म एक आम युवा अनि पेसाले चिकित्सक। चिकित्सा शिक्षा अध्ययन गरी यो पेसा अँगाल्दै ३५औं वसन्त पार गर्दासम्म मैले भोगेका तिता-मिठा भोगाइहरुलाई यो सानो लेखमार्फत समेट्ने प्रयास गरेको छु।
विद्यालयदेखि नै पढाइको स्तर राम्रो रहेकाले विज्ञान विषय लिएर उच्च माध्यमिक तहको अध्ययन पूरा गरें। विज्ञान संकाय अध्ययनको लागि गाउँमा कुनै कलेज नभएकोले घरबाट टाढा डेरामा बसेर पढ्नु पर्ने बाध्यता थियो।
मेरो परिवारको पेसा कृषि थियो। कृषि कामबाट आर्जन गरेको पैसा जोहो गर्दै उच्च माध्यमिक (प्लस टु) तह पास गरें। राम्रो पढाइ, मान-प्रतिष्ठा, कमाइ सब हुन्छ भन्ने सोचेर बच्चादेखि नै देखेको सपनालाई साकार पार्न चिकित्सा शिक्षा पढ्ने निधो गरें। अनि म लागें, चिकित्सा शिक्षा अध्ययनतिर।
आर्थिक स्थिति राम्रो हुनेहरूले पैसा तिरेर पढ्न लागे भने म छात्रवृत्तिमा नाम निकाल्नका लागि लड्न लागें। आर्थिक हिसाबले छात्रवृत्ति एक मात्र उपाय थियो। परीक्षा दिन्थें, प्रश्नपत्रहरू बाहिरिन्थे, पढ्थें, यस्तैयस्तै हुन्थ्यो। कतिपयले नाम निकाल्थे, कोहीकोहीले पढ्नै नसकी बीचमै छोड्थे। मलाई पनि छोड्नु न पढ्नु भयो।
अन्ततः २ वर्ष खेर फालें। मिहिनेत पुगेन या त्योभन्दा भाग्य पुगेन। दुवै पुगेको बेला साँठगाँठ गर्नेहरुले जिते। मनमा अनेकौं बेचैनी, पढ्नैपर्छ भन्ने हुटहुटी, कृषि पेसाबाट जागिरे जीवनमा लैजाने इच्छाले जित्यो पनि। गरिबीले हारेन। आखिर बाबुआमाको मन न थियो, छोरोले ५० लाख खर्च गरेरै भए पनि पढ्ने भयो तर उता बाबुआमाको नदेखिँदो असहज भान भैराख्यो। भर्ना भएँ।
कक्षाहरु अघि बढ्दै गए। मेडिकल माफियाहरुको बिगबिगीभित्र छिरेपछि थाहा हुँदै गयो। सुरुमा ५० लाख लाग्ने भनेर भर्ना भए पनि बत्ति पानी, इन्टरनेट, मनोरञ्जन, पुस्तकालय, दण्ड सजाय, प्रयोगशाला, फिल्ड लगायत विभिन्न लुकाइएका शिर्षकहरुमा विना रसिद शुल्कहरु उठाइँदो रहेछ।
शुल्क तिर्न ढिला हुँदा कक्षा कोठाबाट सिधै नाम घोषणा गरेर आत्मसम्मानमा चोट पुर्याइयो। महिनैपिच्छे घरमा फोन गरेर परीक्षा रोकिदिनेसम्मका धम्की समेत दिने कार्य भए। यो हालत पैसा तिरेर पढ्नेको थियो भने छात्रवृत्तिमा पढ्नेहरुको पीडा पनि उस्तै थिए। छात्रवृत्ति पाएर पढ्नेहरुका लागि समेत विभिन्न शिर्षकमा शुल्क उठाएर दादागिरी देखाउने।
अभिभावकको रुपमा रहेको शिक्षा मन्त्रालय छात्रवृत्ति शाखा पनि यो सब देखी-देखी रोक्नुको साटो देखेर पनि नदेखेंझैँ एउटा बोक्रे परिपत्रमै सीमित हुने। अतिरिक्त शुल्कका विषयमा आवाज उठाएर आफ्नो माग राख्दा, आन्दोलन गर्दा सञ्चालकको धम्की त खाइयो नै अनि यता आफ्नै चिकित्सक पेसामा संलग्न भएका अभिभावक सरहका शिक्षकहरुको समेत गाली बेइज्जती खप्नु पर्ने।
