डा प्रकाशराज रेग्मी
नवनपरासीकी नौ वर्षीया एक बालिका खेल्दा मुटु हल्लिने, स्वाँस्वाँ हुने समस्याबाट ग्रस्त भएपछि चितवनको भरतपुरमा आयोजित एक स्वास्थ्य शिविरमा पुगिन्। सो स्वास्थ्य शिविर नेपाल हार्ट फाउन्डेसन र चितवन रोटरी क्लबले आयोजना गरेको थियो। मुटुरोगसम्बन्धी त्यो स्वास्थ्य शिविरमा भारतबाट आएका एम कुटु शल्यचिकित्सक पनि सहभागी थिए।
ती चिकित्सकले बालिकालाई जाँचेपछि पिडिए– जन्मजात मुटुरोगको शंका गरे। उनले भारु १० हजार लिएर दिल्लीस्थित उनको अस्पतालमा उपचारका लागि आउन आग्रह गर्दै विस्तृत ठेगाना लेखेर दिए। यो २०५० पुस २७ गतेको कुरो हो।
उपचार खर्च जुटाउन कठिन भयो, उनीहरु तत्काल जान सकेनन्। यता रोगले च्याप्दै ल्यायो। अभिभावकहरु अत्तालिनु स्वभाविक थियो।
ती बालिकालाई उपचारका लागि वीर अस्पताल ल्याए। मैले जाँच्दा उनलाई पिडिए होइन, बाथ–मुटुरोग लागेको पाइयो। उनको मुटुको भल्भ शल्यक्रिया गर्ने सुविधा थिएन। मैले मुटुको शल्यक्रिया गर्नुपर्छ भनेर सल्लाह दिएँ।
यसपछि उनीहरु उपचारका लागि भारत जान हतारिए। यसैबीच दिल्लीबाट ती डाक्टरले चिठीमार्फत उपचारका लागि फेरि बोलाए। आवश्यक तयारी गरी अप्रेसनका लागि छोरी लिएर बाबु दिल्ली गए। अरु बिरामीहरु पनि त्यस बेला अप्रेसनका लागि प्रायः भारत नै जाने गर्थे।
दिल्लीमा उनीहरु सोधखोज गर्दै सेन्ट स्टिफन्स अस्पताल पुगे। आफूलाई त्यो अस्पतालमा आउन ठेगाना लेखेर दिने डाक्टरलाई भेटेपछि छोरीलाई अप्रेसनका लागि भर्ना गरियो। अस्पतालमा भर्ना नहुँदासम्म डाक्टरको व्यवहार साह्रै नम्र थियो। नेपालमा समेत भेटघाट भएको र छोरीलाई पनि जाँचेको हिसाबले राम्रो व्यवहार गरे भन्ने पयो।
तर, त्यहाँ भर्ना हुनासाथ डाक्टरको व्यवहार परिवर्तन भयो। डाक्टरले अलि रुखो व्यवहार देखाउन थाले। त्यसपछि विस्तारै सोच्दै नसोचेको कुरा हुन थाल्यो। नेपालदेखि त्यस्तो खर्च गरेर त्यहाँ पुगी अस्पताल भर्ना गरिसकिएको थियो। अब जे भन्यो त्यही गराउन सकिन्छ भन्ने सोचेर होला, इमोसनल ब्ल्याकमेलिङ गर्न थाले। त्यो बिरामीको बाले मलाई भनेको र लेखेको दिएको कुरा हो।
डाक्टरले बालिकाको परीक्षण गरेपछि ‘तिम्री छोरीको शल्यक्रिया गरेर मुटुको भल्भ फेर्नुपर्छ, त्यसका लागि ४० हजार भारु खर्च लाग्छ, जम्मा गर’ भने। सुरुमा भनेको भन्दा चार गुणा बढी पैसा मागेपछि उनीहरु छाँगाबाट खसे जस्तै भए। केही बोल्न सकेनन्, डाक्टरले बोल्ने समय पनि दिएनन्। जे भए पनि शल्यक्रिया त गर्नै प¥यो भनेर उनीहरुले जसोतसो पैसा खोजेर जम्मा गरे।
पैसा जम्मा गरेपछि भोलिपल्ट शल्यक्रिया हुन्छ भनिएको थियो। भोलिपल्ट शल्यक्रिया गर्ने समयमा यति रकमले नपुग्ने भयो, थप ६० हजार जम्मा गर, अन्यथा शल्यक्रिया हुँदैन’ भने। उनीहरुलाई थप समस्या आइलाग्यो। उनले थप पैसा जम्मा गर्न नसक्ने भएकाले छोरीलाई डिस्चार्ज गरिदिन अनुरोध गरे। डिस्चार्ज गर्ने भए जम्मा गरिसकेको ४० हजार भारु फिर्ता हुँदैन भन्दै धम्कीपूर्ण भाषा बोल्न थाले।
