काठमाडौं- सरकारी रेडियोग्राफी संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले सरकारसँग सहमति गरेका छन्। आफ्ना पेसागत मागहरूका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग औपचारिक संवाद सफलतापूर्वक सम्पन्न भएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम पनि स्थगन गरेका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य सचिव डा विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा लगायत मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। आन्दोलनरत पक्षबाट नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा र महासचिव तथा सरकारी रेडियोग्राफी संघ, नेपालका अध्यक्ष दामोदर रोक्का र महासचिवको संयुक्त टोलीको सहभागिता रहेको थियो।
सहमतिपछि दुवै संस्थाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार आन्दोलनप्रति अर्थ मन्त्रालय तथा अन्य उच्च निकायहरूले गम्भीर चासो व्यक्त गरेका छन्। प्रस्तावित ओएनएम पुनरावलोकन गरी रेडियोग्राफी क्षेत्रका मागहरू यथासम्भव समावेश गर्न निर्देशन दिँदै सो प्रस्ताव स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य सचिव डा देवकोटाले पेसागत मागहरू यसपटकको संशोधित ओएनएममा समावेश गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै उक्त प्रक्रिया चाँडै अगाडि बढाइने आश्वासन दिएका छन्।
दुवै संस्थाले सम्पूर्ण रेडियोग्राफी पेसाकर्मीहरू, सञ्चारकर्मीहरू, पेसागत संघ-संस्था, सरोकारवाला पक्षहरू र शुभेच्छुकहरूलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्।देशभरबाट आन्दोलनमा देखाइएको अद्वितीय ऐक्यबद्धता, समर्थन र सहभागिता नै यस उपलब्धिको मुख्य आधार रहेको विज्ञप्तिमा उल्लेख छ।
दुबै संस्थाले विज्ञप्तिमार्फत् आजदेखि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित गरी कार्यस्थलमा उत्साहका साथ सहभागी हुन सम्पूर्ण पेसाकर्मी साथीहरूमा अनुरोध गरेको छ।