आन्दोलन चर्काएको निहुँमा परीक्षामा सामेल हुन नपाउनेसम्मको धम्की खेप्नु पर्ने। आफ्नै पेसामा उदाउनका लागि अध्ययन गर्दै गरेका कोपिलाहरुलाई संरक्षण गरेर अभिभावकत्व देखाउनु पर्नेमा उल्टै पूँजीवादकै खुट्टा ढोगेर आफ्नो पेट भरेका अग्रजहरु सम्झिँदा अहिले पनि मनमा घृणा जागेर आउँछ।
यता, भएको जग्गा-जमिन बेचेर कलेजको शुल्क बुझाउने म एक्लो थिइनँ। भन्नेहरुले भन्थे, पैसा नभई किन पढेको? म चाहँन्थें, पैसाकै कारण आफ्नो इच्छा मार्नु नपरोस् अनि सुनेको पनि थिएँ, पढाइ सकेपछि तिर्न पनि त्यति गाह्रो हुन्न भनेर। म गलत रहेछु, यता ब्याज चुलिँदै गयो, त्यत्तिकै चुलियो मेरा बा-आमाको ऋणको चिन्ता। हाम्रो नेपालको शिक्षा प्रणाली, ६ वर्ष भनिएको पढाइ ७ वर्षमा बल्ल सकियो। खैर, ५० लाखको ऋणको भारमा मेरो एमबीबीएसको सर्टिफिकेट फरफराइरहेको थियो।
पढाइको भारबाट निस्कदाको ऋण, पारिवारिक जिम्मेवारी, समाजसेवा, सबैको हेक्का राखी गाउँमै रहेको सरकारी अस्पतालमा जागिरका लागि आवेदन दिएँ। जागिरका लागि लिइने परीक्षाहरु फगत प्रक्रियाका लागि मात्र हुने रहेछन्। विज्ञापन खुला गरेसँगै नियुक्तिपत्र लुकाएर राखिने रहेछन् र एक मध्यमवर्गीय परिवारका लागि विना पहुँच नेपालमा जे सुकै पढे पनि, जति नै अब्बल भए पनि जागिर छनोटमा कठिन हुने रहेछ।
ब्याज बढ्दैछ, निराशा उस्तै छ। सरकारी दरबन्दी खाली छन्। आफ्नालाई राख्न, टिकाउन सम्पूर्ण प्रणाली नै हात धोएर लागिपरेका छन्। बिरामी र चिकित्सा आवश्यक अनुपात यिनले पढेका छन्, जानेका छन् तर बुझ पचाएका छन्। रिक्त पदमा हरेक वर्ष कर्मचारी माग गर्नुपर्ने भए पनि सरकारी सेवालाई सक्दो असहज र कमजोर बनाई निजीलाई पोस्न यहाँ सब लागिपरेका छन्। अझ स्वयं अग्रज चिकित्सक तथा हाकिम लागेका छन्। एक हिसाबले भन्ने हो भने राज्यका सम्बन्धित निकाय मातहतका कर्मचारीकै मिलेमतोमा यो सब भइरहेको छ। गाउँमा काम पाइएन। ऋणले थिचेपछि न्यूनतम ज्यालामै भए पनि काम गर्न सहर पस्नु पर्ने बाध्यता रह्यो।
यही बीचमा पढाइ पनि राम्रो हुने र कमाइ तथा सम्पूर्ण जीवन नेपालमा हुँदाको भन्दा सम्मानजनक हुने भएकाले साथीहरु अमेरिका, क्यानडा, बेलायत जस्ता ठूलाठूला मुलुक जानका लागि तयारीमा लागे। यहाँको प्रणाली, राजनीति, परिवार, नातावाद, कृपावाद तथा आफ्नै पेसाबीचको वैमनस्यताले राम्रो अवसरको खोजीमा विदेशिने क्रम भने दिनानुदिन बढ्दो थियो।
