काठमाडौं - आज डिसेम्बर ५ अर्थात् अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस। ‘हरेक योगदान महत्वपूर्ण छ’ भन्ने नाराका साथ मनाइँदै छ। नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको अथक योगदान र समुदायमा पुर्याएको स्वास्थ्य सेवाको सम्मान गर्न हरेक वर्ष यसै दिन राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरिएको छ।
पृष्ठभूमी
प्राथमिक स्वास्थ्य सेवालाई समुदायस्तरसम्म पु¥याउने उद्देश्यले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात २०४५ सालमा भएको हो। सुरुवातमा २७ जिल्लामा लागू गरी २०५० साल सम्ममा सबै जिल्लामा विस्तार भइसकेको छ। यस कार्यक्रमले महिलालाई शिक्षा र सीपमार्फत सशक्त बनाउने, जनस्वास्थ्य चेतना वृद्धि गर्ने, स्थानीय संस्थाहरूलाई स्वास्थ्य प्रवद्र्धनमा संलग्न गराउने र विशेष गरी महिला तथा बाल स्वास्थ्यमा सुधार गर्ने लक्ष्य राख्दछ।
हाल नेपालमा करिब ५२ हजारको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सक्रिय छन्। महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई स्थानीय स्वास्थ्य आमा समूहद्वारा चयन गरी स्वास्थ्य संस्था, सम्बन्धित स्थानीय तह एवं प्रदेश जनस्वास्थ्य कार्यालयको सहकार्यमा १० दिनको आधारभूत तालिम र प्रत्येक ४ वर्षमा ४ दिनको रिफ्रेसर तालिम प्रदान गर्ने गरिएको छ।
तालिम पश्चात उनीहरूलाई तालिम पुस्तिका, प्राथमिक उपचारका लागि औषधि किट बक्स, फ्लिपचार्ट, वार्ड रजिस्टर, सूचना तथा सन्चार सामग्री, झोला र परिचयपत्र जस्ता सामग्री उपलब्ध गराइन्छ। साथै स्वास्थ्य संस्था मार्फत पिल्स, कण्डम, आइरन चक्की, भिटामिन ‘ए’ क्याप्सुल, जीवनजल जस्ता स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री समुदायमा वितरणका लागि प्रदान गरिन्छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदान
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालका सामुदायमा आधारित स्वास्थ्य सेवाहरूको महत्वपूर्ण अंग बनेका छन्। उनीहरू समुदाय र स्वास्थ्य संस्था बीचको महत्वपूर्ण सेतुका रूपमा कार्य गर्दै घर–घरमा स्वास्थ्यसम्बन्धी जानकारी पुर्याउन र आवश्यक सेवा लिन समुदायका सदस्यहरूलाई स्वास्थ्य केन्द्रसम्म जोड्ने भूमिका निभाउँछन्।
उनीहरूको सक्रियताले स्वास्थ्य प्रणालीप्रति समुदायको पहुँच, विश्वास र सहभागिता बढाएको छ। प्रारम्भमा परिवार नियोजन र बाल स्वास्थ्यमा सीमित स्वयं सेविकाहरूको भूमिका समय क्रमसँगै कार्यक्षेत्र निकै फराकिलो हुँदै खोप कार्यक्रममा सहयोग, भिटामिन ए वितरण, सुरक्षित मातृत्व प्रवद्र्धनर समुदायमा बालबालिकाको निमोनिया तथा पखाला जस्ता सामान्य रोगहरूको पहिचान र प्राथमिक उपचारमा समेत महत्वपूर्ण भूमिका खेलेका छन्।
प्राथमिक स्वास्थ्य सेवामा राज्यको निरन्तर लगानीका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले सन् १९९६ मा ५३९ प्रति लाख जीवित जन्म रहको मातृ मृत्यु सन् २०२२ सम्ममा १५१ प्रति लाख जीवित जन्ममा तथा ११८ जना प्रति हजार जीवित जन्म रहेको बाल मृत्युदर ३३ जना प्रति हजार जीवित जन्मसम्म घटाउन सकिएको छ। त्यसैले नेपालको यो कार्यक्रम अन्य विकासोन्मुख देशहरूको लागि एउटा नमुना मानिन्छ। विगतमा सहश्राब्दी विकास लक्ष्य हासिल गर्न महिला स्वास्थ्य स्वयं सेविकाहरूले गरेको योगदानको कदर गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।
समस्या तथा चुनौती
नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले महत्वपूर्ण योगदान दिए पनि यसको प्रभावकारिता र दिगोपनामा असर गर्ने केही मुख्य चुनौतीहरू अझै कायम छन्।
