काठमाडौं- ‘प्याड म्यान’ अर्थात् प्याड बनाउने व्यक्ति। ललितपुरका ज्ञान महर्जनले विगत सात वर्षमा पाएको उपनाम हो यो।
सुन्दा अचम्म लाग्न सक्छ, तर महिनावारीमा प्रयोग हुने प्याड बनाउँछन्, उनी। त्यो पनि कपडाको र पुनः प्रयोग गर्न मिल्ने।
प्याड बनाउने यात्रा सुरु गर्न सहज थिएन उनलाई। प्याड बनाउने ज्ञानको घरबाटै सुरु भएको थियो। महिला हिंसा, यौन दुराचार विरुद्ध आवाज उठाउँदै उनले प्याड बनाउने यात्रा तय गरेका हुन्।
‘घरेलु हिंसा के हो ?’
आठ वर्षको कलिलो उमेरमा ज्ञान थाहा थिएन। घरमा उनको आमा माथि विभिन्न किसिमको हिंसा हुन्थ्यो। आमालाई खासै राम्रो व्यवहार कहिले भएन। आमाको आँसु, पीडा र दु:खलाई उनले महसुस गर्थे। तर प्रतिकार गर्न सक्दैनथे।
‘सानै थिएँ। मेरो आमालाई पिटेको देखेको मान्छे म। काकीले घरको कुरालाई लिएर माइतीघरमा कुरा लगाउने गर्नु हुन्थ्यो। कहिले माइती खलक र कहिले काकाले पिट्ने गरेको देखेको थिए। बच्चाको बेलामा जोश भए पनि केही गर्न सक्दैनथें,’ उनले भने।
सानैदेखि घरमा आमामाथि भएको हिंसा त उनले देखेकै थिए। कलेजमा पनि आफ्नै महिला साथीलाई पुरुषले गर्ने दुर्व्यवहार पनि देखे।
घर, कलेज, बजार सबै ठाउँमा महिलामाथि भइरहेका विभिन्न किसिमका हिंसाले उनलाई सताउन थाल्यो।
‘महिलामाथि किन हिंसा हुन्छ?’
‘किन दुर्व्यवहार हुन्छ?’
‘यो हिंसा, दुर्व्यवहारलाई कसरी रोक्ने?’
यस्तै प्रश्नहरुले उनलाई भतभती पोल्न थाल्यो। चुप लागेर बस्नै सकेनन्। समाजमा महिलामाथि भइरहेका यस किसिमको हिंसा विरुद्ध आवाज उठाउनै पर्छ भन्ने लाग्यो।
त्यसपछि सन् २००७ मा स्थापना भयो, एक्सपोज नेपाल। उनी भन्छन्, ‘यो हिंसा, दुर्व्यवहारलाई विरोध गर्नुपर्छ। हामी बोल्नुपर्छ। केही गरौँ न भनेर साथीहरुसँग छलफल हुन्थ्यो। त्यसपछि महिला हिंसा विरुद्धको आवाज उठाउन हामीले एक्सपोज नेपालको स्थापना गर्यौँ।’
एक्सपोज नेपालको स्थापनापछि उनीहरुले विद्यालयहरुमा स्थानीय निकायसँग सहकार्य गर्दै काम गरे। त्यो बेलासम्म ज्ञानलाई महिला हिंसाबारे आवाज उठाउने अन्य धेरै संघ संगठन छन् भन्ने जानकारी थिएन।
महिला हिंसाबारे आवाज उठाउने अन्य धेरै संघ-संगठन भएकाले आफूहरुले महिला हिंसाको र यौन दुराचारबारे बोल्नुपर्ने महसुस उनलाई भयो। सन् २०१० देखि एक्सपोज नेपालले यौन दुराचारका बारेमा मात्र आवाज उठाउन थाले।
महिनावारीको कुरा सोध्दा गाली पनि खाएँ...
