नेपालमा पनि यो वर्ष हो 'हामी क्षयरोग अन्त्य गछौँ' भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैँ छ। हरेक वर्ष २४ मार्चका दिन विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व क्षयरोग दिवस मनाईन्छ। सन् २०५० सम्ममा क्षयरोग विहिन विश्वको परिकल्पना साकार पार्नको लागि आजबाट नै क्षयरोग निदान दर बढाई, क्षयरोग सर्ने प्रकृयालाई कम गर्दै गएको खण्डमा भविष्यमा क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउन सकिन्छ। क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। विशेष गरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा क्षयरोगले चुनौतिपूर्ण परिस्थिति सिर्जना गरेको छ। त्यसैले हामी सबैजनाको सक्रिय सहभागिता र सहयोगले मात्र क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपबाट अन्त्य गराउन सकिन्छ।
क्षयरोगको वर्तमान अवस्था
विश्व स्वास्थ्य संगठनको ग्लोवल टिबी रिपोर्ट २०२२ को प्रतिवेदन अनुसार सन् २०२१ मा ६.४ मिलियन क्षयरोगका बिरामी उपचारमा रहेका थिए र त्यसमध्ये ४५ प्रतिशत दक्षिण पूर्वी एशिया,२३ प्रतिशत अफ्रिका, १८ प्रतिशत प्रशान्त क्षेत्र, ८.२ प्रतिशत मध्यपूर्व, २.९ प्रतिशत अमेरिका र २.२ प्रतिशत यूरोपमा रहेका छन्। विश्वका ८ वटा देशमा मात्र क्षयरोगका दुई तिहाई बिरामीहरु रहेका छन् जस्मा २८ प्रतिशत भारत, ९.२ प्रतिशत इन्डोनेसिया, ७.४ प्रतिशत चीन, ७ प्रतिशत फिलिपन्स, ५.८ प्रतिशत पाकिस्तान, ३.६ प्रतिशत बंगलादेश, ४.४ प्रतिशत नाइजेरीया र २.९ प्रतिशत डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो जस्ता देशहरु पर्दछन।
नेपालको अवस्था
नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएका र तिनिहरुमध्ये करीब ६० प्रतिशत वयश्क व्यक्तिहरु रहेको अनुमान गरिएको छ। 'राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०१९' को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या प्रतिवर्ष ६९ हजार देखिन्छ भने प्रति एकलाख जनसंख्यामा २४५ क्षयरोगका बिरामीहरु छन्। आर्थिक वर्ष २०७८/७९ मा कुल ३७८६१ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका थिए। त्यसमध्ये ४७.०५ प्रतिशत मधेश प्रदेश र बागमति प्रदेशमा रहेको कुरा तथ्याङ्कले देखाएको छ। आ.व २०७८/७९ मा कुल ६६३ जना मानिसको क्षयरोगबाट मुत्यु भएको थियो र क्षयरोगको सफल उपचार दर ९२ प्रतिशत छ।
क्षयरोगका प्रकार
१ फोक्सोमा लाग्ने क्षयरोग
२ फोक्सो बाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोग
क्षयरोगका मुख्य लक्षणहरु
–लामो अवधिको खोकी,
–खकारमा रगत देखापर्नु,
–साँझपख ज्वरो आउनु,
–राति सुतेको बेलामा पसिना आउनु,
–तौल घट्दै जानु,
क्षयरोगको जोखिम समूह
खकारमा कीटाणु देखिएका र बहुऔषधि प्रतिरोधी क्षयरोगका बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरु
कुपोषित बालबालिकाहरु
एचआइभी संक्रमित व्यक्तिहरु
मधुमेहका बिरामीहरु
छातीको एक्सरेमा समस्या देखिएका बिरामीहरु
क्यान्सर लागेका बिरामीहरु
लामो समय सम्म औषधि खाईरहेका बिरामीहरु
ज्येष्ठ नागरिकहरु
निदान
लक्षणको आधारमा संकास्पद क्षयरोगीको पहिचान गरी सहि किसिमले निदान गर्नको लागि हाल देशभरमा ८९६ वटा प्रयोगशाला, ९३ वटा जिन एक्सपर्ट केन्द्र, २ वटा एलपिए र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशाला संचालनमा रहेका छन्।
उपचार
क्षयरोगको उपचार सेवा देशभरका सरकारी तथा केहि निजी स्वास्थ्य संस्थाहरुबाट पनि निःशुल्क रुपमा उपलब्ध गराउदैँ आईएको छ। हाल देशभरमा ५९७११ वटा डट्स केन्द्र, २२ वटा डिआर केन्द्र, ८१ वटा डिआर सव केन्द्र, १ वटा डिआर होम र ६ वटा डिआर होस्टल संचालनमा छन्।
