वीर अस्पतालको युरोलोजी विभाग भनेको विशिष्टकृत सेवा दिने विभाग हो। जनरल सर्जरीको विशिष्टकृत शाखा हो। काठमाडौं बाहिरका प्राय: अस्पतालमा युरोलोजी सेवा जनरल सर्जरी विभागले नै दिन्छ। तर वीर अस्पतालमा सर्जरीको पनि डिभिजनहरु छन्। विभागहरु नै छुट्टाछुट्टै छन्। जस्तो: न्यूरो सर्जरी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, प्लाष्टिक सर्जरी, कार्डियोथोरासिक सर्जरी। तीमध्येको एउटा हो, युरोलोजी विभाग।
युरोलोजी विभागमा क्लिनिकल सेवा र न्याम्सको पठनपाठन सेवा गरी दुईथरीको सेवा हुन्छ। पठनपाठनमा युरोलोजीको एमसीएचसम्मको पढाइ हुन्छ।
क्लिनिकल सेवामा पनि ओपिडी र अप्रेसन दुईथरी सेवा छन्। ओपिडी हप्तामा तीन दिन हुन्छ, आइतबार, मंगलबार र शुक्रबार। अप्रेसन दुईथरी हुन्छ। जनरल युरोलोजी हप्तामा तीन पटक हुन्छ, सोमबार, बुधबार र बिहीबार। मंगलबार मिर्गौला प्रत्यारोपण गर्छौं।
अहिले बिरामीबाट गुनासो आउने भनेको अप्रेसनका लागि एक वर्षपछिको मिति दिइयो भन्ने छ। यो कुरा सही हो। एक वर्षपछिको मिति राखेर अप्रेसनको समय दिइरहेका छौं।
सबैभन्दा पछिल्लो मिति हेर्ने हो भने २०८० को कात्तिकसम्मको समय दिएका छौं। आज मंगलबार आएको बिरामीले अप्रेसनका लागि २०८० साल कात्तिकको समय पाएको छ।
तर, आज आएका सबै बिरामीले त्यही मितिको समय पाउने होइन। युरोलोजीको सबै समस्या हाम्रो युरोलोजी विभागले हेर्छ। त्यसमाथि वीर अस्पताल भनेको अन्यत्रबाट रेफर भएर आउने केन्द्रीय अस्पताल हो। नेपालभरका जिल्ला अस्पतालले बिरामी रेफर गर्ने ठाउँ यही अस्पताल हो। अर्को सरकारी स्वास्थ्य बिमा सेवा पनि यही अस्पतालमा छ। बिरामीहरु आफैं वीर अस्पताल नै रोजेर आउने पनि हुन्छन्।
हाम्रो रेकर्ड अनुसार युरोलोजीमा मात्र दैनिक १५० देखि २०० जना बिरामी ओपिडीमा आउँछन्। हप्तामा तीन दिन ओपिडी सेवा सञ्चालन हुँदा हप्तामा ४५० देखि ६०० बिरामी हेर्छौं। यो भनेको युरोलोजीकै टिकट काटेर आएका र अन्य विभागले हाम्रोमा हेर्नुपर्ने भनेर पठाएको बिरामीसहित हो। यस्तै एक दिनमा १५ देखि २० जनाको अप्रेसन गर्छौं।
जनरल युरोलोजीको अप्रेसन हप्तामा तीन दिन हुँदा ४५ देखि ६० जना मात्र गर्न सक्छौं। वीर अस्पतालको पछिल्लो तीन वर्षको रेकर्ड नै हेर्ने हो भने पनि वीर अस्पतालको सबैभन्दा धेरै अप्रेसन गर्ने विभाग युरोलोजी विभाग नै हो। अधिकतम सेवा दिँदा पनि एक दिनमा १५ वटा केसभन्दा बढी अप्रेसन गर्न सकिँदैन। यति जनशक्तिले १५ देखि २० वटा केस अप्रेसन गर्ने भनेको धेरै नै हो।
हाम्रोमा आएका बिरामीहरु अप्रेसनका लागि किन २०८० सालसम्म कुनुपर्ने अवस्था भयो? यसको कारण छ। आकस्मिक अवस्थामा आएका बिरामीलाई हामीले २०८० सालमा आउनुस् भनेर पठाउँदैनौं।
