शैलेसकुमार मिश्र
८ अक्टोबर अर्थात् आज विश्वभर ‘दृष्टिप्रतिको आशा’ भन्ने नारालाई आत्मसात गर्दै विश्व दृष्टि दिवस मनाइँदै छ। नेपालमा पनि आँखा स्वास्थ्य क्षेत्रमा संलग्न संघसंस्थाले विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइरहेका छन्।
सन् १९९८ को अक्टोबर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्व दृष्टि दिवसले विश्वमा अन्धोपनका प्रमुख कारणहरु तथा यसको न्यूनीकरणका उपायका सम्बन्धमा आमजनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढी प्रेरित र प्रोत्साहित गर्दै आएको छ।
यस दिवसको मुख्य उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (सरकार, सरकारी स्वास्थ्य निकायहरु, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नुका साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिवृद्धि गराई अन्धोपन विरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ।
विश्व स्वास्थ्य संगठन र आइएपिबीले संयुक्त रुपमा विश्वबाट उपचारको माध्यमबाट निवारण गर्न सकिने अन्धोपनलार्ई सन् २०२० सम्ममा न्यूनीकरण गर्ने उद्देश्यले सन् १९९९ नोभेम्बरमा ‘भिजन २०२०ः दृष्टि सबैको अधिकार’ भन्ने विश्वव्यापी अभियानका लागि आह्वान गरेको थियो। यही आह्वानलाई आत्मसात् गरी हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारका दिनलाई विश्वभरि विश्व दृष्टि दिवसका रुपमा मनाउँदै आइएको छ।
विश्व स्वास्थ्य संगठनको एक आँकडाअनुसार विश्वमा झन्डै २ अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या रहेको पाइएको छ भने आँखा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका झन्डै एक अर्ब मानिसलाई आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सकेमा उनीहरुको दृष्टि जोगाउन सकिने देखिन्छ। विश्वमा झण्डै दुई अर्ब ६० करोड व्यक्तिहरुमा मायोपिया अर्थात् नजिकको दृष्टि समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख मायोपियाका बिरामीहरु १९ वर्ष मुनिका बालबालिका रहेका छन्।
नेपालमा पनि सन् २०१२ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टिदोषको अन्तर कम भएको देखाए तापनि जनसंख्या वृद्धि र जेष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको संख्यामा भने त्यति धेरै अन्तर देखिँदैन।
नेपालले विभिन्न कठिनाइका बाबजुद आँखा स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालको आँखा उपचार प्रणालीलाई दक्षिण एसियाका साथै विश्वका कतिपय मुलुकहरुमा समेत नमुनाको रुपमा लिने गरिएको छ। नेपालले आँखा स्वास्थ्य क्षेत्रमा हासिल गरेको सफलताको अन्तर्राष्ट्रिय क्षेत्रले समेत प्रशंसा गरेको र अन्य मुलुकका लागि समेत यो सफलता उदाहरणीय बनेको छ। खासगरी गैरसरकारी संस्थाका माध्यमबाट देशको समग्र आँखा स्वास्थ्य सेवा सञ्जालको विकास र सर्वसुलभ आँखा स्वास्थ्य सेवाको प्रवाह भएको उदाहरण विश्वमै दुर्लभ छ।
नेपालमा सन् १९९९ मा विश्व स्वास्थ्य संगठनको आव्हानमा ‘भिजन २०२०ः दृष्टि सबैको अधिकार’ भन्ने विश्वव्यापी आव्हानलाई आत्मसात गरी बनाइएको २० वर्षे रणनीतिक कार्ययोजनाको सफल कार्यान्वयनका कारण नेपालबाट ट्रकोमा जस्तो अन्धोपनको एक प्रमुख कारक मानिएको आँखाको रोगलाई गत वर्ष नै निवारण गरिसकिएको छ भने भिटामिन ‘ए’ को कमीबाट बालबालिकामा हुने अन्धोपनको समस्यामा पनि उल्लेखनीय कमी आएको छ।
