मानव सभ्यता पछाडिको विज्ञानको महत्व आज विश्वले महसुस गरेको सत्य हो। युद्ध र शान्तिका बेला मानवको व्यक्तिगत तथा जातीय स्वभाव उसँग पूर्वतयारीमा सञ्चित भएको आकस्मिक तथा रक्षात्मक उर्जाले निर्वाह गर्ने गरेको भूमिका प्रथम र दोस्रो विश्वयुद्धको इतिहासले देखाउँछ। पूर्व विश्वयुद्धहरुको एक मानव सभ्यता बीचको आन्तरिक तथा अन्तरदेशीय समूहको अन्तरद्वन्द्व थियो भने वर्तमान महायुद्ध सम्पूर्ण मानव जातीको कोभिड–१९ ग्लोबल वार निम्त्याउने सार्सकोभ–२ भाइरस यसका भेरियन्ट जस्तै भविष्यमा आउने जैविक महामारीसँगको हो। बिगतका परम्परागत युद्धहरुमा मानब–मानबबीच प्रयोग गरिएका अस्त्रहरुमा विज्ञानकै देनको रुपमा भौतिक तथा रासायनिक अस्त्रहरु साथै नगन्य रुपमा केही जैविक हतियार समेत प्रयोग भएको पाइन्थ्यो।
कोभिड–१९ जैविक युद्ध अथवा जैविक प्रकोप जस्ता जोखिमविरुद्ध राष्ट्रिय स्तरको शून्य पूर्वतयारी तथा विकसित राष्ट्रहरुको पूर्वतयारीमा अधिक विश्वास तथा प्रमाणमा आधारित वैज्ञानिक सभ्यता र जीवनशैलीका आधारभूत सिद्धान्तको हेल्चेक्रयाईले आज हाम्रो ब्रह्माण्ड नै खतरामा पुगेको छ। साथै भौतिक रुपमा राष्ट्र जति नै शक्तिशाली भए पनि सम्पूर्ण विश्वको लागि हामी अस्त्रबिहिन भएर लुकेर बस्ने परिस्थितिको सिर्जना भएको छ। हाम्रो भाग्य हो कि हाम्रो समाज र भूगोलमा यो खतरा प्रस्फुटन नभई समयमै अन्य मुलुकबाट यसको पूर्व जानकारी आयो। तथापि सम्पूर्ण विश्व निरिह भएको बेला नत सुरक्षाको प्रत्याभूति नै थियो, नत परस्पर सहयोगको सम्भावना नै। सायद हाम्रो जीवनशैलीमा प्राकृतिक रुपमा केही आधारभूत विज्ञानको अभ्यास होला जसले गर्दा यो समयमा हामी केही हदसम्म सुरक्षित हुनसक्ने आधारहरु नभएका पनि हैनन्। वैज्ञानिक जीवनशैलीको अभ्यास वास्तविक ईश्वरीय उर्जा हो। जहाँ सबै वैकल्पिक शक्ति सुरक्षित तथा संरक्षित गर्नमा महत्वपूर्ण भूमिका निभाउन सक्छन। विज्ञान र आध्यात्मको समान संरक्षित वास्तविक सिद्धान्त हो ऊर्जा तथा आत्मा नत बनाउन सकिन्छन तन नष्ट गर्न नै सकिन्छ, मात्र यसको रुप परिबर्तन हुनसक्छ। तदअनुसार विज्ञानमा जीव रसायन शास्त्रका सिद्धान्तहरुको आधारमा जीवनशैली चलिरहन्छ भने जनस्वास्थ्य र चिकित्साशास्त्रका आधारभूत सिद्धान्तहरुको आधारमा मानव जीवनशैलीमा आउने जोखिम निवारण तथा नियन्त्रण गर्ने मौका मिल्दछ।
