१. पृष्ठभूमि
वैश्विक महामारीको रुपमा सन् २०१९ डिसेम्बर महिना देखि फैलिएको कोभिड—१९को महामारीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने जडिबुटीको रुपमा गुर्जोको प्रयोग विश्व भरि नै प्रचलनमा आयो। झन् आयुर्वेद लगायत अन्य वैकल्पिक चिकित्सा पद्धति प्रचलनमा रहेका देशहरु विशेष गरि चीन, भारत, नेपाल, श्रीलंका जस्ता देशहरुमा यसको प्रयोग ह्वात्तै बढेर गयो। मानिसहरु जानेर वा नजानेर आफूखुशी गुर्जोको प्रयोग व्यापक रुपमा गर्न थाले।
हाम्रो देश नेपालमा पनि सो भन्दा भिन्न स्थिति रहेन। यद्यपि भारतका आयुष मन्त्रालय तथा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग लगायत सम्बन्धित निकायहरुले निश्चित मात्रामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परामर्शमा गुर्जो लगायत अन्य आयुर्वेद औषधिहरुको प्रयोग गर्न सुझाएको थियो। तर पनि हाम्रो देशमा त झन सुनेको भरमा, समाजिक सञ्जाल तथा अन्य प्रचार, प्रसारका माध्यमको भरमा आयुर्वेद स्वास्थ्यकर्मीहरुको परामर्श बिना आफुखुशी गुर्जोको प्रयोग ह्वात्तै बढेर गयो।
यतिसम्म कि केहि अमूक व्यक्ति जसको आयुर्वेद तथा जडिबुटि सम्बन्धि कुनै औपचारिक अध्ययन समेत थिएन तिनिहरु गुर्जो अभियन्ताको रुपमा आफूलाई आम सञ्चार माध्यम तथा समाजिक सञ्जालमा राम्रै प्रचार प्रसार गर्न भ्याए। समाजिक सञ्जाल तथा सञ्चार माध्यममा थूप्रै तथाकथित आयुर्वेद विज्ञहरु पनि उदाए। औषधिय महत्वको गुर्जो औषधि पसलमा होइन कि मल, डिपार्टमेन्टल स्टोर तथा तरकारी पसलहरुमा पनि बिक्रि वितरणको लागि उपलब्ध हुन थाल्यो।
सर्वसाधारण व्यक्तिदेखि राज्यको उच्च पदस्थ व्यक्तिहरुले पनि सम्बन्धित विषयको विज्ञता बिना कोभिड—१९ मा जडिबुटिको प्रयोग बारे बोल्न थाले। अर्को तिर एलोप्याथिक चिकित्साका केहि चिकित्सकहरुले गुर्जो लगायत आयुर्वेद औषधि तथा जडिबुटिको प्रयोगले कलेजो बिगार्ने भनि आयुर्वेद चिकित्सा पद्धतिप्रति विष वमन पनि नगरेको भने होइन। कोभिड—१९ को दोस्रो लहर र हाल ओमिक्रोन भेरियन्टको लहरमा पनि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा आयुर्वेद तथा जडिबुटिको प्रयोग बारे पक्ष र विपक्षमा विभिन्न तर्क वितर्क कायमै रह्यो।
गत नोभेम्बरमा जर्नल अफ क्लिनिकल एण्ड एक्सपेरिमेन्टल हेपाटोलोजीमा प्रकाशित एउटा केस सिरिजले गुर्जोको अत्यधिक प्रयोगले कलेजो सम्बन्धि रोग निम्त्याएको भन्ने अध्ययनले गुर्जोको प्रयोग सम्बन्धि नयाँ बहस निम्त्याएको छ। साथै हाम्रै देशमा समेत माननीय वर्षमान पुन जो वर्षौदेखि वंशानुगत दुलर्भ कलेजो सम्बन्धी रोगले पिडित थिए उनको गुर्जोको प्रयोगले आफूलाई बिगार गरेको भन्ने अन्तर्वार्ता समेतले गुर्जोको पक्ष र विपक्षमा पोखिने अभिव्यक्तिले समाजिक सञ्जालका भित्ताहरु रंगिएका छन्। यसै परिप्रेक्ष्यमा प्रस्तुत लेखमा द्रव्यगुणको विद्यार्थीको नाताले गुर्जोको प्रयोग र यस सम्बन्धि रहेको भ्रम चिर्न प्रयास गरेको छु।
