काठमाडौं- दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। खाद्यजन्य रोगका कारण वार्षिक करिब ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको पनि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ।
सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको थियो। सोही निर्णयअनुसार सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्द्धन तथा समन्वय डब्ल्युएचओ र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव स्वास्थ्य, जीवन र समग्र कल्याणका लागि अत्यावश्यक छ। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई जनस्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिने गरिन्छ।
डब्ल्युएचओका अनुसार खाद्यजन्य रोगको कुल भारमध्ये करिब ४० प्रतिशत हिस्सा पाँच वर्षमुनिका बालबालिकाले वहन गर्ने गरेका छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब १ लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ। महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग खाद्यजन्य रोगबाट बढी प्रभावित हुने गरेका छन्।
विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका प्रत्येक चरणमा सुरक्षा मापदण्डको पालना गर्न सके खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
विश्व खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
विज्ञहरूका अनुसार सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताबीच साझा जिम्मेवारी र सहकार्य आवश्यक छ।
‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन तथा दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।