काठमाडौं–ह्युमन पेपिलोमाभाइरस अर्थात् एचपीभी भ्याक्सिनको एकै डोज पनि महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्ध मजबुत सुरक्षा प्रदान सक्षम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
डब्लुएचओको खोपसम्बन्धी विज्ञहरुको एक सल्लाहकार समूह (स्ट्राटेजिक ग्रुफ अफ एक्स्पटर््स अन इम्युनाइजेसन–एसएजीई) को हालै एक अध्ययनमा यस्तो दाबी गरिएको हो।
एसएजीईले एचपीभीको एक डोज दुई डोजबराबर प्रभावकारी भएको र एचपीभीबाट सुरक्षा प्रदान गर्न सक्षम भएको निस्कर्ष निकालेको हो। एचपीभी एक यस्तो भाइरस हो, जो सर्भाइकल क्यान्सर या पाठेघरको मुखको क्यान्सरको कारण बन्न जान्छ। एसएजीईले विज्ञप्तिमा भनेको छ, ‘सिंगल डोज खोप सर्भिकल क्यान्सरको रोकथामको दिशामा एक गेमचेन्जर साबित हुनसक्छ र यो जीवनरक्षक खोपको ठूलो मात्रा किशोरीहरुसँग पुग्नसक्छ।’
एसएजीईले एचपीभीको डोज सेड्युललाई अपडेट गर्न सिफारिस गरेको छ। जसअनुसार ९देखि १४ वर्षका किशोरीलाई प्राथमिक टार्गेटका लागि एक या दुई डोजको सेड्युल, १५ देखि २० वर्ष उमेरका युवतिलाई एक या दुई डोजको सेड्युल र त्यसभन्दा माथिका महिलाहरुका लागि ६ महिनाको अन्तरालमा दुई डोज दिने सल्लाह डब्लुएचओले दिएको छ।
१६ देखि १८ वर्षमा बढी प्रभावी
एसएजीईका अध्यक्ष डा एलेजान्द्रो क्राभियोटोले भनेका छन्, ‘एचपीभी भ्याक्सिन एचपीभी सिरोटाइप १६ र १८ को रोकथामका लागि अत्यधिक प्रभावी हो, जो ७० प्रतिशत पाठेघरको मुखको क्यान्सरको कारक बन्छ।’
उनले एसएजीईले एचपीभी खोप लगाउन र किशोरीहरुलाई बढी प्राथमिकता दिन सबै मुलुकलाई आग्रह गरेको छ। यसअनुसार बढीभन्दा बढी किशोरी र महिलालाई खोप लगाउन सकिने र उनीहरुको जीवनमा पाठेघरको मुखको क्यान्सर यसको दुष्प्रभाव रोक्न मद्धत मिल्ने विश्वास डब्लुएचओको छ।
साइलेन्ट किलर
स्वास्थ्य क्षेत्रमा पाठेघरको मुखको क्यान्सरलाई साइलेन्ट किलरको रुपमा लिइन्छ। यद्यपि यसलाई लगभग पूर्ण रुपमा रोक्न सम्भव छ। यो पहुँचको असमानता भएको रोग मानिन्छ। यसको ९५ प्रतिशत कारण यौनसम्पर्कबाट सर्ने एचपीभी मानिन्छ। यसका ९० प्रतिशत पीडितहरु निम्न र मध्यमआय भएका मुलुकमा रहन्छन्।
तथ्यांकअनुसार विश्वभर हरेक २ मिनेटमा एक महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गरेको छ। गरिब र मध्यम आय भएका मुलुकमा यसको खोप उपलब्ध छैन। विश्वका १५ प्रतिशत महिलाले मात्र एचपीभी खोप लगाएको बताइएको छ।
डब्लुएचओकी सहायक महानिर्देशक डा प्रिन्सेसस नोथेम्बा सिमेलेलाले भनेकी छन्, ‘सिंगल डोज खोप भएकाले यो कम खर्चिलो, झन्झटविहीन र स्वास्थ्य सुविधाको सहयोगविना पनि महिलालाई उपलब्ध हुनसक्नेछ र एक उत्कृष्ट विकल्प बन्न सक्नेछ।’