गुर्जो र आयुर्वेद
गुडुची अर्थात गुर्जाेको उल्लेख आयुर्वेदको बृह्दत्रयी (चरक संहिता, सुश्रुत संहिता, अष्टाङ्ग ह्रदय), लघुत्रयी (माधव निदान, शारङ्गधर संहिता, भावप्रकाश निघण्टु) लगायत हरेक संहिताहरुमा गरिएको पाइन्छ। आयुर्वेदको मेटेरियामेडिका मानिने भावप्रकाश निघण्टुमा समेत यसलाइ अमृता भनेर यसको महत्व उजागर गरिएकोछ।
गुडुची कटुका तिक्ता स्वादुपका रसायनी ।। ८
संग्राहिणी कषायोष्णा लघ्वी बल्याऽग्निदीपनी ।
दोषत्रयामतृड्दाहमेहकासांश्च पाण्डुताम्।। ९।।
कामलाकुष्ठवातास्रज्वरक्रिमिवमीन्हरेत्।
(प्रमेहश्वासकासार्शः कृच्छ्र्र्र्र्र्रह्रद्रोगवातनुत्।। १०।।) (भावप्रकाश निघण्टु गुडुच्यादि वर्ग।
अर्थात गुर्जो कटु, तिक्त, कषाय रसयुक्त, मधुर विपाक, भएको गुणमा लघु हुन्छ र यो रसायन, संग्राही, बल्य, अग्निदिपक, तीनवटै दोष (वात, पित्त, कफ) बाट उत्पन्न हुने रोग हरण गर्छ। साथै यसले दाह, मेह, कास, पाण्डु, कामला, कुष्ठ (त्वचा रोग), वातरोग, ज्वर, कृमि र छर्दि (वमन) रोगलाई हरण गर्दछ।
मेनिस्पर्मेसी कुलमा पर्ने टिनोस्पोरा जेनेराको लगभग पैत्तीस प्रजाति (स्पेसिज)हरु पाईएकोछ। जसमध्ये गुर्जो अर्थात् टिनोस्पोरा कार्डिफोलिया पनि एक हो। अष्द्रेलिया, एशिया तथा प्रशान्त महासागरीय क्षेत्रमा टिनोस्पोराको लगभग २३ प्रजातिहरु पाइएको छ।
नेपालमा गुर्जोको रुपमा टिनोस्पोरा कार्डिफोलिया, टिनोस्पोरा मालाबेरिका र टिनोस्पोरा क्रिस्पा गरि तीन प्रजातिहरु समान्यतः पाइन्छन्। आयुर्वेद संहिताहरुमा उल्लेखित गुडुची टिनोस्पोरा कार्डिफोलियाको रुपमा पहिचान भएको छ। टिनोस्पोरा मालाबेरिका लाई काण्डोद्भव गुडुचीको रुपमा केहि निघण्टुहरु (धनवन्तरी निघण्टु) ले उल्लेख गरेका छन्। जसलाई पद्म गुडुची पनि भनिन्छ। जुन मालाबार क्षेत्र अर्थात दक्षिण भारतको केरला तिर अत्यधिक पाइन्छ।
टिनोस्पोरा क्रिस्पाको उल्लेख संहिता वा निघण्टुमा उल्लेखित गुडुचीसंग मेल खाँदैन। आयुर्वेद संहिताहरुमा कतै पनि गुडुचीको दुष्प्रभाव वा प्रयोग गर्न नमिल्ने अवस्था उल्लेख गरिएको पाइदैन। विभिन्न आधुनिक अध्ययन अनुसन्धानहरुले समेत भावप्रकाशमा उल्लेखित गुडुचीको कर्महरुलाई प्रमाणित गरिसकेको छ।
आधुनिक अध्ययन अनुसन्धान अनुसार यसमा भएका रसायिनक तत्वहरु (फाइटोकन्स्च्यूएन्ट) हरुले हाइपोग्ल्याइसेमिक, एण्टि रुम्याटिक, एण्टिव्याक्टेरियल, एण्टिमाइक्रोबियल, इम्यूनोस्टीमूलेन्ट, एण्टिपाइरेटिक, एण्टिभाइरल, एण्टिइन्फ्रलामेटरी, एनालजेसिक, एण्टिस्द्रेस, एण्टिएलर्जीक, हिपाटोप्रोटेक्टीभ, एण्टिनियोप्लास्टिक, एण्टिडाइबेटिक, एण्टिट्रयुमर, एण्टिअक्सिडेन्ट, हाइपोटेन्सिभको रुपमा कार्य गर्ने भनि प्रमाणित गरिसकेको छ। यद्यपि प्रायः जसो अध्ययन अनुसार जनावरहरुमा गरिएको छ भने केही अनुसन्धानहरु क्लिनिकल ट्रायलको रुपमा पनि गरिएको छ। आधुनिक मापदण्ड अनुसार गरिएको दुष्प्रभाव अध्ययन वा टौक्सिसिटी स्टडीहरु समेतले यो दुष्प्रभाव रहित रहेको पुष्टि गरिसकेको छ।