हामीले आकस्मिक बिरामी भनेर छुट्टाएका छौं। जस्तो दुर्घटनाका केस, अण्डकोस घुमेका केसहरु आकस्मिक केसको रुपमा ३ देखि ४ घण्टा भित्रमै पनि सुरु गर्छौं। उनीहरुले कुर्नु पर्दैन। आकस्मिक बिरामीलाई २४ घण्टा नै सेवा खुला हुन्छ, अप्रेसन पनि हुन्छ।
अर्को, सेमी आकस्मिक बिरामी छन्। सेमी आकस्मिकमा क्यान्सरका बिरामीहरु पर्छन्। किनकी, क्यान्सरका बिरामीलाई एक वर्षपछि बोलायो भने क्यान्सर फैलिसकेको हुन्छ। अप्रेसन गर्ने स्थिति नै हुँदैन। कोही बिरामीको जन्मजात एउटा मात्र मिर्गौला भएको वा एउटा मिर्गौला झिकिसकेको बिरामीमा फेरि मिर्गौलाको समस्या भयो तर तत्कालै अप्रेसन गर्नुपर्ने अवस्था छैन भने त्यो बिरामीलाई सेमी आकस्मिक अवस्थामा राखिन्छ। उनीहरुले पनि एक/दुई हप्तामा पालो पाउँछन्।
अब तेस्रोथरीका बिरामीहरु हुन्छन्, जो प्रोस्टेटको कारणले पिसाब अड्किएर आएका हुन्छन्। उनीहरु केही हप्ता कुर्न सक्छन्। उनीहरुलाई एक/डेढ महिनाभित्र अप्रेसन गर्न सक्छौं। प्रोस्टेटको समस्या भएर पिसाब अड्किएको बिरामीलाई तत्काललाई पाइप राखेर एक डेढ महिनाभित्र गर्न सक्ने, मिर्गौलामा पत्थरी भएकाहरुलाई एक/डेढ महिनामा अप्रेसन गर्छौं।
एक वर्षपछिको पालो कसले पाउँछ त भन्दा, जसको मिर्गौलामा पत्थरी छ तर त्यसले मिर्गौलामा केही पनि असर गरेको छैन। अर्थात् मिर्गौलाको छेउछाउमा पत्थरी रहेका बिरामी ।
मिर्गौलाको छेउछाउमा पत्थरी हुँदा बिरामीलाई त्यति असर पर्दैन। पिसाबको बाटोमा भयो भने मात्र असर पर्छ। मिर्गौलाको पत्थरीमा पनि पिसाब आउने बाटोमा छ भने छिटो नै अप्रेसन गर्छौं।
हाम्रोमा धेरैजस्तो बिरामी आउने भनेको यही समस्याका हुन्। उनीहरुलाई असजिलो हुन्छ तर मिर्गौलामा पनि असर पर्दैन। बिरामीलाई पनि धेरै अप्ठ्यरो हुँदैन, कुर्न पनि सक्छन्। मिर्गौलाका बिरामीलाई अप्ठ्यारो पर्यो भने आकस्मिक उपचारका लागि बोलाउँछौं। उनीहरुले आकस्मिक उपचार नै पाउँछन्।
अर्को, कस्मेटिक सर्जरी गर्न बिरामीहरु आउँछन्। त्यो भनेको उपचार आवश्यक नै हुन्छ भन्ने होइन। उनीहरुलाई अरु सबैकोभन्दा पछाडि सबैभन्दा अन्तिम दिनको पालो राखिन्छ।
आकस्मिक अवस्थामा नरहेका र केही समयपछि अप्रेसन गर्दा पनि समस्या नहुने बिरामीलाई हामीले पछाडिको मिति दिने गरेका हौं। यसरी मिति तोकिदिएको सबै बिरामीको फोन नम्बर हामीले राख्छौं। उनीहरुलाई हामीले प्राथमिकताको आधारमा पनि फोन गरेर पनि बोलाउँछौं।
कुनै सातामा अप्रेसनको लिस्ट खाली छ भने बिरामीलाई हामी फोन गरेर सोध्छौं। काठमाडौं बाहिर हुनुहुन्छ भने फोन गरेर बोलाउँछौं। बिरामीले एक वर्ष पालो कुनुपर्ने अवस्थाको अन्त्य कसरी गर्ने भन्ने कुराको समाधान पनि छ।
सबै बिरामीको भार वीर अस्पताललाई मात्र पार्नु भएन। विशिष्टकृत सेवा दिने अस्पताल भए पनि सिधै वीरमै आउने बिरामीलाई पनि सेवा दिनैपर्छ। कतिपय देशहरुमा बिरामी सिधै आउँन पाउँदैनन्। अन्य अस्पतालबाट रेफर भएर मात्र विशिष्टकृत सेवा लिन पाउँछन्।