छोरी बचाउनुपर्ने विवशता त छँदै छ, त्यसमाथि जम्मा गरेको ४० हजार पनि फिर्ता नहुने भएपछि उनीहरु जसरी पनि थप पैसा जम्मा गर्नैपर्ने बाध्यतामा परे। त्यसपछि सँगै गएका एक जनालाई थप पैसाको व्यवस्था गर्न नेपाल पठाए। सरसापट, बेचबिखन जेजे गर्न सकिन्छ गरेर थप ६० हजार भारु पनि जम्मा गरिदिए। तर अझै पनि उनीहरुको पैसा माग्ने शृंखला रोकिएन। अस्पतालले अझै थप ४९ हजार भारु जम्मा नगरे शल्यक्रिया हुन सक्दैन भनेर पुनः धम्क्यायो।
दिल्ली पुगेर अस्पताल भर्ना भएको धेरै दिन बितिसक्दा पनि छोरीको शल्यक्रिया भएको थिएन। दैनिक खर्च बढिरहेको थियो। छोरी सिकिस्तजस्तै अस्पतालमा सुतिरहेकी थिइन्। बिरामी छोरीको मायालाग्दो अनुहार देखेर बाबुको छाती भतभती पोल्थ्यो।
उनीहरुमाथि पीडा थपिँदै थियो तर केही गर्नसक्ने स्थिति थिएन। त्यसमा पनि विदेशी अस्पताल, निरीह बनेर जस्तो अह्रायो त्यस्तै गर्न उनीहरु बाध्य थिए। छोरी बचाउन सकिन्छ कि भन्ने आशा थियो। उनकी छोरीले एक दिन बाबा म बाँच्न चाहन्छु भनेर व्यक्त गरेका शब्दहरु उनको मानसपटलमा बारम्बार घुमिरहेका थिए। आफूतिर आशलाग्दो पाराले हेरेर भनेका ती शब्दहरुले उनको हृदयलाई बारम्बार झकझक्याइरहन्थ्यो। अर्कोतिर शल्यक्रिया गर्नुको सट्टा पटकपटक पैसा थप्न लगाउँदा उनी आक्रोशित भइरहेका थिए। के गर्ने भन्ने सोच्न सकिरहेका थिएनन्।
पटकपटक पैसा थप्न लगाएपछि उनी आफैं मर्नु न बाँच्नुको स्थितिमा पुगे। असह्य भएपछि डाक्टरसँग उनको भनाभन पनि भयो। पहिले नै यति धेरै पैसा लाग्छ भनेको भए हामी यहाँ भर्ना हुने थिएनौँसम्म भने। गाली, झगडा गर्दा फेरि छोरीको अप्रेसनमा लापरबाही गरिदिने हो कि भन्ने त्रासले उनलाई पिरोलिरहेको थियो।
उनीहरुले भनेजति पैसा जम्मा नगरेसम्म शल्यक्रिया पनि नहुने र पहिले जम्मा गरेको पैसा पनि फिर्ता नहुने स्थिति थियो। उनीहरु नराम्रोसँग फसिसकेका थिए। आखिरमा उनीहरुले भनेजति पैसा जम्मा गरे। १० हजारमा हुन्छ भनेको अपरेसनका लागि १ लाख ४९ हजार लिएपछि मात्र शल्यक्रिया गर्न तयार हुनु साँच्चै नै अन्यायपूर्ण थियो। तर के गर्ने उनीहरुलाई जे भन्यो त्यही गर्न बाध्य बनाइएको थियो।
तर यत्रो पैसा लिए पनि उनीहरुले बच्चीको मुटुको भल्भ भने फेरेनछन् र मर्मत मात्र गरेर छोडिदिएछन््। यो कुरा शल्यक्रियापछि थाहा भयो। त्यसपछि भल्भका लागि भनेर दिएको ४० हजार भारु फिर्ता मागे तर उनीहरुले केके बहाना गरेर फिर्ता गरेनन्। उनीहरु नराम्रोसँग ठगिए।