राज्यले वर्तमान परिपे्रक्षमा कार्यान्वयन गर्न सकेको रणनीति समयानुकुल प्रशंसनिय भए पनि वैज्ञानिक नभएको देखिन्छ। साथै हाम्रो राष्ट्रिय स्वास्थ्य सुरक्षामा सम्पूर्ण नागरिकको धैर्यताको मुख्य भूमिका देखियो। सम्पूर्ण देशबासीले गर्नुपर्ने आजको प्रश्न हो ःजसरी राष्ट्र र राष्ट्रियताको भौतिक तथा सामाजिक सुरक्षाको लागि रक्षा तथा गृह प्रशासन कटिवद्ध रुपमा सेवामा छ, के हाम्रो राष्ट्रिय स्वास्थ्य सुरक्षा समिति तथा कार्यसूची वर्तमान कोभिड–१९ तथा कोभिड–१९ भेरियन्ट जस्ता सम्भाबित खतरा तथा प्रकोपहरुकोविरुद्ध कतिको तयारी अवस्थामा स्थापित थियो? अथवा आगामी रणनीतिक योजना के बन्दैछ र के बन्नुपर्छ? हाम्रो जनस्वास्थ्य स्तरको पूर्वतयारी के थियो र के हुनुपथ्र्यो केही तयारी पक्कै पनि थियो, तर त्यसको अभ्यासको प्रतिफल समयमा आउन नसक्नुले हामीलाई धेरै पाठ सिकाएको छ। कोभिड–१९ तथा कोभिड–१९ का दुरगामी असरहरुसँगै यसबाट सिर्जना हुने सम्भावित खतराहरु अथवा यस्तै खालका नयाँ सम्भावित जोखिमहरुसँग लड्न विश्वभरका मुलुकहरुले केही पाठ सिक्दैछन। हामीले पनि सिक्नै पर्छ। समाज, मुलुक र राष्ट्रिय सुरक्षाको प्राथिमिकता मानव सुरक्षा हो भने मुलुकमा मानव सुरक्षाको प्राथिमिकता नागरिक स्वास्थ्य सुरक्षा हो। तसर्थ, यो बेला सम्पूर्ण देशवाशीले जीवनशैलीमा विज्ञानको आधारभूत सिद्धान्तलाई अंगाल्दै राष्ट्रिय जनस्वास्थ्यका मूल्य र मान्यतालाई अनुसरण गरी निश्चित रुपमा राष्ट्रिय स्वास्थ्य सुरक्षा सुनिश्चित हुन सक्छ। अहिले को संकट परास्त हुदैछ भन्ने आत्मविश्वास लिएर हामी अगाडी बढेका छौ।
तसर्थ, सामाजिक स्वास्थ्य संकटको घडीमा लड्न र कोभिड–१९ सँगै यसबाट सिर्जना हुने सम्भावित खतराहरु अथवा यस्तै खालका नयाँ सम्भावित जोखिमहरुसँग लड्न हाम्रो समाज तथा मुलुकहरुले निम्नानुसार सुझाव सहितका केही आधारभूत रणनीति बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो।
राष्ट्रिय स्वास्थ्य सुरक्षा एजेन्डाः
आधुनिक स्वास्थ्य तथा चिकित्सा विज्ञान विश्वव्यापीरुपमा स्तरीकृत स्वास्थ्य प्रणालीको सिद्धान्तकासाथ अग्रसर भइरहेको बेलामा कोभिड–१९ प्रकोपले विश्व स्वास्थ्य व्यवस्थामा ठूलो चोट पुर्याएको छ। स्तरीकृत स्वास्थ्य प्रणाली भन्नाले विशिष्टरुपको स्वास्थ्य प्रणाली, विशेष स्वास्थ्य तथा चिकित्सा सेवा बुझाउँछ। स्तरीकृत चिकित्साले विशिष्ट रुपमा बिरामीहरूको विशेष समूहहरूको लागि प्रभावकारी उपचारहरू पहिचान गर्न र विकास गर्न अनुमति दिन्छ र यसको विकास क्रमिक रुपमा मुलुकमा प्रयोगमा ल्याउनुपर्छ। तसर्थ, हाम्रो मुलुकमा समयमै नागरिक सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय स्वास्थ्य प्रणालीको विकास,स्वास्थ्य विज्ञान शिक्षाको विकाससँगै सम्भव हुनसक्छ र यसप्रति सम्बन्धित निकायहरुको ध्यान जान जरुरी देखिन्छ। यस संकटको घडीले हामीलाई सिकाएको यही हो कि स्वास्थ्य आपतकाल व्यवस्थापन राष्ट्रको स्वास्थ्य प्रणालीको विशाल पर्खालको रुपमा बिकसित गरिनुपर्ने मुख्य विषयहरूमध्ये एक हो। यसबाहेक वर्तमान व्यवस्थालाई परिमार्जन तथा बिकसित