वीरमा विशिष्टकृत युरोलोजी सेवा छ। तर काठमाडौं बाहिर पनि जनरल सर्जनले युरोलोजी सर्भिस दिइरहेको हुन्छ। अर्को अहिले धेरैजस्तो ठूलो शहरहरुमा युरोलोजी सर्भिस पुगेको छ। सबै बिरामी काठमाडौं नै आइपुग्नुपर्ने अवस्था छैन। एउटा त बिरामीले नै आफ्नो ठाउँको अस्पताललाई विश्वास गर्नुपर्छ।
मिर्गौलामा पत्थरी छ भन्दैमा काठमाडौंमै आइहाल्नु पर्दैन। नजिकको प्रादेशिक तथा क्षेत्रीय अस्पतालहरुमा सेवा लिन सकिन्छ।
किन वीर अस्पतालमै सेवा लिन आउँछन् भने एउटा काठमाडौं भनेर पनि हो। अर्को वीर अस्पतालको सेवा सस्तो भएर पनि हो। वीर अस्पतालको सेवा निजी अस्पतालको भन्दा १५ गुणा कम छ। हामीले ५ हजारमा गर्ने मेजर सर्जरी निजीमा गर्नुपर्दा एकदेखि डेढलाख रुपैयाँ लाग्छ।
सरकारले वीर अस्पतालमा भएको सेवालाई सबै प्रादेशिक अस्पतालमा वीर अस्पतालकै शुल्कमा दियो भने त बिरामीले त्यहीँ उपचार गराउँछन्।
प्रादेशिक अस्पतालहरुमा वीर अस्पताललाई जस्तै सेवा, सुविधा र उपकरण दिएर वीर अस्पतालको जस्तै शुल्कमा सेवा दिनुपर्यो।
हामीकहाँ आएका बिरामीको तथ्यांकलाई केलाएर हेर्दा लगभग ७० देखि ७५ प्रतिशत बिरामी काठमाडौं आउन नै नपर्ने खालका छन्। उनीहरुको उपचार प्रादेशिक अस्पताल तथा मेडिकल कलेजहरुमै सम्भव छ। तर त्यसका लागि त्यहाँ जनशक्ति पर्याप्त हुनुपर्छ। प्रविधि र उपकरण हुनुपर्छ। अर्को सेवा शुल्क पनि सस्तो हुनुपर्छ र जनतामा विश्वास जगाउनुपर्छ।
त्यो भयो भने वीर अस्पतालको लोड ७५ प्रतिशत कम हुन्छ। जस्तै प्रोस्टेटको सर्जरी गर्न काठमाडौं नै आउनु पर्दैन। झापादेखि धनगढीसम्म नै उपचार हुन्छ। तर सस्तोमा उपचार पाइन्छ भनेर वीरमा नै आउँछन्।
त्यसले गर्दा हामीलाई लोड बढी भयो र विशिष्टकृत अस्पतालको रुपमा जुन सेवा दिनुपर्ने हो, हाम्रो त्यसमा चाहिँ समस्या भयो। जसलाई विशिष्टकृत सेवा चाहिएको छ त्यो बिरामीले पनि कुर्नुपर्ने अवस्था भयो। प्रादेशिक अस्पतालहरुको स्तरोन्नति गरियो भने धेरै समस्या समाधान हुन्छ।
वीर अस्पतालको युरोलोजी विभागमा पनि कन्सल्टेन्ट ६ जना छौं। एमसिएच गरिरहेका ७ जना गरी १३ जना छौं। युरोलोजी विभागमा अहिले दिइरहेको सेवाका लागि युरोलोजिष्टको टिम छ। तर युरोलोजीमा सर्जरीका लागि डाक्टर पनि दुईथरीको चाहिन्छ। युरोलोजिष्टसँगै एनेस्थसियोलोजिष्ट पनि चाहिन्छ। नर्स चाहिन्छ र अन्य सपोर्टिप स्टाफ चाहिन्छ।
अहिले तीन दिन चलिरहेको अप्रेसन हप्ताको ६ दिन नै गर्नका लागि युरोलोजिष्ट पुग्छौं। तर हामीलाई समस्या कहाँ छ भने, वीर अस्पतालमा युरोलोजीको एनेस्थेसिया भनेर छुट्टै छैन। एनेस्थेसियाको विभाग छ। उनीहरु सबै विभागको सर्जरीमा जानुपर्छ। उनीहरुले युरोलोजीमा काम गर्दा अन्य विभागमा असर पर्छ। एनेस्थेसियोलोजिष्टको कमी छ। युरो सर्जरीका लागि एक दिनमा ४ जना एनेस्थेसियोलोजिष्ट चाहिन्छ।