गुर्जो र रोग प्रतिरोधात्मक क्षमता
शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपानले भूमिका खेल्दछ। यस्तो रोग प्रतिरोधि क्षमता वृद्धि गर्ने कार्यमा औषधजन्य वनस्पतिहरुले पनि महत्वपूर्ण भूमिका खेल्दछ। औषधजन्य वनस्पत्तिहरुमा पाइने मेटाबोलाइटको रुपमा पाइने फाइटोकन्स्टिच्यूएन्ट (प्राकृतिक रसायन) हरुले नै विभिन्न रोग व्याधिहरुमा रोगनाशक तत्वको रुपमा कार्य गर्दछ र यीनै फाइटोकन्स्टिच्यूएन्टहरु मध्येको फ्लेवोन्वाइड, फेनोलिक कम्पाउण्ड आदिले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने कार्य गर्दछन्। शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने जडिबुटि वा औषधजन्य वनस्पतिहरुको समूहलाई इम्यूनोमोडुलेटर को समूहमा राख्न सकिन्छ।
इम्यूनोमोडुलेटर भनेको के हो?
इम्यूनोमोडुलेटर भन्नाले जैविक वा कृत्रिम तत्व जसले शरीरको प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्ने, दबाउने वा परिवर्तन(बढाउने, घटाउने) गर्दछ त्यसलाई बुझाउँछ। यस्तो परिवर्तन स्वभाविक वा ग्रहित हुनसक्दछ।
इम्यूनोमोडुलेटर कति किसिमका हुन्छन्?
इम्यूनोमोडुलेटर औषधिहरुलाई मुख्यतः ३ किसिम ले बुझ्न सकिन्छ।
१. इम्यूनोएडजुभेन्ट्स– यो समूहको औषधिले भ्याक्सिनहरुको क्षमता बढाउँछ तसर्थ यसले स्पेसिफिक इम्यूनिटि बढाउनमा मदत गर्दछ।
२. इम्यूनोस्टिमूलेन्ट– यो समूहको औषधिहरुले प्रायः जसो नन् स्पेसिफिक इम्यूनिटि बढाउने कार्य गर्दछ। प्रायः औषधजन्य वनस्पतिहरुले यसै किसिमले कार्य गर्दछन्। यसले स्वाभाविक प्रतिरोध को साथै गृहित इम्यून सिस्टमलाई पनि बढाउँछ। एडाप्टोजेनिक एजेन्टहरुले पनि इम्यूनोस्टिमूलेन्टको रुपमा कार्य गर्दछन्। स्वस्थ्य व्यक्तिहरुमा इम्यूनोस्टिमूलेन्टहरुले प्रोफेलेक्टिक ( रोगलाग्न नदिने) वा इम्यूनोप्रमाटरको कार्य गर्दछ।
३. इम्यूनोसप्रेसेन्ट (यस वर्गका औषधिहरुको प्रयोग अटोइम्यून डिस्अर्डरहरु, ट्यूमर , अंग प्रत्यारोपण आदि अवस्थामा गर्न सकिन्छ। यस वर्गका औषधिहरुले असमान्य रुपले अतिक्रियाशील इम्यून सिस्टमलाई दबाउने वा निस्तेज पार्ने कार्य गर्दछ।
गुर्जोमा रहेको टिनोस्पोरिन, कर्डिफोलिन, गिलोनिन, टिनोस्पोरोसाइड, आदि तत्वले ग्रेनुलोसाइटहरु लाई तथा म्याक्रोफेजहरुलाई बढाउँछ। यसले टी लिम्फोसाइट र बी लिम्फोसाइट दुबैलाई उत्तेजित गर्दछ र टि.एच. १ टाइप इम्यून रेस्पोन्सलाई बढाएर म्याक्रोफेज फ्यागोसाइटोसिस र नाइट्रिक एसिडलाई उत्पादन गर्दछ। गुर्जोमा रहेको विभिन्न ग्लाइकोसाइडहरु टिनोस्पोरा कर्डिफोलिया १, टिनोस्पोरा कर्डिफोलिया २, टिनोस्पोरा कर्डिफोलिया ४, टिनोस्पोरा कर्डिफोलिया ७ ले आइ.जी. जी एण्टिबडी बढाउँछ। टिनोस्पोरा कर्डिफोलिया ७ ले इम्यूनोस्टिमूलेटरी क्रिया पनि देखाउँछ।