जे भएपनि छोरीको ज्यान बचाउन सकिएला भनेर उनीहरुले चित्त बुझाए तर त्यो चित्त बुझाइ धेरै दिन टिकेन। शल्यक्रिया भएको केही दिनपछि डिस्चार्ज भएर उनीहरु नेपाल आए। नेपाल आएको केही दिनपछि वीर अस्पतालमा जँचाउँदा मुटुको अवस्थामा कुनै सुधार भएको पाइएन।
अर्थात् त्यो शलयक्रिया पूर्णतः असफल भएको थियो। ती बालिकाको अवस्था दिनदिनै चिन्ताजनक हुँदै गयो। फेरि दिल्ली जान सक्ने स्थिति पनि थिएन। शल्यक्रिया गरेको केही महिनापछि २०५१ कात्तिक १३ गते उनको दुखद निधन भयो।
छोरीको बाँच्ने रहर उनका बाले पूरा गर्न सकेनन्। उनको लागि यो साह्रै पीडादायक कुरा बन्यो। उनका बाबु जीवनाथ उपाध्यायले मलाई चिठी लेखेर यसबारेमा जानकारी गराएका थिए। त्यो चिठी अहिले पनि मसँग सुरक्षित छ। नेपालमा नै उपचारको सुविधा भएको भए यसरी ठगिएर छोरीको ज्यान गुमाउनु पर्दैन थियो होला कि भन्ने उनको भनाइ थियो।
सरकारले नेपालमा नै मुटुको शल्यक्रिया गर्ने व्यवस्था गरिदिनुपर्छ, नत्र यसले धनी वर्गलाई असर नपरे पनि गरिबहरुले सधैं यसरी नै ठगीको सिकार भइरहनुपर्ने बाध्यता हुन्छ भनेर उनले लेखेका थिए।
गंगालाल अस्पताल स्थापना हुनुभन्दा पहिले नेपालमा मुटुको भल्भ फेर्ने सुविधा थिएन। बिरामीहरु प्रायः सबै भारत नै जान्थे। म भर्खर डाक्टर भएर आउँदा यससम्बन्धमा सेवा नै थिएन, बिरामीलाई भारत पठाउनुपथ्र्यो। त्यस्तै अहिले पनि कयौं अफ्रिकी मुलुकहरु छन्, जहाँ भल्भको शल्यक्रिया गर्ने सुविधा छैन, बिरामीलाई विदेश लानुपर्ने हुन्छ। खासगरी दक्षिण अफ्रिकाबाहेक धेरै अफ्रिकी मुलुकमा गम्भीर अवस्थामा रहेको छ।
प्रविधि र दक्ष जनशक्ति आफ्नो देशमा नहुँदा बिरामीले स्वभाविक रुपमा नै दुःख पाउने गर्छन्। विशेषगरी उपचारका लागि भारत जाँदा अस्पतालका चिकित्सकहरुबाट ठगिनुपरेका घटना मुटुरोगबाहेक अन्य रोगहरुमा पनि हुने गरेको बेलाबेलामा भेटिने गर्छ। त्यसका लागि भारतमा आउन आग्रह गरेर जान्थे। यस्ता डाक्टरहरु नेपालमा आएर विभिन्न अस्पतालको सहकार्यमा भनेर स्वास्थ्य शिविरहरुमा बिरामी जाँच्न जाने र बिरामीहरुलाई भारतमा उपचारका लागि बोलाउने गर्थे।
करिब ३० वर्षअघि भारतको दिल्लीबाट एक जना सर्जन नियमित जस्तो नेपाल आउने गरेको मलाई सम्झना छ। उनी नेपालका कार्डियोलोजिस्टहरुकै सम्पर्कबाट स्वास्थ्य शिविरमा जान्थे। उनको उद्देश्य भनेकै नेपालबाट मुटुरोगीहरुलाई दिल्लीमा आफ्नो अस्पतालमा उपचारका लागि बोलाउनु हुन्थ्यो।
ती डाक्टरले दिल्ली बोलाएपछि कुनैकुनै बिरामी मकहाँ पनि सल्लाह लिन आउँथे। उनीहरु भन्थे, डाक्टरले दिल्ली आउ भन्यो, खर्च यति लाग्छ भनेको छ जाउँ कि नजाउँ? साथै दिल्ली आउन पैसा छैन, यत्रो खर्च गर्न सक्दिनँ भन्दा जग्गा बेचेर आउ, जीवन बढी बात है भन्यो भन्थे।
यस्तो फन्दामा पारेर थुप्रै बिरामी दिल्ली जाने गर्थे। कतिपयलाई राम्रै पनि हुन्थ्यो होला, कतिपय ठगिएको घटना सुनाउन आउँथे।
