काठमाडौं - चितवनमा प्रकोप तथा महामारीजन्य रोगको जोखिम घट्न सकेको छैन। अहिले पनि यहाँ स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजन/संक्रमण) को जोखिम घट्न नसकेको हो।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक महिनामा मात्र स्क्रब टाइफसका ७४, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका ५०, डेंगीका ३२ र पेट तथा आन्द्राको संक्रमणका कारण ३० जना बिरामी परेका छन्।
पछिल्लो तीन वर्षमा यहाँ स्क्रब टाइफसका १ हजार ६२९ जना बिरामी भेटिएका छन्। सोही अवधिमा गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण १ हजार १८५ जना, डेंगीका २ हजार ५३६ र पेटको र आन्द्रामा हुने सुजन संक्रमणका कारण १ हजार ४०९ जना बिरामी भेटिएको कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयले मासिक रुपमा प्रकोप तथा महामारी निगरानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। कात्तिक महिनाको बुलेटिनमा सबैभन्दा धेरै बिरामी पर्ने रोगमा स्क्रब टाइफस नै छ।
यस वर्षको साउनमा ६८, भदौमा ९५, असोजमा ११७ र कात्तिकमा ७४ जनामा संक्रमण देखिएको छ। यसले पनि चितवन स्क्रब टाइफसको संक्रमणको जोखिममा रहेको देखाउँछ। मनसुनको समयमा जस्तै साउन, भदौ, असोज महिनामा स्क्रब टाइफस फैलाउने किट बढी सक्रिय हुने र खेतीपातीमा काम गर्दा संक्रमणको जोखिम बढ्ने भएकाले जोखिम हुने गरेको जनस्वास्थ्य अधिकृत अंशु पोखरेलले बताइन्।
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण यस वर्ष १३९ जना बिरामी परेका छन्। चितवनमा मौसम अनुसार सक्रिय हुने भाइरसहरुको कारण वर्षभरी बिरामीको संख्यामा उतार चढाव देखिन्छ। जाडो र मनसुनजस्ता मौसममा श्वासप्रश्वासजन्य भाइरस बढी फैलिने भएकाले संक्रमण बढ्ने गरेको कार्यालयले जनाएको छ।
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण साउनमा १८, भदौमा ४६, असोजमा २५ र कात्तिकमा ५० जनामा संक्रमण देखिएको छ।
एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेटको र आन्द्रामा हुने सुजन संक्रमण) कारण यस वर्षको साउनमा ५९, भदौमा ७४, असोजमा ४१ र कात्तिकमा ३० जना बिरामी परेका छन्। सोही अवधिमा साउनमा २८, भदौमा २८, असोजमा ३४ र कात्तिकमा ३२ जनामा डेंगी संक्रमण देखिएको छ।
यस्तै, चितवनमा हालसम्म १० महिला र ७ पुरुष गरी १७ जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। ६ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भेटिएको कार्यालयले जनाएको छ। खैरहनी नगरपालिकामा ४, राप्ती र कालिका नगरपालिकामा २/२ जना, माडी र रत्नगर नगरपालिका १/१ जनामा संक्रमण पुष्टि भएको हो। इच्छाकामना गाउँपालिकामा भने भेटिएको छैन।
हाल चितवनमा डेंगी भन्दा स्क्रब टाइफसको संक्रमण बढी देखिएको जनस्वास्थ्य अधिकृत पोखरेलले बताइन्। प्रकोप तथा महामारीजन्य रोगको नियन्त्रणका लागि निरन्तर निगरानी गरिएको, र्यापिड रेस्पोन्ट टिम (आरआरटी) परिचालन गरिएको, टेष्ट किटहरुको आपूर्ती, नमुना ढुवानी तथा परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, बिरामीको उपचार गरिएको कार्यालयले जनाएको छ।
के हो प्रकोप तथा महामारीजन्य रोग ?