नेपालमा आँखा स्वास्थ्य सेवा सबै जिल्लाका सदरमुकामसम्म पुगिसकेको र आँखा स्वास्थ्य सेवा सम्बन्धी सबै किसिमका जनशक्तिको स्वदेशमै पर्याप्त उत्पादन पनि हुन थालिसकेको कारण आँखा स्वास्थ्य सेवा नेपालको अन्य स्वास्थ्य सेवाको तुलनामा निकै प्रभावकारी, सर्वसुलभ र गुणस्तरीय रहेको छ। तर पनि प्रस्तुत आँकडाहरुले आँखा स्वास्थ्य सेवा सम्बन्धी अझै थुप्रै चुनौतीहरु रहेको देखाएको छ। खासगरी औसत आयुमा वृद्धि तथा जनसंख्याको वृद्धिसँगै उकालो लागिरहेको मोतीबिन्दुको समस्या, न्यूनदृष्टि वा दृष्टिदोष लगायत जलबिन्दु, मधुमेहबाट आँखामा पर्ने असर, उमेरका कारण दृष्टि पर्दामा पर्ने असर आदि आँखा स्वास्थ्यका क्षेत्रमा विद्यमान प्रमुख चुनौतीहरु हुन्।
हालै नेपाल सरकारले जारी गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७६ को दफा ६.१७ र उपदफा ६.१७.१ मा आँखाको प्राथमिक उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गरिने छ भन्ने उल्लेख गरिनुका साथै उपदफा ६.१७.२ मा सार्वजनिक निजी साझेदारीमा आँखा स्वास्थ्य सेवालाई विकास तथा विस्तार गर्दै केन्द्रीय निकायबाट समन्वय सहकार्य तथा नियमन गर्नको लागि संघीय स्वास्थ्य मन्त्रालयमा एक ‘आँखा स्वास्थ्य इकाई’ स्थापना गरिने छ भन्ने रणनीति समावेश गरिएको छ। यस व्यवस्थाबाट अब राज्यले आँखा स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेको र यस सेवाको विकास र विस्तारका लागि आँखा स्वास्थ्य क्षेत्रसँग संलग्न गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गर्ने नीति अवलम्बन गरेको स्पष्ट हुन्छ।
दृष्टि सबैको अधिकार भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै आँखा स्वास्थ्य सेवालाई आम जनताको सहज पहँुचमा पु¥याउनु राज्यको प्रमुख कर्तव्य हो। आँखा स्वास्थ्य, समग्र स्वास्थ्य सेवा प्रणालीको एक अभिन्न अंग हो। देशको विकासका लागि स्वस्थ एवं सबल जनशक्तिको आवश्यकता अपरिहार्य हुन्छ। अन्य स्वास्थ्य सेवाका साथसाथै आँखा स्वास्थ्य सेवाको पनि विकासले देशको प्रगतिको सूचकांकलाई माथि उठाउन तथा दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न सघाउ पुग्छ।
विश्व स्वास्थ्य संगठनले गत वर्ष प्रकाशित गरेको वल्र्ड रिपोर्ट अन भिजन डकुमेन्ट, दिगो विकास लक्ष्य (एसडिजी) मा उल्लेख गरिएका स्वास्थ्य सम्बन्धी प्राथमिकता तथा युनिभर्सल हेल्थ कभरेजमा उल्लेख गरिएको लक्ष्यलाई आत्मसात गर्दै सन् २०२० पछि विश्वका देशहरुले आँखा स्वास्थ्य सेवासम्बन्धी लिनुपर्ने रणनीतिक मार्गदर्शनलाई नेपालले पनि अवलम्बन गर्ने नीति लिनु अत्यावश्यक देखिन्छ। आजको आवश्यकता भनेको आँखा उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गरी जनसहभागितालाई अधिकतम परिचालन गर्दै सार्वजनिक निजी साझेदारी (पिपिपी) सिद्धान्त अनुरुप कार्यान्वयन गर्नु नै हो।
आँखा स्वास्थ्य सेवाका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धिहरुमा गैरसरकारी सेवा प्रदायकहरुको भूमिका उल्लेखनीय रहिआएको छ। खासगरी विगत चार दशकदेखि नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवालाई देशका दुर्गम तथा समाजका तल्लो तहमा रहेका सर्वसाधारणसम्म सहज र सुलभ रुपमा पु¥याउने कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ। संघले नेपाल सरकारसँगको महत्वपूर्ण सहकार्य तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु तथा जनसमुदायको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई गाउँदेखि सहर तथा दुर्गम हिमाली क्षेत्रदेखि राजधानी काठमाडौंसम्म विस्तार गरेको छ। संघले प्रायः शून्यको अवस्थाबाट सेवा प्रारम्भ गरेर हालसम्म आइपुग्दा २० वटा आँखा अस्पताल, १२१ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाहरुको माध्यमबाट देशका प्रायः सबै क्षेत्रमा आँखा उपचार सेवा पु¥याउन सफलता हासिल गरेको छ। गत वर्ष (२०१९ मा) मात्र पनि संघले मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुको माध्यमबाट कुल ३३,२३,०४४ जनाको आँखा जाँच गर्नुका साथै २,६५,९७८ जनाको मोतिविन्दु लगायत आँखाका अन्य रोगहरुको शल्यक्रिया गर्न सफलता पाएको थियो। विसं २०६९ देखि संघले आधारभूत कानसम्बन्धी उपचार सेवा पनि प्रारम्भ गर्दै आएको छ।
