काठमाडौं– कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका जगदम्बा ग्रुपमा अध्यक्ष सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालत र अनुसन्धानका क्रममा प्रहरीमा दिएको बयानले नै फस्ने देखिएको छ।
स्वास्थ्यखबरलाई प्राप्त बयानमा उनले आफूले उक्त समयमा चीनबाट कोरोना महामारीको समयमा सामान खरिद गरेको र थर्मल गन बिक्री गर्न हिँडेको स्वीकार गरेका छन्। उनले आफू पक्राउ परेको स्थानमा ६७ थान थर्मल गन बिक्रीका लागि लिएर पुगेको बयानमा दिएका छन्। जिल्ला अदालतमा न्यायाधीशसमक्ष गरेको बयानमा पनि उनले उक्त कुरा स्वीकार गरेका छन्।
उनले आफूले चीनबाट केही सामान ल्याएको दाबी गरेका छन् भने केही थान थर्मल गन जोरा इन्टरनेसनलबाट खरिद गरेको भन्दै भ्याट बिल पेस गरेका छन्। उनको यो दाबी पनि झुटो (फल्ट) देखिएको सरकारी वकिलको दाबी छ। चीनबाट नेपाल वायु सेवा निगममा उनले मेडिकल सामग्री भित्र्याएको र ७५ प्रतिशत भन्दा धेरै नाफा लिएर बिक्री गरेको अभियोग लागेपछि त्यसबाट बच्न जोरा इन्टरनेसनलको नक्कली बिल पेस गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले बताए।
सरकारी वकिलले रामप्रसाद न्यौपाने र भैरव सापकोटाको बयान पनि पेस गरेको छ। उनीहरूले कोरोना महामारीको समयमा महंगो मूल्यमा सामग्री बेच्ने उद्देश्यले नै अग्रवालले बजारमा थर्मल गन लगायतका सामानहरू पठाएकाले उनलाई कालोबजारी ऐन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने बयान दिएका छन्।
सुलभले जोराबाट ९ हजार ६ सय ५ रुपैयाँमा भ्याटसहित खरिद गरेको दाबी गरेका छन्। त्यसलाई १५ हजारमा बिक्री गर्दा पनि सिधै शंकास्पदका साथै कालो बजारी गर्ने नियत नै प्रष्ट भएको जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा दाबी गरिएको छ। तत्कालीन समयमा बजार मूल्य भने ३ हजार देखि ५ हजारसम्म रहेकोमा १५ हजारमा बिक्री गर्नु आफैंमा कालोबजारी भएको अभियोगपत्रमा दाबी गरिएको छ।
१५ हजार रुपैयाँमा बिक्री गर्न लागिएको कुरा अभियुक्त अग्रवाल समेतले स्वीकार गरेकाले बजारको भन्दा ११ हजार रुपैयाँ मुनाफा लिनुले उनी कालोबजारी गर्ने उद्देश्यमै रहेको पुष्टि हुने अभियोगपत्रमा जिकिर गरिएको छ। अभियोगपत्रमा यसको पुष्टिका लागि साझा स्वास्थ्य सेवाको बिल समेत पेस छ।
साझाले २०७७ वैशाख ३ गते नेपाली बजारमा थर्मल गनको मूल्य ३ हजारदेखि ४ हजार १ सयसम्म रहेको जिकिर गरेको छ। त्यस्तै, अग्रवाल आफैंले दिएको बयानमा उनी फस्ने अर्को आधार भनेको खरिद दाबी गरेको मूल्य पनि हो। आफूले तत्कालीन समयमा २० अमेरिकी डलरमा खरिद गरेको दाबी अग्रवालले गरेका छन्। तत्कालीन समयको हिसाब अनुसार अनलाइनहरूमा ३ हजार ६३८ रुपैयाँमा पाइने गरेको दाबी अभियोग पत्रमा गरिएको छ। उक्त समयमा एक डलरको नेपाली रुपैयाँ खरिदका लागि ११९.८० र बिक्रीका लागि १२०.४० रहेको देखिन्छ। यसरी हेर्दा उक्त थर्मल गनको भुक्तानी रकम २ हजार ४ सय अधिकतम नेपाली रुपैयाँ पर्न जाने देखिन्छ।
