सानो छँदा नर्स शब्द सुन्ने बित्तिकै सेतो लुगा झट्ट दिमागमा आउँथ्यो। अझ बच्चा बेलामा हामी उस्तै उमेरका केटाकेटीहरु खेलिरहेको ठाउँमा ॐ शान्तिका दिदीहरु आउँदा हामी सबै नर्स आए सुई लगाई दिन्छन् भन्दै लुक्न गएको कुरा त झनै सम्झनलायक छ। मेरो बुबा आपैm पनि लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ। सेवा दिएर कहिल्यै पनि घटिँदैन र थाकिँदैन भन्ने कुरा बुबाबाट सिक्ने अवसर पाएँ।
बुवाले सधैँजसो भन्ने गर्नुहुन्छ, हरकोहीलाई आफ्नो मान्छे सम्झेर सेवा दिनु, सेवा दिए मेवा मिल्छ र हामीले गरेको असल कर्म भगवानले हेर्नुहुन्छ। बेलाबेलामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको समाचार सुनिरहेको हुन्छु त्यतिबेला बुबासँग एउटै प्रश्न गर्न मन लाग्छ, बुबा तपाईंले भनिराख्ने भगवान कहाँ हुनुहुन्छ?
रोगको प्रकृति र जटिलता हेरफेर गरेर बिरामीलाई कुन स्तरको हेरचाह र कत्तिको नजिकबाट निगरानी जरुरी हुन्छ त्यही प्राथमिकताको आधारमा भिन्नभिन्नै युनिटमा राखेर उपचार गरिन्छ। बिरामी भएर अस्पताल भर्ना हुने बित्तिकै बिरामी बाँच्छ नै भनेर कुनैपनि चिकित्सकले ग्यारेण्टी दिन लिन सक्दैन। सकेसम्म प्रयास गर्छौ भन्ने हिसाबले उपचार अगाडि बढेको हुन्छ।
कुनै अवस्थामा विभिन्न कारणले उपचारको प्रयास गर्दागर्दै बिरामीको मृत्यु हुन सक्छ। बिरामीपक्ष के कारणले मृत्यु हुन गयो भनेर बुझ्नसमेत नभ्याईकन तोडफोड गालिगलौज गर्न तर्फ लाग्छन्। मिडिया समेत बोलाएर स्वास्थ्यकर्मीको पेशागत नैतिकतामा आँच आउने गरी अन्तरर्वार्ता दिने गर्छन भने डाक्टरको लापरबाहीका कारण सामान्य अवस्थामा अस्पताल आएको बिरामीको मृत्यु, अस्पतालको लापरवाहीजस्ता हेडलाइन राखेर समाचार सम्प्रेषण गर्छन्।
यस्ता समाचार आइरहँदा मनैबाट एउट प्रश्न गर्न मन लाग्छ, तपाईं भन्नुहोस् कोही बाबुआमाले आफ्ना छोराछोरीलाई लाखौं, करौडौं खर्चेर सकिनसकी बिरामी मार्नकै लागि मेडिकल पढाउन सक्छन्? के तपार्इं सक्नुहुन्छ? एउटा चिकित्सक १० वर्ष समय खर्चेर पढाई पूरा गर्छ के त्यो बिरामी मार्नकै लागि होला त? अनि यत्रो आर्थिक तथा मानसिक परिश्रमलाई मिडियाको एउटा समाचार हेडलाइनले कहाँ पुर्याएको हुन्छ? बिचार गर्ने कि?