अर्को, हामीकहाँ नर्सको कमी छ। वीर अस्पतालको सर्जिकल भवनमा अहिले १५ वटा अप्रेसन थियटर छ। १५ वटा अप्रेसन थियटर एकै पटक चलाउनका लागि नर्सको मात्रा पुग्दैन। युरोलोजीमा अप्रेसनका लागि एक पटकमा ४ जना नर्स चाहिन्छ।
हाम्रो युरोलोजीको २ वटा अप्रेसन थियटर छ। अहिलेको अवस्थामा अभाव नै छ। युरोलोजीका कतिपय औजारहरु सबैले चलाउन सक्दैनन्। हाम्रो डेडिकेट सामान चलाउने नर्सहरु ३/४ जना मात्र छन्। उहाँहरुलाई हप्ताको ६ दिन नै काम लगाउन सक्दैनौं। यसैगरी, फ्लोर स्टाफको पनि संख्या कम छ।
कहिलेकाहीँ युरोलोजीमा आवश्यक पर्ने औजारहरु बिग्रिन्छ तर समयमा मर्मत हुँदैन। जसले गर्दा पनि उपचारमा समस्या हुन्छ। वेबले पत्थरी फुटाउने इएसडब्लुएल विधिको उपचारका लागि मेसिन बिग्रिएको छ। यो सानो फुस्रो ढुंगा फुटाउने मेसिन हो।
४ वर्षअघि आएको युरो डाइनामिक मेसिन जडान नै भएको छैन। यो मेसिन पिसाब रोकिएर आएको बिरामीको कारण पत्ता लगाएर उपचार गर्ने मेसिन हो। हामीले यो जाँच गर्न बाध्य भएर निजी अस्पतालमा पठाउनु परेको छ।
अर्को, डिस्पोजेबल सामानहरु जस्तोः प्रोस्टेटको अप्रेसन गर्दा प्रयोग हुने लुपहरु, फोर्सेप, आरआइआरएस (नचिरी प्वाल नपारी पिसाब नलिबाट पत्थरी फुटाउने विधि) छ। तर यो एउटा औजार ३० घण्टा चलाउनुपर्छ। त्यसपछि त्यो रिप्लेस हुनुपर्छ। तर ३० घण्टापछि सकिँदा फेरि उपलब्ध हुन नै समय लाग्छ। यस्ता औजारहरु समयमा खरिद नहुँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था भइरहेको हुन्छ।
अर्को, चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलको कुरा पनि छ। हामीले अधिकतम क्षमतामा काम गरिरहेका छौं। तर त्यो अनुसार कुनै इन्सेन्टिभ छैन। अप्रेसन गर्दा हुने कम्प्लिकेसनको व्यवस्थापन संस्थाले गर्दैन। अप्रेसन सेवा दिँदा करिअर नै दाउमा राखेर काम गरिरहेका छौं। हाम्रो मनोबल बढाउने केही सुविधा छैन।
सरकारले भने जस्तो अस्पतालमा सेवा लिनेको लाइन हटाउन असम्भव छैन। तर सम्भव बनाउन भोलिदेखि हटाऊ भनेर निर्देशन दिएर मात्र हुँदैन।
सरकारले सेवा शुल्कको मोनिटरिङ गर्नुपर्छ। निजी अस्पताल सरकारी अस्पतालभन्दा १५ गुणा महँगो भयो, त्यो पनि नियन्त्रण गर्नुपर्यो। यसले पनि केही राहत हुन्छ।
अर्को समस्या भनेको चिनजानको भरमा छिटो अप्रेसन गरिदेऊ भन्दै फोर्स गर्नेहरुको दबाब पनि हो। यो कारणले त हामीलाई ठूलै समस्या पर्छ। दैनिक १५ जनाको पालो छ अप्रेसनको अर्को एक जना भनसुन गरेर आउँदा साँच्चै त्यही दिन सेवा चाहिनेलाई त असर परिरहेको हुन्छ। कहिले कसको मान्छे, कहिले कसको मान्छे भनेर प्रेसर दिनु भएन। अस्पतालकै कर्मचारीको मान्छे भनेर बरु एक दिन छुट्याइदियो भने हामीलाई अनावश्यक तनाव हुँदैन।
(वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा बस्नेतसँग रिता लम्सालले गरेको कुराकानीमा आधारित।)
यो पनि :
प्रधानमन्त्रीले संसदमा बोलेकै दिन शल्यक्रियाका लागि बिरामीले पाए १० महिनापछि पालो