पश्चिमबाट पश्चिम लागे, पहिलो पश्चिम पूर्व हुन्छ।
एउटै ठाउँमा अटल रहे, लाख तारामा धुर्ब हुन्छ।।
ठूलोलाई ठूलो पारे, पहिलो ठूलो सानो हुन्छ।
तला थप्न रोकिदिए, अन्तिम ढलान छानो हुन्छ।।
सुखलाई सुख नलिऔं, सुख आफैं दु:ख हुन्छ।
भावको वेग आवेग बने, जुनै बोली चुक हुन्छ।।
सुन्नालाई बायाँ राखे, सुन्ना सधैं सुन्ना हुन्छ।
त्यही सुन्नालाई दायाँ राखे, अंक दशौँ गुना हुन्छ।।
वल्लोबाट खोलो तरे, वल्लो अब पल्लो हुन्छ।
सगरमाथाचढी हेरे, बाँकी हिमाल तल्लो हुन्छ।।
होचोलाई होचो पारे, पहिलो होचो अग्लो हुन्छ।
छिमलेको हाँगो पनि बियो बन्दा सग्लो हुन्छ।।
कसैलाई निम्ठो होला, अर्कोलाई त्यही झुसी हुन्छ।
सबै कुरा मनको उदगम, मनमै अपार खुशी हुन्छ।।