गुर्जोको तीनवटै प्रजाति टिनोस्पोरा कार्डिफोलिया, टिनोस्पोरा मालाबेरिका र टिनोस्पोरा क्रिस्पाको प्रयोग इम्यूनोमोडुलेटरको रुपमा प्रभावकारी हुने अध्ययनले देखाएको छ।
हेपाटोप्रोटेक्टिभ औषधिजन्य वनस्पत्ति र गुडुची
प्रायः जसो आयुर्वेद चिकित्सा प्रणालीमा यकृत विकार तथा कामलामा प्रयोग हुने औषधिहरु नयाँ अध्ययनहरुले हेपाटोप्रोटेक्टिभ अर्थात कलेजोलाई संक्रमणबाट जोगाउने तथा केहि औषधिहरु हेपाटाइटिस बी तथा हेपाटाइटिस सी का भाइरसहरुविरुद्ध कार्य गर्ने हुन्छन्। आयुर्वेदको विभिन्न संहितामा कामला तथा यकृत विकारमा प्रयोग हुने अनेकौ औषधिहरु उल्लेख गरिएका छन्। आयुर्वेदमा मेटेरिया मेडिका भनिने मुख्य निघण्टु भावप्रकाश निघण्टुमा वर्णित ४२६ द्रव्यहरुमध्ये १६ औषधजन्य वनस्पत्ति (द्रव्य) कामलाहरु वा यकृत विकारहरको रुपमा, २३ वटा द्रव्य प्लीहाहर (स्प्लीन वा फियो रोग नाशक) र २३ वटा द्रव्य पाण्डुहरु (एनिमिया रोगमा उपयोगी) द्रव्यको रुपमा उल्लेख गरिएको छ। गुर्जो पनि यिनीहरुमध्ये एक हो।
औषधिजन्य वनस्पत्तिहरुमा पाइने सक्रिय फाइटोकन्स्टिच्यूएन्टहरु फ्लेवोन्वाइड्स, टरपेन्वाइड्स, पोलिफेनोल्स् (एलाजिक एसिड, गैलिक एसिड, टैनिन), अल्काल्वाइड्स, स्यापोनिन, भिटामिन, क्यारोटेन्वाइड्स, कपर, म्याग्निज, जिंक, जैन्थिन जस्ता तत्वहरुले, सुपरअक्साइड डिस्मूटेज, क्याटलेज, ग्लूटाथिओन, परअक्साइडेज आदि इन्जाइमहरु तथा एण्टिअक्सिडेन्ट तत्वहरुले हेपाटोप्रोटेक्टिभ वा कलेजोलाई सुरक्षित गर्ने कार्य गर्दछ।
औषधिजन्य वनस्पत्तिहरुमा पाइने क्वरसेटिन र रुटिन भन्ने सक्रिय तत्वले हेपाटाइटिस सी भाइरसको संख्यात्मक वृद्धिलाई रोक्दछ। त्यसैगरि द्राइटरपेन्वाइड्स, ओलियानोलिक एसिड र यूरसोलिक एसिडले पनि हेपाटाइटिस सी को संक्रमकतालाई कम गर्दछ। बाइकालिन भन्ने फाइटोकन्स्टिच्यूएन्टले हेपाटाइटिस बी भाइरसको भाइरल प्रोटिन र डि.एन. ए. को संशलेषनलाई रोक्दछ। हेपाटोप्रोटेक्टिभ एक्टिभिटि परीक्षणको लागि ए.एल.पी, एस.जी.ओ. टी., एस.जी. पी. टी., टोटल बिलिरुबिन, डाइरेक्ट बिलिरुबिन आदि बायोकेमिकल टेष्टहरु गरिन्छ र यिनीहरुको मात्रामा पर्याप्त रुपमा कमी आएको हुनुपर्दछ। विभिन्न अध्ययन अनुसन्धानले देखाए अनुसार गुर्जो अर्थात टिनोस्पोरा कार्डिफोलियाले सुपरअक्साइड डिस्मूटेज र क्याटलेजको क्रियाशिलता बढाएर एस्परेट एमिनोद्रान्सफरेज, एलानिन एमिनोद्रान्सफरेज, अल्कालाइन फस्फेट तथा एसिड फस्फेटको मात्रा घटाउँछ।
यसले न्यूक्लियर फ्याक्टर इराईथ्रोवाइड २ रिलेटेड फैक्टर २ लाई क्रियाशिल गराउँदछ र क्याटालेज, ग्लूटाथिअन परअक्सिडेज, ग्लूटाथिअन जस्ता ईन्जाइमहरुलाई बढाउने कार्य गर्दछ।
के गुर्जोले कलेजोलाई नोक्सान पार्न सक्छ?
