काठमाडौं- कैलालीको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपटक आवेदन आह्वान गर्दा पनि कसैले आवेदन दिएनन्। दुईपटकसम्म आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आफैंले फेसबुकमा सूचना राखेका छन्।
उनी लेख्छन्, 'सुदुरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन दुई पटकसम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भइ १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस्।'
मन्त्री पुनले आह्वान गरेपनि आवेदन पर्ने सम्भावना न्युन देखिएको छ। उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय सभाका सदस्य प्रा.डा. जयराज अवस्थीका अनुसार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनमा उपकुलपतिको न्युनतम योग्यताले इच्छुकलाई आवेदन दिन रोकेको बताउँछन्।
उनले भने, 'तीनटा कुरा बाधक बनेका छन्। पहिलो योग्यता, चिकित्सा शिक्षामा पीएचडी वा डिएम/एमसीएच तोकिएको छ। दोस्रो ६१ वर्ष पूरा भएको भनिएको छ र तेस्रो प्राध्यापक भएको १० वर्ष हुनुपर्ने उल्लेख छ।'
-1764914103.png)
आवेदन नआएपछि आफूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि शिक्षण अस्पतालसम्म पुगेर समेत त्यस्तो योग्यता भएको व्यक्ति खोजी गरेको बताए। उनले भने, 'एक त माथिको योग्यता पूरा भएको व्यक्ति पाउन मुश्किल छ। योग्यता नै पुगेको व्यक्ति काठमाडौंमा भर्खर करियर बनाइरहेका छन् र मासिक आमदानी ७-१२ लाखसम्म हुने रहेछ। गेटामा उपकुलपति ९० हजारदेखि १ लाख कमाउलान्।' त्यस्ता व्यक्तिको उपकुलपतिमा त्यति चासो समेत नरहेको पाइएको उनले उल्लेख गरे।
आफूले उपकुलपति खोज्न दैलो-दैलो चहार्नुपर्ने अवस्था बनेको उल्लेख गरे। यस विषयमा आफूलाई मन्त्री पुनले समेत आवेदन नपरेको विषयमा चासोसहित फोन गरेको बताए। तर, मन्त्री पुन आफैं ऐनमा रहेका कडा योग्यताका विषयमा जानकार नदेखिएपछि आफूले ब्रिफिङ गरेको उल्लेख गरे।
उनले भने, 'गेटामा उपकुलपति नै बनाउने हो भने ऐन संशोधन गर्नुपर्छ। अहिले संसद् नभएकाले अध्यादेशबाट ऐन संशोधन गरेर आवेदन माग गर्न सकिन्छ भनेर हामीले सुझाएका छौं।'
अघि बढ्यो रजिष्ट्राको प्रक्रिया
विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ। आवेदन दिनेमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशीको आवेदन स्वीकृत भएको सिफारिस समितिले जनाएको छ।
आगामी साता उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता लिने तयारी समितिले गरेको छ।