डा सुवास प्याकुरेल
- ताप्लेजुङका किसान किसनबहादुर गुरुङ (काल्पनिक नाम) घाँस काट्न जाने क्रममा भीरबाट लड्न पुगे। उनका छोराले नजिकैको अस्पताल लगे। त्यहाँ प्रारम्भिक उपचार गरिसक्नासाथ एम्बुलेन्स तयार भइसकेको थियो। उता एम्बुलेन्समा बस्नुअघि नै बिरामीको रेफरल रिक्वेस्ट झापा, धरान र विराटनगरका अस्पतालका ड्युटी डाक्टरको मोबाइलमा टुङ-टुङ आवाज दिँदै पुग्न भ्याइसकेको थियो। दुई वटा अस्पतालले आइसियु खाली नभएको सूचना बिरामीका छोराको हातको मोबाइल एप्समा पुगिसकेको थियो।
आइसियु खाली भएकै अस्पतालमा पुगेर एम्बुलेन्स रोकियो। उक्त बिरामीको ताप्लेजुङको अस्पतालको इलेक्ट्रोनिक मेडिकल रेकर्ड त्यहाँ पहिले नै प्राप्त भइसक्नाका साथै दुवैतिरका डाक्टरहरुबीच टेलिमेडिसिनमार्फत सम्वाद भइसकेको हुदाँ त्यहाँका डाक्टरले धेरै केही नसोधिकनै उपचार सुरु गर्न थालिहाले।
त्यति मात्र हो र! एम्बुलेन्स कहाँ आइपुग्यो भनी अस्पतालको इमर्जेन्सीको डिस्प्ले बोर्डमा बाटोभरको रियल-टाइम जानकारी निरन्तर पुग्न भ्याइरहेको थियो।
- काठमाडौंका ६० वर्षीय एक पुरुषलाई अस्पताल जानुपर्ने भयो। घरबाटै पैसा तिरेर ओपिडी टिकट काट्दा कोठा नम्बर र समय सहित भोलिपल्टको टिकट मोबाइलमै आएपछि उनी निर्धक्क भए। अस्पताल पुगेर तीन दिनका लागि त्यहीं भर्ना भएका उनी बिमाले नै पैसा सिधै अस्पताललाई नै तिरिदिँदो रहेछ भन्ने थाहा भएपछि झन् खुसी भए। उता बिमाले पनि उपचार विधि, डकुमेण्ट र बिल अस्पतालको सफ्टवेयरबाट सोझै एक्सेस पाइसकेकाले यो सम्भव हुन सकेको थियो।
डिस्चार्ज भएर घर निक्लँदा तीन-चार बज्ला भन्ने उनको अनुमान विपरीत एघार बज्दा नै अस्पताल छोडिसकेका थिए। कारण थियो, डिस्चार्जका सबै डकुमेण्ट सफ्टवेयरले नै रेडी बनाइसकेको हुँदा वार्डबाट एक क्लिक गरेको भरमा आवश्यक सबै विभागमा क्लियरेन्सको लागि रिक्वेस्ट गएर एक क्लिकमै ग्रिन सिग्नल आइसकेको थियो।
- विदेशबाट नेपाल फर्किएका एक व्यक्ति श्रीमतीलाई जँचाउन एक सरकारी अस्पताल लाने क्रममा मोबाइलमार्फत पहिले नै एपोइण्टमेन्ट तय भए मुताविक रिसेप्सनमा पुग्नासाथ सिधै तोकिएका डाक्टरको कक्षमा जाने सल्लाह मिल्छ। डाक्टरले आफ्नो कम्प्युटरमा उनको आवश्यक व्यक्तिगत जानकारी, महत्वपूर्ण पास्ट हिस्ट्री लगायत उनले खाइरहेको औषधि थाहा पाएर बसिसकेका हुन्छन्। छिट्टै नै त्यहींबाट क्लिक गरेर ल्याबबाट यो-यो टेस्ट गरेर आउनु भन्छन्। सिधै मोबाइल एप्सको नोटिफिकेसनमा प्राप्त लिस्ट अनुसारको पैसा एप्सबाटै तिरेर सिधै ल्याबमा जान्छन्।
उता ल्याबले सिस्टममा रिपोर्ट चढाउनासाथ यता डाक्टरले पनि टुङ-टुङ आवाज सहित आफ्नो कम्प्युटर र मोबाइलमा उक्त रिपोर्ट पाइसकेका हुन्छन्। बिरामी फर्किएर कोठामा पुग्दा डाक्टरले प्रेसक्रिप्सन तयार पार्न भ्याइसकेका हुन्छन् जुन सिधै उता अस्पतालको फार्मेसीमा पुगिसकेको हुन्छ। घर पुगेपछि पनि औषधि खाने समयमा आफसे आफ मोबाइलको नोटिफिकेसन आउने गरेपछि त उनी नेपाल अब विदेश जस्तै भइसकेछ भन्दै गुणगान गाउन थाल्छन्।
