भरतपुर- चितवन मेडिकल कलेजमा ‘नेपालमा जलन उपचारको अवस्था र चुनौती’ विषयक एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रिजन ६ अन्तर्गतका रोटरी क्लबहरू, रोटर्याक्ट क्लब अफ भरतपुर र रोटर्याक्ट क्लब अफ चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रमका स्रोत व्यक्ति कीर्तिपुर अस्पतालका जलन, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका वरिष्ठ कन्सल्टेन्ट प्राध्यापक डा. शंकरमान राईले नेपालमा जलनका प्रमुख कारण, जलन चोटको प्रकृति, प्राथमिक उपचार तथा उपचार सेवाको अवस्थाबारे प्रस्तुति दिएका थिए।
उनले विकसित मुलुकहरू र नेपालको जलन उपचार अवस्थाको तुलना गर्दै जलन उपचार सेवाको विकासका लागि सामाजिक सरोकारवाला, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरी मध्यविन्दु प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट जनरल सर्जन डा. अर्चन घिमिरेले सीमित स्रोतसाधनका बीच मोफसलमा जलनका बिरामीलाई उपचार गर्दा भोग्नुपरेका चुनौती र अनुभवहरू सहभागीमाझ साझा गरे।
कार्यक्रममा बोल्दै रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर नोमिनी तथा रोटेरियन प्राध्यापक डा. आइ.पी. ढकालले जलन उपचारको क्षेत्रमा बहुक्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए। उनले रोटरी वर्ष २०२७–२८ मा रोटरी डिस्ट्रिक्टले जलन उपचारको क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने योजना बनाएको जानकारी दिए।
रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सुशान्त रेग्मीका अनुसार कार्यक्रममा रोटेरियन, रोटर्याक्टर तथा स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्तिहरू गरी ६० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले नेपालमा जलन उपचार सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा उपचार प्रणाली सुदृढीकरणका लागि सरकार, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था र समुदायबीच समन्वयात्मक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।