गरी स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया राष्ट्रिय स्वास्थ्य सुरक्षा एजेन्डा वा सम्बन्धित ऐनमार्फत निर्धारित हुनुपर्दछ। विश्वव्यापी रुपमा प्रयोग भए जस्तै हाम्रो मुलुकमा पनि एनएचएसएले बहु–क्षेत्रीय संलग्नतालका साथ राष्ट्रिय स्वास्थ्य सुरक्षा क्षमतामा अपर्याप्तताहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। स्वास्थ्य अथवा रक्षा मन्त्रालयले उपरोक्त एनएचएसएको नेतृत्व गर्न सक्छन। साथै नेतृत्वले विभिन्न क्षेत्रका साझेदारहरूसँग आवश्यक संलग्नताहरू प्रस्ताव गर्न सक्छ जस्तैः शिक्षा, रक्षा, सुरक्षा, अर्थ, वातावरण, कृषि, खाद्य, पशुस्वास्थ्य, विपत्ति व्यवस्थापन, सीमा नियन्त्रण, कानून प्रवर्तन, अनुसन्धान, प्रविधि, राष्ट्रिय÷अन्तर्राष्ट्रिय संगठनहरू, र निजी क्षेत्रहरू त्यसैले यस्ता उच्च स्वास्थ्य जोखिमविरुद्ध एनएचएसएको बहु–क्षेत्रीय सक्रिय कार्यदल गठन गरी कार्यान्वयन गर्ने यो सही समय पनि हो। यसले हाम्रो मुलुकमा संयुक्त राष्ट्र संघ, युएनडीपीले अघि सारेको मानव सुरक्षा एजेन्डालाई समेत सम्बोधन गर्नेछ। संयुक्त राष्ट्र संघका अनुसार मानव सुरक्षा भन्नाले बहुक्षेत्रीय, व्यक्ति–केन्द्रित, व्यापक, सन्दर्भ–विशिष्ट र रोकथाम उन्मुख दृष्टिकोणका माध्यमबाट सहयोगी, उत्तरदायी र दिगो उपायहरूको माध्यमबाट गरिने देशको सुरक्षालाई जनाईएको छ। यसले एक हाइब्रिड दृष्टिकोण प्रयोग गर्दछ जसले सुरक्षा र सशक्तीकरण ढाँचामार्फत यी तत्वहरूलाई एक साथ ल्याउँछ। सन १९९४ को युएनडीपी मानव विकास रिपोर्टको आधारमा मानव सुरक्षाको सम्भावित खतराहरूमा आर्थिक, खाद्य, स्वास्थ्य, पर्यावरण, व्यक्तिगत, समुदाय र राजनीतिक सुरक्षालाई मानिएको छ। जोखिम अथवा असुरक्षाहरूलाई सम्बोधन गर्दा मानव सुरक्षालाई जोखिमको रूपमा परस्पर सुदृढ पार्ने र दुई तरिकामा आपसमा जोडिएको छ। सर्वप्रथम, तिनीहरू एक डोमिनो प्रभावमा एक अर्कासँग जोडिएका हुन्छन जसमा प्रत्येक खतराले एक अर्कामा फिड गर्दछ। त्यसैले हालसालैको संक्रामक रोगको प्रकोप र इबोला भाइरस, कोरोना भाइरस (कोभिड–१९) जस्ता महामारी सम्बन्धी सम्भावित प्रकोप जस्ता खतराहरूलाई रोक्नको लागि एनएचएसए सक्रिय पार्ने र सामान्य प्रचलित रोगहरू र अन्य प्राकृतिक प्रकोपहरू व्यवस्थापन गर्न यो उपयुक्त समय हो। तसर्थ, राष्ट्रिय महत्वको सार्वजनिक स्वास्थ्य घटनाहरूको पहिचान गर्न र प्रतिक्रिया दिन नागरिक स्वास्थ्य र राष्ट्रको क्षमता सुधार गरी एनएचएसएमार्फत आपतकालिन तयारी गरिनुपर्छ। जस अन्तर्गत नयाँ रोगहरूको प्रकोपप्रति तत्परता, केमिकल वा रेडियोलजिकल एजेन्ट, सार्वजनिक स्वास्थ्य जोखिम वा सामूहिक हताहतको घटना लगायत मानवीय जोखिम विश्व स्वास्थ्य संगठनमार्फत विश्वव्यापी रूपमा जानकारी दिन सहज हुनेछ। ग्लोबल हेल्थ सिक्यूरिटी एजेन्डा (जीएचएसए) सबै देशहरूमा स्वास्थ्य सुरक्षा क्षमताको निर्माण र दिगो बनाउन देशहरूको एक अन्तर्राष्ट्रिय फोरमको रूपमा स्थापित छ। हाल ६७ देशहरू जीएचएसए २०२४ फ्रेमवर्कमा संलग्न छन्।
