काठमाडौं - नेशनल बाथरोग सेन्टरले आफ्नो १३औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ। २०१२ सालमा काठमाडौंको रातोपुलस्थित सानो घरबाट सुरु भएको सेन्टर आज देशभर नौ स्थानबाट बाथरोगसम्बन्धी सेवा प्रदान गर्ने प्रमुख स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा सामाजिक अभियान्ता प्रा. केदारभक्त माथेमा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उनले सेन्टरले पछिल्ला वर्षहरूमा देखाएको प्रगति, सेवा विस्तार र कार्यकुशलताको प्रशंसा गरे।
उनले भने, “१३ वर्षदेखि नौवटा क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको सुन्दा निकै खुसी लाग्यो। सार्वजनिक क्षेत्रमा यस्तो कार्यकुशलता विरलै देखिन्छ। बिरामीको पीडा कम गर्ने र जीवनको गुणस्तर सुधार्ने काम अत्यन्त महत्वपूर्ण हो।”
उनले अटुल गवान्डेको बिइङ मोर्टः पुस्तकको उदाहरण दिँदै स्वास्थ्य सेवाको मूल उद्देश्य केवल आयु बढाउनु मात्र नभई जीवनको गुणस्तर सुधार गर्नु भएको उल्लेख गर्नुभयो। “लंगेभिटी इज नट एभ्रिथिङ,” उनले भने, “बरु गुणस्तरीय जीवन नै सबैभन्दा ठूलो उपलब्धि हो।”

कार्यक्रममा सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बाथरोग उपचारको वर्तमान अवस्था र संस्थाको कार्यदिशाबारे जानकारी दिए। उनका अनुसार सेन्टरले अनुसन्धान, शिक्षा र बिरामी सेवालाई प्रमुख आधारस्तम्भ बनाएको छ भने चौथो आधारका रूपमा प्रविधि र नवप्रवर्तन थप्ने तयारी भइरहेको छ।
डा. वैद्यले बाथरोगलाई दीर्घकालीन र जटिल प्रकृतिको रोगका रूपमा उल्लेख गर्दै समयमै पहिचानको महत्वमा जोड दिए। “बाथरोग सुरुमा सामान्य लक्षणबाट देखिन्छ, तर समयमै पहिचान नभए मिर्गौला, फोक्सो, मुटुजस्ता अंगमा गम्भीर असर गर्न सक्छ,” उनले भने।
उनले प्रारम्भिक निदान कठिन भए पनि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सचेतना र चिकित्सक प्रशिक्षणलाई संस्थाले प्राथमिकतामा राखेको जानकारी दिए। साथै, सञ्चारमाध्यमको भूमिकाप्रति आभार व्यक्त गर्दै जनचेतना विस्तारमा पत्रकारहरूको योगदान निर्णायक रहेको बताए।

कार्यक्रमका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोशन कक्षपतिले सेन्टरको १३ वर्षे यात्रालाई “सपना र समर्पणको उपलब्धि” का रूपमा व्याख्या गरे। उनका अनुसार हाल सेन्टरले काठमाडौंसहित देशका नौ स्थानबाट सेवा दिइरहेको छ भने सुर्खेतमा समेत सेवा विस्तारको तयारी भइरहेको छ।
उनले भने, “हामीले सीमित स्रोतबाट सुरु गरेका थियौं, तर स्पष्ट लक्ष्य थियो- नेपालमा बाथरोगका बिरामीलाई गुणस्तरीय जीवन प्रदान गर्ने।”
‘रुमा फ्युजन नेटवर्क’ सार्वजनिक
सेन्टरले वार्षिकोत्सव अवसरमा ‘रुमा फ्युजन नेटवर्क’ नामक नयाँ अनुसन्धान तथा सहकार्य कार्यक्रम पनि सार्वजनिक गरेको छ। यस पहलअन्तर्गत विभिन्न अस्पताल, अनुसन्धान संस्था र चिकित्सकहरूलाई एउटै नेटवर्कमा जोडेर बाथरोगसम्बन्धी अध्ययन, क्लिनिकल ट्रायल र डेटा साझेदारीलाई अघि बढाइनेछ।
त्यसैगरी, बाथरोगको प्रारम्भिक पहिचानलाई सुदृढ बनाउन डीआर–४ एचएलए परीक्षण सुरु गरिएको जानकारी दिइएको छ। यो परीक्षणले जोखिम पहिचान र प्रारम्भिक निदानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सेन्टरले हाल ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जना स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिरहेको छ। निकट भविष्यमा काठमाडौंको जयबागेश्वरीमा अत्याधुनिक आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ।
सेन्टरका अनुसार आधुनिक बाथरोग उपचारको मूल उद्देश्य केवल रोग नियन्त्रण होइन, बिरामीको कार्यक्षमता जोगाउने, पीडा कम गर्ने र जीवनलाई पुनः सक्रिय बनाउनु हो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले सेन्टरको आगामी यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्दै बाथरोगसम्बन्धी जनचेतना, अनुसन्धान र सेवा विस्तारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
१३ वर्षे यात्रासँगै नेशनल बाथरोग सेन्टर अब उपचारभन्दा पनि अनुसन्धान, प्रविधि र गुणस्तरीय जीवन केन्द्रित स्वास्थ्य सेवाको नयाँ चरणमा प्रवेश गरेको छ।