'पिरियड पोभर्टी' भनेको महिनावारीको बेला प्रयोग गर्ने सामाग्री तथा त्यसको व्यवस्थापन, आवश्यक शिक्षाको कमी वा सबै अत्यावश्यक कुराको कमी हो। यसमा सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक अड्चनहरु पर्दछन्। करिब ५ दिनसम्म रहने महिनावारीमा, घरेलु कपडाको प्याड, सेनिटेरी प्याड, टेम्पोन, मेन्स्रुअल, महिनावारीको कारणले हुने पीडा कम गर्न प्रयोग गरिने दबाइ पनि प्रयोग गरिन्छ। टेम्पोन र मेन्स्रुअल कप नयाँ सामाग्री हुन्।
महिनावारीमा प्रयोग हुने आवश्यक सामानको कम उपलब्धता, उपलब्ध भए पनि मुल्यवृद्धि र आवश्यक जानकारी तथा सुविधाको कम पहुँचको कारणले गर्दा समस्या पैदा भएको अवस्था छ। स्यानिटेरी प्याडको अभावमा कपडा प्रयोग गर्नुपर्ने बाध्यता छ। यसको सफाइको सही विधिको बारेमा ज्ञान नहुँदा संक्रमणको प्रबल सम्भावना रहन्छ। युनिसेफको अनुसार अस्वस्थ्यकर महिनावारीले गर्दा व्यक्तिमा शारीरिक, मानसिक स्वास्थ्यमा असर गर्दछ। उपयुक्त शिक्षाको कमीले बालविवाह, किशोरावस्थामै गर्भ रहने, कुपोषण, घरेलु हिंसाको शिकार हुने सम्भावना बढ्दछ।
गरिबीले गर्दा महिनावारीमा नकारात्मक असर गर्दछ। कम आर्थिक स्थिति भएका व्यक्तिले महिनावारी सम्बन्धी साधन प्रयोग गर्न कठिनाइ हुन्छ। कुनै पनि व्यक्तिले आफ्नो आर्थिक अवस्थाको कारण जीवनमा आइपर्ने अवसर गुमाउनु एकदमै दयनिय अवस्था हो। यसले महिनावारी हुने व्यक्तिलाई, अझ भन्नै पर्दा समाजलाई पार्ने असरलाई हेरेर यसको समाधान तिर ध्यान दिन जरुरी देखिन्छ।
सफा पानी र साबुनको अभाव, सुरक्षित शौचालय र प्रयोग गरिने सामाग्रीको सही व्यवस्थापनको अभावमा महिनावारी गाह्रो हुन्छ। आमा बन्नु एकदम खुसीको कुराका रुपमा लिइन्छ तर महिनावारीलाई फोहोरको रुपमा हेरिन्छ जबकि सामान्यता महिनावारी हुने महिलाको मात्र गर्भ रहन्छ। महिनावारीको छलफल गर्दा कन्डम जसरी प्याड पनि निशुल्क वितरण हुनुपर्दछ भन्ने बहस चलिरहन्छ। दुवै कुरा स्वास्थ्यसँग मात्र सम्बन्धित नभएर सामाजिक विषय पनि हो। महिनावारीलाई सामान्यीकरण गर्नको लागि व्यक्तिले आफूबाट पहल गर्नुपर्दछ। अरुले के भन्लान् भन्दा पनि यससँग सम्बन्धित सामाजिक नियमहरु के वास्तवमै जायज कुरा हो त भन्ने प्रश्न गर्न सक्नुपर्दछ। चलिआएको भनेर मान्दै जानु भनेको श्राद्धको बेलामा खोजेर भएपनि बिरालोलाई बाध्नु सरह हो!
छाउगोठमा बस्दा धेरै महिला दिदी बहिनीको अकालमा ज्यान गएको छ। जंगली जनावार तथा पशुसरहका मानिसहरुबाट असुरक्षित भएका छन्। महिनावारी कस्तो हुनपर्दछ र यसमा छाउगोठले कस्तो असर गर्दछ भनेर मानिसलाई बुझाउन सकियो भने, मानसिक छाउगोठ भत्काउन सकिन्छ। सुदुरपश्चिममा महिनावारी हुँदा गर्ने व्यवहारलाई छाउगोठ भन्ने हामी, हाम्रो घरमा सो बेलाको बार्ने चलनलाई संस्कारको संज्ञा दिन्छौँ। हामीले गर्दा चलिआएको परम्परा ,अनि उनीहरुले गरेको अन्धविश्वास त भन्न भएन नि!