जीएचएसए २०२४ ले बहु–क्षेत्रीय दृष्टिकोण, अन्तर्राष्ट्रिय मानव र पशुस्वास्थ्य मापदण्डको पालना गर्ने, विश्वव्यापी स्वास्थ्य सुरक्षामा अन्तर र प्राथमिकताहरू पत्ता लगाउने र सम्बन्धीत क्षेत्रहरूको लागि विश्वव्यापी स्वास्थ्य सुरक्षा प्रयासहरूको लागि दिगो वित्त पोषण अगाडि बढाउने लक्ष्य राखेको छ। यसैले, नेपालले जीएचएसए २०२४ मा सम्मिलित हुनुपर्दछ र नयाँ नीतिहरू, वैज्ञानिक प्रगतिहरू र प्राविधिक आविष्कारहरूले कसरी स्वास्थ्य सुरक्षालाई सुदृढ पार्न र देशव्यापी नागरिक जीवन सुरक्षा सुनिश्चित पार्न एनएचएसए स्थापना गर्न आवश्यक छ। राष्ट्रिय स्वास्थ्य शिक्षा र अनुसन्धान, प्रकोप र अन्य सार्वजनिक स्वास्थ्य संकट रोक्न र प्रतिक्रिया गर्न प्रणाली सुधार गर्नका लागि निर्देशित नीति तयार हुनुपर्दछ। हामीले नीतिगतरूपमा एनएचएसएको अभ्यास गर्नुपर्दछ र विभिन्न चुनौतीहरु सम्बोधन गर्ने अभ्यास गर्नु पर्दछ। सम्भावित संक्रामक रोगहरूको विश्वव्यापी वृद्धि, महामारी फ्लूको निरन्तर जोखिम, ठूला प्राकृतिक प्रकोपहरू र जैविक दुर्घटना वा जानाजानी खतराको सम्भावनासहितका एजेण्डामा विज्ञहरू र नीति निर्माताहरूसँग राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्य गरी सुरक्षा एजेन्डा अगाडि बढाउन आवश्यक छ।
वर्तमान अवस्थामा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले पूर्वयोजना र तयारीको अभाव हुँदाहुँदै कोभिड–१९ विरुद्ध गर्न सकेको रोकथाम तथा रोग नियन्त्रण सम्बन्धी कार्य प्रशंसनिय नै छ भने सरकारी नीति अझै पनि सुस्त भएर महामारीको प्रतिक्षारत रहेको देखिएको छ। कोभिड–१९ को वर्तमान अवस्थामा हामी सुरक्षित नै रह्याैँ, तर यसको उत्पादित स्वास्थ्यमा आउन सक्ने जटिलता र भावी खतरासँग लड्ने रणनीति र वैज्ञानिक प्रविधि विकास जरुरी छ। सिमित स्रोत साधनमा सिमित प्रयोगशाला विज्ञहरुको प्रयोग अझै अपूर्ण देखिन्छ। साथै उपचारको लागि सुरक्षा सामग्रीका साथ चिकित्साकर्मी र उपकरणको तयारी बलियो हुनु जरुरी छ र प्रादेशिक सरकार संगको समन्वयमा बढाउदै लानुपर्ने देखिन्छ।
कोभिड–१९को संक्रमण, राष्ट्रिय नीति, र भावी चुनौती जस्तै चीन, कोरिया र भारतमा देखिएको पुनः संक्रमण अथवा एसिम्टोमेटिक कोभिड–१९ जस्ता चुनौतीसँग लड्नुपर्दाका चुनौतीका लागि सैद्धन्तिक रुपमै हाम्रो स्वास्थ्य नीतिमा आमुल परिवर्तन र व्यवस्थित गर्दै लैजानुपर्ने छ। कोभिड–१९ जस्ता स्वास्थ्य प्रकोपहरुको विश्वब्यापी दिगो उन्मुलनको आजको दिनसम्म कुनै संकेत फेला परेको छैन, त्यसकारण राज्यले सहज तथा वैज्ञानिक रणनीति लिई अगाडी बढ्नु जरुरी देखिन्छ।