क्षयरोगको निदान र बिरामीलाई नियमित औषधि सेवन गराउन क्षयरोगका बिरामी स्वयम, परिवारको सदस्य, आफ्नो साथी, नागरिक सामाजका अगुवा र जनप्रतिनिधि सबै जनाको उतिकै मह्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले हामी सबै जना मिलि संकास्पद क्षयरोगको बिरामिलाई समयमै निदान र उपचारमा सहयोग गरी क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपबाट अन्त्य गर्न सक्छौँ।
क्षयरोगको रोकथाम
क्षयरोगको छिटो भन्दा छिटो पहिचान गरी उपचार शुरु गर्ने
बिरामीले नियमित र पुरा मात्रामा औषधि सेवन गर्ने
क्षयरोगका बिरामिको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको खकार परीक्षण गर्ने
बच्चा जन्मना साथ बिसिजी खोप लगाउने
क्षयरोगको बिरामीले खोक्दा वा हाँच्छियु गर्दा मुख छोप्ने वा मास्क प्रयोग गर्ने
धुलो, धुँवा, धुम्रपान, मादक पदार्थ र भीडभाडबाट बच्ने
विश्व क्षयरोग दिवस मनाउदैँ गर्दा ध्यान दिनुपर्ने कुराहरु
-क्षयरोग कार्यत्रमको तथ्याङ्कको सही अभिलेख गर्ने र सहि प्रतिवेदन राष्ट्रिय क्षयरोग केन्द्रको सूचना प्रणालिमा प्रविष्ठ गर्ने
-एचआईभी संक्रमणले क्षयरोग हुने संभावना ३० गुणाले बढाउँछ त्यसैले क्षयरोग बिरामीलाई अनिवार्य रुपमा एचआईभी परीक्षण गर्ने र एचआईभी संक्रमितलाई अनिवार्य रुपमा क्षयरोगको परीक्षण गर्ने
-मधुमेह भएका बिरामीहरुलाई क्षयरोग हुने संभावना बढी हुन्छ। मधुमेहको कारणले क्षयरोग बल्झिने र निको हुन गाह्रोँ हुने हुनाले चिकित्सकको सल्लाह अनुसार क्षयरोगका बिरामीलाई मधुमेहको परीक्षण गर्ने र मधुमेह भएको बिरामीले क्षयरोगको परीक्षण गर्ने
-क्षयरोगका सक्रिय बिरामी पता लगाउने कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी तरिकाले संचालन गर्ने
- क्षयरोग बिरामीको घर परिवारको सदस्यहरुमा सम्पर्क परीक्षण गर्ने र सम्पर्क परीक्षण गर्दा क्षयरोगका लक्षणहरु उक्त बिरामीको सम्पर्कमा रहेका घर परिवारको सदस्यहरुमा छ वा छैन भन्ने कुरा निक्य्रौल गर्ने। यसरी उक्त घरमा ५ वर्ष भन्दा मुनिका बच्चाहरु छन् भने उनीहरुमा क्षयरोगको लक्षणहरु नभएको खण्डमा सो बच्चालाई क्षयरोग सर्न नदिनको लागि रोकथाम उपचार टिबीपिटी दिने। टिबी प्रिभेन्टिभ थेराथीमा रहेका बच्चाहरुलाई ३ महिनासम्म चाइल्ड एचआर औषधि खुवाउने।
-निजी स्वास्थ्य संस्थालाई क्षयरोग कार्यक्रममा जोडने र क्षयरोगका बिरामिहरुको अभिलेख तथा प्रतिवेदन राष्ट्रिय क्षयरोग केन्द्रको सूचना प्रणालिमा प्रविष्ठ गर्ने
-क्षयरोग जाँच गर्ने प्रयोगशालामा केमिकल, जिन एक्स्पर्ट केन्द्रहरुमा आवश्यक सामाग्रीहरु काटिज, रजिष्टर र औषधि समयमै आपूर्ति गर्ने
-सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुबीच प्रभावकारी रुपमा समन्वय गर्ने
-अनुसन्धानमा आधारित कार्यक्रमलाई समुदाय स्तरमा लागू गर्ने र नयाँ क्षयरोगी पत्ता लगाउने उपकरणद्रारा शंकास्पद क्षयरोगका बिरामिलाई छिटो भन्दा छिटो क्षयरोगको निदान गर्ने
-संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, गैरसरकारी तथा निजी संस्थाहरु, स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु, सामुदायीक अगुवाहरु, शिक्षकहरु लगाएत सम्पूर्ण नागरिकहरुको सहभागिता समन्वय र सहयोगमा मात्र सन् २०५० सम्ममा क्षयरोग विहिन विश्वको परिकल्पना र सन् २०३५ सम्ममा जनस्वास्थ्य समस्याको रुपबाट हटाउन सकिन्छ।
(लेखक प्रदेश गण्डकी प्रदेश क्षयरोग कार्यक्रम संयोजक हुन्।)