पत्रपत्रिका हेर्ने अनि मानिसको स्वास्थ्यको बारेमा सामान्य सरोकार हुन थालेदेखि नै ‘रकमको अभावले बिरामीको उपचार हुने सकेन’, ‘जीवन रक्षाको अपिल’, ‘उपचारको निम्ति आर्थिक सहयोगको आह्वान’ जस्ता समाचारका शीर्षक र सूचनाले मलाई सधैं छुन्थ्यो।
सामान्य बिरामी हुँदा टोलको रेग्मी अंकलकोमा गरिने उपचार सस्तो एवं सहज हुन्थ्यो। बच्चाका खोप, लुतोको झोल र ज्वरो आउँदा सिटामोल र ठुस्स गन्हाउने ट्याब्लेट (पछि थाहा भयो त्यो त बि कम्प्लेक्स भनिने भिटामिन रहेछ) हामी आफ्नो स्थानीय स्वास्थ्य संस्थाबाट पनि पाउँथ्यौं।
गाउँमा उपचार हुन नसक्ने किसिमका रोगहरू लागेमा नेपालगन्जको भेरी अस्पताल लगिन्थ्यो। निको हुने खाले रोग लागेकाहरु स्वास्थ्य लाभ गरि फर्किन्थे, बाँकीको हकमा ‘दिन पुगेको रहेछ, कालले लग्यो’ भनेर परिवार र समाजबाट सुनाइन्थ्यो। कसैले पनि दिन पुगे नपुगेको कुरामा प्रश्न उठाउँदैनथे, मेरो बालसुलभ दिमागले पनि त्यही पत्याउँथ्यो।
नर्सिङ पढ्न थालेपछि बिरामीका विविध पक्षको बारे बुझ्दै जान थालियो। रोगका प्रकृति अनुसार अस्पताल हुने रहेछन् र जटिलता अनुसार उपचार खर्च पनि बढ्दै जाने वास्तविकतासँग दैनिक साक्षात्कार हुन थालेँ। सामाजिक संजालको व्यापकता पछि त झन् यस्ता सहयोगका याचनाहरू दैनिक जसो आफ्नो भित्तामा आइपुग्थें। सोच्थें – गरिब नै भएर होला यस्ता सहयोगहरू माग्नु पर्ने?
पढाइ पुरा गरेर भेरी अस्पतालमा काम गर्न थालेको पनि पाँच वर्ष पुग्न आँट्यो। नेपाल सरकारले लक्षित वर्गको निम्ति भनेर छुट्याएका शीर्षकबाट बिरामीलाई सहुलियतपूर्ण उपचार गराइदिन डाक्टरहरूलाई सिफारिस गर्न, बिरामीका आफन्तहरूलाई नि:शुल्क उपचार गर्न चाहिने कागजातहरू तयार पार्न र अस्पताल प्रशासनबाट उक्त बिरामीले पाउने सम्मको सुविधा दिलाउन म हमेशा प्रयत्नशील रहन्थें, रहन्छु पनि। मेरो थोरै दौडधुपले कुनै बिरामीले राज्यबाट सहुलियत पाउन सहयोग हुन्छ भने किन नगर्ने?
तर आज आफ्नै सहकर्मी प्रमिला अधिकारीलाई लागेको असाध्य रोग, रोग निको हुने हो वा नहुनेको शंसय, निको भएमा पनि त्यसले गराउने सक्ने स्थायी किसिमको अपाङ्गता र सबैभन्दा ठूलो कुरो उपचारमा लाग्ने अनुमानित खर्चले मन आत्तिएको छ।
तर, आजको अवस्था अलि फरक छ। आफूसँग दिनरात बिरामीको सेवामा खटिएकी मेरी साथी बिरामी भई छट्पटाएकी छिन्। उनको उपचारका लागि मेरो सानो सहयोगले मात्र निको हुन पर्याप्त हुने छैन भन्ने ज्ञानले होला मन भित्रभित्रै कुडिँएको छ।
अहिले उनको उपचारका लागि धेरै भन्दा धेरै सहयोगी हातहरुको आवश्यकता परेका छ।
मध्यमवर्गीय परिवार कि, सरकारी अस्पतालमा काम गर्ने उनको हकमा त यो अवस्था छ। आम्दानीको स्थायी श्रोत नभएका निम्नवर्गका जनताको अवस्था कस्तो होला? सहयोग मागेर उपचार गर्नु कसैको पनि रहर होइन। रोगको प्रकृति अनुसार करोडपति पनि रोडमा आउन कत्ति बेर लाग्दैन। परिवारको सबै स्रोत एक जनाको उपचारमा लगाउने अनि त्यो व्यक्ति तल/माथि हुँदा परिवारमाथि पर्ने आर्थिक बज्रपात कस्तो हुन्छ, सम्झेरै कहाली लाग्छ। नेपालमा त झन् अलि ठूलो रोग लाग्यो भने घरखेतै बेचेर उपचार गर्दा पनि खर्च धान्न सकिने अवस्था छैन। कति घरपरिवार उपचार गर्दागर्दा सबै सम्पति सकिएको तपाईं हामीले देखेकै छौँ।
कोभिड-१९ को महामारीमा भेरी अस्पतालले उच्च मनोबलका साथ बिरामीको सेवा गरेकै हो। त्यो प्रतिकारको अग्रपंक्तिमा हुने गर्थिन, मेरी साथी प्रमिला। जब सारा समाज सुरक्षित रहन भन्दै घरमै बसेका थिए, प्रमिलाहरु पीपीईमा बाफिँदै बिरामीको सेवामा तल्लिन रहन्थे। लकडाउन स्पेसल भन्दै अरुले मिठामिठा परिकारको फोटो सामाजिक संजालमा पोस्ट गर्दा थकानले चुर भएका प्रमिलाहरूका सोफामा झुलेका फोटा मेडियामा ब्यानर न्यूज बन्थे।
