन। तर दैनिक भेटिएको संक्रमितको संख्यालाई हेर्दा संकेतको रुपमा भने लिन सकिन्छ।’
कोरोना संक्रमण बढ्नुमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता बिएफाइभ उपप्रजातिलाई अनुमान गर्न सकिने उनले बताउँछन्। यो भेरियन्ट केही समयअघि नेपालमा पुष्टि भएको थियो। यो भेरियन्ट छिटो फैलन सक्ने क्षमता भएको भाइरस मानिएको उनले बताए। यद्यपि यसले जटिल अवस्था निम्त्याउने र अस्पताल भर्ना गराउने संभावना भने डा पुन कम देख्छन्।
‘हाल संक्रमण बढ्नुको पछाडी बीएफाइभ लाई अनुमान गर्न सकिन्छ। तर अन्य भेरियन्ट पनि छन् की त्यो थाहा छैन।’ उनले भने, ‘यो छिटो फैलन सक्ने भएकाले धेरैलाई संक्रमण गराउन सक्छ। तर अन्य देशको ग्राफ हेर्दा यसले थप कडा रुप लिने र अस्पताल भर्ना गराउने खालको संभावना भने कम देखिएको छ।’
संक्रमणको अवस्थालाई बढ्न नदिन सबैले कोरोना विरुद्धको बुस्टर डोज लगाउन डा पुनको सुझाव छ। कोरोनाको खोपको मात्रा पुरा गरेर मात्र नभई यसले निम्त्याउने जटिलताबाट बच्न बुस्टर डोजको नै आवश्यकता पर्नेमा उनको जोड छ। बुस्टर डोज लगाउनेहरुमा कोरोना भाइरसले जटिलता निम्त्याउने संभावना कम हुने देखिएको उनले बताए। यो सँगै आउँदो चुनाव र चाडपर्वले पनि कोरोना संक्रमणको संभावना बढाउन सक्ने भन्दै सचेत रहन डा पुनको सुझाव छ।
चौथो लहर सुरु भइसकेको भन्न मिल्दैन: स्वास्थ्य मन्त्रालय
संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।
कोरोना संक्रमित र सक्रिय संक्रमितको बढ्दो संख्याले संक्रमणको जोखिम बढाएको उनले बताए। संक्रमितको संख्या बढ्दै गए अस्पताल भर्ना हुनेको संख्या र नयाँ भेरियन्ट आउन सक्ने जोखिम पनि बढेर जाने उनले बताए। अहिले पनि अधिकांश व्यक्तिले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना नगर्ने गरेको उनले बताए।
उनले भने, ‘हामीले निगरानी बढाएका छौँ। सचेतनाका कार्यक्रमलाई पनि जोड दिएका छौँ। तर अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौँ।’