मलाई पनि विदेश जाउँ भन्ने सोच नआएको होइन तर एकातिर ऋणको भारी, परिवारको अवस्था र देश बनिहाल्छ कि भन्ने झिनो आशाले पनि जान सकिनँ। त्यति नै बेला आँट गरेर विदेशिएको भए आज मलाई यो लेख लेख्नु पर्ने थिएन होला।
अर्कोतर्फ, छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई पनि दुर्गम क्षेत्रको सेवाका नाममा उपकरण र सहयोगी जनशक्ति नै नभएका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा पठाइएको थियो। यसरी एक जना चिकित्सक लगेर राख्न सके सब सेवा पुगिहाल्छ भनेर आत्मरतिमा रमाउने र नेताहरुलाई ब्रिफिङ गर्ने हाम्रै मन्त्रालयका टाउकेहरु नै हुन्।
निदानका लागि प्रयोगशाला, एक्स-रे जस्ता अत्यन्त न्यूनतम उपकरण तथा त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्थापन बिना नै चिकित्सकलाई त्यस ठाउँमा खटाएर राज्यले चिकित्सकबाट के अपेक्षा गरेको हो?
देशका दूरदराजमा सेवाभावले चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालित हुँदा कुनै गल्तीबिना भीडले भाँटे कारबाही गर्दा मेलमिलाप गराउने र उल्टै चिकित्सक र स्वास्थ्यकर्मीको गल्ती देखाएर पार्टीका झोलेहरुलाई पक्षपोषण गर्ने त्यही अस्पतालका अध्यक्ष, कार्यालय प्रमुख, प्रशासन र राजनीतिक दल नै हुन्।
एउटा कर्मचारीले त्यसरी सेवा गर्दैगर्दा कुटाइ खानुपर्ने अवस्थाको अन्त्य हुने वातावरण बनाउने जिम्मेवारी यो समाज, कार्यालय प्रमुख तथा जनप्रतिनिधि र सम्पूर्ण राज्यको होइन र? होइन भने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन पारित गरेर किन हात्तीको देखाउने दाँत र खाने दाँत जस्तो भिन्नता गराएको?
समय गतिशील छ। ज्ञान र विज्ञानको दायरा बढ्दो छ। हरेक क्षेत्रमा अध्ययन गहिरो र विषय केन्द्रित छ। घर ऋणमै चले पनि विशेषज्ञता हासिल गर्नु पर्छ भन्ने सोचेर विशेषज्ञ पढाइको प्रवेश परीक्षामा समेल भएँ। वर्षमा एउटा परीक्षा लिएर समयमा नतिजा निकालेर सिफारिस समेत गर्न नसकिने संयन्त्र बनाएर राज्य दोहन तथा हजारौं विद्यार्थीहरुको समय र भविष्यमाथि खेलवाड भइराखेको छ। त्यही खेलवाडको सिकार यसपालि म पनि भएँ।
अब कुरा गरौं आवासीय चिकित्सकको। जसोतसो प्रवेश गरियो। नाम आवासीय चिकित्सक- 'धेरैजसो समय अस्पताल परिसरमै रहेर बिरामीको सेवामा खटिएर अग्रजको मातहतमा काम गर्दै सिक्ने पढाइ' जसका लागि आवासको व्यवस्थापन सम्बन्धित शिक्षण अस्पतालले गर्नु पर्ने हो तर यहाँ त्यसैका लागि महिनैपिच्छे बिल पठाउने गरिन्छ। यो महँगीको समयमा ३६ घण्टा नसुती ड्युटी गर्ने आवासीय चिकित्सकका लागि निर्वाह भत्ता भनेर मासिक दिइने २० हजार रुपैयाँ समेत ५ महिनासम्म रोकेर कस्तो खालको निर्वाहको कल्पना गरिएको हो कुन्नि?
