एआईद्धारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - ‘तपाईंले एउटा कुरा याद गर्नु भएको छ?’
तनाव हुँदा की हामीलाई पटक्कै खान मन लाग्दैन या अत्यधिक खान पुग्छौ। त्यो बेला भोक र स्वादमा हाम्रो नियन्त्रण नै हुँदैन। भोकलाई मेटाउन भन्दा पनि भावनामा आएको उतारचढावलाई दबाउन हामी अनियन्त्रित तरिकाले खान थाल्छौ। जसलाई चिकित्सकीय भाषामा ‘स्ट्रेस इटिङ्ग’ भनिन्छ। स्ट्रेस इटिङ्गलाई कतिपयले स्ट्रेस हङ्गर, इमोस्नल हङ्गर पनि भन्ने गर्छन्।
तनावले टाउको दुख्ने, चक्कर लाग्ने, निद्रा खराब गराउने मात्र होइन। हाम्रो खाने बानीलाई पनि प्रत्यक्ष रुपमा असर पुर्याइरहेको हुन्छ। स्वास्थ्य, निद्रा र दैनिकीलाई जसरी प्रभाव पार्छ, त्यसरी नै भोक र खानपानलाई पनि तनावले नियन्त्रण गर्छ र असर पनि।
मानसिक तनाव व्यवस्थापन गर्न अनियन्त्रित र अस्वस्थकर तरिकाले गरिने खानपान नै स्ट्रेस इटिङ्ग हो। सामान्य रुपमा भन्नुपर्दा स्ट्रेस इटिङ्ग अर्थात् तनावलाई भुलाउन गरिने एक किमिमको खानपान हो।
तनावले कसरी गराउँछ स्ट्रेस इटिङ्ग ?
नर्भिक इन्टरनेशनल अस्पतालकी क्लिनीकल साइकोलोजिस्ट डा आरती थापा कुनै पनि चुनौती, खतरा र समस्यामा शरीरले देखाउने प्रतिक्रिया तनाव हो।
तनाब बढ्दा शरीरको ‘हाइपोथालामिक पिट्युटरी एड्रेनल’ (एचपीए) एक्सिस सक्रिय हुन्छ। र, शरीरमा ‘कार्टिसोल’ हर्मोन बढ्छ, जसले भोक पैदा गर्ने डा थापा बताउँछिन्।
उनी भन्छिन्, ‘मस्तिष्क र पाचन प्रणालीबीच सम्बन्ध हुन्छ। तनाबमा कसैलाई खानै मन लाग्दैन। कसैलाई अत्यधिक खान मन लाग्छ। यो बेला मान्छेले एकछिनको आनन्दका लागि अनहेल्दी खानपान गर्छन्।’
तनावमा खाइरहने, खाना माथि नियन्त्रण नहुने र अत्यधिक खाने (ओभर इटिङ) जस्ता बानी देखिन्छन्। डा थापाका अनुसार तनावलाई भुलाउन गरिने यस किसिमको खानपान भने अस्वस्थकर हुने गर्छ।
बढी कार्बोहाइड्रेट, चिनी, चिल्लो, मसालेदारयुक्त जंक तथा फास्टफूड खानेकुरामै मानिस आकर्षिक हुन्छ। यस किसिमको खानपानले एकछिनलाई आनन्द दिएपनि दीर्घकालमा स्वास्थ्यमा असर पुग्ने उनी बताउँछिन्। तनावमा गरिने खानपानले अपच हुने, काममा ध्यान नहुने, मुड स्वीङ्ग जस्ता समस्या आउने उनले बताइन्।
रोक्ने कसरी ?
‘यस किसिमको अस्वस्थकर बानीलाई रोक्ने कसरी?’
अर्का मानसिक रोग विशेषज्ञ डा रितेश थापाको जवाफ छ, ‘तनावलाई व्यवस्थापन गर्न सिक्नुपर्छ। के कारणले मलाई तनाव भइरहेको छ भन्ने त्यसको कारण पत्ता लगाउनुपर्छ।’
स्ट्रेस इटिङ्ग कुनै रोग नभई तनावले निम्त्याउने बानी मात्र भएको उनी बताउँछन्। तनावका कारण निम्तिएको भोक हो या साँच्चै शारीरिक भोक हो भनेर छुट्याउन सक्नुपर्ने उनले बताए। कुनै पनि व्यक्तिले तनाव हुँदा यो दुई बीचको फरक छुट्याउन सक्ने हो भने अनावश्यक रुपमा गरिने अस्वस्थकर खानपानलाई रोक्न सकिने बताउँछन्।
उनी भन्छन्, ‘तनावको बेला अचानक भोक लागेको जस्तो महसुस हुन्छ। विशेष खालका खानाहरु जस्तै धेरै गुलियो चकलेट, चिप्स, पिच्चाहरु खान मन लाग्छ।’
तनावमा हुँद व्यक्तिले छिटो छिटो, हतार हतार खाने र खाइसकेपछि धेरैलाई आत्मग्लानी समेत हुने गरेको उनले बताए। सामान्य रुपमा भोक लाग्दा गरिने खानपानले सन्तुष्टी मिल्छ भने तनावमा खाइने खानेकुराले आत्मग्लानी हुने गरेको उनले बताए।
‘यस्तो बानीले तत्काललाइ केही आराम देला। तर यो अस्वस्थकर आराम हो। तौल बढ्ने स्वास्थ्यमा असर पुग्छ’ उनले भने।
कुनै पनि कुराले तनाव भए हतारमा खानुभन्दा २० मिनेट पर्खेर हेर्नुपर्ने उनी सुझाउँछन्। वास्तवमै लागेको भोक भने हो २० मिनेटपछि पनि भोक लाग्छ। तर तनावले निम्त्याएको भोक हो भने त्यो सामान्यतया २० मिनेटपछि हराएर जान्छ। जसलाई ‘पज रुल’ भनिन्छ।
कारण पत्ता लगाएर तनावको व्यवस्थापन गर्न सिक्नुपर्ने उनी बताउँछन्। सबै गर्दा पनि तनाव व्यवस्थापन नभए विज्ञको परामर्शमा उनी सुझाव दिन्छन्।
डा आरती थापा पनि तनाव हुने बित्तिकै तनावमै रुमल्लिनु भन्दा त्यसको व्यवस्थापन गर्न सिक्नुपर्नेमा जोड दिन्छिन्। समस्याको पहिचान गर्ने, स्वीकार गर्ने, तनावलाई हटाउन योगा अनि ध्यान गर्न सकिने उनले बताइन्।
यो सँगै साथीहरुसँग आफ्नो समस्या साटासाट गर्ने, घुम्न जाने, मनपर्ने कामहरु गर्ने गरियो भने तनाव कम गर्न सकिने उनीहरु बताउँछन्।