टिनोस्पोरा कार्डिफोलिया जुन वास्तविक रुपमा गुर्जो वा गुडुचीको अधिकारिक स्रोत हो यसको टौक्सिसिटी स्टडीमा यो सुरक्षित मानिन्छ। यसको एक्यूट तथा क्रानिक टौक्सिसिटी स्टडीमा समेत यसले कलेजो बिगार्ने कुरा कुनैपनि किसिमले पुष्टि गर्दैन। मूसामा गरिएको एउटा एक्यूट टौक्सिसिटी स्टडी जसमा मानवमा प्रयोग हुने गुर्जोको औषधिय मात्रा भन्दा १० गुणा बढी मात्रामा (२००० मि.ग्रा./कि.ग्रा.) प्रयोग गर्दा समेत कुनै दुष्प्रभाव नदेखिएको अध्ययनले देखाएको छ।
गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) जस्तै देखिने टिनोस्पोरा क्रिस्पा जसको काण्डमा काँडा जस्तै गाँठाहरु धेरै हुन्छन्, यसको प्रयोग एन्टिडाइबिटिक, इम्यूनोमोडुलेटर, एन्टिपाइरेटिक तथा बाह्य रुपमा जुम्रा मार्ने कार्यमा पनि प्रयोग गरिन्छ। केहि अध्ययनहरुले यसको अति मात्रा र लामो समयसम्मको प्रयोग हेपाटोटक्सिक अर्थात् कलेजो बिगार्ने भनि देखाएको छ। तर टिनोस्पोरा क्रिस्पाको एक्यूट टौक्सिसिटी स्टडीहरुले यसको प्रयोग सुरक्षित देखाएको छ। फुड साइन्स न्यूट्रिसन (२०२० भोलुम८ पृष्ठ ५४७—५५६) मा प्रकाशित एउटा एक्सपेरिमेन्टल स्टडीले त टिनोस्पोरा क्रिस्पाको मेथानोलिक एक्स्द्रेक्टले यसको हेपाटोप्रोटेक्टिभ एक्टिभिटि पुष्टि गरेको छ। तर क्रोनिक टौक्सिसिटी स्टडी सम्बन्धि धेरै अध्ययनले यसले कलेजोमा खराब असर गर्ने भनि देखाएको छ। साथै एउटा केस स्टडीले पनि यसको लामो र अत्यधिक मात्रामा प्रयोगले कलेजोमा बिकार उत्पन्न गरेको देखाएको छ। यसमा पाइने सिस क्लेरोडेन टाइप फूरानोडिटरपेन्वाइडस नामक तत्वले कलेजो बिगार्न सक्ने भनि अध्ययनहरुले देखाएको छ, जुन टिनोस्पोरा क्रिस्पाको काण्डमा बढी मात्रामा पाइन्छ।
कोभिड—१९ को वैश्विक महामारीमा गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) को रोग प्रतिरोधात्मक क्षमता बढाउने गुणले गर्दा यसको अत्यधिक प्रयोगले केहि प्रयोगकर्ताहरुमा कलेजो सम्बन्धि बिकार उत्पन्न गराएको भन्ने गत नोभेम्बरमा जर्नल अफ क्लिनिकल एण्ड एक्सपेरिमेन्टल हेपाटोलोजीमा प्रकाशित एउटा केस सिरिजको प्रकाशन पश्चात यस सम्बन्धि वाद विवाद, तर्क, वितर्क व्यापक भएको हो। त्यस पश्चात जनवरी १७, २०२२ मा हेपाटोलोजी कम्युनिकेशन मा प्रकाशित अर्को केस स्टडीले पनि कोभिड—१९ को वैश्विक महामारीमा गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) को एकल तथा कम्पाउण्ड फर्मूलेशनको अति मात्रा र लामो समयसम्मको प्रयोग कलेजोको लागि हानिकारक हुने देखाएको भनि उल्लेख गरिएको छ। त्यस्तै हाम्रो देशमा समेत माननीय वर्षमान पुन