यी त भए प्रणालीका कुरा। अब आफ्नै कुरा गरौँ। त्यति धेरै पढेर शिक्षक कहलाउनु भएका अग्रज चिकित्सकहरु, तपाईंको विभागमा एउटा आवासीय चिकित्सक ३६सै घण्टा बिरामीको सेवामा जोतिन्छ। अनि बिरामीसँग प्रत्यक्ष रुपमा सम्पर्कमा हुने भएकाले बिना गल्ती गाली खान्छ, कुटाइ खान्छ।
३६ घण्टे ड्युटी समयको अन्तिम घण्टामा आएर एउटा मानवबाट कस्तो कार्य सम्पादनको आशा गर्नुहुन्छ तपाईंहरु? तपाईं आफैंले पनि त कति पल्ट बिरामीहरुकै अगाडि सोच-विचारै नगरी गाली गर्नुहुन्छ। पारिवारिक समस्याले अत्यन्त जरुरी हुँदा समेत बिदा दिनुहुन्न। व्यक्तिगत काममा लगाउनु हुन्छ।
कामको चाप,निद्रा, थकान र चरम डिप्रेसन देख्दा देख्दै पनि 'हाम्रा समयमा हामीले यो भन्दा बढी गरेको हो, काम नगरी कसरी सिकिन्छ?' भन्ने पुरातनवादी सोचले कति आवासीय चिकित्सकले आफ्नै ज्यानको तिलाञ्जली दिएको ख्याल गर्नुभएको छ तपाईंहरुले?
आवश्यकता अनुसार आ-आफ्ना विभागमा मेडिकल अधिकृतहरु भर्ना गरेर आवासीय चिकित्सकको सिकाइ सुधारका लागि मिहिनेत गर्न किन सक्नु हुन्न? पास भएर गइसकेपछि म सँगै नै प्रतिस्पर्धा गर्ने हुन् भन्ने तुच्छ सोचले तपाईंहरुको अहमतालाई गिजोलिरहेको हुन्छ सायद!
अमेरिका लगायत विश्वका विभिन्न विकसित देशमा आवासीय चिकित्सकको कार्याभार कति वैज्ञानिक छ। थोरै मात्र ड्युटी गर्दैमा नसिकिने भए के त्यही देशबाट वैज्ञानिक ड्युटी गरेर सिकेका चिकित्सकले दिएको प्रतिवेदन र सोधहरुलाई आधार मानेर यहाँ उपचार गर्नु हुनेलाई तपाईंले मिथ्या भन्न सक्नु हुन्छ?
तीन वर्षे आवासीय चिकित्सकको रुपमा काम गर्दा हरेक दिन मनमा लागेर भन्न खोजेका विषय हुन् यी सब। तैपनि, कहिले परीक्षा रोकिदिने त कहिले निर्वाह भत्ता रोकिदिने त्रासमा म जस्ता हर कोही आवासीय चिकित्सकको मन भित्रभित्रै गुम्सिएर, गुजुल्टिएर बसेको वेदना हो यो।
यी सब त भए पढाइका कुरा। विशेषज्ञको पढाइ सकेपछि जागिरका लागि उस्तै सकस रह्यो। यतिन्जेल पढ्दाको ऋण, दिनानुदिन बढ्दो महँगी, पारिवारिक व्यवस्थापन, करिअर जस्ता कुराले फेरि पिरोल्न थाल्यो। सरकारी सेवामा छिरेर सक्दो सेवा गरौं भने लोकसेवा खुलाइँदैन। तपाईंहरुले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका नाममा जनताको स्वास्थ्य सम्बन्धी मौलिक हकको सुनिश्चितता मानव संसाधन बिना कसरी देख्नुहुन्छ?