विगतका वर्षदेखि महिनावारी स्वास्थ्य र यसको सही व्यवस्थापनको विषयमा पहल गरिन थालेको छ। सरकारी विद्यालयमा प्याडको व्यवस्था एक उदाहरण हो। आमरुपमा सफा पानीको महत्व छ अझ महिनावारीको बेला अझ बढी छ। सामाग्रीको उचित पहुँच र प्रयोग गर्न मिल्ने हुनुपर्दछ। यस सम्बन्धी सही जानकारी दिनुका साथै सम्मानित महिनावारीको लागि हामी सबैको सहयोग अपरिहार्य छ। उचित व्यवस्था नहुँदा, पात, पत्रपत्रिका जस्ता सामाग्री जसको प्रयोग गर्दा शरीरबाट निस्केको रगतको व्यव्स्थापन गरेको जस्तो त हुन्छ तर यसको कारण शरीरमा विभिन्न रोगले जरा गाड्ने मौका पाएको हुन्छ।
यसरी हेर्दा, यो आर्थिक समस्या मात्रै जस्तो लाग्छ तर यो सामाजिक तथा राजनीतिक समस्या पनि हो। प्याडको कठिन पहुँचले गर्दा महिनावारीको बेलामा घरमा बस्न बाध्य हुँदा उनीहरु शैक्षिक तथा आर्थिक अवसरबाट वञ्चित हुन्छन्। यस अवस्थाले गर्दा उनीहरु शारीरिक शोषणको शिकार बन्न सक्छन्। महिनावारी सहज गराउन प्याडमा कर माफि हुनपर्दछ भनेर केही समयदेखि अभियन्ताहरुले सरकारलाई दबाब दिइरहेका छन्।
महिनावारीलाई लाजको विषय बनाउनु हुँदैन। हामीले ‘छुई भएको, ‘पर सरेको, ‘नछुने भएको भनेर महिनावारीलाई सम्बोधन गर्दछौँ। यसले महिनावारी भनेको अशुद्धका रुपमा बुझाँउछ। सही सम्बोधनले सामान्यीकरण गर्न सजिलो हुन्छ। अशुद्ध, फोहोरी भनेर भान्सामा जान रोक लगाइन्छ, धार्मिक पूजा, चाडपर्वमा सामेल हुनबाट वञ्चित गराइन्छ। प्याड किन्दा रक्सी पसलको ग्राहकको जस्तै पत्रिकाले बेरेर, प्लाष्टिकमा राखेर दिइन्छ। यसले गर्दा महिनावारी लुकाउन पर्ने कुरा, अरुले थाहा पाउन नहुने भन्ने हाम्रो समाजको ‘भ्रम’लाई साथ दिन्छ। महिनावारीलाई विद्यालय पाठ्यक्रममा समावेश गरिएको छ तर ज्ञानभन्दा परीक्षामा अंक बढाउनलाई मात्र! कतिपय विद्यालयमा त आफैँ पढ्नु भनेर झारा टार्ने काम गरिन्छ। इन्टरनेट, प्रविधिको जमाना भएपनि कति कुरा मान्छेको सिकाइ, बुझाइ, भोगाइबाट सिक्नु जीवन उपयोगी रहन्छ।
महिनावारीमा प्रयोग हुने प्याड, ट्याम्पोनलाई अझ पनि स्वास्थ्य सामाग्रीभन्दा पनि बिलासी सामानको जस्तै कर वृद्धि भइरहेको छ। महिनावारी आफैँमा एक असहज, डरलाग्दो भोगाइ हो। कपडामा रगत लागि हाल्छ कि, बसाइ, उठाइ मिलेन कि भन्ने सोच भन्ने आइरहन्छ। उपयुक्त सामाग्रीको अभावमा मानिस दुखी, तनावग्रस्त हुन्छ र असहज महसुस गर्दछन्। एउटै प्याड लामो समयसम्म प्रयोग गर्दा स्वास्थ्यमा असर गर्दछ।
तसर्थ, महिनावारीको गुणस्तरीय व्यवस्थापनले समाज तथा राष्ट्रलाई नै फाइदा हुन्छ। ‘पिरियड पोभर्टी‘ को अर्थ आर्थिक पहुँच मात्र होइन, यो भनेको आधारभुत कुरा पनि हो। सामाजिक रीति, परम्पराले गर्दा महिनावारीलाई सुरक्षित र मर्यादित बनाउन अप्ठेरो हुन्छ। आवश्यक शिक्षा र छलफलको अभावको कारणले गर्दा आफूले भोगिरहेको महिनावारी चाहे जति नै पिडादायी होस् सामान्य लाग्दछ।
मर्यादित, लैंगिक समानतामुलक र प्रजनन स्वास्थ्यको लागि महिनावारी सम्बन्धी सामाग्रीको पहुँच र यसको उपयोगिताको साथै यसको प्रयोग गर्न सुरक्षित र सफा ठाँउ आवश्यक पर्दछ। हाम्रो पितृसत्तात्मक समाजले कुनै पनि परिवर्तन ल्याउनको लागि पुरुषको सहभागिता, उनीहरुको भनाइले महत्व राख्दछ। विद्यालय तथा कार्यक्षेत्रमा रहेका पुरुष साथी, सहकर्मीहरुको व्यवहारले पनि महिनावारी भएकालाई प्रभाव पार्दछ। महिनावारीलाई मर्यादित र सुरक्षित बनाउनु भनेको जीवनलाई कौशलतापूर्वक जिउनु पनि हो।
- (भूसालले जनस्वास्थ्यमा स्नातक गरेकी छन्।)