बर्दियास्थित मेरो नजिकैकी बहिनीले ११ महिनाको आफ्नो छोरोलाई जहिले कब्जियत हुने भनेर फोन तथा म्यासेज गर्ने गर्छिन। उनी जस्तै कान्ति बाल अस्पतालमा अभिभावकले दिनहु आफ्नो बच्चाहरुको कब्जियतको समस्या लिएर आउने गर्नुहुन्छ। आउनुहोस् आजको भागमा हामी बच्चालाई हुने कब्जियत सम्बन्धी केही ज्ञानगुनका कुराहरु चर्चा गर्नेछौ।
कब्जियतले करिब ३० प्रतिशत बच्चालाई असर गर्दछ।
बच्चालाई सबैभन्दा बढी विधालय पठाउने उमेर हुनुअघि देखिने गर्दछ। लगभग ९५ प्रतिशत बच्चाहरुमा कुनै ठोस कारण नभेट्टिने र असाध्यै सामान्य रुपमा देखिने भएता पनी ५ प्रतिशत कारण पत्ता लगाउनुपर्ने महत्वपूर्ण देखिन्छ।
कब्जियतका कारण:
१. दिनहु जंकफुडको प्रयोग बढ्दै जानाले, अभिभावकको ब्यस्तताले गर्दा र बजारमा तयारी खानाखाजाको प्रयोग बढी गर्नाले, प्रयाप्त मात्रामा पानी तथा झोलिलो कुरा कम खानाले, फाइबरयुक्त खानेकुराको कमीले कब्जियत हुन्छ।
२. गाईको दूधको एलर्जी भएमा वा अत्याधिक मात्रामा दूधबाट बनेको परिकारको सेवन गरेमा कब्जियत हुन्छ।
३. दिनचर्यामा परिवर्तन, जबर्जस्ती टवाइलेट गराउन खोज्दा, तनाव हुदाँ पनि कब्जियत हुनसक्छ।
४. मोबाइलको लत लागेर, खेलकुद, पढाई वा डरले बच्चाले दिसा रोकेर राख्ने बानी पर्न सक्छ र दिसा आएपनि शौचालय जान रुचाउँदैनन्। बरु रोकेरै राख्छन्। जसका कारण उनीहरुमा कब्जियतको समस्या हुन्छ। त्यस्तै विद्यालय वा कुनै सार्वजनिक शौचालयमा बानी नपरेको वा फोहोरका कारणले दिसा गर्न गारो भएको अवस्थामा पनि बच्चाले दिसा च्यापेर राख्ने गर्दछन्। यस्तो अवस्थामा पनि कब्जियत हुन्छ।
५. बंशाणुगत कारण परिवारमा कब्जियतको समस्या भएमा पनि कब्जियत हुन्छ।
६. अन्य कारणमा हाईपोथाइरोइडिस्म, सिलिएक डिजीज, सिस्टिक फाइब्रोसिस, स्पाइनल कर्ड इन्जुरी आदि रहेका छन्।
कब्जियतका लक्षण
• हप्तामा दुई पटक वा सो भन्दा कम पटक दिसा हुने,
• दिसा साह्रो र गोटा परेको हुने,
• मोटो तथा बाक्लो हुन्छ,
• दिसा गर्दा बच्चालाई पिडा हुन्छ,
• बच्चाले लामो समय शौचालयमा बिताउँछ,
• कडा दिसाले गर्दा मलद्वार च्यातिएर रगत आउन सक्छ,
• पेट दुख्छ, दिसा गरेपछि पेटको दुखाई सन्चो हुन्छ,
• बच्चाले कट्टुमा थाहा नपाई दिसा चुहाउँछ,
• स्कुल जान नमान्ने हुन सक्छ,
• पेट फुल्ने, खानामा अरुची हुने, नराम्रो ग्याँसहरु पास गर्ने,
• कसैमा तौल नबढ्ने, बान्ता भईराख्ने पनि हुनसक्छ।
स्वास्थ्यकर्मीलाई देखाइहाल्नुपर्ने अवस्थाहरु
• नवजात शिशुले जन्मेको ४८ घण्टा कटेपछि दिसा नगरेमा,
• जन्मेको १ महिनाभित्र कब्जियतको समस्या देखिएमा,
• परिवारमा कसैलाई हर्सप्रङ रोग भएमा,
• रिबन जस्तो दिसा भएमा,
• बच्चाको विकास र तौल नबढेमा,
• हरियो वान्ता गरेमा,
• पेट फुलेमा,
• थाइराइड ग्रन्थीमा समस्या देखिएमा,
• दिसा गर्ने प्वाल अन्तै भएमा,
• ढाडपट्टीको भागमा कपालको थुप्रो देखिएमा,खाल्डो परेमा आदि।
कब्जियत हुन नदिन ध्यान दिनुपर्ने कुराहरु
• बच्चालाई एकपटक कब्जियत सुरु भएपछि अर्कोपटक दिसा गर्दा उसलाई दुख्ने तथा गाह्रो हुने हुन्छ। गाह्रो भएपछि बच्चाले दिसा रोक्ने हुन्छ र जति रोक्यो आन्द्राको दिसा त्यति कडा हुदै गई एउटा साइकल जस्तै बन्न जान्छ। त्यसैले बच्चाको दिसा बस्ने आन्द्रालाई पूर्ण रुपमा खाली गर्नुपर्दछ जसको लागि हामीले चिकित्सकको सल्लाह बमोजिम ल्याक्सेटिब पनि प्रयोग गर्नु पर्ने हुन सक्छ।
• बच्चालाई हरेकपल्ट खाना खाएपछि दिनको २-३ पटक शौचालय जाने तालिम दिनु पर्दछ। दिसा गरे पनि नगरे पनि ५-७ मिनेट शौचालय वा दिसा गर्ने कोपरामा राख्नु पर्दछ। जसले गर्दा दिसा गर्ने बानी बस्दछ। एस्तो बेलामा सकरात्मक तरिकाले तालिम दिनु पर्छ, बच्चालाई हलुका खुल्ला सजिलै फुकाल्न मिल्ने लुगा लगाइदिनु पर्दछ। बच्चालाई गाली गर्ने झगडा गर्ने गर्नुहुँदैन।
डाइपर बाट अन्डरवेयर लगाउनअघी ट्रैनिङ प्यान्टको प्रयोग गर्नुपर्ने हुन्छ र यदि ट्रेनिङ गराउँदा राम्रोसँग प्रगती नभएमा २-३ महिनालाई ट्रेनिङ रोक्नुपर्ने हुन सक्छ। रेसायुक्त खाना खाने र पानी तथा झोलिलो पदार्थ प्रशस्तै मात्रामा खुवाउने गर्नुपर्दछ।
-(बालरोग विशेषज्ञ डा राजकुमार बिक हाल कान्ति बाल अस्पतालमा कार्यरत छन्।)