त्यसमाथि बिरामीपक्षलाई उकास्ने गरी अन्तर्वार्तामा सोधिने प्रश्न अब के तपार्इंहरु डाक्टरलाई कारवाही हुनुपर्छ भन्ने कुरामा जोड दिनुहुन्छ? बिरामीको ज्यान गए वापत कति क्षतिपूर्ति माग्नुहुन्छ? जस्ता प्रश्नले सेवाग्राही र स्वास्थ्यकर्मीबीच केही हदसम्म असमझदारी र अविश्वासको दूरी बढाइदिन्छ जस्तो लाग्छ।
त्यसैले जबसम्म सेवाको सम्मान अलवा विना त्रुटि स्वास्थ्यकर्मी तथा चिकित्सकका बारेमा गलत समाचर प्रसारण गर्नेलाई कारवाही गर्ने कानुन बन्दैन तबसम्म यस्ता तोडफोड, कुटपिट, दुव्र्यवहार जस्ता क्रियाकलाप बढि नै रहन्छन्।
अप्रेशनका लागि १२ घण्टा भोकै राख्नुपर्ने, बेलाबेलामा, सुई कोपिरहनुपर्ने, नाकबाट पाइप राखेर खुवाउनुपर्ने, चाहे अनुसार खानेकुरा खान दिन नपाइने, कहिलेकाँही हप्तौसम्म झोल पदार्थ मात्र खुवाउनुपर्ने, अप्रेशन गरेको १ हप्तापछि हिँडाउन कोशिस गर्नुपर्ने, चाहेअनुसार भेट्न आएका आफन्तलाई भेट्न नदिइनु आदि बिरामीको हिताको लागि हामीले गर्नुपर्ने बाध्यात्मक आवस्थाका कारण पनि कतिपय बिरामीपक्ष हामीबाट रुष्ट हुने गर्दछन्। यी सबै कुरा बिरामीको हितको लागि गरेको भन्ने कुरा बुझाउन कहिलेकाहीँ त हम्मेहम्मे नै पर्छ।
बिरामीको फाइदाका लागि गरेको भन्ने सकारात्मक मानसिकता भन्दा पनि कति दुःख दिन सकेको बिरामीलाई भन्ने मानसिकताले हेर्ने भएको हुँदा कहिलेकाहीँ समस्या आउने गर्दछ।
सानो छँदा सेतो लुगा लगाउनेलाई मात्र नर्स हो भनेर बुझेकी मैले पछि मात्र थाहा पाएँ सेतो रङ आफैंमा कति सम्बेदनशील, महत्वपूर्ण र जिम्मेवारी रहेछ भनेर। समयसँगै बुझेँ कि उज्यालो अनुहार देखाउन त्यो सेतो कोटले घरपरिवार, साथीभाई, इष्टमित्र, घुमघाम, चाडपर्व आदि सबै कुरा सोसेर राख्न सक्ने क्षमता बोकेको रहेछ।
नर्सिङ पढ्ने क्रममा थुप्रै तीतामिठा अनुभव सँगाल्ने र आफूलाई अझ कर्मठ र धैर्यवान बनाउने अवसर मिल्यो। विद्यार्थी जीवनमा पहिलोचोटि सघन उपचार कक्ष अर्थात् आइसीयू देख्दा त एकछिन हेरेको हेरै भएँ, अझ भेन्टिलेटरमा राखेको बिरामी देख्दा डराएर छिटोछिटो साथीलाई बोलाउन कुदेको थिएँ। किनभने, मलाई बुझ्ने भएबाट मरिसकेको मान्छेलाई भेन्टिलेटरमा राखिन्छ रे भनेर सिकाइएको थियो। तर वास्तविकता भने विल्कुल फरक रहेछ।
गाँउघरतिर मरेको मान्छे कतैबाट लगेभने त्यो बाटो डराएर १ महिनासम्म नहिँड्ने मलाई आँखा अगाडि छुदाँछुदै बिरामी मरेको देख्दा सम्हालिनै गाह्रो हुन्छ। राति १२ घण्टासम्म ड्युटी गर्नुपर्छ भन्ने सुन्दा निन्द्रा लाग्छ होला कसरी रात काटाउने भन्दै अत्तालिएकी थिएँ। तर पहिलो रातमै थाहा पाएँ बिरामी आफ्नो समक्ष छट्पटाई रहेको देख्दा निन्द्रा भन्ने कुरा त कता हो कता हराउने रहेछ। हेरक व्यक्ति आ–आफ्नै रीतिरिवाज, संस्कार र पृष्ठमूमिबाट आएको हुन्छ। त्यसमाथि अस्पताल भन्ने वित्तिकै रहरले बस्ने ठाउँ होइन, आप्mनै छोराछोरी, बुहारी, आमा, बाबाले गरेको हेरचाह त कतिपय अवस्थामा चित्त बुझ्दो हुँदैन भने अस्पतालमा एकैचोटि नचिनेका नौला स्वास्थ्यकर्मीबाट हेरचाह पाएर सन्तुष्ट हुन बिरामीको लागि पनि सहज पक्कै हुँदैन भन्ने बिरामीको मनष्थिति र पृष्ठभूमी बुझेर सेवा दिनु स्वास्थ्यकर्मीहरुका लागि चुनौतीपूर्ण कार्य नै हुन्छ।
रोगको प्रकृति अनुसार बिरामी अस्पतालमा कहिलेकाँही महिनौसम्म पनि बस्ने गर्छन्, महिनौ बसेको बिरामीलाई निको बनाएर घर पठाउन पाउँदा सेतो कोटमा भरिएका काला अनुभवलाई सर्लक्क पखालेर अझ जोशका साथ काम गरौं गरौं लाग्छ।
-(अधिकारी रजिस्टर्ड नर्स हुन्)