काठमाडौं- जेनेभामा १८ देखि २३ मे २०२६ सम्म सम्पन्न विश्व स्वास्थ्य सभा (डब्लुएचए) मा नेपालले स्वास्थ्य कूटनीतिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा सहभागी नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय स्वास्थ्य नीति निर्माण, द्विपक्षीय सहकार्य विस्तार तथा विश्वव्यापी स्वास्थ्य मुद्दाहरूमा प्रभावकारी उपस्थिति जनाउँदै नेपालको भूमिका थप सशक्त बनाएको मन्त्रालयले जनाएको छ।
नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रको तर्फबाट विश्व स्वास्थ्य सभाको उपाध्यक्षका रूपमा निर्वाचित भएको छ। साथै नेपालले विश्व स्वास्थ्य सङ्गठनको एक्ज्युकेटिभ बोर्ड सदस्यको भूमिकासमेत निर्वाह गरेको छ, जसलाई नेपालको स्वास्थ्य कूटनीतिक प्रभाव विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
मन्त्री मेहताको सचिवालयले जारी गरेको प्रेस नोटअनुसार विश्व स्वास्थ्य सभालाई सम्बोधन गर्दै मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रले हासिल गरेका उपलब्धि, आगामी कार्यदिशा तथा स्वास्थ्य क्षेत्रमा बलियो अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताबारे धारणा राखेकी थिइन्।
'सभाकै क्रममा मन्त्री मेहताले भारत, बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड र माल्दिभ्सका समकक्षी मन्त्रीहरूसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो। ती भेटवार्तामा स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार, अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगका विषयमा महत्वपूर्ण छलफल भएको छ,' प्रेसनोटमा भनिएको छ।
भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीसँगको भेटमा भारतस्थित एम्स अस्पतालमा स्नातकोत्तर (पिजी) अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति तथा स्टाइपेन्ड उपलब्ध गराउने विषयमा सकारात्मक र रचनात्मक छलफल भएको प्रेस नोटमा उल्लेख छ। साथै भारत सरकारसँग विभिन्न कारणले रोकिएका स्वास्थ्यसम्बन्धी सम्झौताहरू पुनः नवीकरण गर्ने सहमति भइसकेको र प्रक्रिया अघि बढिसकेको बताइएको छ।

त्यसैगरी मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक, गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) का प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल फन्डका पदाधिकारीहरूसँग भेटवार्ता गरी नेपालको स्वास्थ्य क्षेत्रमा थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयमा महत्वपूर्ण छलफल गरेकी थिइन्।
गाभीसँग देखिएका विद्यमान समस्याहरू समाधान गर्ने दिशामा मन्त्री मेहताको सक्रिय पहल र निरन्तर कूटनीतिक संवादले सकारात्मक वातावरण सिर्जना गरेको तथा समाधानतर्फ मार्ग प्रशस्त भएको सचिवालयले जनाएको छ।
इन्डोनेसियाको सफल स्वास्थ्य बीमा प्रणालीबारे पनि नेपालले विशेष चासो देखाएको छ। इन्डोनेसियाको अनुभव अध्ययन गर्न नेपाली प्राविधिक टोली पठाउने सम्भावनाबारे छलफल भएको र इन्डोनेसियाले नेपालको स्वास्थ्य बीमा प्रणाली सुदृढीकरणमा आवश्यक सहयोग गर्न सकारात्मक प्रतिबद्धता जनाएको बताइएको छ।
विश्व स्वास्थ्य सभामा नेपालले स्वास्थ्य जनशक्तिको अन्तर्राष्ट्रिय पलायनको मुद्दालाई पनि सशक्त रूपमा उठाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको बढ्दो विदेश पलायनलाई ध्यानमा राख्दै स्वास्थ्य जनशक्ति उत्पादनमा गन्तव्य मुलुकहरूको पनि जिम्मेवारी हुनुपर्ने विषय नेपालले जोडदार रूपमा प्रस्तुत गरेको थियो। सोही सन्दर्भमा 'इन्टरनेसनल रिक्रुटमेन्ट अफ हेल्थ वर्कफोर्स' सम्बन्धी प्रस्ताव पारित गराउन नेपालले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरिएको छ।
मानसिक स्वास्थ्यको बढ्दो चुनौतीलाई सम्बोधन गर्न नेपालले आत्महत्या न्यूनीकरणसम्बन्धी विषयमा औपचारिक साइड इभेन्टसमेत आयोजना गरेको थियो। साथै मिडवाइफरी, स्वास्थ्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, पाठेघरको मुखको क्यान्सर रोकथाम, प्राथमिक स्वास्थ्य सेवा तथा माइग्रेन्ट हेल्थजस्ता विषयमा सह-आयोजकको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य बहसमा सक्रिय नेतृत्व प्रस्तुत गरेको थियो।
यसैबीच मन्त्री मेहताले नेपालमा बाल क्यान्सरको निःशुल्क उपचार कार्यक्रमको निरन्तरताका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग महत्वपूर्ण छलफलसमेत गरेको सचिवालयले जनाएको छ।