प्रमुख समस्याहरूमध्ये पर्याप्त प्रोत्साहन र पारिश्रमिकको अभाव हो, किनकि अधिकांश स्वयं सेविकाहरूले ठूलो कार्य बोझ र जिम्मेवारीका बाबजुद स्वयंसेवाका रूपमा मात्र काम गरेपनि नियमित पारिश्रमिकको अपेक्षा गर्छन्। त्यसैगरी प्रसूति तथा नवजात शिशु स्याहार सेवा, खोप, पोषण, परिवार नियोजनर नसर्ने रोगहरू जस्ता विविध कार्यक्रमहरूले गर्दा कार्यभार धेरै भएको र कार्यक्रमहरू छरिएको अवस्था छ। जसले स्वयं सेविकाहरूमा थकान र दायित्वको भार बढाएको छ।
केही सीमान्तकृत समुदायहरूमा स्वास्थ्य चेतनाको कमी, भाषा, परम्परागत विश्वास र सामाजिक संरचनाका कारण सामाजिक सांस्कृतिक अवरोध र पहुँचमा असमानता देखिन्छ। गाउँबाट परिवारसहित सहर सर्ने क्रम बढेकाले धेरै ठाउँमा स्वयंसेविका पद रिक्त हुने वा सक्रिय स्वयंसेविकाको संख्या घट्ने समस्या देखिएको छ।
अबको बाटो
अन्तमा बढ्दो नसर्ने रोग, महामारी र जलवायु परिवर्तन जस्ता स्वास्थ्य चुनौतीहरूको सामना गर्न एवं स्वास्थ्य बिमा जस्ता अत्यधिक अपेक्षित कार्यक्रमहरुमा ठोस योगदान दिने गरी परम्परागत मातृ तथा बाल स्वास्थ्य सेवा केन्द्रित भूमिकाभन्दा फरक ढङ्गले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई पुर्नसंरचना गर्नुपर्ने आवश्यकता छ।
बसाइँसराइले गर्दा ग्रामीण क्षेत्रमा स्वयंसेविकाको अभाव हुने र सहरी क्षेत्रमा सेवा व्यवस्थापन गर्न गाह्रो हुने दोहोरो चुनौतीलाई सम्बोधन गर्न कार्यक्रममा लचिलोपन ल्याउनुपर्ने, खाली पदहरू तुरुन्तै पूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने र सहरी क्षेत्रका लागि विशेष रणनीति बनाउनुपर्ने आवश्यकता छ।
यस कार्यक्रमका चुनौतीहरूलाई सम्बोधन गर्दै यसको दिगोपना सुनिश्चित गर्न पर्याप्त आर्थिक प्रोत्साहन र लाभहरू जस्तै, निःशुल्क स्वास्थ्य परीक्षण, उद्यमशीलता तालिमका अवसरहरू र स्वास्थ्य क्षेत्रभित्रै करियर विकासका मार्गहरू जस्ता गैर–आर्थिक प्रोत्साहनहरू विस्तार गर्ने र ग्रामीण एवं सहरी क्षेत्रका लागि फरक भूमिका तय गरी कार्यक्रमहरूलाई एकीकृत गर्ने र कार्य बोझ घटाउन कार्यभार सन्तुलन र स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र अन्य सामुदायिक स्वास्थ्य कार्यकर्ता सहितको टिममा आधारित मोडेल अपनाउन सकिन्छ।
नसर्ने रोगहरू र महामारी जस्ता उदयमान चुनौतीहरू व्यवस्थापन गर्न नियमित सीपमा आधारित तालिम प्रदान गर्ने र डिजिटल प्रविधिको उपयोग मार्फत तथ्याङ्क सङ्कलन तथा अनुगमनलाई सुदृढ बनाउन सकिन्छ। सहयोगी सुपरिवेक्षण प्रणाली लागू गर्ने, सामुदायिक संलग्नता बढाउने र बसाइँसराइका कारण रिक्त भएका पदहरू तुरुन्तै पूर्ति गर्ने रणनीतिहरूले कार्यक्रमलाई थप प्रभावकारी बनाउनेछन्।
निष्कर्ष
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम नेपालमा समुदायमा आधारित स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा स्थापित भइसकेको छ।
मातृ तथा बाल स्वास्थ्य सुधार, स्वास्थ्य चेतना अभिवृद्धि र प्राथमिक उपचारमा उनीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तर कार्यक्रमको दिगोपना सुनिश्चित गर्न आवश्यक प्रोत्साहन, स्पष्ट भूमिका, नियमित तालिम, प्रभावकारी सुपरिवेक्षण तथा सहरी–ग्रामीण दुवै सन्दर्भ अनुसारको रणनीति आवश्यक देखिन्छ। यी सुधारहरू अवलम्बन गर्न सकेमा भविष्यका जटिल स्वास्थ्य चुनौतीहरू सामना गर्न यो कार्यक्रम अझ बलियो र प्रभावकारी बन्दै जानेछ।
(सुकमेल बराल प्रदेश जनस्वास्थ्य कार्यालय गोरखामा पब्लिक हेल्थ नर्सिङ निरीक्षक र सीता कोइराला जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत छन्।)