केही समय अगाडिको कुरो हो। हाम्रो युनिटको चिकित्सकिय टिम कान्ति बाल अस्पतालको ४ नम्बर ओपिडीमा बिरामी हेर्दै ब्यस्त थियौ। करिब ४५० जना बच्चाहरुको चेकजाँच गरेपश्चात सानो शिशुलाई लुगामा न्यानो गरेर एक वृद्ध हजुरआमा र सँगै छेउमा भर्खरै सुत्केरी भएकी देखिने आमाको पालो आयो। बिरामीको आफन्तलाई मिठो मुस्कानसहितको सक्दो सरल भाषामा सल्लाह र उपचार दिँदैगर्दा मेरो शरीर पनि गलिसकेको थियो। के कति समस्या भएर सानो मान्छेलाई लिएर आउनु भयो भनी प्रश्न गर्दा 'हेर्नुन डा बाबु, मेरो नाति अहिले १५ दिनको भईसक्यो, शरीर पुरै पहेँलो देखिन्छ। यसको आमालाई एकदम सादा भात र दाल मात्र दिएकी छु, माछा मासु तरकारी, बेसार लगायत सबै कुरा बारेको छु तर पनि निको भएन त्यही भएर कान्ति बालमा लिएर गए निको हुन्छ भन्ने सुनेर यता आएका हउ।' यती भनी सकेपछि मैले सक्दो सबिस्तारमा नवजात शिशुलाई चेकजाँच गरी शिशुमा देखिने जन्डिसका बारेमा केही कुराहरु बुझाउन र सिकाउन कोसीस गरेँ। तर त्यो भिडमा जती राम्रोसँग सम्झाउन खोजे पनि त्यो माथि ओपिडी सकिनै लागेको समयमा थकित शरीरले सबै कुरा भन्न नस्कदो रहेछ। त्यही भएर आजको यस अंकमा नवजात शिशुमा देखिने जन्डिस सम्बन्धी केही यथार्थ जानकारी र भ्रम चिर्नलाई सहयोग गर्ने प्रयास गर्नेछु।
नवजात शिशुमा देखिने जन्डिस
जन्डिस भनेको रगतमा हुने बिलिरुबिन नामक तत्व सामान्य भन्दा बढी भएर शरीर पहेँलो देखिने अवस्था हो। समय पुगी अथवा ३७ हफ्ता भन्दा बढी समय पुगेर जन्मिएका लगभग ६० प्रतिशत र त्यसभन्दा अघि (समयभन्दा अघि) जन्मिएका ८० प्रतिशत नवजात शिशुहरुमा केही न केही मात्रामा जन्डिस देखिने गर्छ। अर्थात जन्मिएका १० जना शिशुमध्ये ६ देखि आठ जनामा जन्डिस हुने गरेको पाइन्छ। सुरुमा आँखा हुँदै अनुहार, छाती, पेट अनि हात, खुट्टामा पहेँलो देखिन्छ जसले बिलिरुबिनको बढ्दो मात्रालाइ संकेत गर्छ। शरीरमा हुने रातो रक्तकोष (RBCs) मा हेमोग्लोबिन नामक तत्व हुन्छ। यी राता रक्तकोषहरू नयाँ बन्ने क्रममा टुक्रिँदै जान्छन्। र, यो चक्र निरन्तर भइरहेको हुन्छ। रातो रक्तकोष टुक्रिँदै जाँदा रगतमा बिलिरुबिन बन्छ। बिलिरुबिन घोलीय बन्न कलेजोमा जान्छ। घोलीय बनेपछि पित्तथैलीबाट आन्द्रा र त्यसपछि दिसा पिसाबको माध्यमबाट शरीरबाट बाहिर निष्कासन हुन्छ।
धेरैजसो नवजात शिशुमा देखिने पहेँलोपन सामान्य हुन्छ र उपचार चाहिँदैन। तर करिब ५ देखि १० प्रतिशत नवजात शिशुमा जन्डिस असामान्य हुन्छ र उपचार चाहिन्छ।
कारणहरु:
फिजियोलोजिकल जन्डिस
• शिशु जन्मेको २४ देखि ७२ घण्टामा देखिन्छ।
• यो शिशुको कलेजो पूर्ण रुपमा परिपक्व नभएका कारण देखिन्छ।
• यो ३-५ दिनमा उच्चतम विन्दुमा पुग्छ र त्यसपछि क्रमशः घट्दै जान्छ।