प्रकोप (आउटब्रेक) र महामारीजन्य रोग (एपिडेमिक/पेन्डामिक डिजिज) दुवैले रोग फैलिने अवस्थालाई जनाउँछ। तर दुवैको अर्थ फरक छन्।
सामान्यभन्दा धेरै मानिसहरुमा एक्कासी एउटै रोग एकै समयमा फैलिनुलाई प्रकोप भनिने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। जस्तै, केही समयअघि रामेछापको उमाकान्त गाउँपालिकामा फैलिएको भाइरल फ्लु प्रकोप हो। तर जब प्रकोप कुनै जिल्ला वा देशभर फैलिन्छ, त्यसलाई रोगको महामारी भनिन्छ। जस्तै, कोरोना, डेंगीको महामारी।
डा पुनका अनुसार स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजन/संक्रमण) लाई प्रकोप तथा महामारी फैलाउन सक्ने रोगको रुपमा व्याख्या गर्न सकिन्छ।
उनी भन्छन्, ‘कुनै पनि क्षेत्रमा अचानक धेरै मानिसलाई त्यो रोगले बिरामी गराउन सक्छ भने त्यसलाई प्रकोप तथा महामारीजन्य रोग भन्न सकिन्छ। सतर्कता र सावधानी नअपनाइउको अवस्थामा यी रोगहरुले महामारी फैलाउन सक्ने जोखिम सधै रहन्छ।’
स्क्रब टाइफस : एक संक्रामक रोग हो। यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइले मानिसमा सर्ने गर्दछ। अत्यधिक टाउको तथा शरीर दुख्नु, आँखा रातो हुनु, शरीरमा घाटी वरिपरि गिर्खाहरु बढ्नु, पेट दुख्ने तथा बान्ता आउने जस्ता यसका लक्षणहरु हुन्। खेतबारीमा काम गर्न जाँदा, वन जंगलमा जाँदा शरीर ढाक्ने लुगाउने लगाउने, बुट लगाउने, चौरमा बस्दा केही ओछ्याएर मात्र बस्ने र विशेष गरेर माइटको टोकाइबाट बच्न सके रोगबाट जोगिन सकिन्छ।
डेंगी : नेपालमा प्राय महामारी फैलाइरहने रोगमध्ये एक हो, डेंगी। यो इजिप्टी प्रजातिको पोथी लामखुट्टे एडिसको टोकाइबाट हुने गर्दछ। उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, थकाई लाग्ने, पेट दुन्ने, सास फेर्न गाह्रो हुने लगायत यसका लक्षणहरु हुन्। घर वरिपरि सरसफाई राख्न र लामखुट्टेको टोकाइबाट बच्न सके डेंगी रोगको रोकथाम गर्न सकिन्छ।
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण : यो फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा समस्या ल्याउने संक्रमण हो। विभिन्न भाइरस, ब्याक्टेरिया र वातावरणीय कारणले गर्दा मानिसमा यसको संक्रमण देखिन्छ। अत्यधिक ज्वरो आउनु, छिटो र गाह्रो सास फेर्नु, खोकी लाग्नु, छाती दुख्नु यसका लक्षणहरु हुन्। अत्यधिक प्रदूषण र चिसो मौसममा यसको संक्रमण बढ्ने चिकित्सक बताउँछन्।
एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस : यो पनि एक किसिमको संक्रामक रोग हो। विभिन्न ब्याक्टेरिया तथा भाइरसका कारण पेट तथा आन्द्रामा हुने संक्रमण हो। पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने, शरीर सुक्ने यसका लक्षणहरु हुन्। हावा, दुषित पानी तथा खाना वा फोहोर हातको माध्यमबाट शरीर भित्र प्रवेश गरेको भाइरस तथा ब्याक्टेरियाले पेट तथा आन्द्रामा संक्रमण गराउँछ। सरसफाईबाट ध्यान दिन सके यो समस्याबाट बच्न सकिन्छ।