काठमाडौँ- जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसन) का प्रतिनिधिहरूले नेपालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा र नीतिगत संरचनालाई सुदृढ बनाउन आवश्यक सुधारबारेका महत्वपूर्ण प्रस्तावसहित प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रतिनिधिमण्डलले जेरियाट्रिक सेवाको विस्तारका लागि तत्काल ध्यान दिनुपर्ने तीन प्रमुख क्षेत्रबारे सरकारको ध्यानाकर्षण गराएको हो।
१. मेडिकल शिक्षा नियमनमा जेरियाट्रिक अध्ययन कार्यक्रम समावेश गर्न माग : सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा नियमन २०७७ मा संशोधन गरी एमडी इन जेरियार्टिक मेडिसिन तथा मास्टर्स इन जेरियाट्रिक नर्सिङ कार्यक्रम सुरु गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। प्रधानमन्त्री नै चिकित्सा शिक्षा आयोगका अध्यक्ष भएकाले सो संशोधनले नेपालमा जेरियाट्रिक शिक्षालाई औपचारिकरूपमा अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरिएको छ।
२. सरकारी सेवामा जेरियाट्रिक मेडिसिनका पद सिर्जना र दरबन्दी खुलाउन आग्रह: सार्वजनिक स्वास्थ्य सेवा नियमन २०७७ ले जेरियाट्रिक मेडिसिनलाई विशेष सेवामा समेटेपनि, हालसम्म कुनै सरकारी पद तथा दरबन्दी सिर्जना नगरिएको बताउँदै सोसाइटीले तत्कालै पद सिर्जना गरी लोक सेवा आयोगमार्फत दरबन्दी खोल्न सरकारलाई अनुरोध गरेको छ।
३. जेष्ठ नागरिक समितिहरू सक्रिय बनाउन जोड : जेष्ठ नागरिक ऐन २०६३ अनुसार गठन गरिनुपर्ने केन्द्रिय जेष्ठ नागरिक समिति लामो समयदेखि निष्क्रिय रहेको भन्दै सोसाइटीले यसको नियमित बैठक तथा कार्यगत भूमिका सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। साथै प्रत्येक स्थानीय तहमा प्रक्रिया तयार गरी वडास्तरका जेष्ठ नागरिक समिति गठन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
सोसाइटीले स्वस्थ बुढ्यौली, गुणस्तरीय जेरियाट्रिक सेवा तथा प्रभावकारी नीतिगत कार्यान्वयनका लागि आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गर्दै, सरकारकाे चासो र सहयोगप्रति आभार पनि प्रकट गरेको छ।