शिशुकोमा राता रक्तकोश (RBCs) को मात्रा बढी हुने र वयस्कको भन्दा आयु छोटो हुने हुँदा राता रक्तकोश टुक्रा भईराख्ने तर कलिलो उमेर हुने हुँदा राम्रोसँग राता रक्तकोश बन्न नसक्ने, टुक्रा भई बनेको बिलिरुबिन लाई बोक्ने प्रोटिन(ligandin)को कमी भएर, UGT1A1 भन्ने इन्जाइमले कम काम गर्दा पनि बनेको बिलिरुबिनलाई सफा गर्न गाह्रो हुन्छ।
प्याथोलोजिकल जन्डिस
• शिशु जन्मेको २४ घण्टाभित्र देखिन्छ,
• जुनसुकै लेबल भएता पनि तर फोटोथेरापीमा राखी उपचार गर्ने दायरामा पर्यो भने,
• समय पुगी जन्मेको बच्चामा १४ दिन र समय नपुगी जन्मेको बच्चामा २१ दिन सम्म पनि जन्डिस भईराखेमा,
• बच्चा सुस्त भएमा, दुध कम खाएमा,तापक्रम तल माथि भइराखेमा,वा जन्डिस छिटो छिटो गरी बढेमा जस्ता सन्क्रमणका लक्षण देखिएमा,
• पिसाब गाढा पहेलो रङको आएमा, दिसा बेला बेला मा सेतो खरानी रङको जस्तो आएमा
जन्डिस हुने बढी जोखिम रहने अवस्था
• समय पूरा हुनुभन्दा अगाडि(३७ हप्ता अघि) जन्मिएका,
• राम्रोसँग स्तनपान नगरेका,
• आमाको रगत समूह नेगेटिभ र बच्चाको पोजेटिभ भएमा ,
• आमा ओ पोजेटिभ भई बच्चा ए, बी वा एबी भएमा,
• ग्लूकोज ६ फोस्फेट डिहाइड्रोजेनस (जि६पिडी) को कमीका कारण,
• आमामा थाइराइडको समस्या भई बच्चामा पनि भएमा,
• आमाको दूधको सेवनका कारण,
• बच्चालाई भ्रुण अवस्थामा पाठेघरभित्रै वा जन्मीसकेपछि संक्रमण भएमा,
• दम्पत्तिको यसअघिको शिशुमा (दोस्रो सन्तान भएको हकमा) जन्डिस भएमा,
• जन्मको बेला बच्चाका टाउकोमा, अन्य कतै चोटका कारण रगत जमेमा,
• मधुमेह भएका आमाको बच्चाहरुमा रगत बाख्लो भएमा,
• पिसाबको सन्क्रमण भएमा आदि।
यसबाहेक कलेजोमा हेपाटाइटिस वा अन्य कुनै समस्या, संक्रमण भएमा (हेपाटिक) र पित्तथैलीबाट आन्द्रामा आउने क्रममा बाधा परेमा पनि बच्चालाई जन्डिस (अब्स्ट्रक्टिब जन्डिस) हुनसक्छ। बिलिएरी अट्रेजिया’ मा पित्तथैलीबाट आन्द्रामा जाने एउटा नलीको विकास नभएपछि रगतमा बिलिरुबिन मात्रा बढन गई जन्डिस हुन्छ।
जन्डिसले ल्याउने जटिलता
मस्तिष्कमा असर गरी बच्चा सुस्त हुने, दूध नखाने, धेरै रुने, कराउने, शरीर अरठ्ठो बनाउनु,सास रोकिने, झट्का हान्ने(काम्ने) जस्ता लक्षण देखिने गर्दछ। पछी गएर कान नसुन्ने, आँखा नदेख्ने, सेरेब्रल पाल्सी हुने ,मस्तिष्कको वृद्धि विकास उचित रुपमा नहुन सक्छ।
उपचार
नवजात शिशुमा देखिने पहेँलोपन हेरेर मात्र उपचारको आवश्यकता पर्छ या पर्दैन भन्न सकिदैन। त्यसैले नजिकै पायक पर्ने स्वास्थ संस्थामा गई देखाउनु पर्दछ। कतिपय अवस्थामा बिहानको घाममा शिशुको आँखा र पिसाब फेर्ने भाग छोपी केही समयलाई केही दिन राखेर पनि हेर्न सकिन्छ तर त्यसो गर्दै गर्दा कति परिवारले अनुहार नै डढाएर शिशु अस्पताल ल्याउनुहुन्छ र कतिपय अवस्थामा घाममा राख्दै गर्दा जन्डिस निको नभई अस्पतालमा ल्याउन ढिलो भइ सकेको हुन्छ। त्यसैगरी आवश्यक्ता अनुसार बच्चालाई विशेष प्रकारको नीलो बत्ती (फोटोथेरापी) मा राख्नुपर्छ। साथै धेरै नै बढी भएमा बच्चाको रगत फेर्ने पनि गर्नु पर्दछ। केही खोज अनुसन्धानले इम्युनोग्लोबुलिन भन्ने औषधिलाई बैकल्पिक रुपमा पनि प्रयोग गर्न सुझाएका छन्। बिलिएरी अट्रेजियामा ६० देखि ९० दिनभित्र शल्यक्रिया गरेकोमा बढी सफलता देखिएको छ।