उनलाई के भएको हो, उनी उपचाररत अस्पतालले अझै प्रष्ट खुलाएको छैन। तर Left Optic Nerve Inflammatory Lesion को निम्ति Left Subfrontal Craniotomy & Exploration अपरेसन गरिएकोले अवस्था जटिल रहेको बुझ्न कठिन छैन।
एक महिना अघिसम्म पूर्ण स्वस्थ्य उनलाई कसरी यस्तो रोग लाग्यो थाहा छैन। तर कोभिड वार्डको काम, अस्पतालजन्य संक्रमणको जोखिम र हाल चर्चामा रहेको Mucormycosis (Black Fungus) को प्रकृति हेर्दा उनको रोग कार्यस्थलबाटै उब्जिएको नहोला भन्न सकिन्न।
कोभिडले सिकिस्त भएर अस्पताल आएका बिरामीलाई निको बनाउन खटिने क्रममा हामीमाथि पटकपटक विभिन्न कारणले दुव्यर्वहार भयो। पछिल्लो समय त बिरामीका आफ्न्त ज्यानै लिने भनेर आइसियुमा छिरे। ड्युटीमा खटिएका नर्सहरुको घाँटी थिच्नसम्म पछि परेनन्।
स्वास्थ्यकर्मीमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न सरकारले हालै अध्यादेश पनि जारी गरको छ। बिरामी पक्षले गर्ने भौतिक आक्रमण र अभद्र व्यवहारलाई निरुत्साहित गर्न यसले सहयोग गर्ला भनेर आशावादी बनौं। तर प्रमिला जस्ता स्वास्थ्यकर्मीको स्वास्थ्यमा आएको अकल्पनिय अवस्थाको बारेमा सरकार कत्तिको जिम्मेवार छ?
सोच्थें, आफैं स्वास्थ्यकर्मी भएको हुनाले उपचारको अभाव र रकमको जोहो हुन नसकेर कहिल्यै पनि पिडित हुनु पर्ने छैन्। तर महशुस हुँदैछ, कति गलत रहेछु म। आफ्नो अस्पतालमा हुने उपचारमा व्यक्तिगत चिनजानको आधारमा केही सहुलियत, केही अग्राधिकार पाइएला तर सबै रोगको उपचार एउटै अस्पतालमा संभव पनि त हुन्न। अरु अस्पतालमा उपचारको निम्ति जाँदा पूर्ण अपरिचत झैं र नितान्त सर्वसाधारण बन्नुपर्दा स्वास्थ्य क्षेत्र र नर्सिङ पेशामा जीवन उत्सर्ग गरेको के मतलब भयो?
कोभिडको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भत्ता दिनुपर्छ भन्ने माग र सरकारको उधारो आश्वासनमा न कहिल्यै लोभ लाग्यो न आशा नै। त्यसैले थप कुनै सुविधा नपाए पनि हामीहरुले आफ्नो काम कहिल्यै पनि छाडेनौं। न त अस्पताल प्रशासनलाई भत्ता दिलाइदिन मनोमानी मोलमोलाइ गर्यौं न अनुचित सौदावाजी नै। हाम्रो पनि बुझाइ के थियो भने केही हजार रकम र केही प्रतिशत भत्ताले यो मानवीय संकटमा नर्सिङ पेशाको योगदानलाई ‘मोनिटाइज’ गर्न सक्दैन।
राज्यले दिनुपर्ने सुविधा त यस्तोमा पो हो। देश गरिब छ, सबैलाई भत्ता दिन सक्ला नसक्ला। तर कमसेकम महामारीमा ज्यानको परवाह नगरी खटेका स्वास्थ्यकर्मीको उपचारको दायित्व त लिइदिन सक्छ। आज प्रमिलाको निम्ति सहयोगको याचना गर्दै सामाजिक संलाजमा पोस्ट लेख्दा मेरा हात काम्छन्। के भोली मेरो पनि नियति यही हो?
कोभिडको परिप्रेक्षमा अस्पतालहरूमा सहयोगको ओइरो लागेको छ। दाताहरू कहिले भेन्टिलेटर लिएर आइपुग्छन्, कहिले अक्सिजन कन्सन्ट्रेटर त कहिले अक्सिजन सिलिण्डर। ड्युटीमा रहेका स्वास्थ्यकर्मीको प्रोत्साहन स्वरुप खानाका प्याकहरू ब्रेकफास्ट नसकिँदै लन्चका नआउने पनि होइनन्। सहयोगीहरुलाई त्यसको निम्ति धन्यवाद।
तर एक पेट खाना त घरमै खान पनि सकिन्छ। स्वास्थ्यकर्मीहरूलाई खासमा टड्कारो खाँचो धेरै पूँजी चाहिने यस्ता उपचारमा हो। बिरामीको उपचारको क्रममा मलाई केही भइहाल्यो भने उपचारको अभावमा मेरो मृत्यु हुने छैन भन्ने आत्मविश्वासको विकास गर्न सकियो भने त्यो भन्दा प्रभावकारी प्रोत्सहान अरु हुने छैन।
घरको रोजिरोटी कमाउनेलाई कथंकदाचित केही भइहाल्यो भने पनि बाँकी परिवार भोकै हुनेछैनन् भनेर क्षतिपूर्तिका योजनाहरू सार्वजनिक हुने हो भने कोभिड विरुद्धको यो लडाइँमा समग्र स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर थप समर्पणभावका साथ काममा होमिन सक्ने थिए।
-(खड्का भेरी अस्पताल, नेपालगञ्जकी स्टाफ नर्स हुन्)