चार वर्षदेखि ज्ञान महर्जनले कार्यस्थल तथा सार्वजनिक स्थलमा हुने यौन हिंसा तथा दुराचारका बारेमा आवाज उठाइरहेका थिए। यो सँगै उनलाई महिनावारीका विषयमा पनि चासो लाग्न थाल्यो। अन्तर्राष्ट्रिय संघ-संगठनले पनि उनलाई महिनावारीका विषयमा आवाज उठाउन आग्रह गरे। तर उनी महिनावारीका विषयमा कसरी आवाज उठाउने?, के गर्ने? भन्ने अन्योलमा परे।
ज्ञानको परिवारमा कहिल्यै पनि महिनावारीबारे खुलेर कुरा हुँदैनथ्यो। न आफ्नो श्रीमतीसँग नै यस विषयमा कुरा गरेका थिए। तर महिनावारीबारे उनलाई जसरी पनि जान्नुपर्ने थियो। त्यसैले कहिले आमा त कहिले महिला सहकर्मीहरुसँग महिनावारीका बारेमा सोध्न खोज्थे। कुरा गर्न खोज्थे। तर सजिलै कसैले पनि कुरा गर्दैनथे। लजाउने, अप्ठ्यारो मान्ने, कतिले त गाली पनि गर्थे। तर उनले कुरा गर्न भने छाडेनन्।
भन्छन्, ‘थुप्रै महिला साथीहरुले यो तिमीलाई चाहिने कुरा होइन भन्थे। मेरै श्रीमतीलाई सोध्दा पनि सुरुमा उनले खुलेर नै कुरा गर्न मानिनन्।’
विस्तारै कुरा गर्दै जाँदा श्रीमती र अन्य साथीहरुले महिनावारीबारे भन्न थाले। उनलाई झन् चाँसो बढ्दै गयो। अझ ग्रामीण भेगका महिलाहरुले महिनावारीलाई कसरी व्यवस्थापन गर्छन्?, हाम्रा आमाहरुले कसरी व्यवस्थापन गरे होलान्? भन्ने थुप्रै प्रश्नहरु उनको मनमा उब्जिन थाल्यो।
महिनावारीका विषयमा महिलासँगै छलफल गर्ने सोचका साथ उनले एउटा अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरे। महिनावारी सम्बन्धी आयोजना गरेको उनको यो पहिलो कार्यक्रम थियो। सुरुमा उनी खुलेर कुरा गर्न सकेनन्। केही असहज, केही अप्ठ्यारो महसुस भयो।
कोही कानेखुसी गर्ने, कोही यताउता हेर्ने, कोही लजाउने, हाँस्ने माहोल भएपछि असहजता झन् बढ्न थाल्यो।
ज्ञानले मन मनै सोच्न थाले, ‘म आफैँलाई यति असहज भइरहेको छ। यो अभियानलाई अघि लैजान सक्दिनँ होला।’
उनले पनि आफूले सक्ने कोसिस गरे। र, महिनावारीका विषयमा उनले सुरु गरेको अभियान विद्यालयस्तरमा पनि गर्न थाले। सुरुको असहज र अफ्ठ्यारोपनलाई सम्झँदै उनी भन्थे, ‘म महिनावारीको विषयमा कुरा गर्न आएको हुँ। तपाईंहरुले सिकेको मलाई सिकाउनु र मैले जानेको म सेयर गर्छु।’
दोस्रो पटकको कार्यक्रमपछि मात्र उनलाई म पुरुष भएर पनि महिनावारीका विषयमा गर्न सक्छु भन्ने आत्मविश्वास बढ्न थाल्यो।
महिनावारीको विषयमा बुझ्दै जाँदा यसमा हुने विभेदका पक्षमा पनि उनले जान्ने मौका पाए।
...अनि सिक्दै-सिकाउँदै सुरु भयो ‘सजिलो प्याड’ को यात्रा
