मैले अमेरिका आएर रेसिडेन्सी सुरु गरेको झन्डै १ वर्ष हुन लाग्यो। नेपालको मेडिकल कलेजमा पढेर, २ वर्ष विकट गाउँमा गएर काम गरेपछि अहिले अमेरिकाको शहर न्युयोर्कमा आएर काम गर्दाको राम्रो नराम्रो भिन्नताहरुको तुलना गर्दै नेपाललाई खुब समझिने गर्छु। मेरो दिमागमा खेलिरहने विषयहरुमध्ये साह्रै खट्किरहेको इएमआर अर्थात् ईलेक्ट्रोनिक मेडिकल रेकर्ड।
नेपालमा हालसलै जन्मिएर हिँड्न सिक्दै गरिरहेको इएमआर मैले यहाँ प्रयोग गर्न थालेको १ वर्ष हुन लाग्यो। सधैँ कागजमा लेखेर बिरामी हेरिरहने बानी थियो। सुरुमा आउनु अगाडि अलि नर्भस भएकी थिएँ। तर, सकिहालिन्छ नि ! भन्ने आत्मविश्वास निकै दरिलो थियो। पहिलो दिनमा नै थाहा भयो सोचेभन्दा कति सजिलो हुने रहेछ। बिरामी आएदेखिको हामीले सोध्ने कुराहरु क्रमवद्ध रुपमा खोल्दै खालि ठाउँमा भर्दै जाने त रहेछ; झनै सजिलो पो भयो। केही महत्त्वपूर्ण सोध्नैपर्ने विषय रहेछ भने त्यो सफ्टवेयरले रातो चिन्ह लगाएर मलाई अगाडि बढ्नै दिँदैन। 'अहो, यसरी नेपालमा बिरामी हेर्न पाए त?' भन्दै एक हप्तामा कल्पना गर्न थालिसकेकी थिएँ।
इन्टर्नशिपको बेलामा पाटन अस्पतालमा 'मेरो बिरामी' भन्दै आफ्नो बिरामीको रगतको रिपोर्ट आयो आएन, चाहिने औषधि पायो पाएन भन्दै हामी हरेकले २-३ जना बिरामी लिन्थ्यौँ। यसो गर्दा बिरामीसँग एउटा आत्मियता गाँसिन्थ्यो। त्यसपछि सोही बिरामी घर गएर पछि ओपिडी कक्षमा आउँदा अनुहारले त राम्रै चिन्ने गर्थेँ, तर प्रायको कागजमा पल्टाएर हेरेपछि मात्र सबै याद आउँथ्यो। पाटन अस्पतालमा हरेक बिरामीको कागज छुट्टै जम्मा पारेर सबै राखिन्छ, त्यसैले सजिलो भयो।
तर, पछि मैले इलामको गाउँमा गएर काम गरेँ। आफ्नो ओपिडीको कागजमा सबैकुरा समेटेर बिस्तार लेख्ने गर्थेँ। कतिपटक मेरा सिनियर डाक्टरहरुसगँ फोनमा सल्लाह लिएर औषधि प्रेस्क्राइब गर्थेँ। दिएको औषधिले काम गर्यो कि गरेन, बढाउनु पर्ने हो कि फेर्नुपर्ने हो भन्नेजस्ता सबै कुराको सुधार हेर्दै क्लिनिकल निर्णय गर्ने कुरा हो। सबै लेखेर 'अर्को चोटी आउँदा यो कागज लिएर आउनू है' भनेर सम्झाएर पठाउँथेँ। 'कता राखेँ हेर्नु त' भन्दै हरेक चोटी नयाँ कागज लिएर आउनु हुन्थ्यो।
अनुहार याद छ। समस्या फेरि सोधेर लेखौँला तर, औषधि त फलानो डाक्टरलाई सोधेर लेखेकी थिएँ। योजना भनेर तलपट्टी पछि के गर्ने भनेर लेखेको त याद नै हुँदैन थियो। फेरि फोन गरेर पुनः सुरुदेखि लेख्नुपर्थ्यो। धेरैचोटी यस्तो हुन थालेपछि मलाई महत्त्वपूर्ण लाग्ने केसेस 'फोटो खिच्छु है?' भनेर फोनमा राख्ने गर्थेँ। खासमा यसरी व्यक्तिगत फोनमा बिरामीसँग जोडिएको कुनै पनि कुराको फोटो खिच्नुले बिरामीको अधिकारको हनन् हुन्छ। तर, बिरामीको अनुमति लिएर आफ्नो सुविधाको गुणस्तर बढाउन यस्तो गर्ने गर्थेँ। कति बिरामीले त जतन गर्नहुन्थ्यो। १० वर्ष अगाडिको एक्स-रे पनि लिएर आउनुहुथ्यो। नयाँ खिचेपछि पुरानो हेर्न निकै महत्त्वपूर्ण हुन्छ। तर, निडम्बना रंग खुइलिएर फिल्ममा राम्ररी केही देखिए पो काम लाग्नु!