यो सबै गरिब राष्ट्रहरुको समस्या हो। नेपालमा शल्यक्रियाको सुविधा नहुँदासम्म धेरै बिरामी भारतमा उपचार गर्न जाने र ठगिने समस्या धेरै थिए। गंगालाल अस्पतालको स्थापनापछि यो समस्यामा व्यापक न्यूनीकरण भएको छ।
यस किसिमको समस्या अहिले अफ्रिकाका गरिब देशले भोगिरहेका छन्। कतै ठगी हुन्छ त कतै सहयोग। कतिपय देशले त मुटुको भल्भ फेनुपर्ने किशोरकिशोरीहरु सङ्कलन गरेर विदेश लगी शल्यक्रिया गर्ने गरेका छन्। प्रविधि र जनशक्तिको अभावले त्यहाँ यो स्थिति आएको हो। अफ्रिकी राष्ट्र रुवान्डाबाट ७ देखि १५ वर्षसम्ममा ८ जना बालबालिकालाई मुटुको शल्यक्रिया गर्न सुडानको एउटा अस्पतालमा लगिएको घटनाको हृदयस्पर्शी सत्यकथा समेटिएको ४२ मिनेट लामो ओपन हार्ट नामक डकुमेन्ट्री फिल्म युट्युबमा पनि हेर्न सकिन्छ।
यस फिल्ममा बाथ मुटुरोगबाट पीडित ससाना बालबालिकाको कथा चित्रण गरिएको छ। ती बालबालिका बाबुआमालाई छाडेर अर्को देशमा मुटुको अप्रेसन गराउन जान बाध्य हुन्छन्। यसरी पठाउनुपर्दा बाुबुआमा भावविभोर भएर रुन्छन्। उनीहरु फर्कने, नफर्कने थाहाँ हुँदैन। रुवान्डामा मुटुको शल्यक्रिया गर्ने सुविधा नभएको हुँदा अर्को देशमा गएर उपचार गराउनेबाहेक विकल्प हुँदैन।
उपचार नगराए मर्ने अवस्थामा पुगेका हुन्छन्। उता सुडानको राजधानी खार्तुमबाट ४० किमि पर इटालियन गैरसरकारी संस्था इमर्जेन्सीले सलाम सेन्टर फर कार्डियाक सर्जरी नामक मुटुको शल्यक्रिया गर्नुपर्ने बालबालिकालाई जम्मा गरी त्यहाँ ल्याएर निःशुल्क शल्यक्रिया गरिन्छ।
बिरामीलाई एक पैसा पनि खर्च लाग्दैन। यस महान कार्यमा समर्पित व्यक्ति हुन् इटालियन मुटु शल्यचिकित्सक डा जिनो स्ट्राडा। उनी इमर्जेन्सी नामक गैरसरकारी संस्थाका संस्थापक हुन्।
उनले आफ्नो सम्पूर्ण जीवनमा गरिब बालबालिकाको निःशुल्क शल्यक्रिया गरेर पुण्य कमाउने काममा समर्पण भरेका छन्। यस अस्पतालको सञ्चालन खर्च ७५ प्रतिशत विदेशी दाताहरु र २५ प्रतिशत सुडानी सरकारबाट प्राप्त हुन्छ। वास्तविक रुपमा मन्दिर भनेको यस्तै अस्पतालहरु हुन् र भगवान भनेको डा जिनो स्ट्राडा जस्ता व्यक्तिहरु हुन् जस्तो अनुभूति हुन्छ।
विश्वका कयौँ यस्ता मुलुक पनि छन् जहाँ प्रविधि पनि छैन, चिकित्सक पनि छैनन्। यस्ता देशमा उपचार तथा रोग निदानका समस्या धेरै हुन्छन् र कतिपय अफ्रिकी मुलुकमा कार्डियोलोजिस्ट नै छैनन्। फिजिसियनले काम गर्छन्। कार्डियाक सर्जन त झनै छैनन्। माल्दिभ्समा पनि कार्डियोलोजिस्ट थिएनन्। पहिलो कार्डियोलोजिस्ट नेपालले पढाइदिएको हो। माल्दिप्स र चिकित्सा विज्ञान प्रतिष्ठानबीच सम्झौता भएपछि माल्दिभ्सका लागि कार्डियोलोजिस्ट तयार गरिएको हो। युरोपका डाक्टरहरु अफ्रिका गएर काम गरेका अन्य थुप्रै उदाहरण पनि छन्।
(डा रेग्मीको हालै बजारमा आएको पुस्तक ‘टन्सिलले बिगारेको मुटु’को एक अंश।)