काठमाडौं- नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।
एक्स्पोको उद्घाटनका क्रममा रास्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको बताइन्।
राष्ट्रपति भण्डारीले भनिन्, 'सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ ।'
उनले सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको बताइन्।
कोभिड–१९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन र वितरण प्रणालीलाई ठूलो चुनौती दिएको उल्लेख गर्दै उनले विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको वर्तमान परिस्थितिमा महामारी रोगको नियन्त्रण एवं उपचारमा एउटा देशको प्रयास मात्रै पर्याप्त नहुने बताइन्
राष्ट्रपति भण्डारीले भनिन्, 'रोगको उपचार र नियन्त्रणका लागि विभिन्न मुलुकबीच आपसी सहयोग र सहकार्यको आवश्यकता भएजस्तै औषधि उत्पादनको क्षेत्रमा पनि विभिन्न राष्ट्रबीच पारस्परिक सहयोग अभिवृद्धि हुनुपर्दछ।' समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान र भौतिक पूर्वाधार विकासको प्रयासमा जुट्नुपर्ने बताउँदै उनले औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गरिन्।
राष्ट्रपति भण्डारीले औषधि तथा स्वास्थ्य सामग्रीको समतामूलक वितरणका लागि स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने खाँचो रहेको आफूले महसुस गरेको बताउँदै भनिन् 'जीवनशैलीमा आएको परिवर्तन शुद्ध र स्वस्थ खानाको अभाव तथा बढ्दो प्रदूषणका कारण नसर्ने रोगहरुले ठूलो जनसङ्ख्यालाई प्रभावित गर्दै लगेकाले पनि औषधि विज्ञानका क्षेत्रमा लगानी आवश्यक देखिएको छ।'
यस प्रकारका प्रदर्शनीले त्यसतर्फ अगाडि बढ्न राज्य, निजी क्षेत्र र समुदायलाई प्रेरणा प्रदान गर्ने आफूले विश्वास लिएको उनले बताइन्। राष्ट्रपति भण्डारीले राष्ट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सामग्री र औषधिको आवश्यकता अत्यधिक हुँदै जाँदा आयात वृद्धि भई मुलुकको व्यापार घाटामा थप चाप परिरहेको बताइन्।
उनले भनिन्, 'औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान स्वदेशमा भएका जडीबुटीको व्यावसायिक खेती गरी कतिपय औषधिका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरेर आयात प्रतिस्थापन गर्न सकिन्छ।'
निजी क्षेत्रको ठूलो लगानीसहितको औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सङ्कल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिइन्। औषधि उत्पादनका क्षेत्रमा विश्वभरि निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको भन्दै उनले विज्ञान र प्रविधिको गतिसँगै आफूलाई अध्यावधिक राख्न सकेमा मात्रै हाम्रो उद्योगहरुको प्रतिस्पर्धी क्षमता सृदृढ हुने बताइन्।
उनले औषधि उत्पादनका क्षेत्र लगानी बढाउनुपर्ने समेत बताइन्।। अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै उनले औषधिको आयातलाई रोकेर अब निर्यात तर्फ ध्यान दिनुपर्ने बताइन्। उनले नसर्ने रोगहरुको समस्या बढ्दै गएको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताईन्।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि उद्योगलाइ प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताए। उनले हाल नेपालमा कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भइरहेको बताए। जसकाे मुख्य कारण औषधि उद्योगमैत्री नीति नहुनु रहेको उनले बताए।
संघका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाली औषधि थोरै भएपनि निर्यात हुन थालेको भन्दै यसले नेपाल औषधिमा आत्मनिर्भरताको बाटोमा हिड्न थालेको बताए। नेपालमा ५० प्रतिशत बजार भारतले, ४५ नेपालले र ५ प्रतिशत अन्य देशले धानेको उनले बताए।
संघका निवर्तमान अध्यक्ष जि नारायण छेत्रीले नेपाल पनि औषधि उद्योगको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए। उनले औषधिमा आत्मनिर्भर हुन धेरै लबिङ गरेको भएपनी सफल हुन नसकेको बताए। कोरोना कालमा भारतले औषधि निर्यातमा निषेध गरेको भन्दै त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको बताए। उनले नेपाली औषधि पनि अन्तराष्ट्रिय स्तरको रहेको बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताए। कार्कीले औषधि व्यवस्था विभागले औषधि उद्योगमा सहजताका लागी काम गर्नुपर्ने बताए। विभागको कार्यक्षेत्र र क्षमता बढाउनुपर्ने पनि उनले बताए।
नेपाल उधोग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उधोग व्यवसाय क्षेत्रमा ठुलो घाटा ब्यहोरेको अवस्थामा औषधि उद्योगमैत्री नीति तर्जुमा गर्नुपर्ने बताए। कोरोनाले उत्पादन बढाउनुपर्छ भन्ने कुरा सिकाएको भन्दै उनले औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको बताए। एक्स्पोकै क्रममा पुर्वअध्यक्षहरु प्रदिपमान वैद्य, प्रदिपजजङ्ग पाण्डे, महेष गोर्खाली, उमेशलाल श्रेष्ठ, संकर घिमिरे, दिपक प्रसाद दाहाल र जी नारायण क्षेत्रीलाई सम्मान समेत गरिएको थियो।
एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए। एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने पनि बताइएको छ। एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् अनुमान छ।