जटिल केसेस झापा, काठमाडौं पठाउँथेँ। फर्केपछि आऊनुहुन्थ्यो। कागज ल्याउनेहरुमध्ये कसैको कागज अपूर्ण हुन्थ्यो। कसैको लेखिएको अक्षर बुझ्न गाह्रो। ब्र्यान्ड नेम अनेकौँ हुने औषधिका दिन र डोजका आधारमा अनुमान गर्थेँ। 'कागज त उतै काकाको घरमा राखेँ' भन्नेहरुसँग 'हा-हा' भन्दै फेरि नयाँ कागजमा सुरु गर्थेँ। आफैले हेरेको बिरामी त अर्को चोटी आउँदा कागज हेर्दा मात्र छर्लङ्ग हुन्थ्यो। यसरी रिफर भएर अर्कैले हेरेको थाहा पाउन गाह्रो हुनु स्वभाविक नै हो।
यहाँ आएर काम गर्दा मैले यस्तो सोच्नु पर्दैन। एकदिन त्यसमै टाइप गरेर राख्यो। अर्को दिन त्यसैमा थपघट गर्न सकिन्छ। सबै फेरि टाइप गरिरहनु पर्दैन, एक क्लिकमा सबै ल्याउन मिल्छ। अनि, परिवर्तन भएको कुरामा मात्र थपघट गर्न खासै कठिन भएन। टाइप गरेको भएपछि अर्कोले हेर्दा अक्षर नबुझ्नेपनि भएन। औषधिको तालिका पनि त्यही हेर्न मिलेपछि बिस्तारमा सोध्ने-सोच्नेतिर लाग्नै परेन। अर्को विशेषज्ञले लेखेको पनि एकैचोटी हेर्न पाइन्छ। पहिलेको र अहिलेको तुलना गर्न निकै सजिलो हुन्छ।
उदाहरणको लागि मैले आज मेरो हाडजोर्नी दुखेर आएको बिरामीलाई बाथ रोग छ की छैन भनेर रगत जाँच गर्न पठाएँ भनेपछि एक महिनापछि अर्को डक्टरले त्यो जाँच गर्न परेन। बिरामीले फेरि एउटै कुराको लागि सुई खानु परेन। डाक्टरले अर्को विषयतिर सोचेर जाँच गर्न सक्यो।
दुई वा बढी डाक्टरले एउटा बिरामीलाई हेरिरहेको हुन सक्छ। उदाहरणको लागि मुटु विशेषकोमा गएर रक्तचापको औषधि खाने र मधुमेहको विशेषज्ञकोमा गएर मधुमेहको औषधि प्रयोग गरिरहँदा दुवै डाक्टरले स्ट्याटिन नामक औषधि प्रयोग गर्नुपर्ने अवस्था देख्नुभयो भने बिरामीले त्यो औषधि एक जनाकोबाट लिरहनुभएको छ भने अर्कोले नलेखेर त्यही खाइरहने सल्लाह दिन पाइयो।
बिरामीलाई सोधेर गरौँला नि! जस्तो लाग्न सक्ला तर, औषधिको ब्राण्ड नेमको जमानामा त्यही औषधि हो भन्न गाह्रो छ। औषधिको खोल हेरौँला तर, खोलको कुन टुक्रा आइपुग्छ। नामको नभई पैसा लेखिएको भाग पर्यो भने काम लागेन। त्यस्ता स-साना कुराहरु सामान्य लाग्न सक्छ। नेपालमा बसेर काम गर्दा बानी परिसकेको थियो, त्यस्तै हो भन्ने भएको थियो। अहिले यहाँ आएर काम गर्दा भने फरक छुट्याउन सक्ने भएकी छु। यस्तो कुरामा धेरै सोच्न नपर्दा मेरो आधा समय बच्छ। बिरामीको क्लिनिकल जाँचमा समय दिन पाँउछु। मलाई चाहिने बिरामीसँग सम्बन्धित जानकारी एकैठाउँमा पाउने भएपछि मलाई आफ्नो क्लिनिकल जजमेन्टको हिसाबले उपचारको निर्णय लिन पनि सजिलो हुन्छ।
मेरो बिरामी अर्को विशेषज्ञकोमा पठाँउदा मैले गरिरहेको/सोचिरहेको सबै कुरा अर्को डाक्टरले छर्लङ हेर्न पाएपछि त्यहाँ पनि सजिलो हुने भयो। मेरो बिदाको बेलामा पनि मेरो बिरामी अर्को डाक्टरले हेरिदिँदा पनि मैले बोलेर भने बराबरको सबै जानकारी त्यहीँ भएपछि बिरामीको जाँचको गुणस्तरमा निरन्तरता आइरहने भयो।
डाक्टर मात्र होइन नर्सहरुको पनि भाइटल र नोट, फिजियोथेरापीको नोट, फार्मेसीको सबै औषधि हेर्न पाइने भएपछि स्वास्थ्यकर्मीहरु बीचको संचारको रुपमा काम गर्छ इएमआरले। एउटा बिरामीको हेरचाहमा लागिरहनुभएको प्रदायकको बीचममा कुराकानी गरिदिने टेलिफोन हो यो इएमआर। एउटा स्वस्थ्यकर्मीको मष्तिष्कमा अटाउने विषयवस्तुको सीमिततालाई चिर्दै, अनन्त जानकारी स्टोर गरिदिने फोल्डर हो इएमआर।
नयाँ कुरा सुरु गर्नुअघि हामी हिच्किचाउनु सामान्य हो। तर, सकारात्मक परिवर्तनलाई अंगाल्दै अघि बढ्नुमा बुद्धिमानी छ। आइफोन, ट्याब्लेट र ल्यापटप भन्दै आफ्नो बच्चाहरुको माग खुशी साथ पूरा गर्ने हामीले आफ्नो कार्यस्थलमा परिवर्तन ल्याउन पछि हट्नु हुँदैन। इएमआर नेपालमा सुरु नै नभएको होइन, बिस्तारै सुरु हुँदै छ। प्रयोग गरेर प्रतिक्रिया दिने व्यक्तिको आवश्यक्ता छ। प्रतिक्रिया अनुरुप पार्ने विशेषज्ञको आवश्यकता छ। विशेष त नेपालमा पाइला सार्दै गरेको इएमआर नामक शिशुलाई हात समातेर डोर्याउने, अँगालिदिने र दौडन सिकाउने सकारात्मक सोचको जरुरी छ।
-(डा श्रेष्ठ हाल अमेरिकामा छिन्)