संघको मुख्य उद्देश्य आमसर्वसाधारणको पहँुचसम्म आँखा स्वास्थ्य सेवालाई सहज र सुलभ रुपमा पु¥याई सेवा र पैसाको अभावमा कुनै पनि नेपालीले दृष्टिविहीन भएर बस्नु नपरोस् भन्ने नै रहिआएको छ। संघका हालसम्मका सम्पूर्ण नीतिहरु यही उद्देश्य प्रप्तितर्फ केन्द्रित रहेका छन्। यसका सकारात्मक परिणामहरु आएका छन्।
सन् १९८१ मा नेपालमा कुल जनसंख्याको ०.८४ प्रतिशत अन्धोपनको स्थिति रहेकोमा सन् २०११ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.३५ प्रतिशतमा झर्न पुगेको छ। एउटा पनि आँखा अस्पताल तथा उपचार केन्द्रहरु नरहेको अवस्थाबाट आज देशभरि आँखा स्वास्थ्य संस्थाहरुको सञ्जाल स्थापना हुन पुग्नु र नेपालीका साथसाथै अन्य छिमेकी मुलुकहरुबाट समेत उपचारका लागि नेपाल आउने अवस्थाको सिर्जना हुनुमा संघको चार दशकको अथकित परिश्रम र योगदानको नै मुख्य भूमिका रहेको छ।
नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा उल्लेख गरेको तथा विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको सन्दर्भमा, सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ को लक्ष्यलाई समेत आत्मसात गर्र्दै नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारी र समन्वयमा क्रमशः बाँकी रहेका स्थानीय निकायमा क्ष्लतभनचबतभम ऋयmmगलष्तथ भ्थभ ऋबचभ ऋभलतचभक हरु स्थापना गर्नेछ। सोको लागि आवश्यक विस्तृत कार्ययोजना तयार गर कार्यान्वयन गरिने कार्यक्रम रहेको छ।
देशका सबै नागरिकलाई समतामूलक तथा बृहत् आँखा स्वास्थ्य सेवा प्रदान गर्नका लागि मोतिविन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोप्याथी, न्यूनदृष्टि, पुनस्र्थापना सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिने छ। हरेक प्रदेशमा एक एक अस्पताललाई ऋभलतचभ या भ्हअभििभलअभ को रुपमा विकास गरिने छ। संघीय संरचनाअनुरुप अल्पकालीन तथा दीर्घकालीन योजना बनाई आवश्यक स्वास्थ्य जनशक्तिको उत्पादन, विकास तथा उपयोग गरिने छ।
आज विश्व दृष्टि दिवस मनाइरहँदा आँखा स्वास्थ्यका क्षेत्रमा थपिँदै गएका नयाँनयाँ चुनौतीलाई पनि आकलन गर्नुपर्ने खाँचो छ। बढ्दो जनसंख्या वृद्धि दर, औसत आयुमा वृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ नयाँ आँखा रोगको निवारणका लागि पूर्वतयारी र आवश्यक रोकथामका विधिहरुको विकासमा समयमै ध्यान नदिने हो भने हाम्रा आजसम्मका उपलब्धिहरुको महत्व न्यून हुन जानेछ।
कोरोना भाइरसको महाव्याधीको दूरगामी प्रभाव अाँखा उपचार सेवामा संलग्न सबै संस्थाहरुमा परेको छ। यस विषम परिस्थितिमा पनि आँखा स्वास्थ्य सेवामा अनवरत र समर्पित भावले अग्रमोर्चामा रहेर आँखा स्वास्थ्य सेवा प्रदान गरिरहनु भएका सबै आँखा अस्पताल तथा उपचार केन्द्रका नेत्रविशेषज्ञ, दृष्टिविशेषज्ञ, नेत्रसहायक लगायत सम्पूर्ण अस्पताल कर्मचारीहरु धन्यवादका पात्र हुनुहुन्छ।
आँखा जस्तो सम्वेदनशील अंगको उपचार सेवालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन तथा सरकारद्वारा प्रदान गरिएको राष्ट्रिय दायित्वलाई पूरा गर्न नेपाल नेत्रज्योति संघ आजको यस महत्वपूर्ण दिनमा अझ बढी प्रभावकारी, स्तरीय र सहज पहुँचयुक्त आँखा स्वास्थ्य सेवाको माध्यमबाट आमनेपालीको दृष्टि रक्षामा जुटिरहने प्रतिवद्धता व्यक्त गर्दछ।
(मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन्।)