काठमाडौं— कोही कसैलाई तत्काल रगतको आवश्यक पर्दा सम्झिने नाम हो डा. प्रेमसागर कर्माचार्य। ब्लड बैंकमा रगत अभाव हुँदासमेत व्यवस्थापन गरिदिने उनी नै हुन्। काठमाडौंका ठूला अस्पतालका रगतको आपत् परे चिकित्सकले पनि उनैलाई सम्झन्छन्।
नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने कीर्तिमान उनकै नाममा छ। हालसम्म उनले १६९औँ पटक रक्तदान गरेका छन्। आफ्नो रगत दिएर थुप्रैको ज्यान जोगाएका प्रेमसागर अहिले चुनावी मैदानमा छन्। नेपाल उन्नत पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार रहेका उनको अठोट छ– जनताको रगत नचुस्ने, अर्थात् प्रिय सेवक बन्ने।
रक्तदानमार्फत समाजसेवामा लागेका उनी आफ्ना शुभचिन्तककै आग्रहमा राजनीतिमा आएको बताउँछन्। काठमाडौंबासी ठूला दलबाट आजित भएका कारण आफू नेपाल उन्नत पार्टीबाट उम्मेदवार भएको उनको भनाइ छ। ‘नगरवासीले राजनीतिक विकल्प खोजी राखेका छन्। त्यसैले म विकल्प दिनका लागि उम्मेदवार भएको हुँ,’ उनी भन्छन्।
उनी नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष हुन्। यो संस्था नेपालको सबै जिल्लामा विस्तार भएको छ। आफू ‘जनताको रगत चुस्ने’ नभएर जनतालाई रगत दिने व्यक्तिको रूपमा चिनिन मेयरको उम्मेदवार बनेको कर्माचार्यले बताएका छन्।
उम्मेदवार भएपछि उनले ३२ बुँदे ‘समाधानपत्र’ सर्वाजनिक गरेका छन्। काठमाडौंमा यसअघि आएका स्थानीय तहले काम गरेको महसुस नै नभएपछि आफूले समाधानसहित उम्मेदवारी दिएको उनको दाबी छ। उनी भन्छन, ‘घोषणापत्रका नाममा ढोगी प्रचार मात्र भयो। अहिलेका दलले जनतामा भ्रम फैलाए। काम गरेनन्। म वाम विचारधारको मान्छे हुँ, तर जनताको आशालाई निराशामा बदलिन नदिन सानो दलबाट उम्मेदवार भएँ।’
आफू निर्वाचित भए शासक नभइ सेवक भएर काम गर्ने उनी बताउँछन्। ठूला दलबाट अब स्थानीय तहको विकास नहुने उनको दाबी छ। ‘हाम्रो मतले भ्रष्टाचारी जन्मायो। आफूले दिएको मतको गौरव गर्ने अवस्था भएन। जनताले भाषण मात्र सुने, काम देख्न पाएनन्,’ उनले भने, ‘म कामै गरेर देखाउँछु। किनभने मैले सामाजिक सेवामा लागेको चार दशक भइसकेको छ।’
सामाजिक क्षेत्रमा काम गर्दैगर्दा राज्यका कारण कतिपय सेवा दिन नसकिने भएपछि आफैं निर्णायक तहमा पुग्न राजनीतिमा आएको उनी बताउँछन्।
के–के छन् अजेण्डा?
स्थानीय सरकार स्थानीय रोजगार, महानगरीय यातायातको व्यवस्थापन, फोहोर व्यवस्थापनजस्ता विषयलाई उनले आफ्नो ‘समाधानपत्र’मा समेटेका छन्। आफू मेयरमा निर्वाचित भएर आएपछि त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
आगलागी नियन्त्रणका लागि भित्री शहरमा पाइप लाईन विस्तार गर्ने, निशुल्क एम्बुलेन्सको व्यवस्था, अनलाइन बैठक गर्ने, डिजिटल प्रशासन बनाउने, सांस्कृतिक शहर निर्माण गर्ने उनको समाधानपत्रमा उल्लेख छ। त्यस्तै व्यक्तिगत घटना दर्ताका आवश्यक कागजात घरमै पु¥याउने, सुकम्बासी समस्या समाधान गर्ने, निःशुल्क सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा निःशुल्क खानेपानी, ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रको स्थापना, दीर्घरोगीलाई घरघरमा स्वास्थ परीक्षणजस्ता एजेण्डालाई उनले समाधानपत्रमा राखेका छन्।
उनले महानगरवासीलाई आवश्यक पर्दा रगत र रक्ततत्वहरू निःशुल्क प्रदान गर्ने घोषणा पनि गरेका छन्। युवालाई रोजगारीको अवसर प्रदान गर्ने, पार्किङस्थलको व्यवस्थापन गर्ने, रञ्जना लिपिलाई सार्वजनिक प्रयोगमा ल्याउने योजना पनि उनले अघि सारेका छन्।