राष्ट्रिय चिकित्सा विश्वविद्यालयको आवश्यकता
प्रत्येक विकसित मुलुकको सामाजिक स्वास्थ्यको चिन्तन मनन गरी स्वास्थ्य सुरक्षाका योजनामा तथा विकासमा राष्ट्रिय चिकित्सा विश्वविद्दालयको प्राज्ञिक तथा वैज्ञानिक भूमिका रहेको हुन्छ। आधुनिक चिकित्सा पद्धतिको अनुसन्धान तथा विकासमा प्रत्यक्ष योगदान तथा आधुनिक स्वास्थ्य तथा चिकित्सा विधिहरुको अध्यन अध्यापन गरी विभिन्न विधामा उच्च शिक्षा प्रदानका साथै समय सापेक्ष दक्ष्य स्वास्थ्य कर्मीहरुको उत्पादन तथा विकासले हाम्रो समाजको स्वास्थ्य स्तरमा टेवा पुग्ने देखिन्छ। साथै समयानुकुल स्वास्थ्य बिपद व्यवस्थापनमा रणनैतिक रुपले प्रमाणमा आधारित पद्धतिको समयसापेक्ष सिघ्र विकास र जनस्वास्थ्यका योजना तथा प्रविधि निर्माणमा चिकित्सा विश्वविद्दालय र त्यसका अनुसन्धानकेन्द्रहरुको मुख्य भूमिका हुन्छ।
नेपालको तराई पहाड तथा हिमाली जडिबुटीहरुको अन्वेषण तथा औषधिजन्य पदार्थहरुको प्रवर्धन गरी अनुसन्धान, क्लिनिकल ट्रायल तथा औषधि उत्पादनमा नयाँ प्रविधिको विकासका लागि विभिन्न रोग अनुसन्धान तथा प्रविधि विकास केन्द्रहरु रहने गरी सिघ्र चिकित्सा विश्वविद्धालयको स्थापना हुन जरुरी छ। कोभिड जस्ता जैविक महामारीको आलो अनुभव सँगै स्थापना हुदै गरेको सुदुरपश्चिम कैलालीमा नेपाल सरकारको नव निर्मित मेडिकल कलेजको पुर्वाधार राष्ट्रिय चिकित्सा विश्वविद्धालयको लागि नै सुहाउदो देखिन्छ। नयाँ संस्थाहरुमा राष्ट्रिय लगानी गर्न नसकिने अवस्थामा सरकारले समयसापेक्ष उक्त पुर्वाधारलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा स्थापना गरी परम्परागत मेडिकल कलेज तथा प्रतिष्ठान भन्दा फरक ढंगले उत्कृष्ट चिकित्सा शास्त्रको केन्द्र बिन्दुको रुपमा विकसित गर्दै प्राज्ञिक तथा विभिन्न विधाका अनुशन्धान केन्द्रहरुको विकासत गर्ने रणनीतिका साथ स्वास्थ्य शिक्षा तथा सेवा क्षेत्रमा नयाँ आयाम तथा आविस्कार सँगै दुर्लव नेपाली जडिबुटी प्रसोधन तथा नया पद्धतिको विकासबाट औष्धि उत्पादन र विभिन्न रोग अनुसन्धानको थालनी गर्न सकिन्छ।
प्रयोगशाला चिकित्सा विज्ञानको व्यवस्थापन, सदुपयोग र विकासः
