एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड-१९ खोप लगाउन मिल्ने नमिल्ने विषयमा धेरै जिज्ञासाहरु आउन थालेपछि पेडियाट्रिक आस्थमा एलर्जी इम्यूनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपालले यस विषयमा चेतनामुलक सन्देश सार्वजनिक गरेको छ। सोसाइटीले विज्ञप्ति मार्फत यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।
यस्तो छ सोसाइटीले सार्वजनिक गरेको जानकारी
१. यदि तपाईंको एलर्जी (छाला, नाक, कान, घाँटी, छाती, खाना र अन्य औषधि) खोपहरूसँग सम्बन्धित छैन भने
- अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मानिसहरुलाई खोप वा इन्जेक्टेबल औषधिहरू सम्बन्धित नभएको गम्भीर एलर्जी (जस्तै खाना, घरपालुवा जनावर, भेनोम, वातावरणीय वा लेटेक्स एलर्जीहरू) प्रतिक्रियाहरूको इतिहास भए पनि खोप लगाउन सिफारिस गर्छ।
- खाने औषधिहरूको एलर्जीको इतिहास भएको वा गम्भीर एलर्जी प्रतिक्रियाहरूको पारिवारिक इतिहास भएका मानिसहरूलाई पनि खोप लगाउन सकिन्छ।
२. यदि विगतमा अन्य प्रकारका खोपहरू लगाउँदा एलर्जी हुन्थ्यो भने
-यदि पहिले अर्को रोगको लागि खोप वा इन्जेक्टेबल थेरापीमा (गम्भीर नभए पनि) तत्काल एलर्जी प्रतिक्रिया भएको छ भने डाक्टरलाई सोध्नुहोस् कि तपाईंले कोभिड-१९ खोप लिन मिल्छ कि मिल्दैन। तपाईंको डाक्टरले तपाईंलाई खोप लगाउन सुरक्षित छ कि छैन भनेर विभिन्न कुराको जानकारी लिई निर्णय गर्न मद्दत गर्नु हुनेछ।
३. यदि तपाईंलाई पहिले कोभिड-१९ खोपमा सामान्य एलर्जी प्रतिक्रिया भएको थियो भने
– यदि तपाईंलाई पहिले कोभिड-१९ खोप लगाउँदा तत्काल एलर्जी प्रतिक्रिया (खोप लगाइएको चार घण्टा भित्र सुरु भएको प्रतिक्रिया) थियो, तर प्रतिक्रियालाई चिकित्सकले धेरै गम्भीर मान्नु भएको थिएन भने, तपाईंले निश्चित रूपमा उही खोपको अर्को मात्र लगाउन सक्नुहुन्छ। प्राय तपाईंको डाक्टरले तपाईंलाई थप हेरचाह वा सल्लाहको लागि एलर्जी र इम्यूनोलोजी विशेषज्ञकोमा पठाउन सक्नुसक्छ।
४) यदि तपाईंलाई कोभिड-१९ भ्याक्सिनमा भएको कुनै तत्वको एलर्जी छ भने-
यदि तपाईंलाई ज्ञान छ कि तपाईंले लगाउन लाग्नु भएको कोभिड-१९ खोपको कुनै तत्वसंग पहिले तपाईंलाई गम्भीर एलर्जी प्रतिक्रिया वा तत्काल एलर्जी प्रतिक्रिया भएको थियो भने तपाईंले त्यहि खोप फेरि लगाउन मिल्दैन वा सुरक्षित हुँदैन। जस्तै: तपाईंलाई कुनै एमआरएनए कोभिड-१९ खोप मध्ये कुनैमा भएको कुनै तत्वमा एलर्जी छ भन्ने थाहा भएमा तपाईंले हाल उपलब्ध एमआरएनए कोभिड-१९ खोपहरू मध्ये कुनै पनि लगाउनु हुँदैन। (फाइजर-बायोएनटेक र मोडर्ना)। यदि तपाईंलाई थाहा छ कुन तत्वले एलर्जी गर्छ भनेर, त्यस्तो अवस्थामा त्यो तत्व नभएको कोभिड-१९ खोप कुन छ भनि डाक्टरको सल्लाह लिई त्यो तत्व नभएको कोभिड खोप लगाउन सक्नु हुन्छ।