अघि माथि भने जस्तै करिब ५-१० प्रतिशतलाई मात्रै उपचारको आवश्यकता पर्दछ भने ९०-९५ प्रतिशतलाई चिकित्सकको सल्लाह बमोजिम केही उपचार गर्नु पर्दैन र केही हप्तापछि आँफै घटेर जान्छ। त्यस्तै माथि उल्लेखित कुराहरु बाट शरीर पहेँलो किन देखिन्छ र जन्डिस हुने कारणहरु पनि थाहा भयो। यहाँ लेखेको कुराहरु अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले भर्खरै प्रकाशित गरेको क्लिनिकल प्रक्टिस गाईड्लाइन्स २०२२, क्लोहर्टी एन्ड स्टार्क्स म्यानुअल अफ नियोन्याटल केयर २०२१, तथा अन्य विभिन्न खोज अनुसन्धान र अहिलेसम्म उपचार गरिएका हजारौं बच्चाहरुबाट तथा आदर्णीय गुरुबर्ग र चिकित्सक साथीहरुबाट सिकेको आधारमा लेखिएको छ।
यती कुरा भन्दै गर्दा पनि हाम्रो समाजमा भ्रम तथा अन्धबिश्वासले जरो नै गाडेर बसेको छ। आमाले नुन, बेसार, माछा, मासु, दूध, दहि र फलफुल भएको खाना खाँदा बच्चालाई जन्डिस हुने मान्यता छ र बार्न लगाइन्छ। जसको चिकित्सकिय पेशामा कुनै ठोस प्रमाण छैन। झन स्तनपान गराइरहेका आमाले प्रशस्त दूध आउनका लागि अन्यको तुलनामा छ सय देखी आठ सय क्यालोरी धेरै खानुपर्ने हुन्छ। मुख बार्दा आमामा पोषणको कमी भई दूध उत्पादनमा पनि कमी आउँछ। जसकारण बच्चालाई दूध कम भई बच्चामा थप समस्या निम्तिन सक्छ। यस्तो बेलामा सुत्केरी आमालाई थप पोशिलो खाना नदिएर सादा भात दाल मात्रै दिएर हामीहरुले कसैले माफ दिनै नमिल्ने ठुलो पाप पो गर्दै छैनोँ?
यसबाहेक बच्चालाई पहेँलो कपडामा राख्दा बच्चाको जन्डिस बढ्छ भन्ने भम्र रहेको पाइन्छ। यो कुरा एकदम गलत हो। यो कुनै पनि कारणबाट सम्बन्धित छैन। साथै जन्डिस झारेर, फुकेर निको हुने समस्या होइन। सामान्य कारणले भएको जन्डिस (१० जनामा लगभग ९ जना ) धामीझाँक्रीकोमा नगई आफैँ पनि निको भएर जान्छ। त्यसैले एस्तो स्वास्थ्य समस्याको भ्रम चिरेर स्वास्थकर्मीले हरेक नवजात शिशुको आमाबुवालाई प्रर्याप्त जानकारी दिएर समाजमा चेतना फैलाउनु कर्तब्य पनि हो।
बिरामी चेकजाँच गर्ने क्रममा धेरै कुरा सिकियो र सिकिदैँ छ। तर स्वास्थमा प्रगती गर्न अझै ठुलो छलाङ मार्नु पर्ने छ। धेरै कुरामा हामी अझै पनि ढुङे युगमै छौँ जस्तो लागेर आउँछ। बिकसित देशहरु कहाँ पुगि सके हामी भने जहाँको त्यहीँ छौँ। समाजमा पुरानो सोच अनी रुढिबादीको बिगबिगी छ। देशको संघीय राजधानीमा बस्ने पढेलेखेका केही बुद्धीजिबी बर्गको हालत त एस्तो छ। उपत्यका बाहिर त झन सोची नसक्नु छ। त्यसैलै सजिलै गर्न सक्ने र हुने परिबर्तन गर्न हामी किन पछि छौँ? यस्को पछाडी कस्को हात छ? अब देशले शिक्षित र परिवर्तन ल्याउन सक्ने नीति निर्मातालाई यो आउने मङ्सिर ४ मा स्वागत गर्न तयार छ त?
(लेखक कान्ति बाल अस्पतालमा कार्यरत बाल राेग विशेषज्ञ हुन्।)