समेतले आफूलाई कोभिड—१९ बाट बच्न आफूले प्रयोग गरेको गुर्जोले कलेजोमा बिगार गरेको चिकित्सकहरुले भनेको भनि अभिव्यक्ति दिएका छन्। माथि उल्लेखित अध्ययनहरु रेद्रोस्पेक्टिभ स्टडीहरु रहेको र त्यसमा उल्लेखित केसहरु धेरै जसो अटोइम्यून डिजिज मधुमेह, थाइरोड सम्बन्धि विकार आदि भएका रोगीहरु रहेको भनि ती अध्ययनहरुले नै उल्लेख गरेका छन् र तिनिहरुले सम्बन्धित समस्याहरुको लागि केहि औषधिहरु खाइरहेको वा नखाएको बारे सम्बन्धित अध्ययनमा प्रष्ट नभएको अवस्थामा गुर्जोले नै कलेजो बिगारेको कुरा प्रमाणित हुदैन।
त्यसैगरि हेपाटोलोजी कम्युनिकेशनमा प्रकाशित लेखमा धेरै जसो केसमा क्रोनिक लिभर डिजिज रहेको र तिनिहरुमा तीव्रता उत्पन्न भएको भनिएको छ। अनुसन्धानकर्ता लेखक आफैले कलेजो बिकार सम्बन्धि प्रिडिस्पोज्ड अवस्था रहेको भनि उल्लेख गरेको अवस्थामा यी अनुसन्धानहरु पूर्वाग्रहमुक्त छैनन् भनि मान्न सकिने अवस्था छैन। जर्नल अफ क्लिनिकल एण्ड एक्सपेरिमेन्टल हेपाटोलोजीमा प्रकाशित अध्ययनमा जम्मा ६ वटा केस छ भने हेपाटोलोजी कम्युनिकेशनमा प्रकाशित अध्ययनमा ४३ वटा केस लिइएको उल्लेख छ। पबमेड सर्चमा टिनोस्पोरा कार्डिफोलिया सर्च गर्दा देखिएको ४२७ आर्टिकलहरुमध्ये यसको दुष्प्रभाव हुने भनि माथि उल्लेखित अध्ययन बाहेक अन्य भेटिँदैन। बाँकि अधिकांश अध्ययन, अनुसन्धानहरुले टिनोस्पोरा कार्डिफोलिया (गुर्जो)को विविध उपयोगिताहरुलाई पुष्टि गरेको अवस्था छ।
यी अध्ययनहरुले वास्तविकता नप्रष्ट्रयाएको र गुडुची वा गिलोय (टिनोस्पोरा कार्डिफोलिया) बारे पूर्व प्रमाणित तथ्यहरुलाई नजरअंदाज गरेको यसले गिलोयको प्रयोग बारे भ्रम फैलाएको भनि भारत सरकार आयुष मन्त्रालयले वक्तव्य नै जारी गरेको कुरा स्मरण गराउन चाहन्छु। साथै पहिलो अध्ययनको खण्डन गर्दै आचार्य बालकृष्ण तथा अन्य केहि विद्वानहरुले सो जर्नलमा खण्डन पनि प्रकाशित गर्न भ्याएका छन्। हाम्रो देशमा वर्षमान पुनको केसमा समेत उनी पहिले देखि नै कलेजो सम्बन्धि दुर्लभ वंशानुगत रोगले पीडित रहेको देखिन्छ। उनले गुर्जोको प्रयोग मलाई लाग्दैन कि कुनै आयुर्वेद चिकित्सकको सुझाव अनुसार गर्नु भएको होला। वैदिककाल र संहिताकालदेखि प्रचलनमा रहेको गुडुची मानवमा हजारौ वर्षदेखि प्रयोग हुर्दै आएको र औषधिय प्रयोगमा सुरक्षित रहेको समय सिद्ध भइसकेको र त्यस कुरालाई आधुनिक मापदण्ड अनुसारको विषाक्तता अध्ययनहरुले समेत सुरक्षित पुष्टि गरिसकेको अवस्थामा यो औषधिले बिगार गरेको कुरा मान्न सकिदैन।