छेउकै निजी अस्पतालमा सबै रोगको उपचार सम्भव हुन्छ भने त्यहीँ नजिकै रहेको सरकारी अस्पतालमा एउटै रोगका लागि बिरामी हप्ता दिन धाउनु पर्ने, प्रयोगशाला लगायत इमेजिङ र औषधिका लागि बाहिर गएर किन्नु पर्ने अवस्था किन आइरहेको छ? निजी अस्पतालमा जागिर खानुअघि चलिरहेको सिन्डिकेट देख्नुभएको छ? भर्खर अध्ययन पूरा गरेका म जस्ता हरेक क्षेत्रका जनशक्तिले जागिरका लागि अस्पताल तथा विषयगत कम्पनी तथा कर्पोरेटमा लगानी गर्न सक्छ त?
यी र यस्तै वातावरणले गर्दा यो देश छोडेर आफ्नो सुन्दर भविष्यका सोचेर बाहिरिन पर्याप्त छैन र? सरकारी ढुकुटी प्रयोग नगरी नेपालको कुनै नीजि अस्पताल पुग्नुभएको छ? सरकारीलाई धरासायी बनाएर, निजीलाई नियमन गर्न छोडेर साँढे जस्तै छाड्दै गर्दा उपचार गर्दा नाङ्गेझार पारिएर गेट बाहिर निस्किरहेका भुइमान्छेका रोदन कहिले देख्नुभएको छ त? त्यहीँ उपचार दिन गेटबाट छिर्दै गरेका सरसफाइकर्मी, नर्स, पारामेडिक्स र कनिष्ठ चिकित्सकको भोको अनुहार देख्नुभएको छ? जनताका उपचार खर्च र त्यहीँका कर्मचारीको सेवा सुविधाबीचको दूरि कति छ, कहिले सोच्नुभएको छ? आज आफैं कार्यरत अस्पतालमा आफ्नै उपचार गर्न नसकिने गरी लुटिएको देख्नुभएको छ? सामाजिक सुरक्षाका नाममा निजी अस्पतालहरुले कसरी राज्य दोहन गरिरहेका छन्, देख्नुभएको छ?
देख्नुभएको छ तर भ्रष्टाचारको कालोपट्टि लगाएर। तपाईं बस कालो सिसाभित्र बसेर त्यही रुन्चे अनुहार बीचबाट सानसँग अघिपछि गर्ने पूँजीवाला लगानीकर्ता, सेलिब्रिटी चिकित्सक र आफ्ना दलका कर्मचारी संगठनका नवधनाड्यहरु मात्र देख्नुहुन्छ।
धेरैलाई लाग्छ, चिकित्सकले लुटेका छन्, चिकित्सकमा लुट्नेहरु पनि छन्, स्वास्थ्य सेवामा लुटाइ मात्रै छ। श्रम, परिश्रम, मिहिनेत र समयको लगानी लुटिइएर मरेर पनि बाँचेका चिकित्सक धेरै छन्। आफ्नै कनिष्ठ चिकित्सकलाई उठ्नै दिइँदैन यहाँ। आज चिकित्सक बनेर सम्मानजनक अवस्थामा बाँचेर आफ्नो जीवन अगाडि बढाउन खोजेका नवचिकित्सक तथा स्वास्थ्यकर्मी राज्यको अकर्मन्यताले गर्दा चरम व्यावसायिक निराशा, आर्थिक ऋण र राजनीतिक दलदलमा निस्किनै नसकिने गरी फसेका छन्।
अन्त्यमा, लाखौंलाई मारेर १/२ जनालाई बचाउने तपाईंका समाजवाद, साम्यवाद, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाराहरुमा अब हरेक पेशाका प्रेम आचार्य, रामदेव डोमहरुलाई झुन्डिन बाध्य नबनाउनुहोस्। बिन्ती छ।