काठमाडौं - चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी पाइएको छ। सरकारले सञ्चालन गरेको नसर्ने रोगको पहिचान अभियान अन्तर्गत भएको स्वास्थ्य परीक्षणका क्रममा चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी पाइएको हो।
फागुन महिनाभर सञ्चालन भएको उक्त अभियान अन्तर्गत चितवनमा ४ हजार ७३८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये १ हजार ९५६ जनामा विभिन्न स्वास्थ्य समस्या पहिचान भएको कार्यालयका नसर्ने रोगका कार्यक्रम अधिकृत गुरुप्रसाद कंडेलले जानकारी दिए।
चितवनमा सबैभन्दा धेरै मोटोपना र उच्च रक्तचापको समस्या बढी देखिएको छ। ७४२ जनामा मोटोपना, ६७७ जनामा उच्च रक्तचाप, ३७४ जनामा मधुमेह र १६३ जनामा मिर्गौलाको रोग भेटिएको छ। ४४७ जनाको उपचार गरिएको र ३८२ जना बिरामीहरुलाई थप उपचारका लागि प्रेषण गरिएको कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै स्वास्थ्य परीक्षण कालिका नगरपालिकामा भएको देखिन्छ। कालिका नगरपालिकामा १ हजार ७२८, रत्ननगर नगरपालिकामा १ हजार ५०५, इच्छाकामना गाउँपालिकामा ७५६, भरतपुर महानगरपालिकामा २९६, माडी नगरपालिकामा १७१, राप्ती नगरपालिकामा १६१ र खैरहनी नगरपालिकामा १२१ जनाको स्वास्थ्य परीक्षण भएका छन्।
चितवनमा कतिपय पालिकाले स्वास्थ्य परीक्षणमा कार्यालयसँगै सहकार्य गरेका छन् भने कति पालिकामा कार्यालयलेको अग्रसरतामा मात्र भएको छ। कालिका नगरपालिका, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाले आफुहरुसँग स्वास्थ्य परीक्षणमा सहकार्य गरेको कंडेलले बताए।
उनले भने, ‘यी नगरपालिकामा त्यहाँका स्थानीय तहले पनि स्वास्थ्य परीक्षणमा सक्रियता देखाए। त्यसैले यी पालिकामा स्वास्थ्य परीक्षण गराउनेको संख्या पनि बढी छन्।’
यो अभियानबाट धेरै सेवाग्राही लाभान्वित भएकाले यस किसिमको अभियानको आवश्यकता अझै भएको उनले बताए। यसका लागि स्थानीय तहहरु पनि सहकार्य गर्न तयार भएको उनले बताए।
‘यस किसिमको कार्यक्रम हामी बढाउने तयारी गरेका छौँ।’ उनले भने, ‘कतिपय स्थानीय तह सहकार्यका लागि तयार पनि छन्।’