प्रयोगशाला चिकित्सा बिज्ञान तथा प्रविधि आधुनिक चिकित्सा प्रणालीमा जनस्वास्थ्य सुरक्षाको मेरुदण्ड हो। प्रयोगशाला चिकित्सा वैज्ञानिक भन्नाले विश्वब्यापी रुपमा मेडिकल टेक्नोलोजिस्टदेखि प्याथोलोजिस्ट, क्लिनिकल माइक्रोबयोलोजिस्ट, क्लिनिकल बायोकेमिस्ट तथा मलिक्युलर बाईलोजिस्टलाई जनाउँछ भने सहायक वैज्ञानिक भूमिकामा ल्याब टेक्निसियन तथा ल्याब असिस्टेन्टको त्यति नै महत्वपूर्ण भूमिका हुन्छ। प्रयोगशाला चिकित्सा वैज्ञानिकहरुको चिकित्सा सेवामा रोग रोकथाम, नियन्त्रण तथा चिकित्सा अनुसन्धानमा महत्वपूर्ण भूमिका हुन्छ। रोग सम्बन्धी निदानात्मक प्रमाण, प्रत्यक्ष निगरानीमा उपचारका प्रमाणका साथै गुप्त रुपमा लुकेका रोगहरुको समयमै पहिचान गर्ने र वैज्ञानिक प्रमाण जुटाई उपचारलाई दिशा निर्देश गर्नु आधुनिक प्रयोगशाला चिकित्सा विज्ञानको मुख्य भूमिका हो।
वर्तमान संकटको घडीमा हेर्दा सरकारी स्तरमा प्रयोगशाला चिकित्सा वैज्ञानिकहरुको संलग्नता सारै न्यून देखिए पनि सरकारले सरकारी तथा गैर सरकारी संस्थाहरुबाट सम्पूर्ण विज्ञहरुको योग्यता र आवश्यक योगदानको सही पहिचान गरेको छ र आवश्यकता अनुसार परिचालन गरिएको छ। तर कोभिड–१९ टेस्टमा विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुरुप अपनाउनु पर्ने सुरक्षा, टेस्टको गुणस्तर निर्धारण गर्न तथा सेवाको गुणस्तर बढाउन संलग्न प्रयोगशाला चिकित्सा वैज्ञानिकहरुलाई समयमै सुरक्षा तालिम र मलिकुलर डाईग्नोसिसको तालिम दिएर पठाउने र तयारी अवस्थामा राख्नुपर्ने चुनौती देखियो। उक्त तालिम व्यक्तिगत प्रशिक्षण तथा अनलाइन प्रशिक्षण, दुवै मोडेलमा गर्न सकिन्छ। साथै उक्त तालिम प्रदान गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ्य व्यवसायी परिसद, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मुख्य भूमिका हुनसक्छ।
प्रयोगशाला चिकित्सा विज्ञानको भूमिका वर्तमान परिस्थितिमा त जरुरी देखियो नै, आगामी दिनहरुमा यसको अझै बढी जिम्मेवारी बढ्दै जानेछ। चाहे व्यक्ति अथवा समाजमा रोगको पहिचान होस् या उपचारको निगरानीमा होस्। अथवा रोगबाट उत्पन्न हुने शारीरिक तथा सामाजिक जटिलताको रोकथाम तथा अनुसन्धान होस्, वैज्ञानिक आधारहरुको खोजी तथा समाधानका उपायहरु सबै प्रयोगशाला पद्धतीद्वारा नै सम्भव हुनेछन्। तसर्थ, स्वास्थ्य मन्त्रालयले वर्तमान व्यवस्थालाई परिमार्जन गरी यथासिघ्र प्रयोगशाला चिकित्सा विभाग स्थापना गरी मुलुकको प्रयोगशाला चिकित्सा सेवालाई प्रभाबकारी बनाउन सकिन्छ। मुख्य रुपमा उक्त विभाग अन्तर्गत देश भरिका राष्ट्रिय तथा प्रादेशिक, सरकारी तथा गैर सरकारी प्रयोगशालाहरुको नियमन, प्रत्यायन, नियन्त्रण, गुणस्तर मुल्यांकन, अनुगमन, तालिम, स्तर निर्धारण तथा व्यवस्थापनको कार्ययोजना लागुगर्न सकिने छ। साथै प्रयोगशाला चिकित्सा विभागले प्रयोगशाला जाँचका लागि प्रयोग गरिने हजारौ उपकरण, रसायन, तथा सामग्री आपूर्तिको प्रत्यायन तथा गुणस्तर मापन गरी व्यवस्थित गर्न जरुरी देखिन्छ।
राष्ट्रिय स्तरमा आधारभूत चिकित्सा सामग्रीको उत्पादन र विकासमा सरकारी सहजीकरणकोे आवश्यकता:
कोभिड–१९को महामारी हाम्रो राष्ट्र र राष्ट्रियताले सिक्नुपर्ने अर्को जरुरी पाठ हो आत्मनिर्भरता। कोभिड–१९ महामारीबाट जोगिन, यसको जाँच गर्न प्रयोग हुने प्रयोगशाला सामग्री किन्न समेत नपाउने अवस्था सिर्जना भएको र आगामी दिनमा कुन संकट हुन्छ भन्ने अन्दाज गर्न नसकिने अवस्थालाई ध्यानमा राखी हामीले परनिर्भरतालाई त्यागी सके जतिको आत्मानिर्भरतालाई अपनाउनु पर्ने देखिन्छ।
सन्दर्भ, आधारभूत स्वास्थ्य सामग्रीको आपतकालीन अभावमा पनि हामी परनिर्भर भएर बस्नु परेको पिडालाई सम्झिँदा हाम्रा पूर्वनीतिहरु राष्ट्र स्वास्थ्य सुरक्षाको हितमा देखिदैनन्। स्वास्थ्य सेवामा अत्यावश्यक सामग्रीहरु जस्तै सिरिन्ज, कटन, ग्लोब, मास्क स्वदेशी भन्दा आयात गर्दा सस्तो पर्ने नीतिको अन्त हुनु जरुरी छ। यस्ता उत्पादनहरुलाई करको दायाराबाट खुकुलो पारी विशेष अनुदानको व्यवस्थाका साथ बिस्तारै विकसित गर्दै लैजान जरुरी देखिन्छ। यसले गर्दा हाम्रा राष्ट्रिय उत्पादनहरु उत्कृष्ट हुँदै जाने छन्। कुनै दिन हामी पनि उत्पादनहरु निर्यात गर्न सक्षमत हुनेछौ भने आत्मनिर्भर भई आफ्नो नागरिक स्वास्थ्यको सुरक्षा गर्न सफल हुनेछाैँ। तसर्थ, बायोमेडिकल क्षेत्रमा देशको तथा विदेशमा बसेका नेपाली जनशक्ति पर्याप्त देखिन्छ। साथै, नेपालको प्राकृतिक श्रोत र दक्ष नागरिकहरुको संलग्नतामा रोग अनुसन्धान तथा औषधि अनुसन्धान र उत्पादन क्षेत्रको लगानीमा बढावा दिनुपर्ने देखिन्छ।
राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्रको यथासिघ्र स्थापनाको आवश्यकताः
वर्तमान अवस्था कोभिड–१९को महामारी संगै स्वास्थ्य तथा चिकित्सा शास्त्रसम्बन्धी अध्ययन अनुसन्धानको महत्वलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्रको यथासिघ्र आवश्यकताको अनुभूति भएको छ। कोभिड–१९ लगायत कोरोना संक्रमणबाट स्वास्थ्यमा आउने विभिन्न डरलाग्दा सम्भावित असर तथा अन्य मौसमी सरुवा रोगहरु तथा नसर्ने रोगसम्बन्धी सिघ्र अध्ययन अनुसन्धानका लागि राष्ट्रियस्तरमा अनुसन्धान केन्द्रहरु प्रत्येक राष्ट्रमा स्थापित भएको पाइन्छ। हाम्रो मुलुकमा पनि यो अति आवश्यक छ। राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्रको मूल उद्देश्य विभिन्न रोगहरुमा तथा स्वास्थ्य संकट अनुसन्धान गरी उक्त रोगको रोकथाम तथा उपचार सम्बन्धी नयाँ आयाम ल्याउन सक्नेछ। साथै चिकित्साका नयाँ सरल प्रणालीहरु पत्ता लगाउने र स्वदेशमै प्रयोग गर्न सक्नेछ। यसले नेपालमा पाइने प्राकृतिक श्रोतहरु प्रयोग गरी विभिन्न रोगविरुद्ध औषधि अनुसन्धान गरी उत्पादनलाई प्रोत्साहन समेत गर्न सक्नेछ। साथै नयाँ मोडेलको अस्पतालका पूर्वाधारहरु, रोग रोकथामका जनस्वास्थ्य नीति, चिकित्सा सम्बन्धी उपकरण तथा चिकित्सा प्रयोगशाला सम्बन्धी नयाँ प्रविधिमा निरन्तर अध्ययन अनुसन्धान गर्न सक्ने छ।