महिनावारीका विषयसँगै ज्ञानलाई महिलाले प्रयोग गर्ने प्याडको विषयमा पनि रुचि जाग्न थाल्यो। महिलाले महिनावारीमा बग्ने रगतलाई कसरी व्यवस्थापन गर्छन्? भन्ने विषयमा थप बुझ्न मन लाग्यो।
उनी ग्रामीण क्षेत्रका महिलाले महिनावारीमा कस्तो खालको प्याड लगाउँछन् भन्ने बुझ्न गाउँ पनि पसे। कतिपय महिलाले पुरानो सारी, पुरानो कपडा र तन्नाहरुलाई प्याडको रुपमा प्रयोग गर्ने गरेको बताए। कतिपय महिला त घाँस-दाउरा गर्न जाँदा कपडाको प्याड नै खस्ने गरेको उनलाई सुनाए।
धेरै महिला दिदी बहिनीको समस्या सुनेपछि उनले महिनावारीको कुरासँगै प्याड बनाउने निधो गरे। आर्थिक, वातावरण र स्वास्थ्यका हिसाबले सहज हुने भन्दै ज्ञान महर्जन कपडाको प्याड बनाउने यात्रामा लम्किए।
उनी हरेक किसिमको प्याड किनेर घरमा ल्याएर हेर्थे। बजारमा पाइने प्याड कस्तो खालको हुन्छ? कपडाको प्याडलाई नखस्ने गरी कसरी बनाउन मिल्छ? कसरी विङ (पखेटा) जस्तो आकारको बनाएर पेन्टी (भित्री वस्त्र) मा राख्न मिल्छ भनेर नियाल्थे।
सन् २०१६ मा उनले ९० वटा कपडाको प्याड बनाए। यी ९० वटै प्याड प्रयोग र सुझावका लागि महिलाहरुलाई बाँडे। पहिलो चरणमा बनाइएका ती प्याडहरुमा बटन राखिएको थिएन। ज्याकेटमा चेनको सट्टा प्रयोग हुने कपडा पेन्टीमा अड्काउन राखिएको थियो। जसले धेरै महिलाहरुले रातो भएको, घाउ भएको गुनासो गरे।
उनले भने, ‘ज्याकेटमा प्रयोग हुने च्यार–च्यार हामीले प्रयोग गरेका थियौँ। जसबाट धेरै गुनासो आयो। एक दिन मेरो टेबल अगाडि क्लियर ब्याग थियो। जसमा प्रयोग गरिएको बटन प्याडमा प्रयोग गर्न मिल्छ भनेर मात्र आइडिया आयो।’
क्लियर ब्यागमा प्रयोग हुने बटन उनले काठमाडौं त्रिपुरेश्वरदेखि सोल्टीमोड, इन्द्रचोक लगायत ठाउँमा खोजे। तर त्यो बटन भेटेनन्। एक जना साथीले यो बटन चीनमा पाउने बताए। त्यसपछि उनले चीनमा आउजाउ भइरहने एक जना दाइसँग सहयोग मागे। ती दाइले उनको आग्रहलाई सहर्ष रुपमा स्वीकार गरे र, चीनबाट बटन र बटन लगाउने मेसिन पनि पठाए। त्यसपछि उनले कपडाको प्याडमा बटन राखेर प्याड बनाउन सुरु गरे।
प्याड बनाउने कटनको कपडा उनी भारतबाट ल्याउँछन्। हाल ४० प्रतिशत नेपाली कटनको कपडा नै प्रयोग गर्न थालिएको उनले बताए।
सबै रुपले प्याड तयार भएपछि ज्ञान महर्जनले बिक्री गर्न थाले। उनले बनाएको प्याड विभिन्न संघ-संस्थाका बिक्रेता र अनलाइनमार्फत बिक्री हुन्छ।
सुरुका केही महिनामा उनले महिलाहरुलाई काठमाडौंमा मात्र निःशुल्क रुपमा प्याड बनाउने तालिम दिन्थे। तर हाल विभिन्न जिल्लामा स्थानीय निकायसँगको समन्वयमा तालिम दिने गरेका छन्। हालसम्म सुर्खेत, नुवाकोट, काठमाडौं सहित २३ वटा जिल्लाका करिब ६ हजार महिलाहरुलाई प्याड बनाउने तालिम दिएको उनले बताए।
