काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले आफू पदबाट बिदा हुने भन्ने विषयमा कुनै पनि आधिकारिक निर्देशन नआएको स्पष्ट पारेकी छन्।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग सुझाव संकलनका लागि आयोजित छलफल कार्यक्रममा पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहेताले आफूले पनि मिडियामार्फत आएका समाचार मात्रै सुनेको बताइन्।
उनले भनिन्, “मिडियामा आएको कुरा भएकाले तपाईंहरूलाई नै बढी थाहा होला। त्यस्तो कुनै आधिकारिक कुरा होइन।”
साथै उनले मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको जानकारी दिइन्। उनले सरकारका प्राथमिकतामा परेका कार्यहरू कार्यान्वयनमा मन्त्रालय पूर्ण रूपमा केन्द्रित रहेको बताइन्।
“हामीले शासकीय सुधारका सय वटा कार्यसूची कार्यान्वयनमा ध्यान दिइरहेका छौँ,” मन्त्री मेहेताले भनिन्, “मन्त्रालयभित्र सुधार गर्नुपर्ने धेरै क्षेत्र छन्, ती सबैलाई क्रमशः प्रभावकारी रूपमा अघि बढाइनेछ।”
उनले विगतमा कार्यव्यस्तताका कारण सञ्चारमाध्यमसँग नियमित छलफल हुन नसकेको स्वीकार गर्दै अबदेखि प्रत्येक १५–१५ दिनमा यस्ता अन्तरक्रिया कार्यक्रम गर्ने प्रतिबद्धता जनाइन्।
“हामीले यस्तो छलफल पहिले नै गर्नुपर्ने थियो, तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा समय व्यवस्थापन हुन सकेन,” उनले भनिन्, “अब नियमित रूपमा यस्ता संवाद गर्नेछौँ।”
छलफलका क्रममा स्वास्थ्य पत्रकारहरूले मन्त्रालयका पछिल्ला कार्य, स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य बीमा कार्यक्रम लगायतका विषयमा मन्त्रीसमक्ष सुझाव दिएका थिए।
त्यसैगरी मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न विभिन्न नीतिगत सुधार अघि बढाइएको जानकारी दिए।
उनले स्वास्थ्य क्षेत्रका दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि सुधार कार्यक्रम अझ प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए।
“अस्पताल सुधार, औषधि व्यवस्थापन र सेवा गुणस्तर अभिवृद्धिका लागि नीतिगत काम अघि बढाइएको छ,” सचिव देवकोटाले भने, “आगामी वर्षदेखि यी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा लागू गरिनेछ।”