उक्त अध्ययन अनुसन्धानका निम्ति देशमा विज्ञहरु पर्याप्त हुनेछन् भने विदेशमा रहेका विज्ञहरुलाई समेत यसले आकर्षण गर्न सक्ने छ। साथै राष्ट्रिय अनुसन्धान केन्द्रहरु तथा विकसित देशहरुका तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरुसँग समन्न्वय गरी प्रविधि स्थानान्तरण गर्दै चिकित्सा क्षेत्रमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ। उक्त उद्देश्य प्राप्तिका लागि नेपालका चिकित्सा विज्ञान सम्बन्धी विज्ञहरु जस्तैः जनस्वास्थ्य विज्ञ, चिकित्सा प्रयोगशाला विज्ञ, बायोमेडिकल इन्जिनियर, चिकित्सक, बायोकेमिस्ट, माइक्रोबायोलोजिस्ट, बायोटेक्नोलोजिस्ट, फर्मासीस्ट, रेडियोलोजिस्ट साथै भौतिकशास्त्री, गणितशास्त्री, रसायनशास्त्री, जीवशास्त्री, मेकानिकल तथा इलेक्ट्रोनिक इन्जिनियर, इकोनोमिस्ट र व्यापारशास्त्रीहरुको महत्वपूर्ण संयुक्त योगदान जरुरी छ।
चिकित्सा विकासमा फ्युजन प्रविधि आफ्नै चिकित्सा सेवा र अनुसन्धानको आवश्यकताः
विश्वब्यापी रुपमा आधुनिक चिकित्सा विज्ञानको सफलता प्रत्यक्ष रुपमा प्रयोगशाला विज्ञानसँग जोडिएको चिकित्सा क्षेत्रमा प्रदान गरिने हरेक नोवेल पुरस्कारले प्रमाणित गरिरहेको हुन्छ। साथै आधुनिक चिकित्सा सेवा र चिकित्सा विज्ञानको विकास फ्युजन प्रविधिमा आधारित हुन्छ। यहाँ फ्युजन प्रविधि भन्नले विभिन्न प्रविधिहरु जसको सामूहिक प्रयासबाट चिकित्सा विज्ञानका अनुसन्धान र आविस्कारहरु सम्भव हुन सक्छन्। जस्तैः कोभिड–१९ टेस्ट गर्न प्रयोग गरिने पीसीआर उपकरण बनाउन र यसको प्रयोग गर्न आवश्यक प्राविधिज्ञहरुमा चिकित्सा प्रयोगशाला वैज्ञानिक, बायोमेडिकल इन्जिनियर, चिकित्सक, बायोकेमिस्ट, माइक्रोबायोलोजिस्ट, बायोटेक्नोलोजिस्ट, साथै भौतिकशास्त्री, गणितशास्त्री, रसायनशास्त्री, जीवशास्त्री, मेकानिकल तथा इलेक्ट्रोनिक इन्जिनियर, इकोनोमिस्ट र व्यापारशास्त्रीहरुको महत्वपूर्ण योगदान रहेको हुन्छ। तसर्थ, हाम्रो मुलुकमा पनि नीतिगत रुपमा चिकित्सा सेवाको अभ्यास तथा अनुसन्धानमा फ्युजन प्रविधिको सिद्दान्तको प्रयोग हुनु जरुरी देखिन्छ। जसको आधारमा चिकित्सा सेवा विकास सम्भब हुन सक्छ।
आजको कोभिड–१९ को सम्भावित संक्रमण र महामारीबाट बच्ने अहिलेको उपाय भनेकै सामाजिक दुरी कायम गर्ने, सरसफाईमा विशेष ध्यान दिने र स्वास्थ्य मन्त्रालयद्वारा निर्देशित कोभिड–१९ विरुद्धको नीति अनुसरण गर्न जरुरी छ। कोभिड–१९ जस्ता भावी चुनौतीहरुको लागि राष्ट्रिय सुरक्षा नीति पनि जरुरी छ।
(लेखक मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौंका सह-प्राध्यापक हुन्।)