‘हामीले उहाँहरुलाई सबै सामग्री उपलब्ध गराउँछौ। उहाँहरुले प्याड बनाउनुहुन्छ। उहाँहरुलाई पिस अनुसार ज्याला दिन्छौं। यसरी जीविकोपार्जन गर्ने ६० जना महिलाहरु हुनुहुन्छ, ज्ञानले भने।
प्याडको अन्तिम प्याकेजिङ र निर्मलीकरण भने काठमाडौंमा गरिन्छ। बनाउने क्रममा सरसफाइको अभाव हुन सक्ने भन्दै निर्मलीकरण गरेर मात्र प्याकेजिङ गर्ने गरिएको उनले बताए।
पेन्टिङ बेच्दै कार्यक्रम सञ्चालन
सन् २००७ मा ज्ञान महर्जनले एक्सपोज नेपालको कार्यालय स्थापना गरे। सुरुमा उनलाई कार्यक्रम सञ्चालन गर्न आर्थिक अभाव हुन्थ्यो।
महिला हिंसा विरुद्ध र महिनावारी सचेतनाको कार्यक्रम सञ्चालनका लागि पेन्टिङ बिक्री गर्ने योजना बनाए। उनले एउटा मूल्यमा कलाकारबाट पेन्टिङ खरिद गर्थे भने त्यो पेन्टिङ दोब्बर-तेब्बरको मूल्य राखेर बिक्री गर्थे। उनले पहिले नै कलाकारलाई आफ्नो कार्यक्रम सञ्चालनका लागि यस्तो गरिएको भनेर जानकारी भने गराउँथे। र, कलाकारहरु पनि खुसीका साथ उनलाई आफ्नो पेन्टिङ बिक्री गर्थे।
‘ती पेन्टिङहरु हामीले पाटन कृष्ण मन्दिरको म्युजिमको टिकट काउन्टर नजिक राख्थ्यौँ,’ उनले भने, ‘दैनिक हामीले १५ सय तिर्थ्यौं। यौन दुर्व्यवहार तथा हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्न यो फण्ड रेजिङ हो भनेर नोटिस बोर्डमा हुन्थ्यो। पर्यटकहरुले पनि खुसी साथ खरिद गरेर लैजान्थे।
कतैबाट आर्थिक सहयोग नभएपछि पेन्टिङ बेचेर कार्यक्रम सञ्चालन गर्न बाध्य भएको ज्ञान बताउँछन्। तर २०७२ सालको भूकम्पबाट भने म्युजिममा पेन्टिङ राख्न बन्द गरिएको उनले बताए।
सन् २०१६ को अन्तिममा उनले ‘च्यारिटी सप’ नामबाट पसल खोले। सोही पसलबाट उनले पेन्टिङ र प्याड बिक्री गर्न थाले। सुरुवाती दिनमा मासिक ४० वटा प्याड बिक्री गर्न पनि मुस्किल पर्थ्यो।
सन् २०१७ को अन्त्यतिर जब नेपालमा पनि भारतीय चलचित्र ‘प्याडम्यान’ चल्यो, त्यसपछि दिनको ४० वटा प्याड पनि बिक्री हुन मुस्किल पर्दै आएकोमा मासिक दुई सय भन्दा बढी बिक्री हुन थालेको उनी बताउँछन्। पुल्चोक र खोकनामा पसल थियो। तर कोभिड महामारीपछि यी पसलहरु बन्द भए। अब पुनः पसल सञ्चालन गर्ने उनको योजना छ।
आगामी १० वर्षभित्र कम्तीमा ८० हजार महिलालाई प्याड बनाउन सिकाउने उनको लक्ष्य छ।
‘धेरैभन्दा धेरै महिलालाई प्याड बनाउन सिकाउने मेरो लक्ष्य छ। किनभने, सबैले बजारमा उपलब्ध प्याड खरिद गर्न सक्दैनन्। तर यो कपडाको प्याड स्वास्थ्य, आर्थिक र वातावरणका हिसाबले ठिक छ,’ ज्ञानले भने।