यी तीन दृश्य काल्पनिक अवश्य हुन् तर सधै काल्पनिक रहिरहनुपर्ने भने होइनन्। यसलाई वास्तविकतामा जोड्ने पुल के कस्तो छ, क-कसको के भूमिका हुनुपर्ला भन्नेमा एकछिन चर्चा गरौं।
नाम चलेका डाक्टर पनि भेटिने र सस्तो पनि हुने भन्ने आशामा सरकारी अस्पताल छिर्दा कता जाने, के गर्ने, डाक्टर कुन बेला आउने हो, आफ्नो पालो कुन बेला आउने हो भन्नेमा शृंखलावद्ध अन्योल। टिकट काट्न, डाक्टर भेट्न, पैसा तिर्न, रिपोर्ट लिन समेत गर्दा एक दिन पूरै बित्ने गरी चार-पाच पटक लाइन नै लाग्नुपर्ने। लाइन छोटो र उपचार छिटो हुन्छ कि भनी निजी अस्पताल छिरौं न त भन्यो, कति बिल उठ्ने हो भन्नेमा मुटु भट्याक-भट्याक। सस्तो खोजौं भीडले तर्साउने, छोटो र छिटो खोजौं बिलले तर्साउने।
अस्पताल जानुपर्यो कि चिनेको डाक्टर, आफन्त नर्स वा नाता पर्ने स्टाफको फोन थिच्न सुरु हुन्छ। पहुँच हुनेलाई मात्रै सजिलो हुनुपर्ने हो र अस्पतालमा? भनसुनको क्षेत्र हुनुपर्ने हो र स्वास्थ्योपचार? किन ढुक्कै कुनै अस्पतालमा छिरिहाल्ने आँट आउँदैन? मोबाइल एप्स खोलेर ट्याक्सी र मोटरसाइकल चाहिँ सजिलै बोलाउन सक्छौं तर एम्बुलेन्स बोलाउन किन सक्दैनौं? भर्ना भइयो भने बेड खोज्न वार्डमा चियाउन धाइरहनुपर्ने दृश्य हामीमध्ये धेरैले नै भोगेको साझा दृश्य हो। बिहान आठ बजेको राउण्डमा डाक्टरको डिस्चार्ज हुने निर्णय सुनेर दस बज्दा घरै पुगेर खाना खान पाइने भयो भनी दंग परेको बिरामी अस्पतालबाट बाहिरिँदा तीन-चार बज्नु अस्पताल गाथाको अर्को तीतो ब्यथा हो।
सोचौं, एउटा बिरामीको डिस्चार्ज लम्बिएको कारण अर्को बिरामी इमर्जेन्सीको बेड ओगटेर बस्नुपर्ने हुन्छ। त्यसका कारण हुने बिरामीको ट्राफिक जाम लामै हुन्छ। किन बिरामीले झोला भरी रिपोर्ट र एक्स-रेका प्लेट लिएर अस्पताल छिर्नुपर्ने हुन्छ? फेरि के त्यो एक्स-रेको प्लेट डाक्टरले खोजेकै वाला पर्ला कि घरबाट उठाउने क्रममा अरु कसैको पर्न सक्ला र चाहिनेवाला प्लेट चाहिँ ग्रहण हेर्न वा फोहर उठाउन दुरुपयोग भइरहेको होला? उत्तर खोज्नै पर्ने अर्को प्रश्न यो पनि छ।
एक-दुई जना व्यक्तिको निजी चिन्ता वा चासो होइनन् यी, प्राय: सबैको उकुसमुकुसलाई प्रतिनिधित्व गर्ने साझा प्रश्नहरु हुन्। त्यही बिरामी प्लेनमा उडेर कतै जानुपर्यो भने चाहिँ मोबाइल फोनमै टिकट आइपुग्न सक्ने, अस्पतालमा भने टिकट काट्न लाइन नै लाग्नुपर्ने हुन सक्छ र? त्यही व्यक्तिले एउटा ब्यांकको पैसा अर्को ब्यांकको एटिएममा घोटेर लिनसक्ने अनि अस्पतालको हकमा चाहिँ हेल्थ नम्बर हालेर बिरामीको अत्यावश्यक रेकर्ड एउटा अस्पतालबाट अर्को अस्पतालमा हेर्न नमिल्ने होला र? यी सबै सुविधा विदेशतिरको अस्पतालमा मिल्न सक्छ भने नेपालभित्रको अस्पतालमा चाहिँ नमिल्ने होला र? किन हामी नेपालीले ल्याब रिपोर्ट थाहा पाउन भोलिपल्ट फेरि अस्पतालै धाउनुपर्ने र फेरि लाइन बसेरमात्रै रिपोर्ट पाउनुपर्ने?