‘३ हजारदेखि ६ हजार पर्नेलाई १५ हजारमा बिक्री गर्नु ७५ प्रतिशतसम्म नाफा खान खोज्नु हो’, अभियोगपत्रमा भनिएको छ, ‘यसरी मुनाफा लिनु ऐन विपरीतको कार्यमात्र नभई अपराध हो।’
२०७७ चैतमा आफूले नेपाल वायु सेवा निगमको जहाजमार्फत् चीनका विभिन्न शहरबाट थर्मल गन लगायतका वस्तुहरू आयात गरेको भन्दै उनले रितेश प्रधानलाई यसको जिम्मा दिएको भन्दै आफू बच्चे प्रयास गरेका छन्।
आफूलाई सहयोगका लागि अनुरोध आएकाले विच्याटमार्फत पीपीई, मास्क र ज्वरो नाप्ने थर्मल गन १२ सय थान अर्डर गरेर ल्याएको उनले स्वीकार गरेका छन्। २०७६ चैत १७ गते नेपालमा सामान ल्याउन आफूले अर्डर गरेको उनले दाबी गरेका छन्। उनले यस्ता सामानको बिल भने पेस गर्न सकेका छैनन्। उनले यी सामानहरूको बिल आफ्नो कर्मचारी रितेश प्रधानसँग रहेको दाबी गरेका छन्।
अग्रवालले उक्त सामान बिक्री गर्ने जिम्मा आफ्नो नभएको भन्दै बच्न खोजेपनि प्रहरीसँगको डिलमा उनी आफैं संलग्न देखिएको जिल्ला अदालतमा रहेको मिसिलमा देखिन्छ। जिल्ला अदालतमा रहेको मिसिलमा उनले तीनवटा टेलिफोनबाट गरेको कुराकानीको रेकर्ड समेत समावेश गरिएको छ। सुलभले नेपाल टेलिकमको पोष्टपेड, प्रिपेड र एनसेलको नम्बरबाट पटक–पटक विभिन्न समयमा गरेको कुराकानीको विस्तृत विवरण पनि अदालतमा पेस गरिएको छ। एनसेलको फोनबाट २२ सय २१ पटक, नेपाल टेलिकमको पोष्टपेडबाट ९५१ पटक र प्रिपेड नम्वरबाट ४०८ पटक गरेको कुराकानीको विवरण पनि अदालतमा पेस भएको छ।
२५ सयमा किनेका थिए थर्मन गन, १५ हजारमा बेच्न खोजे अग्रवालले चीनको गोन्जाउबाट २०७७ चैत २१ गते थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो। सेटिङमा आफ्नो कम्पनीको मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै सामान कालोबजारीमा बिक्री गरिरहेको थियो।
शंकर ग्रुपले कालोबजारीमा सामान बिक्री गर्नकै लागि अन्य व्यवसायीको सामान नेपाल एयरलाइन्सको चार्टर उडानबाट ल्याउन दिएको थिएन। तर, अग्रवाल कालोबजारीका सामान बिक्री गर्ने क्रममै पक्राउ परेका थिए।
उनलाई प्रहरी आफैं ग्राहक बनेर महंगोमा थर्मल गन किन्ने बहना बनाउँदै समातेको थियो। उनका साथबाट प्रहरीले ६७ थान थर्मल गन समेत फेला पारेको थियो। प्रहरीले त्यसपछि अग्रवालको घर र अफिसमा समेत छापा मारेको थियो। तर, बाँकी थर्मल गन फेला पार्न सकेको थिएन। पछि अनुसन्धानका क्रममा उनले उक्त गनहरू महंगो मूल्यमा बिक्री गरेको अभियोगपत्रमा दाबी गरिएको छ।
अग्रवालले २०७६ चैत २१ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा १२ सय थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले उक्त गन चीनमा २० डलरमा खरिद गरेको थियो। उक्त कुरा उनले बयानमा स्वीकार गरेका छन्।
उनले सामान खरिद गरको समयमा डलरको भाउ १ सय २१ रुपैयाँ थियो। सोही दरमा उक्त थर्मल गन खरिदमा अग्रवालको कम्पनीले २ हजार ४२० रुपैयाँमा खरिद गरेको देखिएको छ।