तर गुर्जोको वास्तविक पहिचान गरेर उचित मात्रामा र आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्र यसको सेवन गर्नुपर्दछ भन्ने कुरा आम सर्वसाधारणले बुझ्न जरुरी छ। सहि पहिचान, सहि मात्रा, सहि अवस्था, सहि समय, सहि अनुपात, सहिपान र सहि प्रयोगले मात्र कुनैपनि जडिबुटि वा औषधिले सहि परिणाम दिन्छ भन्ने कुरा पनि ध्रुव सत्य नै हो। साथै हामी सबैले बुझ्न जरुरी के छ भने कुनैपनि जडिबुटि वा आयुर्वेद औषधिहरु एलोप्याथिक औषधिहरुसँग एकसाथ प्रयोग गर्दा सुरक्षित हुने नहुने भनि यकिन साथ भन्न सकिने अवस्था छैन, किनभने हर्ब ड्रग इन्टरएक्सन सबै औषधिहरुमा अध्ययन भइसकेको छैन। तसर्थ कोभिड—१९ को वैश्विक महामारीमा मानिसहरु मनोवैज्ञानिक त्रासले गर्दा आफू र आफ्ना आफन्तहरुलाई सुरक्षित राख्न अनेक किसिमका औषधिहरु आफूखुशि प्रयोग गरेको अवस्था देखियो जुन सवर्था उचित होइन। ज्वरो नियन्त्रणकै लागि भनि आफूखुशी पारासिटामोलको बढी मात्रा प्रयोग गरिएको पनि देखिया।े यसले कति जनाको कलेजो बिगार्यो त यसमा अध्ययनको आवश्यकता किन देखिएन सोचनीय प्रश्न छ।
अन्तमा
योगादपि विषं तीक्ष्णं उत्तमं भेषजं भवेत्।
भेषजं चापि दुर्युक्तं तीक्ष्णं सम्पद्यते विषम्।। (चरक संहिता सूत्र स्थान १/१२६)
अर्थात् सहि तरिका र युक्तिले विष द्रव्य पनि उत्तम औषधि बन्न सक्दछ भने उत्तम औषधि पनि सहि तरिकाले प्रयोग गरिएन भने त्यो विष समान हुन सक्दछ।
निष्कर्श
गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) औषधिय वनस्पत्ति हो त्यसकारण यसलाई औषधि कै रुपमा प्रयोग गर्नु उपयुक्त हुन्छ। औषधि प्रयोगमा यो सुरक्षित छ यसमा दुविधा मान्नुपर्ने कुनै कारण छैन। कुनै पनि जडिबुटि वा औषधि सुनेको भरमा, अर्कालाई फाइदा भयो भन्दैमा त्यसको देखासिकि गरि आफूखुशि अत्यधिक मात्रामा जथाभावी प्रयोग गर्नु सर्वथा उचित हुदैन। सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाह र परामर्शमा मात्र कुनै पनि जडिबुटि वा औषधि सेवन गर्न उपयुक्त हुन्छ। नियमनकारी निकाय पनि औषधिको भ्रमात्मक प्रचार प्रसार हुन नदिन सचेत हुनुपर्दछ। साथै कुनै पनि चिकित्सा पद्धति आँफैमा परिपूर्ण छैन तसर्थ औषधिको सुरक्षितताको प्रश्नमा सर्वदा सचेत रहन आवश्यक छ तर पूर्वाग्रह र दुराग्रह राखी समयको कसिमा हजारौं वर्षदेखि खरो साबित भइसकेको आयुर्वेद चिकित्सामाथि गैरआयुर्वेद वा जडिबुटिको वास्तविक ज्ञान नभएको व्यक्तिले सम्पूर्ण आयुर्वेद चिकित्सालाई बदनाम गर्ने किसिमले नकारात्मक टिकाटिप्पणी गर्न उचित मान्न सकिदैँन।
(द्रव्यगुण विज्ञानमा एम.डी. गरेका लेखक केशरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुका आयुर्वेद चिकित्सक हुन्।)