यतिका धेरै अस्पताल र मेडिकल कलेज बनिसक्दा, हजारौं डाक्टर, नर्स तथ्यांकले गनिसक्दा, डिएम र एमसिएच जस्ता अति-विशिष्ठ डिग्री थपिइसक्दा, टोल-टोलमा एम्बुलेन्सको साइरन थपिइसक्दा, हेल्थ पोस्टमा सुविधा र आइरन थपिइसक्दा, सरकारको कार र सदनको आकार थपिसक्दा, संविधानले स्वास्थ्यलाई मौलिक हक भन्नदेखि स्वास्थ्यका छुट्टै कानुन बन्नसम्म भ्याए तथापि स्वास्थ्य सेवाभित्रको 'सेवा' पक्षमा सेवाग्राहीको गुनासो ज्यूँका त्यूँ छन्।
बिरामीले विज्ञान बुझ्दैनन्, विधि बुझ्दैनन्; बुझ्छन् त केवल एम्बुलेन्सका कथा, टिकटका कथा, समय, पैसा र सहजताका कथा वा ब्यथा। बोली, बचन र व्यवहार त बिरामीलाई रिझाउने कि बिझाउने मुख्य मानक भइनै हाल्यो। अन्योल, अत्यास र अस्तव्यस्त ताल नै अस्पतालको पर्याय हो भन्ने बुझाइलाई गलत प्रमाणित गर्ने हो भने स्वास्थ्य सेवाभित्रको सेवा शब्दको शाब्दिक अर्थमा हामी सबै केहीबेर घोत्लिनै पर्ने हुन्छ। उसै पनि ल्याटिन भाषाको 'हस्पेस' शब्द हुँदै हस्पिटल शब्द बनेको हो र 'हस्पेस' को अर्थ हुन्छ अतिथि। यसको बिम्बले बोल्छ, बिरामीलाई अतिथि सरह मानिनुपर्छ।
सूचना प्रविधिले फड्को मारिसकेको अवस्था छ, डोल्पा, रोल्पा, जुम्ला, हुम्ला भनी हुइँया जप्ने बेला छैन अब। हातहातमा मोबाइल फोन पुगिसक्यो, हजुर आमाले नजाने नातिले मोबाइल चलाइदिएर काम बन्ने अवस्था छ। एटिएमबाट पैसा निकाल्न थालेको अढाई दशक भइसक्यो। उसै पनि सूचना प्रविधिको सदुपयोगको सवालमा क्यालिफोर्निया, कालिकास्थान र कालिकोटमा खास्सै फरक रहनँ। यी तीन प्रश्नको उत्तर खोज्ने हो भने माथि पस्किएका तीन काल्पनिक दृश्य व्यवहारमै बदलिन सक्ने छन्।
प्रश्न १, के हामी उपचारका सवालमा चाहिँ सधैं पुरातनवादी सोचाइमै रहिरहनुपर्ने हो? प्रश्न २, के हामी नेपालीले त्यति परिवर्तन ल्याउन सक्दैनौं? अर्को मन घोच्ने प्रश्न ३, यी प्रश्नको उत्तर खोजिदिन विदेशी कम्पनी वा आइएनजिओ नै चाहिने हो र?